१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विश्वासको यांत्रिकी

संसारको ९९ प्रतिशत मानिसलाई ज्ञान–मीमांसा/ज्ञान–पद्धति शास्त्रको बारेमा कुनै जानकारी नै छैन । भनाइको तात्पर्य उनीहरुलाई ज्ञानको सिद्धान्त, विश्वासको परिभाषा र कार्यविधिबारे सामान्य ज्ञान पनि छैन । मुख्यतः विश्वास, धारणा, विचार समाज र संस्कृतिबाट आउँछ । हामी जुन समाजमा हुर्केका छौँ, त्यो समाज जागृत छैन । यसको अर्थ हो, हामीले समाजबाट जति पनि विश्वास लिएका छौँ, त्यसले हाम्रो अनुभूति विकृत बनाएको छ । चेतनाको स्तर बढाउन कुनै भूमिका खेलेको छैन र हामी जागृत छैनौँ ।

जीवनको चुनौती
मान्छे भएर जन्मेपछि के सही, के गलत छुट्याउन सक्नुपर्छ । यो काम त्यति सजिलो भने छैन । यसका जटिलतालाई बुझ्न इम्प्रिन्टिङ फेनमेनन (अनुमुद्रण घटनाक्रम) बारे चर्चा गरौँ । यो घटनाक्रमको अध्ययन हाँसमा गरिएको थियो । हाँसको चल्ला अण्डाबाहिर आउने बित्तिकै त्यस चल्लाको मस्तिष्क खाली हुन्छ । जुन स्वाभाविक हो । त्यो चल्लाले अण्डा बाहिर आएपछि सबैभन्दा पहिला जसलाई देख्छ, उसैको चित्र दिमागमा छाप्छ र उसैलाई आफ्नो आमा ठान्छ ।

यदि हाँसको चल्लाले अण्डाबाहिर निस्कनेबित्तिकै आफ्नो वास्तविक आमा नभएर अरु कसैलाई देख्यो भने पनि उसैलाई आफ्नो आमा मान्छ । यसैलाई इम्प्रिन्टिङ भनिन्छ । कहिलेकाहीँ गाउँघरमा पोथी कुखुराले हाँसको अण्डा कोरलेको प्रशस्तै उदाहरण देखेका छौँ । त्यो हाँसको चल्ला पोथी कुखुरालाई आमा मानेर पछिपछि लागेको पनि देखेकै छौँ । हाँसको मस्तिष्क त्यति विकसित हुँदैन तर मान्छेको जस्तै हुन्छ । यद्यपि हाँसले के सही, के गलत त्यो भने छुट्याउन सक्दैन । यस्तै प्रवृत्ति मान्छेमा पनि देख्न सकिन्छ ।

भर्खरै जन्मेको बच्चाको पनि मस्तिष्क खाली हुन्छ । उसलाई केही थाहै हुँदैन । स्पन्जको (जलशोषक समुद्री प्राणी) जस्तो विशेषता देखाउँछ । जे सुन्छ, जे देख्छ त्यसैमा विश्वास गर्छ । त्यसैलाई मस्तिष्कमा राख्छ । यो क्रम उमेरसँगै बढ्दै जान्छ । उसले कुनै प्रश्न गर्दैन । जे आउँछ मजाले पचाउँछ भने जसरी सबै कुरा अन्धाधुन्ध स्वीकार गर्छ । सही र गलत पक्षमा कुनै चासो राख्दैन । जसकारण युवा हुँदै पौढ अवस्थासम्म बेहोशीमा जीवन बाँच्न बाध्य हुन्छ । सम्पूर्ण ज्ञानगत मनोवृत्ति बिग्रिसकेको हुन्छ । अधिकांश मानिसले जीवनको यो चुनौतीलाई अझैसम्म बुझ्न सकेका छैनन् । जसकारण उनीहरुको जीवन दयनीय छ । विकसित मस्तिष्क भए पनि हाँसको चल्लाले जस्तै नियति भोग्छ ।

