२६ श्रावण २०७७ सोमबार
अन्य

तीखो हरक समयको

आँखालाई अलिकति शितल दिने छन् केही रुखहरु अघिल्तिर । मस्तिष्कीय खुराक छन् केही पुस्तकहरु टेबलमा । छ केही सम्झना पनि यहीँ कतै । र, यतिखेर सम्झना केलाउनुको आनन्द छ । टुप्लुक्क झुल्किदिन्छ सम्झनासँगै पीडा जस्तो केही । सायद तीखो हरक समयको ।

साउती मारी अघि बढेको छ एक निरश समय । भदौरे झरीको उल्झन छन् असरल्ल बाटाभरि । उही अन्योल बिस्कुन पन्छाउँदै अघि बढ्छन् एक एक जोर खुट्टाहरु सहरबाट आ–आफ्नो गन्तव्यसम्म । टक्टकाउँछन् धुलो र कोलाहल अनि पस्छन् सुटुक्क कोठाहरुमा ।

म भने पल्टाउँदै छु, ‘अदालतको बयान’ । बिपी कोइरालाको अदालती बयान । नमीठो षड्यन्त्रको गन्ध नाकमा ठोक्किन आइपुग्छ । त्यो समय जब स्वतन्त्रताहरु कैद थिए निरंकुश शासकहरुको सोकेशमा । हो त्यही समय बन्दी थिए सुन्दरीजल बन्दीगृहका अँध्यारा कोठामा परिवर्तनका स्वरहरु । त्यसै हुलमा थिए उनी जो अदालतमा बयान दिन व्यस्त थिए तिनताका । उनैको बयान सुन्न म व्यस्त छु यतिखेर । सम्झना आँखा अघिल्तिरका हरिया पातहरु नभई सर्वाङ्गै सुकेका रुख भएका छन् । किनकि समय त्यसबखत हरियो थिएन । थियो केवल सुख्खा, भयपूर्ण र त्रासद समय । बिपी कोइराला, गणेशमान सिंहहरुको भोगाइ जस्तै पीडादायी ।

उनीहरु राज्य विप्लवको मुद्दामा मुछिएका थिए । बिक्रमाब्ध २०३३ पौष १६ मा पटनाबाट नेपाल आएको विमानबाट ओर्लनेबित्तिकै विमानस्थलबाटै पक्राउ परेका थिए उनीहरु । अनि सुरु भएको थियो फेरि आठ वर्षे सुन्दरीजल बन्दी शिविर यात्रा बिपीको । त्यसै समयको अदालती बयानमा उनले साहसका साथ बोेलेका रहेछन्, ‘मैले क्रान्तिको आह्वान गरेको हुँ ।’ त्यो विद्रोही बोली काफी भयो उनको फेरि सुन्दरीजल बसाइका लागि । साथमा उही स्वीकारोक्तिले ल्याएथ्यो होला गतिलो पराकम्पन तानाशाही शासकहरुको मनमा । मनको पैरोलाई थाम्न उनीहरुले भरमार कोसिस गरे र गरे वाचाल समयलाई कैदझैँ । पर्खाई । बस् पर्खाई अब थियो निर्बन्ध समयको ।  

केटाकेटीहरुको चिर्बिरले झस्काइदिन्छ । खाजा खाने घण्टी बजेसँगै उनीहरु बास्केटबल कोर्टभरि छरिएका छन् । सिमेन्टेड भुइँमा पनि बढ्दो छ उनीहरुको दौडाई । सानो हरियो रङको बल खुट्टा खुट्टामा ठोक्किदै छन् । बल सकिनसकी आफ्नैतिर पार्ने ध्याउन्न छ मस्तैको । बलको छुवाईसँगै बढ्ने ती खुटहरुको गति र केटाहरुको उर्लदो खुसी । ठूलो कुरो नै के हुनु पर्दो रछ त जीवनमा ।. साना कुरामा केटाकेटी खुसी । तर ठूलो भनिने मान्छेहरुको पनि त उस्तै छ हालत । सानो, एकदमै सानो चीजले पनि दिने गर्छ ठूलो खुसी । क्या बात् ।

