coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

राधाकृष्ण र अन्य

कथाकार राधाकृष्ण आफूलाई असफल रचनाकार भन्ने चिठी सम्पादकलाई लेख्ने पाठकलाई कम्तीमा पनि एक पटक प्रत्यक्ष देख्न पाए हुन्थ्यो भन्थे, चित्त दुखाएर । त्यो चिठी छापिएदेखि कथाकार अथवा लेखक राधाकृष्ण उदास रहन थालेका छन् । उनले पाठक महेश्वरको त्यो चिठी छापिएको पत्रिका पनि पाएका छन् । सम्पादक पनि परिचित नै हो । उसले त्यो चिठी हाइलाइट गरेर छापिदिएको रहेछ ।

पाठक महेश्वरले चिठीमा पत्रिकाको प्रशंसा गरेको भए पनि कथाकार राधाकृष्णलाई असफल रचनाकार भनेको रहेछ । पत्रिकालाई भने ऐतिहासिक बिँडो थामेको भनेर विभूषित पनि गरेको रहेछ । पत्रिकाले ऐतिहासिक बिँडो कसरी थामेको छ, त्यो उनले बुझ्नै सकेनन् ।

त्यस्तो ऐतिहासिक बिँडो थाम्ने पत्रिकामा राधाकृष्ण जस्तो असफल कथाकारको रचना कसरी छापिँदो रहेछ ? त्यो नै विरोधाभासपूर्ण थियो । त्यो चिठी पढेदेखि कथाकार राधाकृष्णलाई ठीकसँग खाना रुच्न पनि छाडेको छ । सधैँ चुपचापले खाना खाने मानिस, चिठी पढेदेखि भातको थाल अगाडि राखेर गनगन गर्न थालेका छन् । असफल भन्ने ट्याग नलाग्दासम्म उनी यस्ता थिएनन् ।

पाठक महेश्वरको दृष्टिमा आफू असफल छु भन्ने कटु ज्ञान नहुँदासम्म कुनै मिनमेख ननिकाली दाल–भात–तरकारी र पाएदेखि लसुन, टिमुरसमेत पिसेको सानो गोलभेडाको ट्वाक्कको पिरो झोलिलो चटनी मस्तले खाइदिने राधाकृष्ण अहिले भातको थाल देख्यो कि गनगन गर्न थाल्ने भएका छन् ।

घरकाहरू चकित छन्, किन उनी यस्ता भए ? घरकालाई कथाकार राधाकृष्णले त्यो चिठी छापिएको पत्रिका देखाएका छैनन् । उसै पनि उनी आफ्ना रचना छापिएका पत्रिका देखाउने गर्दैनथे ।

राधाकृष्णलार्ई लाग्थ्यो, घरकाहरू पञ्चतन्त्रजस्ता कथा पढ्न अभ्यस्त छन् । आधुनिक रचनाकारका रचना पढ्ने धैर्य र बुद्धि तिनमा छैन भन्ने उनको आँकलन थियो । तर अब आफ्नै फजिती हुने चिठी जसमा उनलाई नै असफल भनेर ठोकुवा गरिएको छ त्यो पत्रिका देखाउनु मूर्खता हुने थियो । घरैकालाई भए पनि !

राधाकृष्ण अझै पनि घरका मूली छन् । उनले घरको जिम्मेवारी छोराबुहारीलाई सुम्पेका छैनन् । उनलाई असफल भनेर आक्षेप गर्ने पाठकलाई यो थाहा छैन, त्यो चिठी पढेपछि घरपरिवारमा उनको कति ठूलो बेइज्जती हुनेछ । अहिलेसम्म त परिवारले राधाकृष्णलाई एक सफल/अद्र्ध सफल आधुनिक कथाकार÷लेखक भन्ने मान्यता दिएका छन् । तर पाठक महेश्वरको चिठीले परिवारमा उनलाई गलत तथ्य प्रस्तुत गर्ने मुलुकको सरकार प्रमुख सरह बनाइदिने डर छ ।

राधाकृष्ण एक असफल कथाकार हुन् भनेर ठोकुवा गर्ने पाठक महेश्वर पनि परिवारवाला हुनु पर्ने हो । तर ऊ बरालिएको छोरो हो वा नबिकेको नव कवि ? यो थाहा भएन । नत्र ऊ असफलताको कुण्ठा पोखेझै कठोरतापूर्वक उनलाई असफल भन्नेतिर लाग्ने थिएन । तर उसले असफल भन्नलाई उनैलाई मात्र किन देख्यो ? उनी जस्ता अरू नाम पनि थिए साहित्यमा ।

एउटा सफल पारिवारिक जीवन व्यतित गरिरहेको ज्येष्ठ नागरिक त्यसमाथि दशकौं लामो साधना भएको लेखक स्रष्टालाई निर्ममतापूर्वक असफल भन्ने पागलपन गर्नुपर्ने होइन त्यो पाठक महेश्वरले । बरु अलि सफ्ट भएर रचनामा गहिराइ ल्याउन सुझाउन सक्थ्यो । तेस्रो आयामतिर औंल्याउन पनि सक्थ्यो ।

तेस्रो आयाम यस अर्थमा, लम्बाइ–चौडाइ दुई आयाम बाहेक गहिराइ पनि रचनामा हुनु पर्छ भन्नेतिर इङ्गित गर्न । यद्यपि विनागहिराइ रचना स्थाति हुँदैनथ्यो ।

तर पाठक महेश्वरले त्यो पत्र छपाइसकेको छ । पाठक महेश्वरको त्यो पत्र सम्पादकले छापिसकेको पनि छ । पाठक–सम्पादकको षड्यन्त्र त होइन ?  

