coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

परम्परागत गुरुङ पहिरन मोह

काठमाडौं - गुरुङहरूको मुख्य पर्व तमु ल्होसार संघारमै छ। उनीहरू ल्होसारको विशेष तयारी गर्दै छन्। यतिबेला पहिरन छनोट तथा किनमेल प्राथमिकतामै पर्छ।  त्यसैले काठमाडौैं, पेप्सीकोलाकी माया गुरुङले केही दिनअघि पोसाक अर्डर दिएकी छन्। ‘वर्ष दिनमा एक दिन लगाउन खुब रहर हुँदो रहेछ। त्यसैले सिलाउन दिएकी छु,’ उनले भनिन्।

गुरुङ महिला र पुरुषका आ–आफ्नै पहिरन छन्। महिलाहरू मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाउँछन्। यी पहिरनसँगै हातमा चुरा, काँक्रे बियाँ औँठी, गलामा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवं ठोकाकण्ठ, शिरबन्दी, लाहुरे फुली, ढुंग्री लगाउने क्लोथिङ इन नेपालकी प्रबन्ध निर्देशक अनिता तामाङले बताइन्।

उनका अनुसार, पुरुषले सेतो कछाड, मलायको पेटी, सेतो भोटो, कालो मखमलको स्टकोट र कालै मखमलको टोपी लगाउँछन्। कानमा कुण्डल तथा घाँटीमा गलबन्दी लगाउने चलन पनि छ। यस्ता पहिरन ल्होसार, व्रतबन्ध, वैशाख पूर्णिमाको घाटु, सोरठीलगायत विशेष अवसरमा लगाइने चलन रहेको प्रबन्ध निर्देशक तामाङले जानकारी दिइन्।

पछिल्लो समय युवावर्ग आफ्नै परम्परागत पहिरनतर्फ  आकर्षित भएका छन्। यसक्रममा  चाडपर्व, उत्सव, महोत्सव, जात्रामा आफ्नै जातीय पहिरनमा सजिने युवाको संख्या बढ्दो छ। त्यस्तै, सौन्दर्य प्रतियोगितामा युवतीहरू परम्परागत पहिरनमा सजिन्छन्।

गुरुङ महिला मखमलको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाउँछन्।

काठमाडौं मैंजुबालकी नवीना गुरुङ ल्होसारको तयारीमा छिन्। हरेक वर्षझैँ  उनी मखमलको चोली र घलेक, लुंगी, पछ्यौरी,  कण्ठमाला, किटिल र बुलाकी लगाएर ल्होसार मनाउने सोचमा छिन्। जातीय पहिरनमा सजिँदा आत्मगौरव महसुस हुने बताउँछिन्।  ‘कलेजमा आयोजित कार्यक्रममा गुरुङ पहिरन लगाउँछु,’ उनले भनिन्, ‘यो  हाम्रो पहिचान हो। यसरी नै संस्कृतिको जर्गेना हुन्छ ।’

सांस्कृतिक कार्यक्रम तथा शुभकार्यमा पनि गुरुङ पहिरन नै लगाउने गरेको उनले सुनाइन्। नारीलाई सारी नै सुहाउँछ भन्ने उखान खुब प्रचलित छ। महिलाहरू विवाह तथा शुभकार्यमा सारीमा सजिन्छन्। तर काठमाडौं सामाखुसीकी अस्मिता गुरुङ भने आफ्नै परम्परागत गुरुङ पहिरन लगाउने गरेको बताउँछिन्।  कम्मरमा निलो पटुकी, कटनको कालो लुंगी, रातो घेलेक, गलामा कण्ठमाला, शिरमा शिरबन्दी र नाकमा बुलाकी लगाएर पोहोर  ल्होसारमा नाचेको उनले सुनाइन्।  ‘ल्होसारमा आफ्नै पहिरनमा सजिएर साथीभाइसँग नाचगान गर्दा नै रमाइलो हुन्छ,’ उनले भनिन्, ‘यसपालिका लागि पनि तयारी गर्दै छु। संस्कृति जोगाउनैप-यो।’

कुनै समय अल्लो गुरुङ समुदायको परम्परागत पहिरन बनाउन  प्रयोग हुन्थ्यो। तर, पछिल्लो समय यो निश्चित समुदायमा मात्र सीमित रहेन। अल्लोको धागोबाट बनेका कपडामा युवावर्गको आकर्षण बढ्दै गएको छ। अल्लोबाट उत्पादित सल, झोला, वानपिस, मिनिस्कट, झोला, गलबन्दी, जुत्ता–चप्पल, कोट, पाइन्ट र टाइलगायत फेसन बनेका छन्। त्यस्तै गुरुङ महिलाका पहिरनमा पनि नयाँपन देखिएको प्रबन्ध निर्देशक तामाङले बताइन्।

प्रकाशित: १२ पुस २०७६ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App