१० आश्विन २०७७ शनिबार
अन्य

तथागत अर्थात् गौतम बुद्ध

गौतम बुद्ध (इ.पू.५६३–४८३) लाई अनेक नामबाट सम्बोधन गरिन्छ। कतिले ‘बुद्ध’ वा ‘भगवान्’, कतिपयले ‘भगवान् बुद्ध’ त कतिले ‘शाक्यमुनि’ वा ‘शाक्यमुनि बुद्ध’ भनी सम्बोधन गरेको पाइन्छ। यसरी नै दशवल, विनायक आदि शब्दले पनि सम्बोधन गरिएको भेटिन्छ। यी प्रत्येक सम्बोधनले गौतम बुद्ध र उनको धर्म दर्शनलाई प्रत्याभूति गरिरहेको हुन्छ। सम्बोधनका लागि प्रयोग गरिएका ‘बुद्धदेव’, ‘महात्मा बुद्ध’ र ‘सिद्धार्थ बुद्ध’ भने यस सन्दर्भमा अनुपयुक्त देखिन्छ। अधिकांशले बुद्धलाई केवल श्रद्धावश सम्बोधन गर्ने गरेको बुझ्न सकिन्छ। यसदेखि बाहेक बुद्ध आफैँले आफ्ना लागि सम्बोधन गर्नुपर्दा प्रयोग गरिने शब्द ‘तथागत’ हो। यही शब्दमै पनि बुद्धको व्यक्तित्व भेटाउन सक्छौं। यही शब्दमा बुद्ध र बौद्ध धर्मदर्शन निहित रहेको छ।

गौतम बुद्धको जीवनीमा ध्यान दिँदा समयले कोल्टे फेरेसँगै नामहरू पनि फरिँदै गएको पाइन्छ। गृहस्थ नाम के थियो भन्ने सन्दर्भमा आजभोलि प्रायःको मनमस्तिष्कमा ‘सिद्धार्थ’ स्थापित छ। प्राचीन बौद्ध ग्रन्थहरूमा ‘सिद्धार्थ’ मात्रै नभएर कहीँकहीँ ‘सर्र्वार्थसिद्ध’ उल्लेख भएको पाइन्छ। ‘सिद्धार्थ कुमार’ पनि भनिएको पाइन्छ। ‘सिद्धार्थ’ र ‘सर्वार्थसिद्ध’ दुई शब्द नामभन्दा बढी विशेषण हो। यो नामसँग आउने ‘कुमार’ शब्द नै वास्तविक नाम पो हो कि ? अर्थात्, कुमार शब्दलाई अझ उजिल्याउन ‘सिद्धार्थ’ शब्दको प्रयोग गरिएको हो कि भन्ने अनुमान पनि गरेको पाइन्छ। यो पंक्तिकार उक्त अनुमानसँग सहमत छैन। शिशु जन्मेको सातौं दिनमा आमा मायादेवीको निधन भएको कुरा सही भए पनि त्यसपछि सर्व अर्थ सिद्ध गर्ने अर्थमा बाबु सुद्धोदनले सिद्धार्थ नाम राखेको भन्ने प्रसंग प्राचीन बौद्ध साहित्यमा पाइँदैन। यो प्रसंग केही सय वर्षअघि मात्रै विकास गरेको कल्पना हो। गौतम बुद्धका बन्धुबान्धवको नामसँगै ‘शाक्य’ शब्द प्रयोग भएको पाइन्छ, तर उनका सन्दर्भमा यस्तो छैन। बरु ‘गौतम’ जोडेर ‘सिद्धार्थ गौतम’ बनाइए छ। गृहस्थ नामका रूपमा आजभोलि ‘सिद्धार्थ गौतम’ नै धेरै प्रचलित छन्। यिनीहरू ‘गौतम’ गोत्रका हुन् र गोत्रको नामबाट उनी प्रख्यात बनेको मन्तव्य तर्कसंगत छैन। गोत्रको प्रसंग वैदिक समाजमा मात्रै लागू हुन्छ र गौतम बुद्धको पृष्ठभूमि वैदिक नभएर अवैदिक हो। ‘गौतम’ शब्द व्यक्तिवाचन नामका रूपमा हिजोआज पनि प्रयुक्त हुन्छ। गौतम बुद्धको गृहस्थ नाम सिद्धार्थ, सिद्धार्थ कुमार, सर्वार्थसिद्ध आदि नभएर ‘गौतम’ नै थियो कि भन्ने अनुमान गर्न सकिन्छ। ‘महाभिनिष्क्रमण’ शब्दबाट प्रख्यात गृहस्थ जीवनको परित्याग पछि उनी ‘श्रमण गौतम’ नामबाट सम्बोधित भए। बुद्धत्व प्राप्तिपछि उनी ‘गौतम बुद्ध’ वा ‘शाक्यमुनि बुद्ध’ नामबाट बढी चिनिए। ‘महाश्रमण’ शब्दबाट सम्बोधित भएको पनि पाइन्छ। ‘ये धम्मा हेतु’ गाथामा महाश्रमण शब्दको प्रयोग भएको पाइन्छ।

