१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

ब्राह्मीकाे नेपाल यात्रा

पुरातत्वमा लिपि अध्ययनलाई महत्वपूर्ण मानिन्छ। पुरातत्व इतिहासको एक आधार हो। प्राचीनस्थलको उत्खननबाट प्राप्त लेखोट, अभिलेख, मुद्रालेख आदि इतिहासका क्षेत्रमा अमूल्य प्रमाण हुन्, जुन लिपिसँग सम्बन्धित छन्। यसर्थ साँचो इतिहासका लागि लिपि एक आधार हुन सक्छ।

मानव सभ्यताको विकास क्रममा लेखनकलाको महत्वपूर्ण भूमिका छ। भनिन्छ, भाषा उत्पत्ति नहुँदै आफूलाई व्यक्त गर्न मानिसहरु चित्रकला लगायतको अभ्यास गर्थे।

सभ्यताको विकास क्रमलाई विभिन्न चरणमा विभाजन गरिएको देखिन्छ। विशेषगरी कृषियुगलाई विभाजनको आधार बनाई त्यसअघिको युगलाई प्रागैतिहासिक अर्थात ढुंगेयुग र त्यसपछिको युगलाई आद्यइतिहास अर्थात् नगरसभ्यताको इतिहास भनिएको पाइन्छ। आद्य–इतिहास र इतिहासलाई विभाजन गर्ने आधिकारिक आधार लेखन अर्थात् लिपि हो। लेखनकलाको सुरुवातसँगै इतिहासकालको सुरुवात भएको मानिन्छ। आद्य–इतिहासमा व्यवस्थित नगरसभ्यताको विकास भए पनि लिखित प्रमाणका अभावमा आद्य–सभ्यताको समग्र पक्षमाथि प्रकाश पार्न अन्य प्रागैतिहासिक सभ्यताको अवशेष अर्थात् पुरातात्विक प्रमाणहरूको सहारा लिनुपर्छ। लेखनकलाको सुरुवातसँगै इतिहासको सुरुवात भएको मानिने हुनाले यसै समयदेखि युग विभाजनको स्पष्ट आधार देखिन्छ।

लिपि के हो ?
लिपि के हो भन्ने विषयमा भाषाशास्त्री तथा लिपि विशेषज्ञका फरक–फरक मत छन्। आफ्नो व्यक्तिगत अनुभूतिलाई दोस्रो व्यक्तिसम्म सञ्चार गर्ने क्रममा भाषा र भाषा बुझाउने संकेत चिह्नको विकास भएको मानिन्छ। शब्दको उत्पत्ति हुनुअघि शारीरिक हाउभाउ र सांकेतिक चिह्नका माध्यमबाट भाषिक सञ्चारको आदान–प्रदान गरेको हुनुपर्छ। भाषिक सञ्चारका लागि प्रयोग भएका सांकेतिक चिह्न नै लिपि विकासको आधार हुन सक्ने लिपि विशेषज्ञको भनाइ छ। चित्रलिपि, भावात्मक लिपि र आक्षरिक लिपि हुँदै अन्तमा वार्णिक लिपिको विकास भएको भाषाशास्त्री चुडामणि बन्धुको भनाइ छ। लिपि समाजले रचेको प्रतीक व्यवस्था हो, जुन निश्चित समूहद्वारा प्रयोग गरिएको हुनुपर्छ, (नेपालमा प्रचलित प्रमुख लिपिहरू स्थिति, समस्या र सम्भावना)।

लिपि विशेषज्ञ दिनेशचन्द्र रेग्मीका अनुसार, लिपि भावनात्मक प्रतीकहरूको बोधार्थ हो। खासगरी वाणी अर्थात् भाषाको प्रयोग नगरी आसय व्यक्त गर्ने अन्तःसञ्चारको प्रयासबाट लिपिको उत्पत्ति भएको आईजे गेल्वको तर्कलाई स्वीकार गर्र्दै चित्रकलाबाटै लेखनकलाको विकास भएको हुन सक्ने रेग्मीको तर्क छ। वस्तुतः सामाजिक व्यवहारलाई सहज बनाउने उद्देश्यले आविष्कार गरिएको साझा विश्वासमा आधारित चिह्न वा प्रतीकलाई लिपि मान्न सकिन्छ। यस तर्कलाई जोड दिँदै समग्रमा सांकेतिक भाव वा भाषा बोधार्थक वस्तुको माध्यमबाट लिपिको विकास भएको मानवशास्त्री प्रेमकुमार खत्रीले तर्क गरेका छन्, (उत्पत्ति : मानवसभ्यतको केही पक्षको ऐतिहासिक एवम् मानवशास्त्री अध्ययन)।

