२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पारिश्रमिक दासताको उन्मूलन

मानव भएर जन्म लिएपछि आराम गर्ने, अल्छी गर्ने छूट कसैलाई हुँदैन । निरन्तर परिश्रम गर्नुपर्छ । कुनै एउटा कार्य वा परियोजनामा आबद्ध हुनुपर्छ । आखिर किन ? यति धेरै काम र परिश्रम केका लागि ? छोटो उत्तर छ– जीवित रहन ।

जति पनि दौडधुप गरिन्छ, ती सबै बाँच्नका निम्ति हो । अस्तित्व कायम राख्नका निम्ति हो । अधिकांश मानिस अस्तित्व जोगाउने दौडमा वेज स्लेव (तलबको लागि दास) हुन पुग्छन् । पारिश्रमिक दासताको प्रभावका कारण मानिस जीवन बाँच्न बाध्य हुन्छन् ।

उसो भए पारिश्रमिक दासता भनेको के हो त ?
पारिश्रमिक दासता भनेको घर खर्च चलाउनकै लागि अर्थहीन काम गर्नु हो । आफ्नो जुनून विपरीत, जीवनको उद्देश्य प्राप्तिका लागि कुनै योगदान नहुने बिहान ९ देखि ५ बजे सम्मको काममा आबद्ध हुनु हो । कुनै पनि जागिरमा आबद्ध भएपछि जागरुक हुँदाको ५० प्रतिशत समय काममा खर्च हुन्छ । जागिर खानु अरुको लागि काम गर्नु हो । अरुलाई सामाजिक पिरामिडको उच्च तहमा पुग्न सहयोग गर्नु हो । जागिरबाट आएको पैसा परिवारलाई खुसी राख्न र आफ्ना आवश्यकता पूर्ति गर्नमा सकिन्छ । जीवन उद्देश्य प्राप्तिका लागि पर्याप्त बजेट उपलब्ध हुँदैन ।

व्यक्तित्व विकास, आध्यात्मिक कार्य, यात्रा, स्वअध्ययन लगायत कार्यका लागि लगानी गर्न सकिने स्थिति रहँदैन । सिर्जनशीलताको प्रयोग शून्य हुन्छ । समाजका लागि कुनै महत्वपूर्ण योगदान दिन सकिँदैन । अन्ततः त्यही जागिरमा अल्झिएर बस्नुपर्ने बाध्यता आइपर्छ । त्यसपश्चात् जीवनभर अरुको शोषण गर्न, घात पुर्‍याउन, मार्न र गलत समाचार फैल्याउन क्रियाशील हुनुहुन्छ । तपाईँलाई के गर्दै छु भन्ने कुनै अनुभूति हुँदैन । कारण ? पारिश्रमिक दासताको प्रभाव ।

सामाजिक पिरामिड व्यवस्था
समाज एक पिरामिड स्किम अर्थात् व्यवस्था हो । समाजमा रहने सबै मानिस एकै तहमा हुन्छन् भनेर सोच्नु अज्ञानता हो । अधिकांश मानिस पिरामिडको आधार तहमा रहन्छन् भने निकै कम औँलामा गन्न सकिने मानिस पिरामिडको उच्च तहमा रहन्छन् । त्यसैगरी केही मानिस भने पिरामिडको उच्च र आधार तहको मध्य भागमा कहीँ कतै अवस्थित हुन्छन् । समाजमा धनको र शक्तिको असमानता स्पष्ट रुपमा देख्न सकिन्छ ।

समाजमा शक्तिको खेल कसरी चलिरहन्छ, त्यसमाथि छोटो वर्णन गरौँ । पिरामिडको उच्च तहमा रहने सीमित मानिस शक्तिशाली हुन्छन् । उनीहरुमा अहं धेरै हुन्छ । अरु कोही शक्तिमा आउने हुन् कि भनेर असुरक्षित महसुस गर्छन् । सधैँ शक्तिमा रहिरहन चाहन्छन् । शक्ति सन्तुलन कायम गर्न कुनै पनि हदसम्म जान पछि पर्दैनन् । सम्भव भएसम्म पूरै शक्ति आफूमा केन्द्रित गराउँछन् । पिरामिडको आधार तहमा रहनेको शक्ति कटौती गरिदिन्छन् । यही कारण शक्तिशाली मानिस झन् धेरै शक्तिशाली बन्दै जान्छन् । कमजोर र शक्तिहीन मानिस झन् धेरै कमजोर र शक्तिहीन बन्दै जान्छन् ।

