६ माघ २०७८ बिहीबार
अन्य

बुद्धको अपव्याख्या

नाम चलेका–नचलेका सबै पितृको उद्धारको कामना गर्दै माघ १० गते शुक्रबार सुनसरी खोला किनारस्थित गोविन्दघाटमा आयोजित सामूहिक तर्पण कार्यक्रममा ‘बाँच्नु मात्र पर्छ के के देखिन्छ’ भन्ने नेपाली आहान चरितार्थ भएको छ। हिन्दू मान्यताअनुसार मृत्युपछि आत्माले मुक्ति नपाएको हुन सक्ने भएकाले मुक्तिका लागि तर्पण दिइन्छ। सनातन कुटुम्ब इनरुवाद्वारा संयोजित तर्पण कार्यक्रममा सय बढी व्यक्तिको सहभागी थिए। सत्यनारायण मन्दिरका पुजारीले राजा जनक, सीता, अंशुवर्मा, अरनिको, पृथ्वीनारायण शाह, खप्तड स्वामी, बालागुरु षडानन्द, आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भाषाशास्त्री महानन्द सापकोटालगायत नातागोताका पितृको उद्धारको कामना गरिएको थियो। यसलाई आ–आफ्नो आस्था र विश्वासका रूपमा  लिन सकिन्छ।

यस्ता कार्यबाट  अनर्थ वा अपव्याख्या हुन सक्छ, कसैको भावनामाथि खेलबाड पनि हुन पुग्छ, यसतर्फ हेक्का राख्नुपर्छ। तर्पण गरेका नामहरूमा गौतम बुद्धको पनि रहेछ। सामान्यतः नेपाली जनमानसले गौतम बुद्धलाई बुझ्न नै नसकेको र बुद्धका नाममा अनर्गल कामहरू गर्ने गरेका अनेक घटनामध्ये यसलाई पनि लिइन्छ। अन्य व्यक्तिका सन्दर्भमा आस्था र विश्वास भनेर पन्छाउन सकिने भए पनि गौतम बुद्धका सन्दर्भमा यो कार्य हास्यास्पद र बेतुक छ।  बौद्ध धर्म र दर्शनसँग यो मेल खाँदैन।

गौतम बुद्धको नाम पनि तर्पण गरिएको रहेछ। यस्तो कार्यबाट  गौतम बुद्धलाई बुझ्नै  नसकिएको र बेलाबेलामा बुद्धको नाममा अनर्गल गर्ने गरिएको  पुष्टि हुन्छ।


धेरै प्रकारका धर्मदर्शन छन्। आत्मा, परमात्मा, पूर्वजन्म, पुनर्जन्म, मुक्तिलगायत विषयमा आ–आफ्नै दृष्टिकोण पाइन्छन्। कुनै कुरा अर्कोसँग ठ्याक्कै मिल्छ भने कुनै मिल्दै मिल्दैन। पूर्वजन्म र पुनर्जन्मको विषय बौद्ध धर्मदर्शनमा मान्य छ भने आत्मा र परमात्माको विषयवस्तुमा कुनै पनि प्रकारले सरोकार नै राख्दैन। यी शब्द ती कुराको खण्डन गर्न  मात्र प्रयोग गरिन्छ। यस सन्दर्भमा विपक्षीले आत्मा र परमात्माको कुरालाई मान्दैन भने पूर्वजन्म र पुनर्जन्म कसरी हुन्छ वा कसको हुन्छ  भनेर बौद्धजनलाई प्रश्न गर्ने गरिन्छ। बौद्धहरू ‘चित्त’ (शास्त्रीय भाषामा विज्ञान) लाई मान्छन्।

यसले कर्म संस्कारहरूलाई बोक्दै हिँड्छ।  एक जन्म र अर्को जन्मबीच त्यही चित्त सेतु बनिरहेको हुन्छ। आत्मा र चित्त दुई शब्दलाई उही हो भन्न नसक्नुको खास कारण आत्मावादीहरूले यसलाई नित्य र अविनाशी मान्छन्। बौद्ध धर्मदर्शनले कुनै पनि कुरालाई नित्य मान्दैन, अनित्य मान्छन्। साधनाद्वारा एउटा निश्चित बिन्दुमा पुगेपछि त्यो चित्तको पनि अन्त्य हुने मान्यता बौद्धजनमा छ। कतैकतै बौद्धले नै मोक्ष शब्द  प्रयोग गरेको  पाइन्छ, अन्यले पनि निर्वाण शब्द प्रयोग गरेका छन्। शब्द जुनसुकै प्रयोग गरिए पनि मोक्ष, मुक्ति र निर्वाणको  अर्थ आ–आफ्नै धर्मदर्शनअनुसार बेग्लाबेग्लै हुन्छ । यसकारण, सबै कुरालाई एउटै डालोमा राखेर बुझ्नु र बुझाउनु धर्मदर्शनका सम्बन्धमा आफूमात्रै अनभिज्ञ हुनु होइन, अरूलाई पनि अज्ञानताको बाटोमा डो-याउनु हो।