विश्वास र वास्तविकता
वास्तविकतालाई विश्वास र विचारको आधारमा व्याख्या गर्ने कोसिस गरिन्छ । स्वयं आफू, अरु मानिस, जीवन, अस्तित्व, धर्म, विज्ञान, राजनीति, अर्थशास्त्र, साथीभाइ, दुश्मन आदि बारेमा अनेकन विचार विमर्श गरिन्छ । यही विचारलाई विशेष महत्व दिइने मात्र नभएर सच्चाई ठानिन्छ । विचारहरु वास्तविकताको हिस्सा हुन् तर वास्तविकता भने होइनन् । विचारको प्रयोगले सबै कुरा प्रतिनिधित्व गर्न सकिँदैन । केही सीमितता छन् । प्रतिनिधित्व वास्तविकता हुन सक्दैन । यो सच्चाई सहजै भुल्न, नजर अन्दाज गर्न पुगिन्छ । यो आम मानिसले मात्र होइन, बुद्धिमानी र विवेकशील मानिसले पनि भुल्ने गर्छन्।

जब मस्तिष्कको वास्तविकता कस्तो छ, कस्तो हुनुपर्छ, के साँचो, के गलत भन्ने जस्ता विचारहरुले भरिन्छ, प्रत्यक्ष अनुभूतिप्रति उदासीनता बढ्छ । जीवनबारे गहन अनुसन्धान हुन सक्दैन । वैचारिक टकरावमै जीवन सकिन्छ । वास्तविकता सरल हुन्थ्यो भने प्रत्यक्ष अनुभूतिप्रति खुला नहुने रणनीतिले काम गथ्र्यो । यद्यपि वास्तविकता जटिल र काउन्टर इन्टुअटिभ छ । यो प्रत्यक्ष अनुभूतिबाट मात्रै हासिल गर्न सकिन्छ । वास्तविकता प्राप्त गर्न विश्वासको खेती नगर्नोस् । प्रत्यक्ष अनुभूतिलाई प्राथमिकतामा राख्नोस् । त्यसपछि विचारहरु छायाँमा पर्छन् नै । वास्तविकता के हो, सत्य के हो स्पष्ट रुपमा बुझ्न सकिन्छ । फलस्वरुप जीवनको हरेक चुनौतीहरू समाधान हुँदै जान्छन् ।

विश्वास के हो ?
कुनै पनि चीज वा विषयवस्तुका बारेमा एक खाले धारणा बन्ने गर्छ । त्यो कुरा सही या गलत भनेर राय बनाइन्छ । मत र मान्यता दिइन्छ । मस्तिष्कमा उत्पन्न हुने त्यही विचार, धारणा, राय, मत र मान्यतालाई नै विश्वास भनिन्छ । विश्वास विभिन्न वर्ग, प्रकारका छन्ः व्यक्तिगत, सामाजिक, राजनीतिक, आर्थिक, वैज्ञानिक, मेटा फिजिकल आदि । प्रत्येक विश्वासको केही उदाहरण टिपोट गरौँ ।

व्यक्तिगत विश्वासः म शारीरिक रुपमा आकर्षक छु, गणितमा उत्कृष्ट छु । मलाई राम्रोसँग भाषण गर्न आउँदैन, मेरो अंग्रेजी कमजोर छ आदि व्यक्तिगत विश्वास हुन् ।

सामाजिक विश्वासः धेरै साथीहरु हुनु राम्रो हो, महिला धनि पुरुषप्रति मात्रै आकर्षित हुन्छन्, महिला छोटो कपडामा ठाँटिएर हिँड्नु बलत्कारको कारण हो, महिला भएपछि बेलुकी चाँडै घर फर्कनुपर्छ, सबै घरधन्दा बुहारीको कर्तव्य हो आदि सामाजिक विश्वास हुन् ।

राजनीतिक विश्वासः नेपालको परिवेशमा फलानो दल भन्दा फलानो ठूलो, कम्युनिस्ट भन्दा कांग्रेसको विचारधारा उत्कृष्ट, प्रचण्ड होइन केपी ओली बढी राष्ट्रवादी, विश्व परिवेशमा हेर्दा डोनाल्ड ट्रम्प होइन भ्लादिमिर पुटिन सबैभन्दा शक्तिशाली नेता आदि राजनीतिक विश्वास हुन् ।

आर्थिक विश्वासः पूंजीवाद राम्रो तर साम्यवाद नराम्रो, विदेशी लगानी भिœयाएर, कर संकलन गरेर राष्ट्रिय अर्थतन्त्र धान्न सकिन्छ, आयातित पुस्तकमा कर लगाउनु हुँदैन आदि आर्थिक विश्वास हुन् ।

वैज्ञानिक विश्वासः पृथ्वीले सूर्यको परिक्रमा गर्छ, पृथ्वी गोलो छ, ब्रह्माण्ड निरन्तर फैलिरहन्छ, मंगल ग्रहमा मानवबस्ती बसाउन सकिन्छ आदि वैज्ञानिक विश्वास हुन् ।

