coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इन्लेमा पाँच भाइ

“जतिसक्दो चाँडो निस्कौँ !”नारायणजी बाहिर बोलेको सुनियो ।म बिहानको पाँच बजेदेखि नै तयारीमा थिएँ । अनि हामी फटाफट लाग्यौँ मेफी क्वार्टरबाट टाउँजी गेटतिर । “पहाड पनि हेर्नुभो । अब ताल हेर्नोस् नि !” नारायणको बोलीको यो ‘नि’ अति मिठो सुनिन्थ्यो । म्यानमारमा भेटिएका सबैका बोलीवचनमा आउने ‘नि’ उच्चारण औधी रसिलो, झरिलो र महकिलो लाग्थ्यो । अनुरोध, हार्दिकता र स्नेही बोलीमा टुङ्गिन्थ्यो— नि ।

हामी टाउँजीको ओरालो फर्लङफर्लङ झरेर निकै तल पुगिसकेथ्यौँ । टाउँजी गेट लेखेको ठूलो र कलात्मक द्वार नाघेर पश्चिमतिर बेगियौँ ।
“न्याउङ सेमा नेपालीका पसल धेरै छन् ।”
अशोक बोले ।
“टाउँजी आएका पर्यटक न्याउङ से पुग्न खोज्छन् । पर्यटकलाई राम्रो सत्कार गरेका छन् नेपालीले ।”
नारायणले अरू थपे ।
हामी बेगिइरहेका छौँ एक नासले । बिहान अमित, ऋषभदेवसँग एकछिन बाहिर घुम्दा बेग्लै आनन्द आएथ्यो । दक्षिणतिरको फाँटमा बिहानको उज्यालोले एउटा बिछट्टै सुन्दरता सजिएथ्यो ।
अहिले त्यही सुन्दर पहाड, बस्ती र फाँटतिर हामी गइरहेथ्यौँ ।
मूल बाटो छाडेर दक्षिणतिर लाग्दा पो देखियो— गजबको हरियाली । ओहो, के गजबको खेतीपाती ! पानी टिलपिलाएका सङ्ला गराहरू । पानी छुट्टिने आलीका खिरिला गराहरु ।
“पानी नै पानी देख्नुहुन्छ !”
नारायण बोलिरहेका छन् ।

हुन पनि बिस्तारै ताल, रहहरू टुप्लुक्किए । सिम खेतजस्ता छिपछिपे पानीको तरङ्गमा वरिपरिका हरियाली तरङ्गिइरहेथे । बेगिइरहेका छौँ हामी ।
निकै दक्षिण लागेपछि खेतमा छाते टोपी लगाएका महिला हिलोमा धान रोपिरहेथे । धान रोप्ने शैली नेपालकै जस्तो लाग्यो । बीउको मुठो यताउता छर्नेदेखि लाठे, बाउसे, रोपाहार सबै महिला थिए ।
“लोग्नेहरूको त कर्मी मौरीजत्तिको नि हैसियत छैन कि क्या हो ?”
मैले भनेँ ।
सबै गलल्ल हाँसे ।
गाडी गएर एउटा ठूलो चैत्यछेउमा किनार लाग्यो ।
“फोटो नखिचेर नि हुन्छ !”
ऋषभदेव ओर्लेर पोज दिनै थाले ।
म पनि त्यतै लागेँ । चैत्य शिखर शैलीको थियो । पाँच–छ वटा चुली अग्लिएर घामको उज्यालो सोसिरहेका छन् जस्तो लाग्थ्यो । तर ती सुन पोतिएका शिखर थिए ।
चैत्यको भित्रैतिर पसेर वरपर सबै हेर्न थाल्यौँ हामी ।
मान्छे भएर जन्मेपछि एउटा चैत्य बनाउनैपर्छ भन्ने म्यान्माली मान्यता रहेछ । त्यसैले पनि जतासुकै सुनौला विहार, चैत्य र गुम्बाको ताँती देखिरहेथेँ म ।
चैत्यभन्दा पश्चिमपट्टि गएर हेर्दा पो झन् अनौठो भएँ म । त्यही आकारप्रकार र स्वरूपको अर्को पुरानो, खुइलेको, जराजीर्ण चैत्य थियो । मैले अहिलेसम्म कुनै भत्केको, पुरानो र रङ उडेको चैत्य देखेकै थिइनँ म्यान्मारमा ।
“किन त त्यस्तो हालतमा ?”
“रङ पोत्नुभन्दा नयाँ बनाउनै उपयुक्त होला !”
अनुमान थियो अमितको ।
म पश्चिमपट्टिबाट अगाडिको भव्य र अद्भूत सुनौलो चैत्यमा निमग्न थिएँ । छेवैका चारपाँच महिलाले ‘यता आऊ यता’ भन्न थाले ।