समाजमा धनको खेल कसरी चलिरहन्छ, त्यसमाथि पनि छोटो वर्णन गरौँ । विश्व अर्थतन्त्रको ५० प्रतिशत पैसा विश्वको सबैभन्दा धनी एक प्रतिशत मानिसको हातमा छ भन्ने विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । यस तथ्याङ्कले समाजमा चरम आर्थिक असमानता रहेको दर्साउँछ । पिरामिडको उच्च तहको मानिस धनी हुन अर्को तहको मानिस गरिब हुनुपर्ने परिस्थिति झल्काउँछ । उच्च तहमा शक्तिको अधिकतम उपयोग गर्न सकिने सुविधा हुन्छ । धनी हुनु भनेको बैंक खातामा करोडौं रुपैयाँ हुनु मात्र होइन, शक्तिशाली हुनु पनि हो । शक्तिशालीलाई धनको स्रोत नजिक पुग्न सहज हुन्छ ।

अथाह धन कमाउन सकिने भनेको स्रोत निकट रहेर न हो ! एकल प्रयासमा, कडा भन्दा कडा मेहनत गरेर धनी हुन सकिँदैन । यसर्थ पिरामिडको उच्च तहमा रहने मानिसहरु आर्थिक हैसियत बढाउन सिन्डिकेट निर्माण गर्ने, सरकारलाई आफ्नो पक्षमा पार्ने, सरकारी परियोजनाको ठेक्का लिने जस्ता गतिविधि गरिरहेका हुन्छन् । यतिसम्म कि उनीहरु अनैतिक काममार्फत कानुनी रुपमा यथेष्ट पैसा कमाउन सफल हुन्छन् । कमाइको केही प्रतिशत हिस्सा मात्र पिरामिडको आधार तहमा अवस्थित मानिसको लागि खर्च गर्छन् । यही कारण धनी झन् धेरै धनी र गरिब झन् धेरै गरिब हुँदै जान्छन् ।

पिरामिड किन अस्वीकृत ?
अधिकांश मानिसलाई सामाजिक पिरामिड व्यवस्थाबारे अनुभूति हुँदैन । यी मानिसहरु पिरामिडको आधार तहमा अवस्थित हुन्छन् । उनीहरु कुन कार्यमा संलग्न छन्, त्यसको औचित्यमाथि प्रश्न गर्न सक्दैनन् । कामको गहिराईसम्म जाने हिम्मत गर्दैनन् । जुन काम दिइन्छ, त्यही काम गर्छन् । चाहे त्यो आफ्नो जीवन उद्देश्यसँग मिलान होस् या नहोस् । जति पारिश्रमिक दिइन्छ, त्यति नै चुपचाप लिन्छन् । चाहे त्यसबाट आफ्ना सम्पूर्ण आवश्यकता पूर्ति होऊन् या नहोऊन् । यस वर्गका मानिसलाई सानोतिनो काम पाउनु र जीवन धान्नु नै ठूलो उपलब्धि हुन्छ । पिरामिडभित्र हुने शक्ति र धनको असमानताबारे बुझ्ने समय उनीहरुसँग हुँदैन । त्यसकारण उनीहरु सामाजिक पिरामिड व्यवस्थाको अस्तित्व स्वीकार गर्ने हैसियत राख्दैनन् ।