सम्पादकलाई भनसुन गरेर अर्को अङ्कमा खण्डन निकाल्ने पो हो कि ? तर कस्तो खण्डन ? यो राधाकृष्णको दिमागमा स्पष्ट थिएन । राम्रो उपाय त  सम्पादकैलाई भेटेर उपचार खोज्नु हुनेछ । पत्रिकाले तरङ्ग पैदा गर्नु छ भन्दैमा एउटा लेखकको हत्या गर्नु ठीक छैन । यो पनि थाहा पाइराख्नु पर्ने हो, रक्तपिपासु हत्याको राजनीति अब चल्दैन । जनता अब शान्तिकामी भएका छन् । सरकारको स्पष्टोक्ति पनि छ ।

हुन त राधाकृष्णको दैहिक हत्या भएको होइन तर देह त जिउँदो रहँदैन अमर त आत्मा छ । आत्मै मर्ने जस्तो गरी वा जिउँदै मारेजस्तो गरी असफल भनेर निर्मम ठोकुवा गर्ने चिठी पाठकले लेखेको छ । स्मरण रहोस्, साहित्यमा जिउँदो सहिद भनेर मान्यता पाइँँदैन । यसरी प्रसङ्ग खजमजिएपछि राधाकृष्णले त्यस विचारक्रमलाई त्यहीँ स्थगित राखे ।
राधाकृष्णलाई लाग्यो, सम्पादकले पनि पत्र छाप्ने थिएन होला । तर सम्पादक पनि दाम नभए नाम पनि रिटर्न नपाइने खालि फोकटिया रचना छापेर कति दिन गुमनाममा बस्ने ? बिन्दास सम्पादक देखिनु पर्‍यो । त्यसका लागि निर्भिकताका साथ यस्तै पत्र छाप्दै रहनुपर्छ । यस्तै बोल्ड चिठी । यस्तो बोल्ड पत्र लेख्ने कमै पाइन्छ । मानिसलाई फुर्सद छैन । तर जसले साहित्य पढेर यस्तो लेख्छ त्यस्ताको पत्र जस्ताको तस्तै छापिदिनु पर्छ । यस्तो पत्रले साहित्यमा एउटा तरङ्ग पैदा गरिदिन्छ । पत्रिकाको डिमान्ड पनि बढ्छ । फलानो पत्रिका खोजीखोजी पढ्नुस् भन्ने विज्ञापन पनि दिनु पर्दैन । सम्पादक पनि चर्चामा आउँछ । यस्ता मिलीजुली अभिष्टले हो कि पत्रिकाको सम्पादकले आँखा चिम्लेर पत्र छाप्यो ?

तर तरङ्ग पैदा गर्नका लागि कथाकार राधाकृष्णकै बलि आवश्यक थियो ? सम्पादकले आफ्नो पत्रिकामा अनेकन लेखकका रचना छापेको छ, छाप्दै पनि छ । ती सबै रचना वा तिनका लेखक चर्चित भएका छैनन् । साहित्यमा चर्चाको अभाव भइरहन्छ । दुईचार स्तम्भ लेखकहरू बाहेक अरू कोही साहित्यिक मूल्यका लेखक चर्चामा आएको पनि देखिँदैन । चर्चा चलाउने समालोचकले हो । समालोचक र समालोचनाको अभाव छ । त्यसमाथि भन्नुपर्दा स्वस्थ समालोचनाको नितान्त अभाव छ । त्यो छँदै छ । सम्पादकको सोचाइ हो यो ।

तर राधाकृष्ण ? उनी उसै पनि अचिर्चित त छन् नै । टोलछिमेकमा उनी लेखकै हुन् भनेर नचिनिन पनि सक्छन् । उनको नामको त्यस्तो पत्र पाठक महेश्वरले किन लेख्यो त्यो सम्पादकले पनि ठम्याउन सकेन । तर पत्रिकालाई बुस्ट अप गर्न यो पत्र पर्याप्त छ । सम्पादकले सोच्यो र अविलम्ब छाप्यो । यत्ति हो, पत्र छापिनासाथ तरङ्ग पैदा हुन्छ भनेको फुस्स भयो ।

पत्र इतिहास रच्न सावित भएन । गेम चेन्जर वा पत्रिकाको जीवनमा टर्निङ प्वाइन्ट ल्याउने । पत्रले चाहेजस्तो तरङ्ग पैदा भएन, गरेन । राधाकृष्णलाई लक्ष्य गरेर लेखिएको हुनाले हो कि ? त्यो पत्र त्यसै बिलाउने भयो । राधाकृष्णलाई मात्र त्यस पत्रले निर्वाचनमा अप्रत्यासित हार बेहोरेको पार्टीको सभापतिलाई राजीनामा गर्न प्रेसर पारेझै संकटमा भसाएर अलपत्र छाड्यो । राधाकृष्णले यो सोचेको हुनु पर्छ, के उनले लेख्न छाड्ने ? नछाडे स्थगन गर्ने हो कि ? एक अपरिचित पाठकको विश्वास जित्नसमेत नसक्ने रचनाकारले अरू के गर्न सक्छ ? तर अन्तिम अवस्थामा नपुगेसम्म सत्ता नछाड्ने पिएमझै उनले पनि लेखनमा टिकिरहने अठोट गरे । लेख्नु नितान्त निजी काम थियो । नेतालाई झै न पार्टी चाहियो न सत्ता । सही समालोचक र पाठकको खोजी भने रहन्थ्यो ।  

तर राधाकृष्णले सोचे, सत्ता छाड्न अन्तिम परेपछि बाह्य शक्तिको चलखेलले राजीनामा गरायो भन्ने गरिएझै उनले पनि वक्तव्य दिन केही सोचिराख्नुपर्छ । साधनाका अनेक दशकपछि अहिले आएर एक्कासि व्यक्तिगत इबी फेर्न भनेझै लेखिएको पत्रले असफल लेखकमा दरिनु एउटा डिजाइन मातहत भएको हुनुपर्छ भन्दा अनुचित होवैन । तर साहित्यवृत्तमा विदेशी हातको के प्रयोजन ? हो नेपाली भाषाको लेख्य स्वरूपमा बाह्य हस्तक्षेपकारी भूमिकाले उत्प्रेरत भएर लेख्य रूप विकृत गराउने प्रयास चाहिँ भएको हो । तर उनलाई असफल घोषित गर्नका लागि पाठक महेश्वरलाई कसले कति डलर पेल्यो होला ? धेरैले त्यो असफलता आरोपित चिठी पढेका पनि थिएनन्, पढ्ने पनि छैनन् । नेपाली साहित्य जगत्लाई राधाकृष्ण भन्ने व्यक्तिले पनि लेख्छ, यतिसम्म जानकारी छ । त्यसपछि के लेख्यो, कति लेख्यो भन्नेतिर कसैले इम्पोर्टेन्स दिएको देखिँदैन ।

इम्पोर्टेन्स माने यस्तो, उनका रचना विश्वविद्यालयको पाठ्यक्रम समाविष्ट भएका छैनन् । भए पनि विश्वविद्यालयले सूचना दिँदैन । मानौं रचना पाठ्यक्रममा समाविष्ट गरेर सम्बद्ध लेखकलाई उपकृत गरिरहेको छ । राधाकृष्णका रचनासङ्ग्रहहरू नेपाल सरकारका मन्त्रालयले एकमुष्ट हजार (पाँच सय कपी किनिदिने पनि गरेको छैन । भने उनी इम्पोर्टेन्स दिनुपर्ने लेखक ठहरिएका छैनन् । यो तर्क उनले आफ्नो बचाउमा गरिहेरे । तर्कहरू दमदार थिएनन् तापनि हारेकालाई हरिको नाम सान्त्वनाको सहज मन्त्रजाप बनेझै ती तर्क उनको मनको सन्तापलाई केही हदसम्म शान्त पार्ने खालका थिए ।   