मेटा फिजिकल विश्वासः सत्य, वास्तविकता बारेमा गरिने विश्वासलाई मेटा फिजिकल विश्वास भनिन्छ । जे देखिन्छ त्यही सत्य हो, भगवान्को सिर्जना नै वास्तविकता हो, वास्तविकता अनन्त छ, एलियनको अस्तित्व छ आदि मेटा फिजिकल विश्वास हुन्।

केही महत्वपूर्ण विशेषताहरू
विश्वास/आस्था/धारणा बिना मानिस क्रियाशील हुन सक्दैन । विश्वासको यांत्रिकी अर्थात् कार्यविधि बुझ्न, यसको विशेषताहरू वर्णन गर्नुपर्ने हुन्छ । जुन यस प्रकार छन्ः

(क) हरेक विश्वास सही लाग्छन्ः
अधिकांश विचारहरु तर्क र प्रमाणको आधारमा स्वीकार गरिँदैन । मन पर्ने पहिलो विचार भेटिनेबित्तिकै लिप्त हुन पुग्छौँ । त्यही मन परेको विचारलाई समर्थन गर्ने अरु विचार पनि थपिँदै जान्छन् र एउटा विश्वासको जालो निर्माण हुन पुग्छ । यही कारण हरेक विचार सही लाग्छन् । के सही, के गलत छुट्याउन सकिँदैन । मानौँ तपाईं भगवान्प्रति आस्था राख्नुहुन्छ । भगवान् हुनेमा पूर्ण विश्वास छ । यदि कोही तपाईंको आस्था विपरीत उभियो भने? तपाईं त्यस व्यक्तिको कुरा सुन्न चाहनुहुन्न । कारण ? तपाईं आफ्नो विचारमा कुनै खोट देख्नुहुन्न । आफ्नै विचार शतप्रतिशत सही लाग्छ ।

(ख) विश्वास हटाउन निकै कष्टपूर्ण हुन्छः
एक पटक प्राप्त विचार परिवर्तन गर्न निकै गाह्रो हुन्छ । त्यसलाई त्याग्न झन् ठूलै सकस झेल्नु पर्ने हुन्छ । एकपटक आर्जित विचार त्याग्न नसकिने होइन तर सोचे भन्दा बढी भावनात्मक श्रम खर्चिनु पर्छ । साधारण व्यक्तिले यो स्तरको मिहिनेत गर्न चाहँदैन ।

(ग) विश्वासले कडा भावनाहरु उत्पन्न गराउँछ
मनमा गहिरोसँग बसेको विश्वास, विचार हटाउने क्रममा कडा भावनाहरु उत्पन्न हुने गर्छ । यस क्रममा कुनै एउटा विचार हटाउने मात्र होइन, विश्वासको जालो पुनः व्यवस्थापन गर्नुपर्ने हुन्छ । मस्तिष्कले आफ्नो समस्थिति कायम राख्न चाहन्छ । विश्वासको जालो ज्यूँका त्युँ राख्न चाहन्छ । त्यही भएर विचार परिवर्तन गर्नुपर्ने अवस्थामा नकारात्मक भावनाहरु उत्पन्न हुन्छन् ।

(घ) विश्वास स्वयंकार्यान्वित छ
तपाईं जे कुरामा विश्वस्त हुनुहुन्छ, त्यो सत्य बन्न पुग्छ । यसलाई नै भनिन्छ, स्वयंकार्यान्वित भविष्यवाणीको प्रभाव । मानौँ तपाईंले बाटोमा एउटी सुन्दर महिला भेट्नु भयो । उनीसँग बोल्ने इच्छा पनि जाग्यो तर तपाईं त्यस महिलाको केटा साथी छ भन्नेमा ढुक्क हुनुभयो भने ? संवाद अघि बढ्न सक्दैन । ती महिलाको कोही केटा साथी नभए पनि तपाईं अरु नै बहाना बनाउनु हुन्छ, जस्तो आज मेरो ड्रेसअप मिलेको छैन । उनीलाई मप्रति आकर्षित गर्न सक्दिनँ कि भन्ने नकारात्मक विचारहरु आउन सक्छन् । यसरी तपाईंको त्यो विश्वास स्वयं कार्यान्वित बन्न पुग्छ । स्वयंकार्यान्वित भविष्यवाणीको प्रभाव व्यक्तिगत विश्वासमा मात्र होइन, अरु वर्गको विश्वासमा पनि उत्तिकै लागु हुन्छ ।