सभ्यताको विकास क्रमलाई विभिन्न चरणमा विभाजन गरिएको देखिन्छ। विशेषगरी कृषियुगलाई विभाजनको आधार बनाई त्यसअघिको युगलाई प्रागैतिहासिक अर्थात ढुंगेयुग र त्यसपछिको युगलाई आद्यइतिहास अर्थात् नगरसभ्यताको इतिहास भनिएको पाइन्छ। आद्य–इतिहास र इतिहासलाई विभाजन गर्ने आधिकारिक आधार लेखन अर्थात् लिपि हो।

समग्रमा भाषा विकसित भएपछि बोली र भावनालाई लिपिबद्ध गर्न लिपिबद्ध भएको खत्रीको निष्कर्ष छ। हिन्दू धर्मशास्त्रहरूमा भने लिपिलाई धार्मिक कोणबाट व्याख्या गरिएको पाइन्छ। लिपि सृष्टिकर्ता ब्रह्माजीबाट उत्पत्ति गरिएको हो भन्ने पारम्पारिक सिद्धान्तलाई भारतीय लिपि विशेषज्ञ गौरीशंकर हिराचन्द ओझाले स्वीकार गरेका छन्, (प्राचीन भारतीय माला, सन् १९१८)। हिन्दू सभ्यतामा जगत्पिता सृष्टिकर्ता ब्रह्मालाई नै लिपि तथा सम्पूर्ण शास्त्रको स्रोत मानिएको छ। ब्रह्माको आदेश वा वरदानले मात्र अरुले ज्ञान–विज्ञानका क्रियाकलापमा सफलता पाउँछन्। ब्रह्माकी शक्तिको रूपमा सरस्वती पनि विद्याकी देवी भएकीले लिपि तथा शास्त्र निर्माणमा उनको विशेष भूमिका मानिन्छ। त्यस्तै, प्रेमकुमार खत्रीका अनुसार, शास्त्रहरूले महादेव पार्वतीका पुत्र गणेशलाई सिद्धहस्त लिपिकार वा लेखक मानेको छ।

लिपि र अक्षर एउटै हो त ?
साधारण जिज्ञासुहरूलाई लिपि र अक्षरको भावार्थ एउटै हो भन्ने लाग्छ। तर यसको व्याकरणीय अर्थमा तात्विक भेद देखिन्छ। नेपाली शब्दकोशले अक्षर लेख्ने प्रणालीलाई लिपि र वर्णध्वनि सूचित गर्ने चिह्नलाई अक्षर भनेको छ। यी दुई परिभाषालाई विचार गर्दा अक्षर र लिपिबीच अभिन्न सम्बन्ध देखिन्छ। सारमा बुझ्दा वाणीलार्ई अक्षर र वाणीलाई बोधार्थ गर्ने प्रतिकात्मक चिह्नलाई लिपिका अर्थमा बुझ्न सकिन्छ। हिन्दू पौराणिक शास्त्र अनुसार, सृष्टिकर्ता ब्रह्माजीबाट सिर्जना गरिएको हुनाले वाणीलाई कहिल्यै ननासिने अर्थात् अक्षरको भावार्थमा लिपिलाई बुझ्न सकिन्छ। विद्वान् धनशमशेर जबराले आफ्नो पुस्तक ‘मातृकाक्षर रहस्यम्’को प्रस्तावनामा ‘अ इति ब्रह्म र ओमित्येकाक्षरं ब्रह्म’ भन्ने उल्लेख छ। यसले अक्षरको दार्शनिकतामाथि प्रकाश पार्छ। ‘अ’देखि ‘लृ’ सम्मका स्वरवर्णहरू शक्तिस्वरूप र ‘क’देखि क्षसम्मका वर्णहरू शिवस्वरूप मान्दै तान्त्रिक साधनामा अक्षरको दर्शनलाई स्वीकार गरिएको जबराको अर्को पुस्तक ‘कामकला रहस्यम्’मा उल्लेख छ। बुनोट र बनौटका आधारमा व्याख्या गर्दा एउटै वर्णमालालाई बुझाउन अक्षर र फरक–फरक वर्णलाई बुझाउन लिपिको प्रयोग भएको मानिन्छ।