उनलाई जीवन र जगत्का बारेमा जस्तो हो, त्यस्तै ज्ञान प्राप्त भएको थियो। यही भएर ‘तथा’ (सत्य)को लक्षणबाट युक्त हुनाका कारण उनी तथागत हुन्। यसरी नै ‘तथा धर्म’ अर्थात् चार आर्यसत्यलाई बोध गरेका कारण तथागत हुन्।

चार आर्यसत्य जान्नु भनेको बोधि (ज्ञान) प्राप्त गर्नु हो। बोधि प्राप्त व्यक्ति बुद्ध हुन्छन्। ३५ वर्षको उमेरमा बोधि प्राप्त गरेर कपिलवस्तुबाट आएका ‘श्रमण गौतम’ले आफ्नो आध्यात्मिक यात्रालाई गन्तव्यमा पु¥याएर ‘गौतम बुद्ध’ बने। शब्दकै कुरा हो, उनले यस अवसरमा ‘तथता’ सँग साक्षात्कार गरेको पनि भनिन्छ। र, ‘तथता’ साक्षात्कार गरेकै कारण उनी ‘तथागत’ कहलिए।

‘तथागत’ शब्दको प्रयोगका सम्बन्धमा आचार्य बुद्धघोषका व्याख्याहरू अद्वितीय छ। बौद्ध धर्मको इतिहासमा ध्यान दिँदा अनेक समयमा अनेकौं सम्प्रदायको उदय र विलय भएको पाउँछौं। यस क्रममा बुद्धको महापरिनिर्वाण (इ.पू. ४८३)को तीन महिनापछि मगधको राजधानी राजगीरको वेभार पर्वतमा भएको प्रथम बौद्ध संगायनमा संकलन गरिएका बुद्ध वचनहरूलाई ‘त्रिपिटक’ भनिन्छ। त्रिपिटकका नाममा अहिले हामीसँग भएको पालि साहित्य सोही बेला संकलित मौलिक साहित्य भने होइनन्। बुद्ध वचनमाथि गहन अध्ययनपछि होनहार आचार्यहरूले आवश्यकता अनुसार व्याख्या तथा विश्लेषण गर्ने क्रममा बेग्लाबेग्लै सम्प्रदायको उदय हुनपुग्यो र कालान्तरमा भारतीय भूमिमा महायान बौद्ध धर्मको बोलवाला हुन थाल्यो। यो बेलासम्ममा प्रारम्भिक बौद्ध साहित्यका रूपमा लिइने पालि त्रिपिटक भारतीय भूमिमा हराएर श्रीलंकामा सिंहली भाषामा मात्रै सुरक्षित भइरहेको थियो। सिंहली भाषामा सुरक्षित बुद्ध वचनलाई पुनः पालि भाषामा अनुवाद गरेर ल्याउने तथा त्यसको भाष्य लेख्ने काम आचार्य बुद्धघोषबाट इस्वीको चौथौ शताब्दीतिर भएको थियो। यिनै आचार्यले त्रिपिटकको ‘दीघनिकाय’को अट्ठकथा (भाष्य) ‘सुमङ्गलविलासिनी’लगायत अन्यत्र पनि ‘तथागत’ शब्दको विशद विवेचन गरेका छन्।

गौतम बुद्ध किन ‘तथागत’ हुन् ? आचार्य बुद्धघोषले दिएका आठ कारणमा पहिलो उनी त्यसै प्रकार (तथा) आए जसरी अतीत बुद्धहरू आएका (आगत) थिए। यो भन्नुको तात्पर्य गौतम बुद्धले पनि अतीतका ज्ञातअज्ञात सबै बुद्धले जस्तै दान, शील, प्रज्ञा, मैत्रीलगायत सबै पारमी पूरा गरेर ज्ञान प्राप्त गरेका थिए। दोस्रो कारण हो, उनी उसै प्रकार (तथा) गए जसरी (गत) अन्य अतीत बुद्धहरू गएका थिए। यस्तो भन्नुको तात्पर्य अन्य अतीत बुद्धहरूले जस्तै यहाँ धर्मदेशना गर्दै, धेरैलाई दुःखबाट मुक्त हुने उपाय सिकाउँदै गएका हुन्।

उनलाई जीवन र जगत्का बारेमा जस्तो हो, त्यस्तै ज्ञान प्राप्त भएको थियो। यही भएर ‘तथा’ (सत्य)को लक्षणबाट युक्त हुनाका कारण उनी तथागत हुन्। यसरी नै ‘तथा धर्म’ अर्थात् चार आर्यसत्यलाई बोध गरेका कारण तथागत हुन्।

उनले सबै कुरा जाने। मनुष्य लोकका सम्बन्धमा मात्रै नभएर देवलोक तथा ब्रह्मलोक लगायत सबै लोकका सबै कुरासँग साक्षात्कार गरिसकेका कारण बाँकी केही पनि छैन। यही भएर ‘तथा’सँग पूर्ण साक्षात्कार गरिसकेका हुनाले तथागत हुन्।