जस्तो कि जाबो थिसिक्क सम्झनासम्मले पनि उखर्माउलो गरी मन हलुका पारिदिनु रे ! अनि मनमनै गुन्नु पनि भ्याइजाने, ‘मीठा समय थिए ती समय जब हामी साथ थियौँ । स्पर्श गरेका थियौँ, एक अर्को मनको भित्री तह । हामीलाई भेउ थियो एकअर्काको सामीप्यीय सुवासको’ तर आज उही समय, उही सुवास थन्किएको छ कतै सम्झनाका गोरेटाहरुमा । र जब ऊ विपनामा झस्किन्छ तब एकछिन अघिको सम्झनाको झल्र्यमझुर्लुममा बेस्सरी दुःखी हुन्छ । एउटा जीवनले यसै गरी जीवनकै सत्यको पर्दाफास गर्छ । एक बिडम्बना नि ! जीवन भत्काइ र मन दुखाइ बनिदिन्छ । अझ अड्बाङ्गे र भद्रगोल भइदिन्छ जीवन सेलेगलले भन्ने गरेको ‘केओस’जस्तै । जीवन भद्रगोल नै हो त ? प्रश्नसँगै एकछिन अडिएको छु ।

पल्टाउछु जेम्स एफ. फिसरको ‘लिभिङ् मास्टर्स’ । झन् बढी तीखो हरक स्वाट्टै पस्छ नाकमा । फरक समय तर षड्यन्त्रको गन्ध उही । फिसरको आँखा तेजिलो रैछ । छामेका रैछन् त्यस बखतको नेपाली समय नाडी । बिक्रमाब्ध १९९० तिरको राणाकालीन रापिलो समय । मुखमा कानुन बोकेकाहरुको जगजगी । मुखैमा झुण्डिएको हुन्थ्यो कसैको जीवन र मृत्युको फैसला पनि । त्यस्तै एक हुकुम तामेलीमा पक्राउ परेथे टंकप्रसाद आचार्य जयनगर सिमानामा र ल्याइएथे सिंहदरबार कैदखाना । जनरल शंकर शम्शेरको केरकार फगत समय बर्बादी भइरहेथ्यो । किनकि मिस्टर आचार्यले सारा दोष आफैँले सकारिदिएका थिए । हुन त प्रजा परिषद्का पच्चिस जना सदस्यहरु पनि समातिइसकेका थिए । एक विद्रोही जत्था अब समयको चोटिलो प्रहारले घायल घायल हुँदैथिए ।

धर्मभक्त माथेमा झुण्ड्याइएका थिए सिफलमा । पढियो उनले त अन्तिम प्रतिरोधस्वरुप लात नै हानेका थिए रे, नरशम्शेरलाई । दशरथ चन्द र गंगालाल शोभा भगवतीमा यातनापूर्ण अन्तिम सास फेरिरहँदा सायद समय पनि केही क्षण ढगमगाएथ्यो होला ।

दुईजना पोढेहरुलाई टन्न रक्सी खुवाएर गोली ठोक्न लगाएका थिए । क्रूर तर लाछी शासकले पछाडिबाट नै हो छुरी धस्ने । अगाडि पर्न त साहस चाहियो ! अनि कहाँबाट बटुल्नु र ? समयको एक टुक्रा शोभा भगवतीमा चुँडिन्छ त्यस बखत । तर एक फरक ऊर्जा परिवर्तन चाहनेलाई छाडी जान्छ त्यो पल जब अन्तिम इच्छा ‘राणा शासनको अन्त्य’ भन्दै शहिद भइदिन्छन् उनीहरु । हो, समयले एक पटक खिसी गरिदिन्छ शासकहरुलाई । त्रास भरिदिन्छ फेरि उनीहरुको मुटुमा ।