प्रागैतिहासिक भाषिक सञ्चार
आदिम ढुंगेयुगको भाषिक सञ्चारको अवस्थाबारे वैज्ञानिक ढंगबाट विश्लेषण गर्न सकिएको छैन। तर, प्राप्त गुफा चित्रहरूको अध्ययनका आधारमा यससम्बन्धी संकेतहरू (शारीरिक हाउभाउ, रेखात्मक र चित्रात्मक संकेत) को आँकलन गर्न सकिन्छ।

अन्तिम हिमयुग अर्थात् उच्च पुरापाषाणकालको मानिने ओरिग्नेसियन, सोलुट्रियन र म्याग्डेलियन संस्कृतिका मानवले युरोपका अल्तामिरा, लास्क, क्यान्टोब्रिया र क्यास्टिलो गुफामा खोपिएका रेखाचित्र र चित्रहरूको विश्लेषण गर्दा तत्कालीन भाषिक सञ्चरणको संकेत मिल्दछ (द वल्ड स्टोन एज, एमसी वर्किट)

व्युत्पतिगत आधार
प्रागैतिहासिक भाषिक सञ्चरणका संकेत अर्थात् लेखोटहरु देखिए पनि ती लिपि नभएर लिपिका वीजरूप थिए भन्न सकिन्छ। वस्तुतः भावलाई बुझाउने संकेत चिह्न वा चित्र सर्वप्रथम सुमेरियनहरूले प्रयोग गरेको विद्वान्हरूको विचार छ। लिपि विकास क्रमको सुरुवातमा भाव वा आसय लेखनले नै प्रमुख भूमिका खेलेको मानिन्छ। फ्रान्सको दोेरदोग्ने क्षेत्रको तेजात गुफाबाट प्राप्त हाडमा कुँदिएको चित्रमा सिकार गर्दै गरेको भाव व्यक्त भएको बुझिन्छ। यसरी संकेतपरक रेखात्मक र चित्रात्मक आकृतिबाटै लिपिको विकास भएको अनुमान गर्न सकिन्छ। अतः चित्रात्मक अभिव्यक्तिपछि ध्वनि वा शब्दको विकास भएपछि ध्वन्यात्मक लेखनको विकास भएको मान्न सकिन्छ।

शब्द पहिले कि अक्षर ?
लिपि विकास क्रमको विश्लेषण गर्दा शब्द पहिले कि अक्षर पहिले भन्ने प्रश्नलाई ध्यान दिनु आवश्यक ठानिन्छ।

सामान्य ठम्याइमा आवाज र भाषाको विकाससँगै कुनै पनि वस्तुलाई बुझाउन सुरुमा शब्दको विकास भएको तर्कलाई चिपान्जी र गोरिल्लाको भाषिक सञ्चरणको प्रक्रियाबाट हेर्न सकिन्छ। यस तर्कलाई आधार मानेर भाषाविद्, मानवशास्त्री र लिपि विशेषज्ञले ध्वन्यात्मक लेखनको पहिलो चरणलाई शब्दाक्षारात्मक लेखन मानेका छन्, (पुरालेखन र अभिलेख, दिनेशचन्द्र रेग्मी)। मिश्रमा धार्मिक भावहरूलाई अभिव्यक्त गर्न प्रयोग गरिएको चित्रात्मक लेखलाई विद्वान्हरूले पवित्र लेखन मानेका छन्, जुन लेखनपछि शब्दाक्षारात्मक लेखनको रूपमा विकसित हुन पुग्यो। मेसोपोटामियामा माटोको पाटीमा लेख्ने चलन चल्यो। गिलो माटोको पाटीमा लेखिने किलाक्षर वा क्युनिफर्म आकृतिलाई पनि शब्दाक्षारात्मक लेखन नै भनेको पाइन्छ। उल्लिखित तर्कहरूको आधारमा कुनै पनि वस्तुलाई बुझाउन सुरुमा शब्दको विकास भयो। कालान्तरमा हजारौं शब्द चिह्नहरूको उपयोग गर्न सकिने अक्षरात्मक लेखन पद्धतिको विकास भयो भन्ने अर्को तर्क छ। यसरी हेर्दा शब्दको विकास भएपछि तिनै शब्दसँग जोडिएर आएका वाणीहरूलाई बोधार्थ गर्न प्रतीकात्मक चिह्नको विकास भएको बुझिन्छ। पछि भाषाको एक वा बढी समान ध्वनिका लागि ध्वनि बोधार्थक चिह्नको व्यवस्था गरियो, जसलाई भाषाशास्त्रमा वार्णिक वा वर्णमाला भनिन्छ। यस प्रकारको वैज्ञानिक प्रकृतिको वर्णमालामा स्वर र व्यञ्जन वर्णको स्पष्ट भेद रहेको हुन्छ।