त्यसैगरी पिरामिडको उच्च तहमा रहने मानिसको कुरा गरौँ । यस उच्च तहमा अवस्थित मानिसलाई सामाजिक पिरामिड व्यवस्थाबारे अनुभूति नहुने होइन । यद्यपि स्वीकारोक्ति भने जनाउन चाहँदैनन् । यस तहमा अवस्थित मानिसको इगो (अभिमान) ठूलो हुन्छ । घमण्ड धेरै हुन्छ । अहंकारी मानिसलाई सत्यता र निष्पक्षताको कुनै मतलब हुँदैन । सफल हुने क्रममा आफूबाट शोषण, छल योजना साथै अन्याय हुन सक्ने सम्भावनाको स्वीकार गर्न सक्दैनन् । जे काम गर्छन्, त्यो शतप्रतिशत राम्रो काम रहेको विश्वास गर्छन् । सफलताको पूर्ण श्रेय आफ्नो बुद्धिमता, अग्रसरता, कौशल र मेहनतलाई दिन्छन् ।

आफ्नो बचाउमा विभिन्न कामको औचित्य र बुद्धिसङ्गत व्याख्या प्रस्तुत गर्छन् । उदाहरणार्थ, आणविक हतियार बनाउन सहयोग गर्ने प्रमुख वैज्ञानिकलाई लिऊँ । उसको स्थान पिरामिडको उच्च तहमा रहन्छ । अब सोही व्यक्तिलाई आणविक हात हतियार बनाउने कामको औचित्यमाथि प्रश्न गरियो भने ? स्वाभाविक रुपमा प्रतिक्रिया सकारात्मक आउँदैन । उसले गर्वका साथ देशको सुरक्षा, सैन्यशक्ति बढाउन सो काम गरेको तर्क दिन्छ ।

त्यसैगरी पिरामिडको उच्च तहमा अवस्थित मानिसको संघर्षको सुरुवाती बिन्दु र पिरामिडको आधार तहमा अवस्थित मानिसको संघर्षको सुरुवाती बिन्दु एकै हुँदैन । सफलताका पछाडि धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सही देशमा जन्मनु, सही शहर, परिवार र छरछिमेकमा बस्न पाउनु, कुनै किसिमको रोग नलाग्नु, विशिष्ट सेवा र सुविधाले मानिसको सफलता निर्धारण गर्छ भन्ने वास्तविकता उनीहरु नजरअन्दाज गरिदिन्छन् । पिरामिडको आधार तहमा मानिसको जीवनस्तर कस्तो हुन्छ, त्यो बुझ्ने वातावरण उनीहरुले प्राप्त गर्दैनन् । अनि सबै मानिसलाई एउटै दृष्टिकोणले हेर्छन् । एउटै वर्गमा राख्छन् । जसकारण सामाजिक पिरामिड व्यवस्था बेवास्ता गरिदिन्छन् ।

पारिश्रमिक दासताको जड
कुनै पनि व्यक्ति तलबको, पारिश्रमिकको लागि दास बन्नुका पछाडि केही कारणहरू छन् । जस्तो, अधिकांश मानिस आफ्नो जीवनप्रति गम्भीर हुँदैनन् । आफ्नो जीवनको उद्देश्य के हो त्यसको खोजीमा लाग्दैनन् । जीवन सफल बनाउन जति स्पष्ट दृष्टि हुनुपर्ने हो, त्यो हुँदैन । आफ्नो इच्छा, चासो र जुनूनको विषय पहिल्याउन सकिरहेका हुँदैनन् । यही उपलब्धि हासिल गर्छु भन्ने प्रस्ट अभिप्राय हुँदैन । वास्तवमा भन्ने हो भने उनीहरुमा केही योगदान गर्ने उत्कट चाहना हुँदैन । यति मात्र कहाँ हो र ! सम्पूर्ण युवावस्थाको सदुपयोग गर्न जान्दैनन् । मोजमस्ती, रमाइलो र नशामा खेर फालिदिन्छन् । जुन समयमा रणनीतिक योजना निर्माण गर्न, कार्य कौशल र व्यक्तित्व विकास कार्यमा लगानी गर्नु पथ्र्यो, त्यो समय क्षणिक आनन्दमा समर्पित गरेपछि तलबी दासतामा फँस्नुको विकल्प छैन ।