(ङ) विश्वास वृत्ताकार÷गोलाकार प्रकृतिको छ
वृत्ताकार तर्क दिनु विश्वासको जालोको प्रमुख विशेषता हो । एउटा विचारधाराको रक्षा गर्न वा पक्ष लिन अर्को विचारधारा प्रस्तुत गरिन्छ । यो समस्या विशेषतः धार्मिक व्यक्तिहरुमा देख्न सकिन्छ । सायद उनीहरुको प्रवचन सुन्नु वा देख्नु भएकै होला । उनीहरु आफ्नो आस्था, विचार पुष्टि गर्न वृत्ताकार तर्क दिने गर्छन् । एउटा आस्था बचाउ गर्न अर्को नयाँ आस्था पेश गर्छन् ।

अब त्यो नयाँ आस्था बचाउ गर्न अर्को नयाँ आस्था पेश गर्छन् । यो क्रम आस्था पुष्टि नभएसम्म वा सुन्ने व्यक्तिले स्वीकार नगरेसम्म निरन्तर चलिरहन्छ । यसै क्रममा प्राप्त निचोडलाई उनीहरु वास्तविकता भनेर व्यख्या गर्छन् । आखिर त्यो निचोड पनि एउटा विचार न हो । दिमागमा उत्पन्न हुने आइडिया, विचार सत्य होइनन् । प्रत्यक्ष अनुभूति मात्र सत्य हो ।

(च) विश्वासले के सम्भव, के असम्भव भन्ने कुरा निर्धारण गर्छ
सम्भावना र असम्भावना विश्वासमा भर पर्छ । विश्वास व्यक्तिअनुसार फरक–फरक हुन्छ । त्यसैले एक व्यक्तिलाई सम्भव लाग्ने कुरा अर्कोलाई असम्भव लाग्न सक्छ । हरेक व्यक्तिमा उत्पन्न हुने केही सामान्य सोचहरु लिउँः
जो कोही व्यक्ति विश्वको धनी बन्न सक्छ ।
एक साधारण युवा र राजकुमारीको बिहे सम्भव छ ।

हेलिकप्टरबाट हाम फालेर जमिनमा सकुशल अवतरण गर्नु असम्भव छ ।
ध्यान मात्र गरेर ज्ञानोद्दीप्ति प्राप्त गर्न सकिँदैन, प्रबुद्ध हुन सकिँदैन ।
अहिलेको जमानामा भनेजस्तो जीवनसाथी पाउन मुस्किल नै छ ।
अब तपाईं यस सोचमा विश्वास गर्नुहुन्छ या गर्नुहुन्न ? यदि विश्वास गर्नुहुन्छ भने विश्वको धनी व्यक्ति बन्ने कुरा, राजकुमारी सँगको बिहे लगायत प्रबुद्ध हुने कुरा सबै सम्भव लाग्छन् । तपाईं आवश्यक क्षमता अभिवृद्धि गर्न र इच्छाशक्ति मजबुत बनाउनु थाल्नुहुन्छ । अनि सोच यथार्थमा परिणत हुन पुग्छ । अन्यथा सोच यथार्थमा परिणत हुँदैन ।

(छ) मेटा विश्वासको अस्तित्व छ
मेटा विश्वास भन्नाले विश्वासबारे राखिने विश्वास । अर्को शब्दमा भन्नुपर्दा विश्वासको जालो बारेमा राखिने विश्वासलाई मेटा विश्वास भनिन्छ । तपाईंको सोचमा के सम्भव ? के असम्भव जस्तो लाग्छ भन्ने कुरा मेटा विश्वासले निर्धारण गर्छ र पनि यस विषयमा कसैले ख्याल गरेकै हुँदैनन् । मेटा विश्वासका केही उदाहरणहरू यस प्रकार छन्ः

म केही कुरामा विश्वास राख्दिन ।
प्रायः मेरा विचार सही नै हुन्छन् ।
केही कुरामाथि आस्था राख्नु राम्रो हो ।
यदि मैले भगवान्प्रति आस्था राखिनँ भने मलाई पाप लाग्छ ।  