राधाकृष्ण असफल गराइने एउटा डिजाइनमा फसे । उनले विदेशी शक्तिको सट्टा डिजाइन भन्ने शब्द सोचे । यो डिजाइन बनाउनमा सम्पादकको पनि सहभागिता छ । यस्तो संशय गरियो । सम्पादकले भाङको नसामा पत्र छापेको हो कि ? भाङ खाएको प्रसङ्ग यस अर्थमा महत्वपूर्ण भइदियो, संसदमा प्रतिपक्षद्वारा सत्तापक्षलाई बजेट भाङ खाएर ल्याएको हो कि भन्ने प्रश्न गरियो । तर भाङ भन्ने शब्द असंसदीय हो वा होइन यसमा बहस भएन वा बहस गर्नु जरुरी देखिएन जसरी यसअघि संसदमा ‘निमछरो’ शब्दमाथि बबण्डर उठेको थियो र अन्ततः सभामुखले बाध्यतावश त्यो शब्द रेकर्डबाट हटाउन निर्देशन दिनु परेको थियो । शब्दको पनि आफ्नै चरित्र र सत्ता हुँदो रहेछ ।  

एउटा रचनाकारलाई कुनै विवेचनाविना ठ्याम्मै असफल भनेर स्फित गराइदिनु अपमानकै विषय बन्थ्यो । राधाकृष्ण अपमान सहन सक्ने किसिमले मसलदार व्यक्ति पनि थिएनन् । यद्यपि सानै उमेरमा उनी एकदुई पटक बडीबिल्डिङतिर लागेका हुन् । पछि युवाकालमा जिम ज्वाइन पनि गरेका हुन् । त्यहाँबाट पनि असफलता नै हात लागेको थियो । पढाइमा ठीकठाकै थिए । बेलाबेला पिताजीको हातका दुईचार झापट बजार एरियामा वा जजमानी गर्न गएको ठाउँमै खाने गरेका पनि हुन् । यस्ता अभ्यासले उनी अपमानको विष नीलकण्ठले झै धारण गर्न सक्ने व्यक्ति बनेका थिए ।  

यति भनेपछि राधाकृष्णको व्यक्तित्व अलि स्पष्ट हुनु आउला । उनी एक दुब्लापातला फुकिढल रचनाकार थिएनन् । यद्यपि मोटा र भुँडे पनि थिएनन् । शारीरिक बनोट जे भए पनि तर उनलाई असफल भन्नेबाट बञ्चित गरिएन ।  डिजाइनमा पारियो । यद्यपि यो भन्न कर लाग्थ्यो, डिजाइन तयार गर्नमा विदेशी शक्तिको हात थिएन । उनी सहज सोझा भए पनि, कसैलाई हानि नोक्सान नगर्ने भए पनि टार्गेट बनाइयो । सिकार । आफूले भ्रष्टाचार गर्दिन र दिन्न भने पनि दिनदिनै भ्रष्टाचार बढेको आरोप लागेजस्तो ।

तर उनले खिन्न हुँदै भ्रष्टाचार प्रमाणित भएमा राजनीतिबाट संन्यास लिने तर्जुमा ‘मेरो सम्पूर्ण लेखनको सम्यक विवेचना गरेर असफल प्रमाणित गरिएमा लेखनबाटै संन्यास लिनेछु’ भन्ने चर्को प्रतिज्ञा सार्वजनिक गरेनन् । कसैकसैले त भ्रष्टाचार प्रमाणित भएमा सेरिएर मर्नेसम्मको घोषणा गरे । उनी त्यतातिर रुचि राख्दैनथे । दुर्भाग्यले उनले लेखनबाट संन्यासै लिए पनि तरङ्ग पैदा हुनेवाला थिएन । यसमा नियतीकै ठूलो भूमिका हुन सक्थ्यो माने उनको हुनु र नहुनुमा कसैले प्रश्न खडा गर्ने थिएन । साहित्य जगत् पनि सांसदहरू अनुपस्थित रहने संसदझै सुनसान नै छ । उनी गए पनि रहे पनि खासै असर पर्नेवाला थिएन ।

यसमा एउटा शंका यो पनि थियो, राधाकृष्णले मेरो समग्र लेखनको सम्यक् विवेचना गरेर असफल प्रमाणित गरिएमा म लेखनदेखि संन्यास लिन तयार छु भन्ने वक्तव्य दिए भने पनि त्यो छाप्न पत्रपत्रिका तयार हुने थिएनन् । यो वक्तव्य मसालेदार बन्दैनथ्यो । वर्तमानमा एकीकृत सत्तारूढ दलका प्रधानमन्त्री भद्र सम्झौताअनुसार फेरिने कुरो चर्चामा थियो । भद्र के लिखितै रहेछ । फड्के साक्षीका रोहबरमा । त्यो हटकेक बजारमा उपलब्ध हुँदाहुँदै बीचबेला फ्याट्ट राधाकृष्ण आएर लेखनबाट संन्यास लिन्छु भने तापनि त्यसमा केही दम देखिने थिएन । यो पनि उनका लागि नियतीकै क्रुर व्यङ्ग्य ठहरिने थियो ।

वर्तमान सत्तारूढ दलको एकता प्रक्रियामा भएका चारबुँदे सम्झौता पत्रलाई टिभीको स्क्रिनमा लहराएर देखाउँदै भनियो, ‘यसमा लेखिएकै छ, अढाइ वर्षपछि अर्को नेता प्रधानमन्त्री बन्ने छ ।’  अढाई वर्ष वा तीन वर्ष भन्ने अवधिले अन्तर पर्ने थिएन । तर सरकार प्रमुखमा अर्को नेता सकुशल स्थापित हुने बाटो खुला राखिएको रहेछ भनेर थाहा पाएपछि सत्तारूढ दलका नेता पङ्क्तिभित्र तरङ्ग पैदा भयो । यो पनि कतै इन्डोप्यासिफिक डिजाइनभित्रकै एउटा बुँदा त होइन भन्ने गम्भीर राष्ट्रिय विवेचना हुन थाल्यो । त्यस्तोमा पाठक महेश्वरले लेखक राधाकृष्ण एक असफल रचनाकार हुन् भन्ने पत्र पनि इन्डोप्यासिफिक वा दक्षिणबाट मजमुन गरेर पठाइएको पत्र वा नागरिकताको विधेयकको अनुवाद जस्तै हो भन्ने मिल्दैनथ्यो । तर संजोग त्यस्तो परिदियो । चितुवा पनि कराउनु पाठो पनि हराउनु ।

