१४ आश्विन २०७७ बुधबार
अन्य

कविताः सपनाको तस्बिर

झोलामा बोकेर आएका थिए

उनीहरूले आफ्नो आँखाको तस्बिर।
दरबार पस्नुअगि नै झोला खोसियो द्वारमै।
के के थिए झोलामा
के के हराए झोलाबाट
उनीहरू आफैँ अलमलिए।

झोला खोज्दाखोज्दै बितेको रात
एउटा सपना बित्यो
रामविलासको जीवनमा।
झोला पोको पार्नुअघि रामविलासले
धेरै सपना पोको पारेका थिए
बाटो बाटोमै लुटियो उनको सपना।

उनी धेरैपटक यो सहरमा
देवदर्शन गर्न आए।
उनी धेरैपटक सिंहदरबारमा
कैँयौ सरकार पु¥याउन आए
आज उनको सपना लुटिँदा
आज उनको झोला खोसिँदा
न उनीसँग रुने कुनै सरकार छ
न कसैको सरोकार छ।
साला सेठले उनलाई लिलाम गरिदियो सहरमा।
करोडौँ अनुहारका बीच एउटा अमिल्दो
अनुहार लिएर रुँदै गर्दा
उसलाई सम्झाउने अर्को रामविलास
अब यो सहरमा छैन।
रामविलास भन्छ,
नरो, नरो।

यो सरकारले आँसु पुछ्न आयो भने
त्यसमा पनि कर लगाउँछ,
यो साला सेठले  हाम्रो आँसु खोस्योे भने
त्यो पनि हिराको भाउमा बेच्छ
आँसुको धेरै किनबेच  हुन्छ
यो सहरमा।

रामविलासलाई हेर्दै
रामविलास आज भन्दैछ,
तिमी रोयौ
तिमी किसान हौ
तिम्रो आँसुमा नुन छ
ऊ रोएन
ऊ मसान हो
उसको आँखामा खून छ
करोडौँ अनुहारमा आफ्नो   
अनुहार खोज्दै  रामविलास  
झोला बोकेर आएको थियो
यो सहरमा
झोलामा थियो
उसको सपनाको  तस्बिर
झोलामै थियो।
 

प्रकाशित: २६ पुस २०७६ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App