प्राणीको सृष्टि कसले ग-यो ? कहिले ग-यो ? कसरी भयो ? यस्ता प्रश्नमा बुद्धले  कहिल्यै चासो दिएनन्। कसैले यी विषयमा जिज्ञासा राखेमा बुद्ध मौनालम्बन गरिदिन्थे वा यो प्रश्नलाई छाड्नु, मुक्ति कसरी हुने भन्ने विषयमा बुझ्नु भनेर अर्कै उपदेश दिन्थे। बुद्धका अनुसार विभिन्न योनीमा पुनर्जन्म भइराख्नुपर्ने अवस्था नै दुःख हो, यो  कर्मभोगअनुसार हुने गर्छ। यो नै समस्याको विषय हो। प्राणीको सृष्टि कसले ग-यो ? कहिले ग-यो ? कसरी भयो ? भन्ने प्रश्नको खोजी पहिल्यैदेखि गरिँदै आइएको हो।

सबैले अनुमान मात्रै लगाएर बसेका छन् र अनेकौं जवाफको अनुमानबाहेक ठोस जवाफ पाउन सकेको छैन। कथंकदाचित यो प्रश्नको जवाफ पाइयो नै भने पनि त्यसले मुक्तिमा सहायता नगर्ने भएकाले अनावश्यक  छ। बुद्धका अनुसार तीरले लागेको घाउको उपचार तत्कालै गर्नुपर्छ। कसले हान्यो ? कसरी हान्यो ? यस्ता प्रश्नको जवाफले उपचार हुने होइन। यसअनुसार बुद्धले दिएका उपदेशहरू अन्यको जीवन–दर्शनभन्दा नितान्त रूपमा फरक पर्न गएको छ। बुद्ध कसलाई भन्ने ? बुद्धको अर्थ के हो ? यो महत्वपूर्ण प्रश्न हो। सत्व (प्राणी)हरू जन्म र मृत्युको भवचक्रमा पिल्सिरहनुलाई बुद्धले दुःखका रूपमा परिभाषित गरेपछि दुःखबाट छुटकारा पाउन भवचक्रलाई नै तोड्नु बौद्ध धर्मदर्शनको मुख्य र एक मात्र लक्ष्य हो।

सामान्यतः संसारबारे  बोध गर्ने जो कोही बुद्ध हुन्। बुद्ध हुनु अर्थात् सम्पूर्ण कुराको बोध गर्नु सहज काम होइन। बौद्ध धर्मदर्शनले एकभन्दा बढी बुद्धको अस्तित्वलाई स्विकारेको छ। गौतम बुद्धलाई वर्तमानको बुद्ध र उनीभन्दा अघि बुद्धत्व प्राप्त गरेकालाई अतीत बुद्ध र पछि हुनेवालालाई भविष्यको बुद्ध भनी वर्गीकरण गरिएको छ। आफूभन्दा अघिका २७ मानव बुद्धको नाम स्वयं गौतम बुद्धबाट ज्ञात भएको हो  भने त्यस क्रममध्ये चौथो दीपंकर बुद्धसमक्ष सुमेध नामका एक ऋषिले आफू पनि भविष्यमा बुद्धत्व प्राप्त गरी बुद्ध हुन सकूँ भनेर प्रणिधान गरेका थिए। त्यसउप्रान्त अनेकौं पारमिताहरू पूरा गरी अब उप्रान्त पुनः जन्म लिन नपर्ने गरी तिनै सुमेध ऋषिले बुद्धत्व प्राप्त गरी गौतम बुद्धका नामबाट प्रख्यात बनेका हुन्। प्राणीमा रहेको क्लेशावरणलाई हटाउन सक्दा अर्हत्व लाभ हुने मान्यता छ। अर्हत्व प्राप्त गर्नु पनि जन्म र मृत्युको चक्रबाट मुक्ति पाउनु हो। अर्हत्हरू त्यस उप्रान्त कहिल्यै जन्मनुपर्दैन। छिटोभन्दा छिटो मुक्ति पाउने उपाय अर्हत् हुनु हो, तसर्थ गौतम बुद्धले अर्हत्व प्राप्तिमा जोड दिएको पाइन्छ।