यता क्रिकेटको विश्वकप प्रतियोगिता पनि चलिरहेको थियो । राधाकृष्णलाई क्रिकेटका पारखी भन्न नमिले पनि जानकार भन्न सकिन्थ्यो । उनलाई पाठक महेश्वरले लेखेको पत्र खेल्न नसकिने बाउन्सरझै लाग्यो । तर उनले सोचे, बाउन्सर हानिएको बल हावामा नै छ । त्यो बललाई कसरी खेल्ने उनी निर्णय गर्न सकिरहेका छैनन् । क्याच दिएर आउट भइने पो हो कि ? वा बल छोड्नु पर्ने हो । वाइड पनि हुन सक्छ । अनेक छन् तर अनिश्चय छ । तर उनको मनमा, मनमा नभनूँ उनको दिमागमा एउटा स्पष्ट विचार आइरहेको छ, त्यो पाठक महेश्वरलाई सशरीर भेट्ने । भेटेर सोध्ने, ‘कुन रिसइबीले वा डिजाइनले तिमी वा तपाईंले मलाई ठाडै असफल लेखक भन्नु भो ?’   

यता अर्को समस्या थियो, राधाकृष्णले लेखनबाट संन्यास लिएँ भन्ने वक्तव्यले पत्रपत्रिकामा ठाउँ पाउन सक्दैनथ्यो । पत्रपत्रिकाहरू मसालेदार राजनीतिक वक्तव्यको खोजीमा निरन्तर लागेका हुन्छन् । त्यसबाहेक मिडियामाथि त्यत्रो विधि कडिकडाउको नियन्त्रक विधेयक ल्याउँदा पनि कुनै लेखकले अगि सरेर विरोधमा वक्तव्य दिएको होइन भने पत्रपत्रिकाले मात्र एकतर्फी लेखकहरूको संन्यासको वक्तव्य छाप्दै हिँड्नुको तुक बन्दैनथ्यो । रोटी एकातिर सेकेर मात्रै पाक्दैन अथवा ताली एक हातले मात्र बज्दैन । यो दुईटै उखान प्रयोग गर्न मिल्ने प्रसङ्ग त्यो थियो ।

अर्कोतिर यो पनि आरोपित गर्न बेर लाग्ने थिएन, राधाकृष्णले त्यस्तो वक्तव्य दिएर आफ्नो लेखनतिर समालोचक र पाठकको ध्यानाकर्षण गर्ने चाल चलेका हुन् । धन्न उनको त्यस्तो चाललाई कुटिल चाल भनिएन । भनिएको कुरा त्यति मात्र कि उनले आफ्नो एडभर्टाइज (प्रचार) का लागि त्यसो गरेका हुन् । कुराको के छ र ? कुलो र कुरो जता लग्यो उतै जान्छन्, कुरा हुँदै गर्छन् । कुलाहरूको त अभाव नै छ मुलुकमा । सिँचाइका लागि । अफसोस, यो प्रसङ्ग यहाँ आइदियो ।

होइन भने, एउटा कम ज्ञात पत्रिकामा छापिएको महेश्वर नामक पाठकको पत्र त्यही पत्रिकाको अर्को अङ्क निस्केपछि स्वतः अज्ञातमा बिलाएर जाने थियो । पत्रिकाको अर्को अङ्क कहिले निस्कने हो त्यसको अनुमान गर्न सकिँदैनथ्यो । तैपनि । अनि साहित्यिक पत्रिका त्यति गढेर कसले पढ्छ । त्यस्तोमा ‘म लेखनबाटै संन्यास लिन्छु’ भनेर उद्घोष गर्दै हिँड्नुको प्रयोजन के ? लेखक, सम्पादक र पाठक तीनैजनाको मिलेमतोमा यो डिजाइन तयार पारिएको हुनुपर्छ । जस्तै संसदमै भनियो, ठूलाठूला भ्रष्टाचार राष्ट्रिय सहमतिमै हुने गर्छ ।

त्यस्ता पत्रिकामा छापिएका सबै रचनामध्ये एक युगमा एक दिन भनेजस्तो गरी कुनै एउटा रचना कालजयी बन्छ ।
तर राधाकृष्णमाथि असफल भन्ने ट्याग लिखितमै लागेको छ । लिखितकै महत्व किन छ भने प्राचीन शिलालेखहरू, लिखतहरूको अध्ययन हुन्छ । लिखतको महत्व त्यसैले अकाट्य छ । इतिहासमै त्यो लिखत, राधाकृष्ण भन्ने एक लेखक थियो जसलाई एक पाठकद्वारा असफल भनेर आरोपित गरियो भन्ने दसी प्रमाणका रूपमा रहनेछ । यो कलङ्कलाई उनी इतिहासबाटै मेटाउन चाहन्थे ।

घरकाहरूको यो चिन्ता घनीभूत हुँदै गयो, कतै राधाकृष्णले खानै छाड्ने पो हुन् कि ? घरकाहरूलाई भन्नाले राधाकृष्णकी पत्नी सरलालाई । छोराबुहारी किशोर र उमा उनीप्रति त्यति चिन्तित छैनन् । नाति कृष्ण जसको नाम उसको हजुरबाको नाम राधाकृष्णको कृष्ण भन्ने भाग चुँडालेर राखिएको छ ऊ शैक्षिक भ्रमणमा मुस्ताङतिर गएको छ । राधाकृष्णलाई यहाँनिर पनि ईष्र्या लाग्छ । आफू यत्रो उमेरको हुँदासम्म हिमालपारिको कुनै जिल्लामा त के चितवनको सौराहासम्म पुग्न पाइएको छैन । आन्तरिक पर्यटनको बिगबिगी छ । नातिले भने हिमालपारिको जिल्ला भ्रमण गर्ने भयो ।

फरक यो थियो, सौराहासम्म नदेखेका राधाकृष्ण यही मुलुकमा सीमित हुने थिए र नाति अध्ययनका नाममा अमेरिका वा अस्टे«लिया पक्कापक्की जाने भइसकेको छ । नाति उतैको नागरिक भएर बस्ने पनि सुनिश्चितै छ ।
छोरो र बुहारी किशोर र उमा व्यस्तताले भलाकुसारी पनि गर्न पाउँदैनन् । बाबुआमासित भलाकुसारी पनि के गरिरहनु ? फटाफट खाइवरि कामतिर निस्कने हुनाले सरोकार राखिराख्नु पर्ने फुर्सद पनि छैन । आमालाई मात्र ‘बाई’ भनेर निस्कने गर्छन् । नपढेकी भए पनि राधाकृष्णकी पत्नी सरलाले ‘बाई’ भनेको छुट्टिने बखतमा प्रयोग गरिने अङ्ग्रेजी शब्द हो भन्ने बुझेकी थिइन् ।