केही महत्वपूर्ण रणनीति
तलबी दासताबाट उन्मुक्त रहन विशेषतः दुई वटा रणनीति अवलम्बन गर्न सकिन्छ । पहिलो रणनीति, अति सिर्जनशील, कठोर परिश्रम तथा कर्मशील हुनु । यो पहिलो रणनीति अनुशरण गर्नेहरुमा चलचित्र निर्माता, संगीतकार, गायक–गायिका, कलाकार, संस्था संस्थापक, डिजाइनर, आविष्कारक, वैज्ञानिक, पब्लिक स्पिकर (वक्ता) आदि पर्छन् ।

दोस्रो रणनीति, प्रणाली नै हेरफेर गर्नु।पिरामिड व्यवस्था भित्र रहेर सम्पत्ति र शक्तिको मुल स्रोत निकट रहने अनि पिरामिड व्यवस्था उपयोग गर्ने । यी दुई रणनीतिमध्ये पहिलो रणनीति अवलम्बन गर्नु बुद्धिमानी मानिन्छ । यसका केही कारणहरू छन् । दोस्रो रणनीति अहंपूर्ण छ । छलयोजना, शोषण र बेहोसीमा आधारित छ । यस रणनीतिले आपराधिक गतिविधि बढाउँछ । केही गरी अपेक्षित परिणाम ल्याउन सफल भए पनि सन्तुष्टि भने प्राप्त हुँदैन । यसर्थ पहिलो रणनीति आत्मसात गर्नु नै फलप्रद रहन्छ ।

तपाईँको रोजाइमा पहिलो रणनीति पर्छ भने तलबी दासता निम्नानुसार हटाउन सकिन्छः

* शतप्रतिशत जिम्मेवारी लिने
जीवनमा विभिन्न घटनाक्रमहरु चलिरहन्छन् । निरन्तर रुपमा उतारचढाव आइरहन्छन् । सोही कारण कहिले अनुकूल वातावरण त कहिले प्रतिकूल वातावरण सिर्जना हुन्छन् । यस्तो परिस्थितिमा कस्तो प्रतिक्रिया जनाइन्छ, त्यसले परिणामको निर्धारण गर्छ । सकारात्मक प्रतिक्रियाले सकारात्मक परिणाम दिलाउँछ भने नकारात्मक प्रतिक्रियाले नकारात्मक परिणाम । घटनाक्रमप्रति हाम्रो नियन्त्रण हुन सक्दैन तर त्यस घटनाक्रम प्रतिको प्रतिक्रिया भने नियन्त्रण गर्न सकिन्छ । घटनाक्रम जस्तोसुकै होस्, प्रतिक्रिया सकारात्मक नै जनाउनुस् । अरुलाई गाली गर्ने, दोष लगाउन बन्द गर्नोस् । तपाईँको जीवन कस्तो रहने, त्यसको जिम्मेवारी कसैले लिँदैन स्वयं आफूले लिनुपर्छ । त्यसैले आफ्नो विगत, वर्तमान र भविष्यका लागि शतप्रतिशत जिम्मेवारी लिनोस् । अनि मात्र तपाईँ जीवनमा धेरै अगाडि बढ्न सक्नुहुन्छ । जीवन धान्न कसैको लागि काम गर्नु आवश्यक पर्दैन ।

* जीवनको उद्देश्य बारेमा स्पष्ट रहने
प्रायः मानिसलाई आफ्नो जीवनको उद्देश्य के हो थाहै हुँदैन । आफ्नो वास्तविक व्यक्तित्व के हो त्यसबारे कुनै ज्ञान हुँदैन । आफ्नो अन्तर्निहित क्षमता के हो, कमीकमजोरी के–के छन् र आफू कुन कामको लागि बनेको हो भन्ने अलिकति पनि बुझ्न सकेका हुँदैनन् । जुन काम भेट्छन्, त्यही गर्छन् । महिनावारी तलब खाएरै अवकाश लिन्छन् । यस प्रकृतिको जीवन चाहनुहुन्न भने स्पष्ट दृष्टि राख्नोस् । जीवनमा कुन लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ, कस्तो योगदान दिन चाहनुहुन्छ, कस्तो विरासत छोड्न चाहनुहुन्छ यी विषयमा स्पष्ट रहनोस् । समग्रमा भन्नुपर्दा आफ्नो जीवनको उद्देश्यप्रति स्पष्ट रहनोस् । त्यस उद्देश्य प्राप्तिका लागि रणनीतिक कार्ययोजना तय गर्नोस् ।