विकास चरणको आधार
आगो पत्ता लागेपछि मानव सभ्यताको विकास क्रममा तीव्रता आयो भने आद्यसभ्यता अर्थात् नगरीकरणको विकाससँगै चक्काको विकास भएपछि सभ्यताको विकास क्रममा अझ बढ्ता छलाङ मा-यो। लिपि विशेषज्ञका अनुसार अभिव्यक्तिका बोधार्थक चिह्नमा ध्वनिको संयोजन भएसँगै वर्तमान विश्वमा प्रचलित लिपिहरूको विकास भएको हो। यस तर्कले लिपि विकास क्रमको अन्य आधारलाई संकेत गरेको छ। भाषाशास्त्री माधवप्रसाद पोखरेलले लिपि विकाससम्बन्धी कौल्मसको सिद्धान्तलाई जोड दिएका छन्। मेसोपोटामियाको क्युनिफर्म वा किलाक्षर लिपि, मिश्रको पवित्र लेखन (हियरोग्लिफ) सिन्धुलिपि बाट ब्राह्मी हुँदै देवनागरी लिपिको विकास भएको सूत्रात्मक तर्क पेस गरेका छन्। कसरी मेसोपोटामियाको क्युनिफर्म लिपिले ब्राह्मीसम्मको यात्रा ग-यो भन्ने विषयमा पोखरेलले सेमेटिक फोनेसियाली (शामेली लिपि पनि भनिने), प्राचीन हिब्रु, आरामाइक, लिपि हुँदै ब्राह्मीसम्मको विकास क्रमको उल्लेख त गरेका छन्, त्यसमा थप विश्लेषण गरेको देखिँदैन, (नेपालमा प्रचलित प्रमुख लिपि स्थिति, समस्या, र सम्भावना)। विदेशी विद्वान्का तर्कहरूको आधारमा लिपि विकास क्रमका चरणहरूलाई दिनेशचन्द्र रेग्मीले आसय लेखन, ध्वन्यात्मक लेखन र यसलाई विभिन्न उपचरणहरूमा विभाजन गरेका छन्। चित्रात्मक लेखनबाट वर्णात्मक लेखनसम्मको यात्रामा तीन चरण देखिएको मानवशास्त्री प्रेमकुमार खत्रीले बताएका छन्। पहिलो चरणमा चित्रात्मक लिपि, दोस्रो चरणमा लिपिको अवस्थामा पूरा चित्र नबनाई संकेत मात्र र तेस्रो चरणमा चिह्नमा स्वर दिई वर्णमालाको विकास हुन पुगेको बताएका छन्। आइजे गेल्वको विचारलाई उधृत गर्र्दै भूमध्ये सागरको पूर्वीकिनाराबाट प्रशान्त महासागरको पश्चिमसम्म फैलिएको विशाल भूभागमा शब्दाक्षारात्मक लेखनका सातवटा लेखन पद्धतिहरू विकास भएको लिपि विशेषज्ञ दिनेशचन्द्र रेग्मीले बताएका छन्। प्राचीन मेसोपोटामिया सभ्यताबाट निकटपूर्वका ग्रीस, मिस्र, चीन र जापान हुँदै भारतीय उपमहाद्विपसम्म सामेली वा सेमेटिक लिपि फैलिएको तर्कहरू माथि अनेक वादविवाद विद्वान्हरूबीच बहस हुँदै आएको छ। खासगरी भारतीय विद्वान्हरूले पश्चिमी विद्वान्का लिपिको व्युत्पत्ति, विकास र विस्तारसम्बन्धी तर्कहरूलाई पौराणिक पुरातात्विक तर्कहको आधारमा खण्डन गरेका छन्।
०००
प्रागैतिहासिक चित्रात्मक स्वरूपका अनेक लेखोटहरू पाइए पनि त्यसलाई लिपि भनिएको छैन। इसापूर्व १४०० को आसपासमा मेसोपोटामियाको सुमेरु सभ्यताकालमा सर्वप्रथम लिपिको विकास भएको मानिन्छ, जसलाई सेमेटिक वा शामेली लिपि पनि भनिन्छ। पछि सामेली, सेमेटिक वा फिनिसियाली लिपिले ग्रीकसम्म यात्रा ग-यो। व्यापारिक वा सांस्कृतिक सहसम्बन्धका कारण ग्रीकहरूले फिनिसियाली लिपिबाट प्रभावित भई ग्रीक लिपिको विकास गरेको विद्वान्हरूले बताएका छन्। कालान्तरमा यो लिपि ग्रीकबाट रोम पुग्यो। रोमनमा आइपुग्दा केही परिमार्जित भएर रोमन वर्णमालाको विकास भयो। विद्वान्हरूका अनुसार आद्य सेमेटिक लिपिबाटै विश्वका अरु लिपिको विकास भएको भन्ने भनाइ छ। यस मतमा  रहेर लिपि विशेषज्ञ जर्ज बुलरले भारतीयहरूले शामेली लिपिका २२ वटा शब्द सापटी लिएर ब्राह्मी लिपिको विकास गरेका हुन् भन्ने तर्क अगाडि सारेका छन्।