तर यता राधाकृष्ण पाठक महेश्वरको पत्रले पिरोलेर थला परेजस्तै भएका छन् । उनी एकान्तमा चिन्तनमग्न हुन्छन् । यद्यपि उनी एक्लै बरबराउने भएका त छैनन् तर त्यस्तो हुन बेर नलाग्ने देखिन्थ्यो । उनको एउटै गुनासो यो थियो, पाठकले ठ्याक्कै त्यसरी असफल नभनिदिएको भए हुने, केही मार्जिन छाड्नु पथ्र्यो । स्पेस । त्यसो हुन सकेन । नगरिएकाले हुन सकेन ।

सम्पादकले पनि एकपटक ‘ए लेखक महोदय, तपाईंको बारेमा यस्तो पत्र आएको छ है, के गरौँ’ भनेर सोधेको भए हुने ? पारिश्रमिक पनि दिने गरेको होइन । ‘पत्रिका निकाल्नु नै ठूलो कुरो भएको छ । पारिश्रमिक मागेर मात्र पाइने भए...।’ सम्पादकले भन्न खोजेको के थियो ? रचना छापिदिएबापत लेखकले नै रकम बुझाउनुपर्ने हो कि ? तर सम्पादकले एक लेखकको लेखनमाथि नै प्रश्नचिह्न लाग्ने पत्र एक शब्द नसोधी छाप्यो । सरकारले त्यसै कडिकडाउको मिडिया विधेयक ल्याउन खोजेको त हैन रहेछ ।  

असफल भन्ने शब्द कसैलाई मन पर्दैन । सरकार असफल भयो भनिदिँदा बबन्डरै उठ्छ । सरकार असफल त छँदेै छ भनेर राधाकृष्ण स्वयं ठोकुवा गर्दै हिँड्थे । उनी भन्थे, ‘लेखिराख्नोस्, यो सरकार असफल भइसक्यो ।’ उनको यो कुरा सुन्न पाउने मानिसहरू अलि छक्क पर्थे, यिनी आफैं लेखक हुँ भन्छन् तर आफ्ना कुरा लेखिराख्नोस् भन्छन् किन ?  यिनी किन सरकार असफल छ भन्न रुचाउँछन् । सायद यिनी हालको प्रतिपक्षमा बसेको पार्टीसँग आबद्ध छन् कि ? मानिस बाहिर एउटा देखिन्छ, भित्र अर्को हुन्छ । तर प्रतिपक्षकै समर्थक भए पनि जागरण कार्यक्रमा गएको देखिँदेन । अनि यति लाउड भएर बक्दै हिँड्नु पर्ने किन ? हुन त उनले लेखेरै पनि यो व्यक्त गर्न सक्थे, किनभने अन्ततः उनी एक लेखक हुन् । लेखकको कामै हो लेख्ने ।

तर राधाकृष्ण सरकारको विरोधमा जति कुर्लेर हिँडे पनि, उनी लेखक हुन् र लोकतन्त्रात्मक गणतन्त्रमा एक लेखकको असन्तुष्टि के–के रहेछ बुझिहेरौँ न भनेर कुनै पनि टिभीवालाले अहिलेसम्म राजनीतिक चर्चाका लागि बोलाएको छैन । उनी साहित्यिक चर्चाप्रति त्यति उत्सुक छैनन् । साहित्य त उनी लेखिहाल्छन् तर चाहियो त वर्तमान राजनीतिक भ्रष्टाचार र दूराचारबारे कटु धारणा व्यक्त गर्ने मौका । संसदमै सत्तापक्षका एक सांसदले बडो विश्लेषणपूर्वक भनिसके, ठूला–ठूला भ्रष्टाचार राष्ट्रिय सहमतिमा हुने गरेका छन् । त्यसको आशय यो होला, ठूलाठूला भ्रष्टाचार राष्ट्रिय दलहरूकै सहमतिमा हुने गर्छ ।

सत्तापक्षकै एक मान्य र युवा सांसदको त्यो ठोकुवाले लेखक राधाकृणलाई अझै ठूलो स्वरमा सरकारप्रति असहमति र आरोप लगाउन उत्प्रेरित गरेको छ । उनी सरकारको विरोधमा बोल्दै वा फलाक्दै हिँडेका छन् तर मिडियाले अझै नोटिस गरेको छैन । यो रहस्यमय छ । तर मनमनै उनलाई लागिरहन्थ्यो, कुनै दिन कुनै टिभीवालाले कसो नबोलाउला मुलुकको वर्तमान निराशापूर्ण अवस्थामाथि विवेचनापूर्ण राय व्यक्त गर्न । त्यही आसमा उनी थिए अनि सरकारको विरोधमा बोल्दै नहिँडे गरून् के ?

मौका आउँछ पर्खंदैन, तर नआएको मौकाले पर्खने कुरो पनि भएन । यो सोचेर राधाकृष्ण टिभीवालाले मर्निङ टक सोमा नबोलाएकोमा चित्त बुझाउँदै आएका थिए । तर एकाएक उनका केही कथा छापिएको पत्रिकामा एकजना महेश्वर नामक पाठकले सम्पादकलाई लेखेको लामै चिठी छापियो जसमा उनलाई असफल घोषित गरिएको थियो । पत्र लेखेरै । मौखिकसम्म भए त केही राहत हुँदो हो ।

केही दिन त्यसै बिते । राधाकृष्ण उपाय सोचिरहेका थिए, असफल भन्ने आरोप मेट्न । थप केही दिन बितेपछि उनले सम्पादकलाई फोन गरे । उता सम्पादकले फोन उठायो । फोन भन्नाले मोबाइल । सम्पादकले ‘हेलो’ पनि भन्यो । डराएको स्वर बनाएर । उनको फोन नम्बर सम्पादकको मोबाइलमा सेभ थियो । एउटा कनिका जत्रो अपराधबोधले सम्पादकको मथिङ्गल बिझाइरहेको हुँदो हो । त्यस्तो नभएको नहुन पनि सक्छ ।  