* नेतृत्व तहमा रहने
नेतृत्वकर्ता बन्नु चुनौतीपूर्ण जिम्मेवारी हो । नेतृत्व तहमा पुग्न र नेतृत्व दिन त्यति सजिलो छैन जति अनुयायी बन्नमा छ । नेतृत्व दिनु भनेको स्वयं आफू र अनुयायीहरुलाई मार्ग निर्देशन गर्नु हो । अरुले नदेखेको गन्तव्य देखाउनु मात्र नभएर गन्तव्यसम्म पुग्न सहयोग गर्नु हो । नेतृत्व तहमा रहनु अनि नेतृत्वदायी भूमिका खेल्नु शक्ति केन्द्रको नजिक रहनु हो । शक्तिको अभ्यास पनि हो । जति शक्ति नेतृत्वकर्ताले उपभोग गर्न पाउँछन्, त्यति अनुयायीहरुले पाउँदैनन् । शक्तिकेन्द्रमा रहनु भनेको धनको मूलमा पर्नु हो । त्यही भएर शक्ति उपभोग गर्नेहरुले निकै सहजता साथ धन कमाउन सक्छन् । त्यसपछि उनीहरुलाई तलबी दासताबाट उन्मुक्त हुन कठिन हुँदैन । अब रोजाइ तपाईँको ! नेतृत्वकर्ता बन्ने कि अनुयायी बनेर भिडमा हराउने ? नेतृत्वकर्ता बन्ने नै हो भने अरुको स्वीकृति, प्रमाणीकरण र सहयोग कुर्ने काम बन्द गरिदिनुस् ।

* बहुमूल्य प्रदायक बन्ने
औसत प्रदायकको मूल्य औसत नै रहन्छ । यसको अर्थ हो, औसत कमाइ । त्यसैगरी बहुमूल्य प्रदायकको मूल्य उच्च नै रहन्छ । यसको अर्थ हो, अत्यधिक कमाइ । अत्यधिक कमाइ भएको अवस्थामा मजदुरी गर्नु पर्दैन । हरहमेशा बहुमूल्य प्रदायक बन्ने कोसिस गर्नोस् । यसका लागि रचनात्मकतामा ध्यान दिनुस् । रचनात्मक कुराहरु बहुमूल्य हुने गर्छन् । यसर्थ हरेक कार्य सम्पादन गर्दा रचनात्मक शैलीमा गर्नोस् । उच्चस्तरीय एवं रणनीतिक सोचको विकास गर्नोस् । समूहगत सोचाइ भन्दा पनि प्रणाली (व्यवस्था) केन्द्रित सोचाइ राख्नोस् । हरेक समस्याको नयाँ–नयाँ समाधान दिनुस् । केही नयाँ सेवा सुविधा आविष्कार गर्न अधिक ऊर्जा र समय लगानी गर्नोस् ।

* अत्यधिक सिर्जनशील रहने
सिर्जनशीलताको मूल्य फोटोकपीको भन्दा निकै उच्च रहन्छ । अरुबाट प्रेरित भएर, अरू व्यक्ति वा संस्थाले गर्ने कामको नक्कल गरेर अमूल्य हुन सकिँदैन । यसलाई केही उदाहरणहरूमार्फत प्रस्ट हुने कोसिस गरौँ । लियोनार्डो दा भिन्सीको मोनालिसा चित्रकलाको आफ्नै मूल्य छ । अब कुनै चित्रकारले लियोनार्डोको नक्कल गरेर फेरि अर्को मोनालिसा चित्रकला तयार गर्न लागे के त्यो सम्भव होला ? ती चित्रकार अर्को मोनालिसा चित्रकला बनाउन सफल भए पनि उनको त्यो चित्रकलाले उचित मूल्य र सम्मान भने पाउँदैन । स्वयं चित्रकार लियोनार्डोको उचाइमा पुग्न सक्दैनन् ।