पाँचवटा अलिक ठूला सुनौला चुचुरा थिए त्यहाँ । त्यसपछि अरू २० वटाजति टिनका चैत्य ठडिएका थिए । त्यसपछि अरू मसिना त अनगिन्ती चैत्य अग्लिएका थिए । हरेक उचाइ, मोटाइ र गोलाइका सम्भवतः भिन्न अर्थहरू होलान्, मूल्यहरू होलान् र ज्ञानका तहहरू होलान् ।
मेरा आँखाले भने ठूला, मझौला र मसिना चैत्य भनेर मात्र ठम्याए ।
स–साना मूर्ति, चित्र, औँठी र सिक्का बेच्न राख्नेहरू कराइरहेथे । खादा, तनक्खा, फूल, माला बेच्नेहरू डाकिरहेथे लम्की–लम्की ।
“लौ, म्यान्मारको यो चिनो !”
नारायणजीले मलाई गोलो घ्यू रङे छाते टोप लगाइदिए । मजस्तै राम्रिए अर्का साथी नि ।
सुतीको त्यो टोपले घाम छेल्यो मजैले । तालु पोल्न कम भो स्वाट्टै ।
“अब लागौँ !”
त्यसपछि हामी दक्षिणतिर लागेथ्यौँ सुस्तरी–सुस्तरी ।
पोखरीहरू बाक्लै थिए । त्यसमाथि बनेका टहरामा बसेर माछा मार्दै त्यसमै पकाएर खानेहरू यता निकै ओइरिन्छन् रे । नारायण बताइरहेथे हामीलाई । बाटापूर्व गहिरा दहले वरिपरिका पहाडका छायाँ लहरमा उफारिइरहेको लाग्थ्यो ।
“कि जम्ने हो यतै ?”
घरीघरी जोस्याउने नि गर्थे उनी ।
“हुन त हुन्थ्यो ! हेर्ने र घुम्ने ठाम जतिका त्यति छन् । अन्त काँ अहिल्यै जमेर बस्नु  !”
सरक्क आएको थियो मेरो उत्तर ।

दक्षिण र पूर्वका खेत रोपाहार छलेर हामी एकोहोरो दक्षिणतिर गइरह्यौँ । उज्यालो दिनमा पानीको सौन्दर्य लोभलाग्दो, हिस्सीपर्दो र मनखाँदो देखिन्थ्यो । भावर र चुरे क्षेत्र लागिरा’ थियो यो जलाम्मे संसार ।
अगाडि ठूलो टाउँजी पहाड लमतन्न फैलिरहेथ्यो ।
म्यान्मारमा पानी मात्र छ्यापेर खेलिने थिङयान पर्वको महत्व ठूलो रहेछ । लगत्तै आइरहेको थिङयानका लागि ठाउँ–ठाउँमा अग्लाअग्ला काठे मचान बनिरहेथे ।
मचानबाट पानी छ्याप्न र रमाइलो गर्नका लागि ताल, पोखरी, नदीकिनारमा पनि ती बनिरहेथे ।
न्याउङ से पस्यौँ हामी खराखरी ।
निकै भव्य सहर लाग्यो यो । साना, उज्याला र भुँइतल्ले घरको ताँती । जताततै पोखरी र तालसँगै सफा र होचा घरहरूको आभा निकै लोभलाग्दो थियो ।
“यो सहरमा पनि निकै नेपालीका पसल छन् ।”
अशोकले देखाए ।

हामी घर हेर्दै पश्चिमदक्षिण गइरहेका छौँ ।
पानीको एउटा ठूलो भँगालो पसेको थियो पूर्वतिर । त्यसमा पचासौँ काठे डुङ्गाहरू घुमन्तेहरूलाई बोक्न तँछाडमछाड गरिरहेका देखिन्थे । त्यो भँगालो नाघेर हामी अझ दक्षिणतिर पुग्यौँ । बेगियौँ भँगालोका किनारै किनार ।  
त्यहाँ एउटा ठूलो सामुद्रिक खोल्सो उत्तरतिर हुर्दुराउँदै आएको देखियो ।
“यो इन्ले लेक हो ।”
अशोक बोले ।
“यो हो म्यान्मारकै नामी ताल !”
“प्रसिद्ध छ देशैभरि !”
उनले थपे ।
“अझ हाम्रो टाउँजीको त झन् ठूलो सम्पत्ति हो ।”
नारायणले महत्व बताए ।
हामीले सरर्र हेर्‍यौँ इन्ले तालको एक कुनालाई । तालका पूर्वी र पश्चिमी किनारमा न्याउङ से सहर थियो— शान्त, सुन्दर र समृद्ध ।
उसको उज्यालो, उन्नत र उत्पातको मीठो मुस्कानमा म लोभिएँ, लट्ठिएँ, लल्याक लुलुकिएँ । न्याउङ से सहरमा एउटा छुट्टै सुख, सुन्दरता र सौम्यता मैले अनुभव गरेँ । समुद्रसँग जीवनका सबै सपनाहरु छाल समान तरङ्गित भइरहेथे ।

