नेपाली साहित्यशास्त्रमा विभिन्न रस स्थापित भएका छन्। शृंगार र व्यंग्य लेखक–पाठक दुवैलाई विशेष प्रिय लाग्छ। व्यंग्यलाई कुन रसमा सामेल गर्ने, त्यो समस्याचाहि“ छ। मनुष्यको जिजीविषा शृंगारसँग गाँसिएको छ। शृंगारले जीवनलाई रस प्रदान गर्दछ। तर रसले मात्र पुग्दैन। आफू रहेको–बाँचेको परिस्थिति मानिसलाई कहिलेकाही“ असहनीय हुन्छ। अनि मानिसले कहिले बन्दुक बोक्छ, कहिले कलम समाउँछ। संवेदनशील लेखकको हातमा व्यंग्य प्रतिकारको एक सशक्त हतियार बन्छ।
परापूर्व कालदेखि नै साहित्य लेखनमा व्यंग्यको धारिलो प्रयोग हुँदै आएको छ। विमल भौकाजी मूलतः एक कवि हुन्। देश र समाजको लथालिंग अवस्था देख्दा यो सब बदलिए हुन्थ्यो भन्ने उनको मनोकामना छ। ‘द्रौपदी देश’ व्यग्रताको अभिव्यक्ति हो।
व्यंग्य सबै थरीका शक्तिमुखी मनुष्यको विरोधमा उज्याउने हतियार हो। यतिबेला राजनीति शक्तिमुखी व्यवसाय भएको छ। तर त्योबाहेक पनि व्यापारी, डाक्टर, इन्जिनियर, शासक र पत्रकारसमेत पनि सत्ताको रानीपोखरीमा सानन्द पौडिरहेको दृश्य देखिन्छ। भौकाजीको यस कृति त्यस दृश्यको पुनरावलोकन हो।
समकालीन नेपाली साहित्यमा मौलाएको, झाँगिएको, टाक्सिएको; सबै प्रकारका कृति उपलब्ध छन्। साहित्यले व्यंग्यको यावत् शैलीलाई उपयोग गरेको छ। मर्मज्ञले व्यंग्यका विभिन्न स्वरूप चिनाएका छन्। भौकाजीको यस व्यंग्यको संकलनमा त्यस्ता सबै प्रकृतिको उपस्थिति छ। तर, मुलुकको परिस्थितिले यी सबलाई उछिनेको छ। मुलुक राजनीतिमय भएको छ। त्यसैले होला, भौकाजीको व्यंग्य–पुस्तकको प्रधान स्वरलाई राजनीतिले गाँजेको छ। भौकाजी मुलुकको आजको व्यवस्थाले व्यथित छन्। सपनामा हो कि विपनामा भेटिएकी ‘नैतिकता’लाई खोजिहि“ड्दा पनि भेटिन्नन् अनि स्रष्टाको संवेदनशील मन व्यथित हुन्छ।
यतिबेला राजनीति शक्तिमुखी व्यवसाय भएको छ। त्योबाहेक पनि व्यापारी, डाक्टर, इन्जिनियर, शासक र पत्रकारसमेत सत्ताको रानीपोखरीमा सानन्द पौडिरहेको दृश्य देखिन्छ। भौकाजीको यस कृति त्यस दृश्यको पुनरावलोकन हो।
व्यथाले आक्रोश जन्माउँछ। त्यस्तो आक्रोशले विकृतिको रूप लिन सक्छ। प्रस्तुत पुस्तकमा भने आक्रोशले व्यंग्यको माध्यमबाट संस्कृतिको रूप लिएको छ।
मानवीय आक्रोश र क्रोध नियन्त्रणमा रहँदासम्म ठीक नै छ। अनियन्त्रित भयो भने विकृतिको रूप लिन्छ।
सज्जनताका कारण त्यो क्रोधले साहित्यकारमा भने सात्विक अभिव्यक्ति पाउँछ। भाषामा यस्तो क्रोधलाई ‘मन्यु’ भनिन्छ। मन्यु धारणा गर्नेहरू ‘मनिषी’ कहलाउँछन्। प्रस्तुत कृति भौकाजीको मन्युमय अभिव्यक्ति हो।
साहित्यले सुन्दरी र सुन्दरीका अंग–प्रत्यंगसमेतलाई अनारदाना, दारिम, बेल, केराको थामजस्ता विभिन्न प्राकृतिक शैलीमा वर्णन गर्छ। त्यस्ता वर्णनलाई उपमा, अलंकार र प्रतीक भन्ने गरिन्छ। भौकाजीले ऐतिहासिक झुत्रो, लौरो, नक्सा र हलो जोत्ने किसानलगायतका विम्ब प्रयोग गरेका छन्। समसामयिक जीवनका दारुण तथ्यलाई अझ तिक्त विम्ब दिएर झस्काएका छन्। नगरमा करोडौं रुपैयाँ किलोका हिसाबले मान्छेका मासु बिक्दै छ भनेर औंल्याउँछन्। नगरवधुको आयात–निर्यात गरेर एक नम्बरको व्यापार चलेको छ। उनको दृष्टिबाट विभिन्न नाममा चलेका एनजीओ वा संस्थाहरूको चलखेल पनि लुकेको छैन।