किनभने मानिसलाई कुन सक्कली, कुन नक्कली भन्ने थाहा हुन्छ । त्यसैगरी अहिले विश्व बजारमा एप्पल र स्यामसङ कम्पनीबाट प्रेरित हुने धेरै संस्थाहरु छन् । यद्यपि ती संस्थाहरुको उत्पादनले एप्पल र स्यामसङ कम्पनीको उत्पादनजस्तो मूल्य पाउन सकेको छैन । फोटोकपी गरेर प्रतिस्पर्धीलाई पन्छाउन सकिँदैन । यसका लागि सिर्जनशील हुनसक्नु पर्छ । रचनात्मक कार्यमा जोड दिनुपर्छ । सिर्जनशील व्यक्तिको माग सधैँ अत्यधिक रहन्छ । अत्यधिक माग रहनु भनेको धन कमाउने अवसरहरू अत्यधिक संख्यामा उपलब्ध हुनु हो । अवसर खोज्न अन्त कतै जानै पर्दैन । अवसरहरू तपाईँको ढोका ढकढक गर्न आइपुग्छन् । यिनै अवसरहरूको भरपूर प्रयोग गर्न सके तलबमा निर्भर रहनु पर्दैन ।

* उद्यमशीलता, बजारीकरण र बिक्री वितरणबारे अध्ययन गर्ने
स्कूल शिक्षक भएर, कुनै डिपार्टमेन्ट स्टोरमा जागिर खाएर धनी भइँदैन । आर्थिक स्वतन्त्रतातर्फ उन्मुख हुन सकिँदैन । कुनै संस्थामा कार्यरत भएरै धनी हुने सोच राख्नु मुर्खता हो । कसैको यस्तो तर्क हुने गर्छ– गुगल, एप्पल, माइक्रोसफ्ट, वालमार्ट, अमेजन, अलिबाबाजस्ता विश्वका उत्कृष्ट ब्रान्डमा काम गर्ने अवसर मिल्यो भने धनी भइन्छ । पैसाका लागि गुलाम हुनु पर्दैन । यस तर्कमा पूर्ण सत्यता छैन । यस्ता कम्पनीमा आबद्ध रहेर करोडौँ आम्दानी गर्नुहोला तर त्यो कमाइ तपाईँको मिहिनेत र क्षमताअनुसार कम नै हो । जुनकुनै संस्थाले कुल नाफाको केही प्रतिशत मात्र आफ्नो कर्मचारीलाई दिने गर्छ ।

यसर्थ तपाईँको कमाइ नियन्त्रित हुने गर्छ । त्यसैगरी त्यस संस्थामा तपाईँको जागिर सधैँको लागि सुरक्षित हुन्छ भन्ने छैन । कुनै पनि बेला तपाईँको स्थान खोसिन सक्छ । त्यस रिक्त स्थानमा तपाईँभन्दा अरु कोही क्षमतावान् व्यक्तिको आगमन हुन सक्छ । जब तपाईँ खाली बस्नुपर्ने स्थिति आइपर्छ तपाईँको आम्दानी रोकिन्छ । त्यसपछि आम्दानीकै लागि अर्को संस्थामा आबद्ध हुनुहोला । यसले धनसम्बन्धी समस्या समाधान हुँदैन । भनाइको तात्पर्य आर्थिक स्वतन्त्रता नजिक पुगिँदैन । एउटा संस्थाबाट अर्को संस्था जानु भनेको एउटा संस्थामा पैसाको दास हुन छाडेर अर्कोमा पुनः दास बन्न जानु न हो !