पानीले दिने एउटा अद्भूत सौन्दर्यसँगै जीवनको खिरिलो धुन त्यहाँ बजिरहेथ्यो, गुन्जिरहेथ्यो, तरङ्गिइरहेथ्यो ।
दक्षिणपट्टि सानाठूला डुङ्गाहरू अथाह रहमा बेगिइरहेथे । मेसिन जडिएका काठे नाउहरू पानीका लहर आकाशतिर उफारेर हुइँकिइरहेथे बेतोडले । छतरी लगाएका म्यान्माली नरनारीको ठूलै हुल देब्रेदाहिने बसेथ्यो हुइँक्याइएको डुङ्गामा ।
“यी कहाँ गएका ?”
“इन्ले तालपारिबाट किनमेल गर्न बिहान आएथे । अहिले फर्किंदै छन् ।”
हामी बिस्तारै गइरहेका छौँ ।
अर्को ठूलो डुङ्गा आयो । रोकिने बेलामा अलिक परैबाट करायो । त्यसमा फूल बोकेर सयौँ युवती आएथे । सेता माला हातैभरि थिए तिनका । स–साना टोकरीमा पनि मालैमालाको थाक थियो मरीकुच्चे । अझ तिनको शरीर मालामय थियो । रूपसीहरू सुगन्धित भएको मेरो मनले ठानिरहेथ्यो ।
रहरलाग्दा सेता फूलले पुरिएका युवतीले सिँगारेका लाग्थ्यो डुङ्गा ।  
“यो त एउटा कुनो हो !”
“खास ताल निकै पर छ । त्यहाँको दृश्य मेरो ख्यालमा संसारमै कतै नहोला !”
नारायणलाई सुनाउने हतार छ ।
म पनि झन् हतारिएको छु । धेरै सुनूँ, धेरै थाहा पाऊँ, धेरै जानूँ भन्ने छटपटीमा छु ।  
विश्व सम्पदा सूचीमा अङ्कित रहेछ यो ताल ।

इन्ले लेक ठूलो पहाडसँग जोडिएको विशाल रहेछ । त्यसवरपरको बस्ती, खेतीपाती र जलसंसार निक्कै चाखलाग्दो भएको मैले ठाकुर गुरागाईंको बोलीवचनमा पनि सुनेथेँ ।
“म टाउँजी नि जाँदै छु त !”
“ए, गजब ठाउँमा जाँदै हुनुहुँदो रहेछ । इन्ले लेक कसै गरी जानू है !”
गुरागाईंले मलाई मान्डलेमै छँदा फोनमा अथ्र्याएथे ।
हामीले हेर्दाहेर्दै निकै डुङ्गा आइजाइ गरिरहेथे । आइमाईको लर्कनमा डुङ्गाबाट ओर्लिने र चढ्नेको सङ्ख्या बढिरहेको छ ।
अलिक उता नाम्पान गाउँ रहेछ । त्यहाँ समेत ५० नेपालीका घर रहेछन् । तिनीहरू पनि सायद बढी आउजाउ गर्ने बाटो यही हुँदो हो । यही डुंगाबाटै सबै घरसंसार चल्दो हो तिनको ।
दसैँको फूलपातीको दिनमा इन्ले तालपारिको गाउँबाट यहाँसम्म देवीदेवताका मूर्ति ल्याउने मौलिक परम्परा रहेछ । पाँच वटा डुङ्गामध्ये चार वटामा मूर्ति ल्याउने गरिन्छ रे । ‘इन्ले पोए’ भनिने त्यो चाड निकै उल्लसित, भव्य र रौनकपूर्ण हुने नारायणले बताए । नेपालीहरू पनि यो पर्वमा ओइरिने थाहा पाएँ मैले । आफ्नै  मौलिक चाडसरह गोरखालीलाई नि लाग्छ रे इन्ले पोए ।
खुट्टाले ठेलेर ती चार मूर्तिसहितका नाउ यहाँ ल्याइँदो रहेछ । त्यतिखेर साह्रै ठूलो मेला हुने रहेछ यहाँ । मान्छेको खुट्टा टेक्ने ठाउँ न्याउङ सेमा हुँदैन रे त्यो बेला । अत्यन्तै श्रद्धा, भक्तिभाव र विश्वासले डुंगामा मूर्ति ल्याइँदो रहेछ । त्यतिखेर खुट्टैले ती डुङ्गा ठेलेर मूर्तिहरू यहाँसम्म ल्याउँछन् रे ।
“टाउँजी त पूरै उर्लिन्छ त्यतिखेर !”