विचार त्यागेर के हुन्छ र ! आदि।

(ज) विश्वास जागरणको स्तर बढाउने कार्यमा हानिकारक छ ।
विचारधारा तपाईंको मस्तिष्कमा रहने बाह्य तत्व हो । यो भाइरस जसरी फैलिँदै जान्छ र तपाईंको मस्तिष्कलाई पूर्ण रुपमा नियन्त्रण गरिदिन्छ । जसकारण तपाईंले चेतनाको स्तर बढाउन सक्नुहुन्न । खुसी, सफल र जागरुक व्यक्तिको रुपमा जीवन जीउन सक्नुहुन्न ।

विश्वास किन खतरनाक ?
अत्यधिक विश्वास÷आस्था खतरनाक साबित हुन्छ । कसरी ? केही कारणहरू छन् । पहिलो, स्वयंकार्यान्वित भविष्यवाणीको प्रभाव बढ्नु । जे कुरा माथि अति आस्था राखिन्छ, त्यही यथार्थ बन्न पुग्नु । दोस्रो, सम्भावित प्रत्यक्ष अनुभूतिप्रति खुला र उदार हुन नसक्नु । आस्था नै सर्वोपरि मान्ने व्यक्ति अपेक्षा विपरीत तथ्य, विवरण, आधार–सामाग्री प्राप्त हुँदा त्यसलाई स्वीकार्न सक्दैन । फिल्टर गर्न थाल्छ ।

ठूलो हृदय बनाउन सक्दैन । तेस्रो, प्याराडाइम लक (आदर्शको ताला) । प्रायः मानिस निश्चित प्रतिमान, प्रतिरुप, उदाहरण, मानक, मापदण्ड र आदर्शअनुसार चल्न अभ्यस्त हुन्छन् । अन्ततः उनीहरुमा आदर्शको ताला लाग्छ । सोच संकुचित हुन पुग्छ । चौथो, भावनात्मक प्रतिक्रिया ।

आदर्शवादी मानिसहरु कठोर र घमण्डी हुन्छन् । आफूले भनेजस्तो नभए नकारात्मक प्रतिक्रिया जनाउँछन् । उदण्डता मच्चाउन पछि पर्दैनन् । दुईदेखि तीन हजार वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमि हेरौँ न ! अनगिन्ती युद्धको गाथा अध्ययन गर्न पाइन्छ । त्यस बखत जति पनि युद्ध भएका थिए, ती सबै युद्ध न जमिनका लागि भएको थिए न स्रोत र साधनका लागि । ती सबै आदर्शको युद्ध थियो । आफ्नो विश्वास, आदर्श र विचारधारा लाद्न नै युद्धमा होमिएका थिए । एकअर्काको ज्यानको दुश्मन भएका थिए ।

ज्ञानगत मनोवृत्ति
विशेषतः मानिसले आफ्नो जीवनकालमा तीन वटा ज्ञानगत मनोवृत्ति राख्छन् र सोहीअनुसार परिचालित हुन्छन् । पहिलो मनोवृत्ति, आफ्नो विश्वास गर्वसाथ बचाउ गर्नु, प्रतिवाद गर्नु । यस्तो मनोवृत्ति राख्ने व्यक्तिले कुनै एक विश्वास राखेपछि त्यसको कुनै पनि हालतमा बचाउ गर्न चाहन्छ । त्यही विश्वासप्रति समर्पित एवं वफादार हुन चाहन्छ । आफूले राखेको विश्वासप्रति घमण्ड गर्छ । कुनै दर्शन, राजनीतिक दल र धर्म अनुसरण गर्ने व्यक्तिमा यस प्रकारको मनोवृत्ति देख्न सकिन्छ । यस प्रकारको मनोवृत्ति राख्नु निकृष्टतम अवस्थामा जीवन जीउनु हो ।

दोस्रो मनोवृत्ति, विश्वास प्रतिवाद गर्न छाडेर संशोधन गर्न थाल्नु । यस प्रकारको मनोवृत्ति राख्ने व्यक्तिले आफूले राख्ने विश्वासको प्रतिवाद गर्नु आवश्यक देख्दैन । ज्ञानको दायरा बढाउनुपर्ने आवश्यकता देख्छ । त्यसैले आफ्नो बहुमूल्य समय र ऊर्जा अध्ययनमा लगानी गर्छ । आफूले राख्ने विश्वास सच्चा र सही भएको पुष्टि गर्न विश्वासको जालो पुनः व्यवस्थापन गर्न थाल्छ । विश्वास संशोधनको मनोवृत्ति राख्नु राम्रो हो तर अर्थपूर्ण जीवन जीउन पर्याप्त छैन ।