सिन्धुघाँटीमा लेखन
भारतीय लेखनकलाको इतिहासमा सिन्धु सभ्यतालार्य एउटा महत्वपूर्ण सिमारेखाको रुपमा लिन सकिन्छ। सिन्धु सभ्यतालाई आद्यसभ्यताको रुपमा परिभाषित गरिएको पाईन्छ। पुातात्विक उतखनन्बाट प्राप्त तथ्य तथा भग्नावशेषहरुको संचरना विष्लेशणको आधारमा यो विशाल नगर सभ्यताको रुपमा  फैलिएको देखिन्छ।

सिन्धु सभ्यतामा चित्रात्मक लिपिको विकास भएको देखिन्छ। तर ती चित्रलिपिहरुको लिप्यान्तरण र भाषन्तरण गर्ने प्रयास भएता पनि त्यो सर्वस्वीकार्य हुन सकेको छैन। सुमेरीयाली सभ्यताको समकालीन मानिेने सिन्धुसभ्यतामा प्राप्त भावपरक पढ्न र अथ्र्याउन हालसम्म नसकिएता पनि यस उपमहाद्धिपमा नगरसभ्यताको विकास गर्ने समाज लेखनकलासंग परिचित थियो भन्ने जानकारी ती चित्रात्मक लेखोटहरुले दिन्छन्। सिन्धु सभ्यताको चित्रात्मक लिपिलाई विशेषज्ञहरुले द्रविड वा तमिललिपिको आदिम लिपि, या ब्राम्ही लिपिको जननी हुनसक्ने विषयमा विद्धानहरु बीच विवाद छ। तर डेभिड डिरिञ्जरले सिन्धु लिपिलाई भाव वा आशय बुझाउँने अक्षरात्मक लेखन मानेका छन्।