सम्बोधि प्राप्त गरेदेखि महापरिनिर्वाण नभएसम्म ‘तथा’ (सत्य)कै उपदेश दिएका कारण उनी तथागत हुन्। यसरी नै अर्को कारण गौतम बुद्ध ‘यथावादी तथाकारी’ तथा ‘तथाकारी यथावादी’ हुन्। यस्तो भन्नुको तात्पर्य जस्तो उपदेश, उस्तै आचरणले युक्त भएका कारण उनी तथागत हुन्।

गौतम बुद्ध अग्रण्य हुन्। जन्मौं–जन्मान्तरणको अथक प्रयासपछि क्रमशः काम, क्रोध, लोभ, मोह सबैलाई जित्दै उनले सम्यकसम्बोधि प्राप्त गरेका हुन्। यही उनको अन्तिम जन्म हो। अब उप्रान्त कहिल्यै पनि पुनर्जन्म हुँदैन। पुनर्जन्म लिन नपर्ने गरी भवचक्रलाई नै ध्वस्त गरिसक्नु भनेको सबै कुरामाथि विजय प्राप्त गरिसक्नु हो। सबैसँग विजय भइसक्नु भनेको नै ‘तथागत’ हुनु हो।

‘तथागत’ शब्दको प्रयोगमा माधुर्यता पाइन्छ। यो शब्द प्रयोग भएका वाक्य काव्यमय भएको प्रतीत हुन्छ। अझ अचम्मको कुरा त के हो भने स्वयं बुद्धले आफ्ना लागि यो शब्दको प्रयोग गर्ने बेलामा मानव कायको मुखबाट नभएर स्वयं सत्य नै प्रतिध्वनित भइरहेको आभास हुन्छ, यद्यपि यो काजगमा छापिएको शब्द र वाक्य नै किन नहोस्।

आफ्ना उपस्थापक भिक्षु आनन्दलाई सम्बोधन गर्दै बुद्ध भन्छन्, ‘तथागतको धर्ममा आचार्यमुष्टि (रहस्य) छैन।’ अर्थात् सबै कुरा स्पष्टसँग बताइएको छ। यसरी नै भिक्षुसंघलाई सम्बोधन गर्दै भन्छन्, ‘तथागतले संसारको सबै ज्ञान प्राप्त गरेका छन्। संसारबाट तथागत अनासक्त छन्। संसारको उत्पत्तिका सम्बन्धमा तथागतले पूरै ज्ञान प्राप्त गरेका छन्। संसारको उत्पत्ति तथागतका लागि अब रहेन।’

गौतम बुद्धको जीवन कालमा उनीसँग सर्वसाधारणले पनि बडो सहजताका साथ भेटघाट तथा वादविवाद गर्न पाउँथे। यस बेला कोही ‘भगवन्’ भनेर सम्बोधन गर्दथे भने कोही ‘भन्ते’ भन्दै सम्बोधन गरेर आफ्नो कुरा राख्थे। यसरी नै कोही ‘भो गौतम’ भन्दै वादविवाद गर्ने र दर्शनका गहनतम् पक्षमा उहापोह गर्दथे। तर आफ्ना लागि सम्बोधन गर्नुपर्दा उनी सधैँ ‘तथागत’ शब्द नै प्रयोग गर्दथे। नितान्त व्यक्तिगत कुरा बोलिरहेको सन्दर्भमा भने आफ्ना लागि यो शब्दले सम्बोधन नगरी सर्वनाम वाचक शब्द ‘म’ नै प्रयोग गरेको पाइन्छ। यस पंक्तिकारले संकलन तथा सम्पादन गरेको पुस्तक ‘बुद्धको आत्मकथा’ मा ‘तथागत’ शब्द नभएर ‘म’ र ‘मेरो’ नै प्रयोग भएको छ।

आफ्नो व्यक्तिगत परिचय दिने क्रममा बुद्धले यस्तो भन्ने गरेको पाइन्छ, ‘मेरो नगरको नाम कपिलवस्तु हो। मेरो बुबाको नाम सुद्धोदन हो। मेरी आमा, जसले मलाई जन्म दिइन्, मायादेवी हुन्। २९ वर्षसम्म मैले घरमै बसें। मेरा लागि भनेर तीनवटा उत्तर प्रासाद बनाइएको थियो जसको नाम थियो, रम्य, सुरम्य र शुभ। मेरो प्रासादमा सुन्दर र सिँगारिएका थुपै्र नारीहरूको उपस्थिति रहन्थ्यो। भद्रकाञ्चना (यशोधरा) मेरी नारी हुन् र राहुल नाउँको छोरा छ, (बुद्धवंश)।’

गौतम बुद्धले आफ्ना लागि सम्बोधन गर्न ‘म’ र ‘मेरो’ तथा ‘तथागत’ दुई थरी शब्दको प्रयोग बडो युक्तिसंगतले गरेका छन्। अर्थात्, ‘तथागत’ शब्द विशिष्ट अवसरमा मात्रै प्रयोग गरेका छन्। तसर्थ, तथागत शब्द विशिष्ट छ।

प्रकाशित: ३० कार्तिक २०७६ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App