‘सम्पादकज्यू,’ राधाकृष्णले यो सम्बोधनमा मात्र मनको तिक्तता पोखे । बाँकी संवादमा उनले सम्पादकसित सल्लाह साउति गर्न चाहन्थे । त्यसैले भने, ‘पत्र त छाप्नुभो । लेखकको कत्रो बेइज्जत भो त्यसतिर विचार पुर्‍याउनुभएन ।’ सम्पादक उनको सालो थिएन । उसलाई तँ/तिमीको स्तरमा ओर्लेर तथानाम भन्ने । त्यसो गर्नाले सम्बन्ध बिग्रने सम्भावना बन्थ्यो । भविष्यमा रचना छपाउनु पनि छ । उनले यति मात्र भने, ‘नछापेको भए हुने ।’ थप भनेनन् ।

सम्पादकले मौका छोपेर भन्यो, ‘सरी राधाकृष्णज्यू । मेरो आशय तपाईंलाई हानि पुर्‍याउनु थिएन । तर पाठकको स्वतन्त्र रायले स्थान पाउनु पर्छ भनेर मैले त्यस्तो कदम चालेँ । पत्र छापेँ । के मिस्टेक गरेँ त ?’ उल्टो उही सोधिरहेछ— के मिस्टेक गरेँ त ? जो चोर उसैको ठूलो स्वर । सम्पादकहरूलाई चोर भन्नुछैन अरूका रचना चोरेर छाप्ने त लेखकै हुन्छन् । यो कन्फेसनले राधाकृष्णको वर्गको हानि हुन्छ । तर सत्यलाई लुकाउनु छैन । राधाकृष्णभित्र हजार वाटको सत्य प्रज्वलित भयो ।

‘क्रान्तिकारी पत्र ?’ राधाकृष्णले स्वरमा तिक्तता लुकाउने प्रयास गरेनन् । सम्पादकले त्यो तिक्तता निलेन । किड्नी खराब हुन सक्थ्यो । त्यसलाई सहजीकृत गर्न भन्यो अर्थात् सुगर कोट गर्न— ‘त्यसो होइन । सम्पादक र पाठकको स्वतन्त्रताको मिलनबिन्दुको परिणतिस्वरूप त्यो पत्र छापियो । मेरो बुझाइ यो छ ।’

‘मेरो बुझाइ त्यस्तो छैन । लेखकको नाममाथि कालो पोत्ने पत्र छाप्दा मात्र स्वतन्त्रता स्थापित हुन्छ, सम्पादक र पाठकको ? लेखकको मर्यादामा साधनामा घात पुग्छ भन्ने ध्यान रहेन ? चिठी लेख्नेले लेख्ने, छाप्नेले छाप्ने तर नोक्सान त मैले बेहोर्नु पर्‍यो । तपाईं नै भन्नोस् म सफल कि असफल ?’ राधाकृष्णले पनि काउन्टर दिए ।  

उताबाट सम्पादकले जवाफ दिएन । मौन बस्यो । लामो धर्को मुनि अर्को लामो धर्को तान्नुभन्दा धर्कै नतान्नु बेस ठान्यो, झगडा छोट्ट्याउन । केही सोचेर पछि भन्यो, ‘के गरुँ त ? मलाई लाग्यो त्यो पाठक नेपाली साहित्यको गहन अध्येता हो । त्यसले निकै विश्लेषणपछि भनेको हुनुपर्छ कि राधाकृष्ण एक असफल रचनाकार हुन् ।’ सम्पादकले जिभ्रो टोक्यो । उसले भन्न त भन्यो— राधाकृष्ण एक असफल लेखक हुन् । तर त्यसो भनेर पछुतो पनि मान्यो । मुखबाट फुत्त निस्किहाल्यो । बोली र गोली फर्काएर फर्कन्न ।

‘होइन, मलाई असफल भनेकोमा मेरो चित्त दुखाइ छैन । त्यो पाठकले कति अध्ययन गरेर अरू ककसलाई असफल रचनाकार घोषित गर्न बाँकी रहेछ त्यो लिस्ट माग्नुभएन ? म मात्रै एक्लो असफल हुँ कि ? अनि तपाईं नै छातीमा हात राखेर भन्नुस् के म एक असफल लेखक हुँ ?’ राधाकृष्णले एक्लो रामझै सोधे । एक्लो रामले के गर्ने ?
उता सम्पादकले छातीमाथि हात राखे नराखेको यता राधाकृष्णले देख्न सक्ने कुरो थिएन ।  

सम्पादकले भन्यो, ‘चिठी त छापियो । बोली र गोली फर्कंदैन भन्छन् । अगाडिको सोचौँ । भन्नुस् म तपाईंको फेभरमा के गर्न सक्छु ? भद्र सहमति गरौँ । जेन्टलम्यान एग्रिमेन्ट । कथा छ भने पठाउनुस् त्यो छापौँला । मैले तपाईंका रचना छाप्दै पनि आएको छु । त्यो पाठकको पत्र पनि छाप्नै पर्ने थियो ।’

किन छाप्नै पर्ने थियो, त्यसको कारण खुलाएन सम्पादकले । त्यस्तो पत्रले पत्रिकालाई कुस्त विज्ञापन दिलाउँथ्यो कि ? सम्पादकको पत्रिकामा त्यस्तरी झकिझकाउ विज्ञापन छापिएको पनि देखिँदैन । सम्पादक फेरि कथा पनि मागिरहेछ । निर्लज्जताबोध नभएर हो कि ? सम्पादक हुन कि निर्लज्ज हुनु पर्छ ? द्वन्द्वमा छन् राधाकृष्ण । कथा त तयारै छ । दिने कि नदिने, राधाकृष्ण दोधारमा परे । नदिए छपाउने कतातिर ? नेपाली साहित्यिक पत्रपत्रिकाको हालत अहिलेको प्रतिपक्षझै निर्धो छ ।  

तर  द्वन्द्व वा दोधारलाई चिर्दै राधाकृष्णले भने, ‘यसो गरौँ, एउटा संयुक्त बैठक बसौँ । त्रिपक्षीय संयुक्त बैठक । गोलमेच सम्मेलन जस्तो । द्वन्द्वकालमा यसको धेरै डिमान्ड थियो...’ तर उनी त्यता लागेनन् र मूल कुरोतिर सोझिए, ‘तपाईं, म अनि त्यो पाठक भनाउँदो महेश्वर । त्यसको व्यवस्था तपाईं मिलाउनोस् । उसले सर मैले जानिनँ, क्षमा पाऊँ, आइन्दा कसैका बारेमा पनि यस्तो लेख्दिनँ भन्नेमा म क्षमा गर्न तयार छु । बाघले मान्छे खायो भन्ने पिर होइन, काल पल्क्यो भन्ने डर भयो के सम्पादकज्यू !’ राधाकृष्णले गलत मान्छेका हातमा कलम पर्‍यो भन्न सकेनन् । बाघलाई र काललाई बीचमा ल्याए ।