पौराणिक साहित्यमा लेखन
इपु २४९ देखि सम्राट अशोकले प्रशारण गरेका अभिलेखयुक्त स्तम्भहरु पाइएका हुनाले मौर्यकाललाई ऐतिहासिक काल भनिएको छ। सिन्धुसभ्यतापछिको वैदिक सभ्यताका विभिन्न वैदिक तथा पौराणिक साहित्यहरुमा लेखनकलाको संकेतहरु पाईन्छन्। वैदिक मन्त्रहरु छन्दमा हुनु, ऋग्वेद, यजुर्वेद र शतपथ व्राम्हणमा अंक लेखनको सन्द्यर्भ पाइनु, छान्दोग्यनिषद, ऐतरेय आरण्यक लगायतका साहित्यहरुमा स्वर र व्यञ्जनवर्णका आधिष्ठाता देवताहरुको उल्लेख हुनु, रामायण र महाभारतमा लेखन सम्बन्धी चर्चा पर्नु, कौटिल्यको अर्थशास्त्रमा लेखनको सन्दर्भ पर्नु र पाणिनीको अष्टध्यायी त प्राचीन व्याकरण नै भएकाले भारतीयहरुमा लेखनकलाको मौलिक ज्ञान थियो भन्ने तर्कलाई यी आधारहरुले प्रमाणित गर्दछन्। त्यस्तै, बौद्ध जातकथा, महावग्ग, सुत्तान्त, विनयपिटक, र ललितविस्तर लगायतका ग्रन्थहरुमा प¥याप्त संकेत परेकाले यस आधारलाई अझ बल पु-याउँछ। प्राचीनकालमा भारत भ्रमण गर्ने विदेशी यात्रीका यात्रा वृतान्तमा भारतीयहरु लेखनकलाको जानकार रहेको उल्ले गरेका छन्। अलेकजेण्डराका साथ भारत आएका नियाकर्स, युनानी लेखक कयु.कर्टियस, युनानी राजदुत मेगरुथनिज, चिनिया यात्री ह्वेनसांग र अरबीयात्री अलबेरुनीका यात्रा वृतान्तले त्यस कथनलाई प्रमाणित गर्दछन्। पुरातात्विक साक्ष र पुरालेखन प्रमाणले समेत लेखनकलाको वैदिक सन्दर्भलाई संकेत गर्दछन्।

ब्राह्मी लिपिः व्युत्पत्तिको प्रश्न
भारतीय उपमहाद्धिपमा प्रचलित सर्वप्राचीन लिपि व्राह्मी लिपि हो। वैदिक, पौराणिक साहित्यहरुले यस तर्कलाई संकेत गरेको इतिहासकारहरुको दावी छ।  भारतले ग्रीस,बेबिलोन, र मेसोपोटामिया सभ्यताबाट प्रभावित भएर भारतीयहरुले लेखनकलाको विकास गरेका विदेशी विद्धान डेभिड डिरिञ्जर र जर्जबुलरको तर्क छ। लिपि विशेषज्ञ विलियम जोन्सले उत्तरी सेमेटिक लिपिबाट व्राम्ही लिपिको विकास भएको विचारलाई जर्ज बुलरले समर्थन गरेका छन्  उनले सेमेटिकका  अठारवटा ध्वनीको उच्चारण गर्ने २२ वटा  अक्षरचिन्हहरुबाट भारतीयहले व्राह्मी लिपिको विकास गरेको वताएका छन्। भारतीयहरुले आफूलाई अनुकुल हुनेगरी २२ अक्षरलाई अनेकौं ढाँचामा पविर्तन गरेर लिपिको विकास गरे भन्ने बुलरको विचारमा प्रश्न गर्न सकिन्छ। तर स्वतन्त्र स्वरवर्ण र  व्यञ्जनवर्णयुक्त पूर्ण वर्णमालाले सम्पन्न भएको व्राह्मी लिपिले सेमेटिक लिपिको सापटी लिनुपर्ने बुलरको तर्क विश्वासयोग्य छैन। यता, गौरीशंकर ओझाले वैदिक तथा पौराणिक साहित्यलाई अगाडि सारेर बुलरको विचारलाई खण्डन गरेका छन्। व्राह्मीको उत्पत्ति सम्बन्धी ओझा र बुलर दुबैको तर्क अतिवादी भएको प्रतीत हुन्छ । इसापूर्व ५०० वर्षको आसपासमा भारतीयहरुले व्राह्मी लिपिको विकास गरे भन्ने बुलरको सेमेटिक मुलको सिद्धान्तलाई विभिन्न तर्कहरुबाट खण्डन गर्न सकिन्छ। एक त इसापूर्व  पाचौं शताब्दी भन्दा पहिले लेखनकला विकास भएको थियो भन्ने तर्कलाई बुलरले प्रमाणित गर्न सकेका छैनन्। दोस्रो, यदि व्राह्मी लिपि सेमेटिक लिपिबाट उत्पत्ति भएको भए दुई लिपिबीच केही न केही समानता हुनुपर्ने हो तर बुलरले समानताको सन्दर्भ बताउँन नसकेको हुँदा बुलरको मत कमजोर बन्न पुगेको छ।