नारायणको अनुहारमा उल्लसित राग देखियो ।
इन्ले तालसँगै खेतीपाती, गुफा, बस्ती र अनेक चैत्यहरू जोडिएका रहेछन् । ती देखाउन अशोक र नारायण दुवैले मन गरेकै थिए । तर दुःख, खिन्नता र पीडाको कुरो— हामीसँग समय थिएन रत्तिभर ।
हाम्रो हैरानीमा उनीहरू नै दुःखी थिए ।
“हामीले हेर्न नपाएको भन्दा नि तपाईंहरूले देखाउन–लैजान नपाएको दुःखमा बढी पाकेको छु म !”
मैले पीडा पोखेँ ।
नारायणले भनिरहे पटक–पटक “समय साह्रै कम भो !”
“आगो लिन आएजस्तो भो है तपाईंहरू आएको !”
अशोकले नि खिन्नता देखाए ।
इन्ले तालले ठूलो क्षेत्र ओगटेको रहेछ । वर्षा र हिउँदमा पानीको सतह केही कम–बेसी भए पनि यसको सुन्दरतामा थोरबहुत नहुने विश्वास जिउँका तिउँ रहेछ ।
ठूलो र प्रमुख ताल इन्ले भए पनि यसवरपर अरू मनग्गे तालहरू रहेछन् । स्यान स्टेटको ठूलो आम्दानीका रूपमा योे ताल र यसवरपरको जनजीवन भएको अरूहरूबाट पनि मैले सुनेँ ।
तालमाथि नै खेतीपाती नि हुँदो रहेछ यहाँ । तालको सौन्दर्य नबिग्रियोस् भनेर डुङ्गामै बसी खसेका पात टिप्नेको ताँती नि उल्काकै हुने सुनेथेँ मैले ।

काठ र बाँसका सामान जतासुकै बेच्न राखिएका देखिन्थे । किन्ने मैले आँट गरिनँ, किनभने आधा म्यान्मार घुम्नै बाँकी छ ।
“थाक्नुभएन ?”
नारायण बोले ।
“भोकाउनु चैँ भयो होला है !”
अशोकले प्रेम पोखे ।
ऋषभदेव, अमित र मैले मुस्काएर भोकाएको उत्तर दियौँ ।
“अब म टाउँजीभरिकै उत्कृष्ट भोजन खुवाउँछु !”
त्यसपछि हामी न्याउङ सेलाई देब्रे छाड्दै पूर्वतिर गयौँ । गाउँको सुगन्ध र उज्यालो नजिकियो ।
एउटा फूलबारी भएको छाप्रे पसलमा पसेर खाने कुरा नारायणले मगाए ।
चनाको पीठाको औधी मीठो परिकार अमिलो र पीरो थपेर खायौँ— थोप्रू । थुक्पाजस्तो तल्र्याङतुर्लुङे परिकार खाइरहँदा मेरो मनमा इन्ले तालका लहरको मोहकताले गाँजिरहेथ्यो ।
बाटैमा कमलका फूलले ढकमकिएका स–साना तालले मन रोकेकोरोकेकै थिए— इन्लेको मुख्य भागमा पुग्न पाएको भए ?

मनभरि छाल कुदिरहे । मुखमा थोप्रूको स्वाद आइरह्यो ।
“अब एतायातिर लम्कौँ !”
नारायणले भने ।
गाडी बेगिन लाग्दा सुनेँ ।
“यस्तै एक सय घर छन् नेपालीका ।”
“गाईबेरा नि देख्न पाइन्छ गोरखालीका ।”
अशोक र नारायण पालैसँग बोले ।
गाडी बेगिँदा इन्लेको बैँसे रूपले तानिरहेथ्यो मलाई, अँगालिरहेथ्यो मलाई, मुसारिरहेथ्यो मलाई ।
०००

 

प्रकाशित: १६ कार्तिक २०७६ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App