भविष्यमा कुनै पनि लेखकलाई असफल भनेर आरोपित गर्दिनँ भन्ने क्षमा याचना गराउनु सम्भव देखिँदैनथ्यो । तर सरकार सशस्त्र विद्रोहमा गएकालाई वार्तामा ल्याएर समस्या समाधान गर्छु भन्छ । वार्ताले भएन भने कारबाही गर्छु पनि भन्छ । राधाकृष्णमा महेश्वरमाथि कारबाही गर्ने अधिकार र क्षमतै थिएन । कारबाहीतिर नसोचे पनि भयो । तर त्रिपक्षीय वार्ता अथवा गोलमेच सम्मेलन सम्भव कुरो हो ।

‘हुन्छ, म वार्ताको व्यवस्था गरेर सूचना गर्छु ।’ तर वार्ता गर्ने केमा ? सम्पादकको मनमा सन्देह पैदा भयो । तर राधाकृष्ण एक सहयोगी लेखक हुन् । पत्र नछापेको भए पनि हुने । आखिर साहित्यवृत्तमा कुनै तरङ्ग पैदा भएन । तैपनि उनको चित्त बुझाउन भनिदियो, ‘हस् त, अहिले नै म महेश्वरसँग सम्पर्क गरेर वार्ताको मिति र समय तय गर्छु ।’ अनि सम्पर्क काट्यो ।

सूचनाअनुसार राधाकृष्ण सम्पादकको ठेगानामा पुगे । भित्र कोठामा तय गरिएको थियो वार्ता । सहजकर्ताको भूमिकामा रहने भयो सम्पादक । भित्र कोठामा गोलमेच जस्तो केही थिएन । टिटेबुल थियो एउटा । चार कुने । त्यसैलाई गोलमेच मान्नुपर्ने देखियो । वरिपरि पुराना कुर्सीहरू थिए । वार्तालाई गम्भीररूपमा लिएको देखिएन । वार्ता भन्दैमा, आर्थिक विपन्ताले, वार्तालाई गम्भीर रूप दिन नयाँ मेच टिटेबल र झकिझकाउ टेबलपोस किन्नु सम्भव थिएन । प्रदेश सरकारहरू कार किन्नेमा करोडौँ खर्चिरहेक थिए भने साहित्यको लेखन र प्रकाशन क्षेत्रमा दरिद्रता थियो ।

राधाकृष्णलाई बाध्यतावश ती पुरानामध्येकै एउटा मेचमा बसालियो । महेश्वर पनि आउँदे गरेकाले चियापान सँगै गर्ने भनियो । पानीसम्मको अफर आयो ।

बाहिर मोटरबाइकको आवाज आयो । स्टार्ट बन्द गरिएको केहीबेरमै एक व्यक्ति भित्र कोठामा पस्यो । बाइक चढ्ने भनेपछि सम्पन्न नै मान्नु पर्ने भयो । भित्र प्रवेश गरेपछि उसले राधाकृष्णलाई पहिलेदेखि चिनेझै विनम्रतापूर्वक अभिवादन गर्‍यो । औपचारिकताको परवाह नगरी एउटा मेच तानेर त्यसमा बस्यो । चिया आउने भयो । उसका लागि सम्पादकको कार्यालय पनि अपरिचित रहेनछ । मानिस ऊ भीडमा अलग्गै चिनिने खालको थिएन तर एउटा व्यक्तित्व थियो जसले गर्दा ऊ एक फरासिलो मानिस देखिन्थ्यो ।
‘सर पत्रका बारेमा होला, पाल्नुभएको ।’ स्वर मिठै थियो महेश्वरको ।

‘हो । महेश्वरजी तपाईंको पत्रमा मेरा रचनाहरूको गहन अध्ययन गरेको भन्ने पनि छ तर किन फेरि असफल भनियो ?’
‘त्यो यस्तो भयो कि सर, पहिले त म पत्रका लागि क्षमा माग्छु । सरलाई म पहिलेदेखि पढ्छु । सरले मलाई नचिने पनि म सरलाई चिन्छु । तर त्यसले फरक पर्दैन । सरका रचनाहरू मैले पढेको र अध्ययन–विश्लेषण गरेको पनि छु ।’

‘अनि असफल भन्ने कसरी आयो ?’ सम्पादकले बिचौलियाको भूमिकाप्रति इमानदारिता देखाउँदै बीचैमा सोध्यो ।
‘त्यो त गहन अध्ययन र विश्लेषण गरिँदैमा सम्बद्ध लेखक सफल भइहाल्ने होइन । तर त्यो पत्र मैले किन लेखेँ भन्ने साहित्यमा सरको अझै प्रतिष्ठा बढेर जाओस् । सर साह्रै उपेक्षित भएको मलाई लाग्यो ।’ महेश्वरले बीचमा एक छोटो पज दियो ।  ‘सरप्रति मेरो कुनै दुर्भावना छैन । हुनु पनि परेन । सर र म मिलेमतोमा जग्गा हडप्ने पनि परेनौँ । माने सरले कतै कुनै विदेशी लेखकको रचना अनुवाद गरेर आफ्नो नाममा छपाएको पनि छैन । चोरेको रचनालाई मैले उत्कृष्ट भन्ने पनि छैन । सर एक इमानदार लेखक हो । सर माथि जानु पर्छ भन्ने मलाई लाग्यो त्यसैले ।’ सर अहिले नै माथि जानु सम्भव थिएन तर उसले दुईटा अर्थ नलागोस् भनेर हेहे गर्र्दै दाँत ङिच्चयाएर राधाकृष्णलाई हेर्‍यो ।

पाठक महेश्वरको स्पष्टीकरणले राधाकृष्णभित्र हीनतासहितको एउटा महानता जस्तो भावना फुरिदियो । थोरबहुत आक्राेश जुन थियो त्यो स्वाट्टै बिलायो । भित्रको तृप्तिको भुल्कोले उनी मुसुक्क मुस्काए । माथि त जानु नै पर्छ । एक दिन । यसमा सन्देश छैन ।  महेश्वरले भन्यो ‘सक ट्रिटमेन्ट भनिन्छ यस किसिमलाई अङ्ग्रेजीमा ।’ उसले अङ्ग्रेजी साहित्य पनि गहन रूपमा अध्ययन गरेजस्तो लाग्यो ।