बुलरको मतलाई  अस्वीकार गर्ने ओझाको तर्क माथि प्रतिप्रश्न गर्न आवश्यक छ। कम्तिमा पनि इसापूर्व १५०० तीर भारतीयहरुले व्राह्मी लिपिको विकास गरेको तर्क गर्ने ओझाले लेखनको प्रौढता र प्राचीनता देखाउँन नसक्दा उनको मत कमजो बन्न पुगेकोछ। ओझाले भनेझैं, यदि संस्कृत साहित्य लेख्न व्राह्मी लिपिको आविस्कार गरिएको भए यस लिपिमा संस्कृत व्याकरणको नियमको पूर्ण पालना गरेको हुनुपथ्र्यो जुन अभाव छ। उल्लिखित तर्क र छलफलको आधारमा दुवै विद्धानको विचारमाथि विकल्प खोज्नु पर्छ। सिन्धुसभ्यताको चित्रात्मक लिपिबाट व्राह्मी लिपिको विकास भएको मान्ने तर्कमा सम्भाव्यता खोज्न सकिन्छ। सम्राट अशोकले व्राह्मी लिपिलाई धम्म लिपि भनेको हुँदा पारम्पारिक रुपमा व्राह्मी भनिंदै आएको यो लिपि पालीभाषा लेख्न बढी प्रयोग भएको देखिएकाले पाली भाषाका वक्ताहरुले धम्मलिपि अर्थात व्राह्मी लिपिको विकास गरेकी भन्ने अनुमान गर्न सकिन्छ। तर विभिन्न मतान्तरहरु भएकाले निश्कर्षमा पुग्न सकिएको छैन।

व्राह्मीको विस्तार
मौर्य सम्राट अशोकको राज्यकालमा  ब्राह्मी लिपिले रुाजकीय मान्यता पायो। अशोकले बौद्ध धर्मलाई प्रचार प्रसार गर्नेक्रममा पाली भाषा लेखनमा यस लिपिको प्रयोग गरे। सम्राट अशोकले आफ्नो जीबनकालमा लगभग ३६ वटा स्तम्भ अभिलेखहरु प्रसारण गरे जसमा बौद्ध धर्मको प्रसंग परेका छन्। पाली भाषा लेख्नको लागि प्रयोग गरिएको ब्राह्मी लिपिलाई भारतीय विद्धानहरुले ब्राम्ही नाम दिएता पनि सम्राट अशोकले यसलाई इयं धम्मलिपि भनेकाले यस लिपिको नामाङ्करणमा प्रश्न गर्न सकिन्छ। व्यञ्जनमा स्वर जोड्ने मात्रापद्धति र व्यञ्जनमा व्यञ्जन जोड्ने संयुक्ताक्षर पद्धति   सहितको विशेषता भएको ब्राह्मी लिपिमा  छ स्वर वर्ण र ३३ व्यञ्जन वर्णहरु छन्। यो विेशेषताका कारण  ब्राम्ही लिपि भारतीय सभ्यतामा विकसित पछिल्ला लिपिहरुको जननी बन्न पुग्यो। सम्राट अशोकको मृत्युपछि पनि व्राम्ही लिपिको विकास र विस्तारमा कमी आएन। सुरुमा पाली भाषा लेख्न प्रयोग यो लिपि पछि संस्कृत भाषा लेख्न प्रयोग गरेपछि व्राम्ही लिपि विस्तार हुँदै गयो। इसापूर्वमा  १८५ मा सुंगहरुको हातबाट मौर्य शासन पतन भएपछि सिर्जना भएका अनेक स्वतन्त्र राज्यहरुमा व्राह्मी लिपि अनेकौं शाखाप्रशाखाहरुमा विस्तार भयो। पूर्विभारत, उत्तर–पश्चिम भारत, उत्तर–पश्चिम दक्कन, लगयात क्षेत्रमा व्राह्मीका अनेकौं भेदहरु देखापररे। पहिलो शताब्दी देखि चौथो शताब्दीको अवधीमा पूर्विशैली, मथुरा शैली, कौशाम्बी शैली लगायतका उपभेदहरुमा व्राम्ही विस्तार भयो। गुप्तकालसम्म आइपुग्दा प्रारम्भिक व्राह्मीको मुलस्वरुपमा धेरै परिवर्तन देखिएता पनि यसको आन्तरिक संरचनामा परिवर्तन भएको देखिंदैन। व्राह्मीलाई मुल मानेर गुप्त, नन्दि नागरी, देवनागरी तिब्बती, वंगाली, गुरुमुखी, गुज्राती, सिंहली, मैथिली,उडिसा शैलीजस्ता अनेकौं प्रकारका लिपिहरुको व्युत्पत्तिमा व्राम्मीको देन रहेको ओझाले चर्चा गरेका छन् (ओझा, प्राचीन भारतीय लिपिमाला )। व्राह्मी लिपिको विकाससंगै खरोष्ठी लिपिको विकास भएता पनि व्राह्मीको तुलनामा यो लिपि धेरै विस्तार हुन सकेन। अफगानिस्तानको गान्धार र पाकिस्तानको तक्षशिला क्षेत्रमा यो लिपि केन्द्रित भयो। खरोष्ठीको तुलनामा व्राम्ही अलि सहज भएको कारण यो भारतीय उपमहाद्धिपभरी अनेक शैलीमा विकास भएको मान्न सकिन्छ।