गौतम बुद्धको सन्दर्भमा अर्हत्व प्राप्तिको अवस्था सुमेध ऋषिको जीवनकालमै  भइसकेको थियो। आफू मात्र मुक्त भएर के गर्नु, अरूको मुक्तिमा पनि सहायक हुनुपर्छ भन्ने असीम करुणाले ओतप्रोत भई अर्हत्वलाभको अवसरलाई स्थगन गरी बोधिसत्व मार्ग अवलम्बन गरेका थिए। बोधिसत्व मार्ग अवलम्बन गरेपछि लामो समयको साधनापछि मात्रै सम्यक् सम्बुद्ध बन्ने हो। गौतम बुद्ध सम्यक्सम्बुद्ध हुन्। एक सम्यक्सम्बुद्धलाई अर्को सम्यक्सम्बुद्धको निरन्तरता वा अवतार भनेर पनि बुझ्ने र बुझाउने गरेको पनि पाइन्छ, जुन बिलकुलै गलत बुझाइ हो।

बौद्ध र वैदिक मान्यताअनुसार राजा जनक, सीता, अंशुवर्मा, अरनिको, पृथ्वीनारायण शाह आदिको मृत्युपछि पनि अस्तित्व त रहन्छ नै। बौद्ध र वैदिक दुवैका अनुसार तिनीहरू नतरेका पनि हुन सक्छन्, तसर्थ तार्नुपर्छ भन्ने मान्यता छ। बौद्ध धर्मदर्शनको हिनयानअनुसार एक प्राणीको चित्त च्युति भएलगत्तै प्रतिसन्धि (अर्को प्राणीका रुपमा कसैको कोखमा प्रवेश) भइसक्छ। बौद्ध धर्मकै महायानी सम्प्रदायले भने चित्तच्युति र प्रतिसन्धिबीच एउटा अन्तराल रहेको हुने मान्यता राख्छ। यसलाई ‘अन्तराभव’ भनिन्छ। यसैलाई तिब्बती भाषामा ‘बार्दो’ भनिन्छ।

बार्दोको बेलामा भड्किरहेको मृतकको चित्तलाई धर्म उपदेश दिएर राम्रो सुगतितिर लान सकिने भएकाले बौद्ध समाजमा अनेक पूजाविधि सम्पन्न गरिन्छ। तिब्बती तथा नेपालको तामाङ समाजमा ‘घेवा’ को नामबाट चिनिएको संस्कार पनि त्यही हो। कोही मृतक अन्तराभवमा नै छ वा कुनै रूपमा जन्म लिइसक्यो भन्ने कुरा थाहा हुन्न। यस अवस्थामा यदि भइसकेको रहेनछ भने उसलाइ पुण्य लाभ होस् भनी परिवारजन वा शुभचिन्तकले बेलाबेलामा पूजाआजा गरिरहेका हुन्छन्। हिन्दू मान्यताअनुसार  तर्पण कार्य पनि एउटा त्यही प्रक्रिया हो।

कोही मान्छेले अर्हत्व वा बुद्धत्व प्राप्त गर्नुको अर्थ मुक्त भइसक्नु हो, अब उप्रान्त कहिल्यै जन्म लिनुपर्दैन र यो नै उसको अन्तिम जन्म हो। यस अर्थमा मुक्त भइसकेकाका नाममा तर्पण दिनु अनावश्यक हो। बुद्धलाई तर्पण दिएर बस्नु भनेको बुद्धत्वमाथि अविश्वास र अस्वीकार गर्नु हो। ईपू ५२८ वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरी ईपू ४८३ मा महापरिनिर्वाण लाभ गरेको कुरालाई सारा संसारले मान्छ र यही मान्यताअनुसार हामी ‘गौतम बुद्ध’ भनिरहेका छौं र श्रद्धा व्यक्त गर्छौं।

यो मान्यतालाई अस्वीकार गर्नु सुनसरीको गोविन्दघाटमा आयोजित सामूहिक तर्पण कार्यक्रमका आयोजकको हैसियतको कुरा होइन। आयोजकका अनुसार सुनसरी खोलाकिनारस्थित गोविन्दघाटलाई तीर्थस्थलका रूपमा विकास गर्न पहिलोपल्ट यसरी पितृ–तर्पण कार्यक्रमको आयोजना गरिएको हो। आ–आफ्नो आस्थाअनुसार धार्मिक कार्यक्रम चलाउन पाइन्छ, तर गौतम बुद्ध तथा बौद्ध धर्म र दर्शनलाई अपव्याख्या गर्नु उचित कार्य होइन।  

प्रकाशित: १८ माघ २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App