राधाकृष्णलाई त्यो सक ट्रिटमेन्टबारे विस्तृत थाहा थिएन । तर महेश्वर जो पाठक त थियो तर पाठक थरको थिएन उसले साहित्यवृत्तमा लेखक राधाकृष्ण प्रखरताका साथ अझ माथि उठून् र चर्चित होऊन् भन्ने सदासय राखेको रहेछ । सर्क ट्रिटमेन्ट पनि भित्र्याएको रहेछ । एउटा नयाँ ट्रेन्ड हुन सक्छ । युवकहरूमा साहित्यलाई विश्वस्तरसम्म लैजाने जोश र जाँगर छ । विदेशमा बसेर लेखन पनि गरिरहेका छन् । राधकृष्णले सोचे ।   

‘त्यसो भए त ठीकै हो ।’ सम्पादक जसले राधाकृष्ण वास्तवमै असफल छन् भन्ने मान्यता राख्थ्यो, उसले आफ्नो धारणालाई समेत संशोधन गरेको स्वरमा भन्यो । पाठक महेश्वरको तर्क सुनेपछि पत्र छाप्दा पैदा नभएको तरङ्ग भ्रूणकालमै सेलाउनुलाई रिजनेबल मान्यो उसले । लेखकैलाई उचाल्न यस्तो षड्यन्त्र रचिएको रहेछ । लेखक र पाठक पहिलेदेखि परिचित रहेछन् । बीचमा मञ्चका रूपमा सम्पादकको पत्रिका प्रयोग गरियो । नौटङ्की । पहिले नै डिजाइन गरिएको पत्र थियो कि त्यो ?

पत्र छापिइसकेको छ । अब संशोधन निकालेर पनि भएन । निकाल्नै परेन । निकाल्ने पनि के ? यस्तो निकाल्ने कि— ‘लेखक राधाकृष्ण यस युगका एक मात्र महान् लेखक हुन् र उनीप्रति दुराशयका साथ लेखिएको असफलताको आरोप पत्र लेख्ने म पाठक महेश्वर र त्यो पत्र छाप्ने पत्रिकाका सम्पादक पत्रप्रति पश्चात्ताप र खेद व्यक्त गर्दछौँ ।’
वक्तव्यमा ‘खेद व्यक्त गर्दछौँ’ मात्र भनिने भयो, क्षमा याचना भनेनन् । दक्षिणको छिमेकीले मुलुकको सीमा मिचेको मिच्यै गरे पनि कत्ति क्षमा याचना नगरेको दृष्टान्त थियो यहाँ । मिच्ने, मार्ने र ढाँट्नेले वसुन्धरा मात्र खान जान्दछ भन्ने स्थापित थियो । राधाकृष्णप्रति पश्चात्ताप र खेद व्यक्त गरिएको पत्रमा त्यही व्यहोरा फलो गरियो । तर त्यस्तो पत्रको खाका बनाइएन । बनाइनु पर्ने खाँचै थिएन । समस्या डिफ्युज भइसकेको थियो ।

सम्पादकले मनमनै प्रतिज्ञा गर्‍यो, सस्वर प्रतिज्ञा गर्नुको कुनै सार्थकता थिएन– ‘म राधाकृष्णका रचना छाप्छु ।’ रचना उसले पहिले पनि छाप्दै आएको थियो । रचनाहरूले पनि तरङ्ग पैदा गरेनन् र असफलताको आरोपपत्रले पनि तरङ्ग पैदा गरेन । अफसोसका साथ समाज पठनसंस्कृति विमुख हुँदै गइरहेको निष्कर्ष निकाल्यो सम्पादकले ।  
पाठक महेश्वर उभियो र आदरपूर्वक राधाकृष्णलाई प्रणाम गर्‍यो मानौँ ऊ यही मौकाको पर्खाइमा थियो, बिरालोले मुसो ढुकेझै । उसले भन्यो, ‘सर महान् हुनुहुन्छ ।’ बाह्य प्रकटमा उसले यसो भन्यो तर भित्र मनमा के थियो कसैले लख काढ्न सकेन ।

पाठक महेश्वरले राधाकृष्ण महान् भएको सस्वर उद्घोष गर्‍यो । त्यो उद्घोष  बाहिरका कसैले देखेका सुनेका होइनन् । उसले लेखक राधाकृष्णलाई जति आदरसत्कारका साथ प्रणाम गर्दै महान् भने पनि साछीमा एउटा सम्पादकबाहेक अरू कोही थिएन । बिचौलिया वा सहजकर्ता भनौँ सम्पादक मुसुमुसु हाँसिरहेको थियो ।

राधाकृष्ण सन्तुष्ट भए । पाठक प्रतिक्रियामा प्रशंसा पाएजस्तो माने । पाठक महेश्वरसँग लिखितमा राधाकृष्ण महान् लेखक हुन् भन्ने माग अघि सारेनन् । उनलाई लाग्यो यस्ता टपरटुइयाँ पाठकले महान् भनुन् कि नभनुन्, त्यसतिर चित्त दिनु छैन । आफ्नो काम लेख्ने हो, लेख्दै गर्नुपर्छ । सैद्धान्तिक पक्षमा उनी कायम रहे । कर्म गर्दै जाऊ फलको आस नगर ।

तर एक क्षण लेखक राधाकृष्णको मनमा देशका लागि बलिदान, त्याग र निःस्वार्थ सेवा गर्छौं भनेर प्रतिज्ञा सार्वजनिक गर्ने राजनीतिवालाहरूले निर्लज्जताका साथ घटित गराएका विशाल घोटालाहरू उनको दिमागमा आए । उनीहरूले त कर्म गर फल पनि लेऊ भन्ने गरेका छन् नि । राधाकृष्णले निरीहतापूर्वक यस्तो सोचे ।

‘मानिसबाट गल्ती भइहाल्छ ।’ महेश्वरलाई इङ्गित नगरी लेखकले भने । उनको भनाइमा सम्पादकलाई पनि पत्रिकाको बिक्री बढाउन तरङ्ग पैदा गर्ने त्यस्ता पाठक प्रतिक्रिया नछाप्न सचेत गराउने सन्देश निहित थियो । तर सम्पादक दृढ देखियो । अब उप्रान्त गल्ती हुँदैन भन्ने ग्यारेन्टी दिन नसकिनेमा ।

सम्पादक मुसुमुसु हाँसिरहेको थियो भने पाठक महेश्वर हाँसो च्यापेर गम्भीर बनेजस्तो देखिन्थ्यो । त्यतातिर कसैले ध्यान दिएन । कसैले भन्नाले त्यहाँ बाँकी लेखक राधाकृष्णबाहेक अरू को नै थियो र ?  

 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App