तेस्रो मनोवृत्ति, वास्तविकता र विश्वासबीच सम्बन्ध नदेख्नु । विश्वासको जालो बाहिर मात्र सत्य भेट्न सकिन्छ । जब कुनै व्यक्तिले यस भनाइको गहिराइ बुझ्न सक्छ, उसले आफ्नो विश्वास पुनः व्यवस्थापन, संशोधन र नयाँ विश्वास संकलनमा समय खेर फाल्दैन । प्रतिवाद गर्न र निष्ठावान हुन छाडिदिन्छ । अरु व्यक्तिले जस्तो विश्वास राखोस् तर्क गर्दैन । प्रमाण माग्दैन । अनावश्यक वादविवाद गरेर समय खेर फाल्दैन । उदार मानसिकता विकास गर्नुलाई महत्व दिन्छ । वास्तविकताबारे पूर्वानुमान गर्दैन । केही अपेक्षा राख्दैन । प्रत्यक्ष अनुभूतिमा जोड दिन्छ । यस प्रकारको मनोवृत्ति राख्नु जीवन जिउने शैलीमा महान् छलाङ मार्नु हो ।

विश्वासको यान्त्रिकी कसरी प्रयोग गर्ने ?
विश्वासको यान्त्रिकीबारे सैद्धान्तिक ज्ञानमार्फत कुनै एउटा सच्चा विश्वासको खोजी गरेर वा विश्वास नै परिवर्तन गरेर जीवनको सम्पूर्ण समस्या समाधान नहुने प्रस्ट देखिन्छ । समस्या समाधानका लागि आफ्नो विश्वास/आस्था/धारणा पूर्ण रुपमा त्याग्न सक्नुपर्छ । यसका लागि निम्न प्रयोगात्मक अभ्यास गर्न सकिन्छः
* अहिलेसम्म विभिन्न विश्वासको वेब (जालो) भित्र क्रियाशील हुनु भयो । अबको समयदेखि आफ्नो विश्वासको वेब बाहिर क्रियाशील, सक्रिय हुने लक्ष्य राख्नोस् ।
* ज्ञान पद्धति शास्त्र गम्भीरतापूर्वक अध्ययन गर्नोस् ।
* आफ्नो पाल्तु सिद्धान्तहरू छोडी दिनोस् ।

* मनोवृत्ति परिवर्तन गर्नोस् । विश्वासको जालोलाई पुनव्र्यवस्थित गर्नुभन्दा अन्त्यहीन अनुसन्धान गर्नोस् । तपाईंको मस्तिष्कमा उत्पन्न हुने सबै विश्वासलाई प्रश्न गर्नोस् । अन्धाधुन्ध आत्मसात नगर्नोस् ।
* प्रत्यक्ष अनुभवप्रति अग्रसर हुनोस् । कसैले बोलेको विषयलाई सच्चाई ठान्नु महामुर्ख बन्नु हो ।
* गुरुले भनेका सबै कुरालाई विश्वास नगर्नोस् । गुरुलाई सम्मान भाव प्रकट गर्नु राम्रो हो तर अन्धभक्त हुनु राम्रो होइन ।
* सबैले जीवन बारेमा आआफ्नो धारणा बनाएका हुन्छन् । पूर्वानुमान, मान्यता राखेका हुन्छन्, जुन प्रायः अन्तर्निहित र अव्यक्त अवस्थामा रहन्छन् । तपाईंको अव्यक्त मान्यतालाई उजागर गर्नोस् ।
* मौलिक अनुभूतिका लागि गम्भीर हुनोस् । यसका लागि साइकेडेलिक्स प्रयोग गर्न सकिन्छ ।
तपाई कुन वर्गको विश्वास राख्नुहुन्छ, कुन विश्वासको जालो अनुरुप स्वचालित हुनुहुन्छ ? त्यो मुख्य समस्या होइन तर हरेक वर्गको विश्वास र विश्वासको जालो त्याग्न सक्नु हुन्न भने त्यो ठूलो समस्या हो । त्यसकारण हरेक वर्गको विश्वासलाई प्रश्न गर्नोस् । विश्वासको जालो पुनः व्यवस्थापन गर्नतिर भन्दा पनि पूर्ण रुपमा जालो हटाउने प्रयत्न गर्नोस् ।
यतिसम्म कि विश्वासको यान्त्रिकीबारे यस लेखमाथि पनि प्रश्न गर्नोस् ।

प्रकाशित: ३० भाद्र २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App