त्यसैले जागिरे हुन छाडेर उद्यमी बन्न प्रयासरत हुनोस् । उद्यमी हुन सके स्वतन्त्रता प्राप्त हुन्छ । पैसाका लागि माथिल्लो तहमा रहनेसँग हात फैलाउनु पर्दैन । उद्यमी रहरले भइँदैन । आफूसँग क्षमता भएर मात्र पनि हुँदैन । सेवा सुविधा र उत्पादनको आइडिया भएर मात्र पनि हुँदैन । त्यसलाई कसरी बजारमा लैजाने, कसरी बिक्री वितरण गर्ने भन्ने कुरामा जानकार हुनु जरुरी छ । अन्यथा तपाईँको आइडिया तपाईँको मस्तिष्कमै सीमित हुन्छ । अनि जागिरे हुनुको विकल्प हुँदैन । यस्तो किसिमको परिस्थिति नआओस् भन्नको लागि उद्यमशीलता, बजारीकरण र बिक्री वितरणबारे अध्ययन गर्नोस् ।

* अधिकतम अनुसन्धान गर्ने
अनुसन्धानबिना सुरुवात गरिएको कामले सोचेजस्तो गति लिन सक्दैन । यस प्रकारको काम प्रतिकूलतामा टिक्न सक्दैन । प्रभावकारी हुन सक्दैन । कुनै पनि बेला रोकिन वा बन्द हुने सम्भाव्यता उच्च रहन्छ । यस अर्थमा काम लाभकारी हुने अथवा उचित परिणाम प्राप्त गर्न सकिने त सम्भावनै रहेन । केही मात्रामा परिणाम आए पनि त्यो उति बहुमूल्य साबित हुँदैन । अरुले जस्तो परिणाम दिएका छन्, दिइरहेका छन्, तपाईँले दिने परिणाम पनि उस्तैउस्तै खाले रहन्छ । गुणस्तरमा समेत खासै भिन्नता देखिँदैन । नयाँ विशेषता भन्ने केही रहँदैन । मौलिकताको त झन् कुरै नगरौँ ।

त्यस कारण जुनसुकै काममा संलग्न हुनुअगाडि अधिकतम् अनुसन्धान गर्नुपर्ने हुन्छ । मानौँ, तपाईँ विश्व प्रख्यात, प्रभावशाली लेखक बन्न चाहनुहुन्छ । तपाईँ क्षमतावान् पनि हुनुहुन्छ रे ! अब लेख्न जानेको छु भनेर मनमा जे आउँछ त्यो लेखेर भयो ? यदि त्यसो गर्नुहुन्छ भने प्रभावशाली लेखकको रुपमा चिनिन सक्नुहुन्न । उही अरुजस्तै, उस्तै हैसियत राख्ने लेखकमा समाहित हुन पुग्नुहुन्छ । सिधासिधा भन्नुपर्दा लेखकहरुको भिडमा हराउनु हुन्छ । पुस्तकको संख्या थपिने सिलसिलाको निरन्तरता मात्र हुन पुग्छ । साँच्चै प्रभावशाली लेखक बन्ने उद्देश्य हासिल गर्न चाहनुहुन्छ भने विश्वमा छापिएका कम्तीमा हजारौँ प्रख्यात पुस्तक अध्ययन अनुसन्धान गर्नोस् । प्रत्येक लेखकका विषय छनोट लगायत लेखन शैलीको गहन विश्लेषण गर्नोस् । पाठक मनोविज्ञान के छ, त्यसबारे जानकार रहनुस् ।

यति मात्र होइन, तपाईँ लेखन कार्यमा कुन विषयवस्तु छनोट गर्न चाहनुहुन्छ ? कुन नयाँ शैली भित्र्याउन सक्नुहुन्छ ? अरु लेखकहरु भन्दा कसरी भिन्न रहन सक्नुहुन्छ ? यी यावत् विषयमा गहन अनुसन्धान गर्नोस् । यसो गर्नाले तपाईँ लेखनमा आफ्नो विशेषता र मौलिकता पहिचान गर्न सक्नुहुन्छ । अनि त्यसपछि लेखनमा हात हाल्नुस् । निश्चय नै परिणाम उत्साहप्रद रहन्छ । तपाईँ प्रभावशाली, शक्तिशाली लेखकका रुपमा स्थापित हुनुहुन्छ । यही रणनीति अन्य कार्यमा पनि लागु गर्न सकिन्छ । जसकारण तपाईँलाई पैसाको लागि दास बन्नु पर्दैन ।

प्रकाशित: १९ माघ २०७६ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App