हतियारधारी शासकहरु सधैँ थर्कमान् हुन्छन् खाली हातका जनतासँग । खाली हातसँग डराउछ सत्ता । किनकि खाली हात हुनु भनेको खाली दिमाग हुनु होइन । उसले बुझेको छ । विचार बोकेका मान्छेहरुसँग झन् बढी तर्सिन्छ ऊ । तब न कोचिदिन्छन् उनीहरुलाई कालकोठरीमा । जसरी कैदमा राखिएथे टंक प्रसाद आचार्य । उनी दस वर्ष थुनिए । उनको फुक्का समय घातक हुन सक्थ्यो शासकहरुका लागि । किनकि उनीसँग विचार थियो । उनीसँग विद्रोही चेतना थियो । र थियो प्रतिरोधको ज्वाला उनीभित्र । उनलाई गाल्न यातनाका अनेक तरिकाहरु खोजी गथ्र्यो सत्ता ।

एउटा तरिका थियो परिवारसँग भेट गर्न नदिनु । श्रीमती र छोरीहरुको एक झलक देख्न नपाई उनले बिताउनु पर्‍यो पूरा दश वर्ष । सा... त्यो मान्छेको जुनी हो त !
मान्छे नै नमानिएका मान्छे भए उनी । सबैबाट टाढा पारिएका उनी विचारसँग भने बेस्कन नजिक भए । उनले विद्रोही चेतना अझ बढी तिखार्न पाए एकान्तमा । लेखिरहे चिठ्ठी परिवर्तनमा साथ दिन सक्ने नेहरुदेखि जयप्रकाश जस्ता भारतीय नेताहरुलाई । उनको विचारले निरन्तर नाघिरह्यो कैदखानाको पर्खाल । तर शक्तिले पलापिएकाहरुले पत्तै पाएनन् विचारको यात्रा ? आदेशहरुले कैद गर्न सक्छ र विचार ? थुन्न सके त तानाशाह फासिस्टहरुले एन्टोनियो ग्राम्सकीको विचार ?

पढ्दै गर्दा फिसरियन दृष्टि, अँध्यारो समयको तीखो हरक फेरि पनि नाकमा बज्रिएको छ । यो नमीठो गन्ध सायद शासकहरुकै दम्भी डकारको होला ।

मनलाई बिथोल्ने केही कुराहरु छन् । इतिहासको पाना पल्टाउदा उसै उसै अत्यासिन्छ मन । बिपी, गणेशमान र आचार्यहरुले गरेको संघर्ष र उनीहरुको भोगाई पढ्दा ज्यानमा काँडा उम्रिन्छ । तर परिवर्तन पछिको समाज पनि त उत्तिकै विसंगत छ । आजको भोगाई त झन् कति हो कति सकसिलो ! त्यसमा अझ एउटी महिला भएर सोच्दा, देख्दा र भोग्दा लाग्छ, साँच्चै गाह्रो छ समय ।

शितल दिने हरियो अनि केटाकेटी अब ओझेलिसके । उनीहरु बिस्तारै बढ्नेछन् तर बढ्नु समस्या निम्तिनु पनि त हो ! हिजो भदैनीले भन्दै थिई, ‘गाडीमा एउटा बूढो मान्छे मसँग बेस्सरी टाँस्सिएर बस्यो । म अलिक सर्छु ऊ पनि सर्छ र टाँसिन्छ फेरि ।’

क्या विसंगति ! दिमागमा रोग भरी हिँडेका छन् मान्छे आजकल । दिमागमा बिचार भरेथे हामी जस्तै मान्छेले र आएथ्यो देशमा ठूलो परिवर्तन त्यसबेला । तर आजकल विचार बोक्ने दिमागमा विकारको राज छ ।
म चुक्चुकाउँछु भदैनीको पीडामा । म बान्ता गर्छु त्यस व्यक्तिको लबस्तरोपनामा । त्यसपछि चुपचाप खोल्छु कम्प्युटर र लेख्छु केही हरफ पीडा । चुपचाप बस्नु खासमा डरलाग्दो कुरा हो । गत वर्ष सेलिब्रेटी सेफ पद्मा लक्ष्मीले न्युयोर्क टाइम्समा लेखिन्, ‘आई वाज रेप्ड एट सिक्सटिन एन्ड आइ केप्ट साइलेन्ट !’