व्राह्मी लिपिको नेपालयात्रा
रेग्मीले भनेझैं, अशोककालीन व्राह्मीले सिधै नेपालभित्र प्रवेश पाएको प्रमाण छैन। तर क्रमिक रुपमा व्राह्मी लिपिले नेपाल यात्रा गरेको देखिन्छ। सम्राट अशोकले जारी गरेका ३६ वटा व्राह्मीअभिलेखयुक्त स्तम्भहरु मध्ये तीनवटा नेपालको लुम्बिनी कपिलवस्तु क्षेत्रमा रहेका छन्।  नेपालमा लिच्छवि आगमनको समयसीमाबारे विद्धानहरु बीच विवाद छ  तर इश्वी चौथो शताब्दीको उत्तरार्धतिर उनीहरुले काठमाण्डौ उपत्यका (नेपाल) मा आफ्नो आधिपत्य कायम गरेको तर्कहरु छन्। नाताले गुप्तहरुको ज्वाई पर्ने लिच्छविसंगै व्राह्मीलिपिको कौशाम्बी लेखनशैलीको नेपाल प्रवेश भयो। चौथो शताब्दीको गुप्तकालीन लिपिको एक प्रशाखा कौशाम्बीलेखनको पहिलो अभिलेख मालीगाउँमा वि.सं २०५० सालमा प्राप्त भएको थियो । संवत १०७ अभिलेख अंकित भएको राजा जयवर्माको अभिलेख नै नेपालको पहिलो अभिलेख हो। संवत ३८१ को अभिलेख दोस्रो अभिलेख हो भने संवत ३८६ को चाँगु अभिलेख हो जसले नेपालको इतिहासको विविधपक्षहरु माथि प्रकाश पारेको छ । नेपालमा सुरुमा देखापरेको लेखनपद्धतिलाई सुरुमा गुप्त लिपि भनिए तापनि वि.सं २०१७ सालमा यस लिपिलाई लिच्छवि नामाङ्करण गरिएको हो । व्राह्मीलिपिका अनेक प्रशाखाहरु मध्ये एउटा प्रशाखा गुप्त, कौशाम्बी हुँदै लिच्छवि सम्म आइपुग्दा व्राह्मी लिपिको मुलस्वरुपमा वा आन्तरिक संरचनामा खासै परिवर्तन भएको देखिंदैन। लिपिको बाहिरी स्वरुप र संरचनामा सजावट, अलंकरण र श्रृंगार प्रवृतिको कारण शैलीगत  र क्षेत्रगत भिन्नता देखिएको हो।

मानदेव देखि अंशुवर्माको समय अवधिमा देखिएको लेखनपद्धतिमा त्रिकोण डिको र उध्र्वरेखाको अन्तिम टुप्पो थोरै मोडिएको कारण यस विशेषतालाई ओझा र अहमद हसन दानीले कुटिल लिपि वा कुटिल अक्षर भनेका छन् भने जर्जबुलरले यसैशैलीलाई न्युनकोणयुक्त विशेषता भएको वताएका छन्।

 

प्रकाशित: ५ पुस २०७६ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App