तर सर्वोपरि राजनीति नै हो। राजनीति स्वस्थ र चनाखो भइदिएको भए जीओ–एनजीओ सबै ठाउँमा हुने थियो। राजनीति नै आज ठीक ठाउँमा छैन। राजनीति ठाउँमा हुने भनेको जागरुक र प्रभावशाली प्रतिनिधिसभा हुने हो। विमलजीले प्रस्टसँग धेरै ठाउँमा प्रतिनिधिसभाको खोइरो खनेका छन्। संसदभित्र हुने झैझगडा, हात हालाहाल, कुर्सी भाँचाभाँचको अविकल तस्बिर छ यहाँ। कुर्सीका लागि हानाथाप गर्ने क्रममा कुर्सी भाँच्नेहरू भोलिपल्टै फेरि मुस्कुराएर हात मिलाउँदै कुर्सीमा बस्छन्। राजनीति आफ्नो ठाउँमा रहनुपर्छ भन्ने कुराको अर्को पनि अभिप्राय छ। सभामा बस्ने योग्यता भएको मानिसलाई सभ्य भनिन्छ। तर संसद्को रंगशालामा सभ्यता छैन, हात हालाहाल गरिन्छ। त्यसमा जो त्रुटि छ, रहोस्। योबाहेक आजको राजनीतिले बकासुर–अघासुरको रूप लिएर जीवनको हरेक अंगलाई हसुर्न खोज्दै छ।
साहित्य र संस्कृति नित्य असुरक्षित हुँदै गएको छ। यस्तो बेलामा साहित्यकारले आपैंm अघि सरेर साहित्यलाई बचाउनुपरेको छ। लौरो टेक्नैपर्छ। लौरो नचाउनैपर्छ। अन्यथा पुस्तकमा संकेत भएझैं रक्षक कृष्ण भक्षकका रूपमा परिणत हुन्छ। कृष्णको कालो कोठी देखाएर यस आलेखमा कृष्णप्रसाद भट्टराईजस्ता समादृत र माधव नेपालजस्ता निरीह नेतालाई पनि श्लेषात्मक पाराले झोसिदिएका छन्।
दोस्रो जनआन्दोलनपश्चात् राजनीतिक दलहरुको अंशबन्डाको विजोगलाग्दो परिदृश्य छ यसमा। पुलिस, प्रशासन, न्यायालय, अस्पताल, विश्वविद्यालय र पवित्र संस्थाहरू अंशबन्डाका नाममा बलात्कृत भएका छन्। महाभारतकी द्रौपदी एकवस्त्रा थिइन्। आधुनिक द्रौपदीको वस्त्र खोसाखोसको क्रममा एउटाले साडी, अर्कोले ब्लाउज, एउटाले ब्रेसियर र अर्कोले पेन्टी तानेको दृश्य भौकाजीले कारुणिक रूपमा चित्रण गरेका छन्।
साहित्य एउटा कुरालाई अर्को शैलीमा भन्ने विधा हो त्यसैले मदनले मुनामा अनारदानाका दाँत देखे। साहित्यका एकाग्र साधक भौकाजीले बेलाबखत यस किसिमका विम्ब बिर्सिएका छन्। राजनीतिज्ञ, चिकित्सक र कर्मचारीमाथि हुने प्रत्यक्ष प्रहारमा व्यंग्यको मर्म केही शिथिल भएको छ। ‘शासन’ आलेख अपेक्षाकृत एक श्रेष्ठ कृति भएको छ। शासनमा कुनै राजनीतक पार्टीलाई प्रत्यक्ष व्यंग्य गरिएको छैन। मयूर र बाघ दुवै नक्कली छन्। कथाले नक्कली महानुभावको पर्दाफास गरेको छ। सबै नै देखावटी मयूर र बाघ भएका छन्। भित्री सत्व त काग र कोइलीको छ।
ठाउँठाउँमा हँसिया–हथौडा वा चारतारे झन्डामा उल्लेख भएका विम्बहरू प्रभावकारी लाग्छन्। राजनीतिको यस्तो विद्रुप अनुहार देख्दा म व्यथित भएको छु। तर भन्न पो के सक्छु र ! मुलुक आज राजनीतिबाट प्रदूषित छ। हावाको प्रदूषण मास्क लगाएर रोक्न सकिन्छ। पानीको प्रदूषण ट्रिटमेन्ट गर्दा हुन्छ। राजनीतिले प्रदूषण गरेको यो समाजलाई केले शुद्ध पार्ने ? शुद्धीकरणको अभियानमा ‘द्रौपदी देश’ एक धारिलो झटारो भएको छ। अविराम र अक्लान्त रूपमा यस्ता कृतिहरू पस्केर राजनीतिलाई चोख्याउने दिशामा भौकाजीको कलम अगि बढिरहनेछ।
(भौकाजीको प्रकाशोन्मुख कृति ‘द्रौपदी देश’बाट)
प्रकाशित: ५ पुस २०७६ ०५:१४ शनिबार