निकै तरङ्ग ल्यायो उनको लेखले । मिटु आन्दोलनको उभारसँगै उनको लेखले खैलाबैला मच्चायो । उनले चुप बस्दा पाएको मानसिक पीडाको बयान गरिन् । उनी जतिको महिलालाई पनि लाग्ने रैछ बत्तिस वर्ष साँचो कुरा खोल्न । आफूमाथि भएको अन्यायको खुलासा गर्न । लाग्छ पश्चिमा समयले जेटको गति चोरेको छ । तर महिलाको हकमा भने एउटा निश्चित गति मात्र हुने रहेछ समयको । उस्तै नै रैछ समय, हाम्रा र उनीहरुका समय । महिलाले मुख खोल्नु भन्दा चुप बस्नु बेस मानिन्छ यता पनि उता पनि ।

पद्मालक्ष्मीले चुप बस्न बेस ठानिन् त्यस बखत । मुख खोल्दा धेरै कुरा बिग्रने डर जो थियो । भय भरिदिएको छ समाजले महिलामा, त्यसैले उनीहरु चुप बस्छन् चाँदनीजस्तै । अर्को पुस्तकको प्रसंग...उषा शेरचनको ‘आँधि ।’ ‘आधि’की पात्र चाँदनी । हिंसा पीडित तर चुपचाप बस्न विवश । समयमा बोल्न सकिनन्, उनले र आफन्तकै यौन शोषणको शिकार भैरहिन् । चुप बसिन् त्यसैले लोग्नेको यातनाको पनि भोक्ता भइन् । तर जब उनले मुख खोलिन्, बद्लियो समय । बद्लियो उनको जीवन । चाँदनी आज उज्यालो यात्रामा छिन् । भदैनीको कुराले गह्रौँ पारेको मेरो मन अहिले भने अलिक हलुका भएको छ ।

उज्यालो समयका लागि बोल्नु आवश्यक रैछ । उहिले बोलेका थिए बिपीले विद्रोही बोली । आचार्यले मुख फोरेका थिए देश र निमुखा जनताका खातिर । हामीले पाएको आजको खुकुलो समय उनै बेलाको बोलीहरुको उपज हो । आज महिलाहरु बोल्न थालेका छन् र नै उनीहरुको आवाजप्रति चनाखो हुँदै छ समाज, सत्ता र शक्तिकेन्द्र । जसरी कोही हुनु र नहुनुले फरक पार्छ जीवनमा, त्यस्तै फरक पार्ने रैछ बोल्नु र नबोल्नुले । मेरी भदैनीले भनिछ, ‘ए बाजे, तपाईं अलि उता सर्नु त । किन मसँग टाँसिएको ?’ तब एकैछिनअघि ऊतिर ढेसिएको शरीर र अनुहारको प्रतिक्रिया हेर्न लायक थियो रे ! बोल्नुको तागत यही रहेछ । नानीहरु आजकल सजग भएका छन् । भदैनीको बोली प्रतिकार हो । बोल्नले नमीठो समयबाट उनलाई छुटकारा भयो ।

टेबलमा चाङ लागेका किताबहरु अलि छाँटिएका छन् । भदौरे झरीको एकनासे लय मधुरिएको छ । केटाकेटीहरुको खेल्ने समय सक्किइसकेको छ । घण्टीको टिरिङरिङको तिखो आवाजसँगै बास्केटबल कोर्ट सिनित्तै बढारिएको छ । म विद्यालयको चौथो तल्लाबाट एक नजर हुत्याइरहेछु पर अग्लिको हरियो फुलचोकितिर । लाग्छ, यी डाँडाहरुमा आज पनि प्रतिध्वनि भइरहेछन् सुदूर इतिहासका पदचापहरु । त्यो समय जसको तीखो हरक अझै बेलाबखत ठोक्किन आइपुग्छ वर्तमानको अग्लो नाकमा र त्यसैबखत एक प्रश्न ठडिन्छ । भेउ पाउँदो हो, अग्लिएका नाकहरुले तीखो हरक समयको ?

 

प्रकाशित: २१ कार्तिक २०७६ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App