१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रोमाण्टिक जिरी

दोलखाको जिरी । सानो तर चिटिक्क । हरित उपत्यका । धर्म र प्रकृतिको संगम । रोमाण्टिक गन्तव्य । प्रगतिशील युवा सशक्तीकरण केन्द्र जिरीलाई ‘हनिमुन सिटी’का रुपमा ब्राण्डिङ गर्दै छ । उसले ‘जाऔं है जिरी’ अभियान चलाउँदै छ । त्यसैले कम्तीमा दुई रात जिरीमा बस्ने गरी यात्रामा निस्कने कि  !   

जिरेल समुदायको आदिम भूमि–जिरी । उत्तर–दक्षिण फैलेको र पूर्व–पश्चिम साँघुरो हरित उपत्यका । वरपरका डाँडा पनि उत्तिकै सुन्दर । त्यसैले जनबोलीमा जिरीलाई नेपालको स्वीजरल्यान्ड भनिन्छ । दोलखाका माली, ठूलो पातल, श्यामा र जिरी गाविस मिलाएर जिरी नगरपालिका बनाइएको ।

जिरीका आदिवासी हुन् जिरेल । किरात समुदायको शाखाका विद्वान् टेकबहादुर जिरेलका अनुसार केही पुस्ता अघि मात्रै जिरेलले बुद्ध धर्म अवलम्बन गरेका हुन् । त्यहाँ जिरेल बाहेक शेर्पा, सुनुवार, विश्वकर्मा, तामाङ, नेवार, क्षेत्री, बाहुनलगायतको बसोबास छ ।

झट्ट हेर्दा उपत्यका सानो देखिन्छ । तर, उपत्यका र सेरोफेरोमा घुम्न लायक धेरै गन्तव्य छन् । जिरेश्वर, ढुँगेश्वरी, राङराङेश्वरी र देवीका मन्दिर छन् । त्यस्तै बजारबाट करिब ११ किमि पूर्वमा हलेसी महादेव मन्दिर छ ।

बजारसँगै गाई फारम, पोखरी, प्राविधिक शिक्षालय, अस्पताललगायत सम्पदा छन् । जिरी बजारमा छोर्तेन, गुम्बा र पद्यसम्भवका मूर्ति छन् । बजार नजिकै कुन्साल थोर्दोलिङ गुम्बा छन् । बजारबाट तीन घण्टा उकालो हिँडेमा च्योर्दाेङ चिज कारखाना पुगिन्छ । वैशाखदेखि कात्तिकसम्म चिज बनाएको अवलोकन गर्न पाइन्छ ।  

जिरीको शिरको च्योर्दोङ डाँडा (३,६९० मिटर) मा महादेव बसेका छन् । डाँडाबाट  रोल्वालिङ, नुम्बुर र लाङटाङ हिमसृङ्खला देखिन्छ । बजारको पश्चिमको चिहान डाँडा जिरी भ्यू पोइन्ट हो । त्यहाँ बुद्ध पार्क छ ।

नगरपालिका क्षेत्रमा सिक्री, यलुङ र ठूला पातलजस्ता सुन्दर गाउँ छन् । सिक्रीमा जिरेल, यलुङमा शेर्पा र ठूला पातालमा तामाङ र सुनुवारको बस्ती छन् । तीनवटै गाउँमा होम स्टे गराउन सके राम्रो हुन्थ्यो ।
जिरीमा क्यानोनिङ खेलको सम्भावना देखिन्छ । कुँडारमा तीनवटा झरना छन् । 

त्यहाँको लौती झरनामा क्यानोनिङ फस्टाउन सक्छ । झरना नजिकै ट्राउट पालन छ । चिया बगान छ । चारैतिर डाँडैडाँडा भएकाले जिरीमा हाइकिङको प्रचुर सम्भावना देखिन्छ । लामो दूरीका लागि बजारबाट हनुमन्ते डाँडा हुँदै ठूलो नागी, च्योर्दोङ, यलुङ भएर जिरीसम्म पदयात्रा गर्न सकिन्छ । ठूलोनागी (३,०३० मिटर) बाट झलमल्ल हिमाल देखिन्छ । गुराँसे मौसममा पुगेमा डाँडा राताम्मे बन्छन् ।   

जिरीसँगै दोलखाको विकासमा स्विजरल्याण्डको ठूलो योगदान छ । स्विस सरकारले २०१४ सालदेखि ‘जिरी बहुद्देश्यीय विकास परियोजना’ मार्फत दोलखाको कृषि, सडक, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा सहयोग गर्दै आएको छ । स्वीजरल्याण्डको जुरिच र जिरीको भुगोल मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्विजरल्याण्ड भनिन्छ ।

स्वीस भूगर्भविद् टोनी हेगन जिरी विकासका सूत्रधार हुन् । उनकै सक्रियतामा परियोजना सुरु भएको थियो । त्यसैले उनलाई दोलखालीका भाग्य निर्माता भने हुन्छ ।  

एक समय ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा चर्चित थियो जिरी । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीबाटै सगरमाथा आरोहणमा गएका थिए । त्यसपछि जिरीबाटै आरोही र पदयात्री आउजाउ गर्न थाले । तर, जब लुक्लामा विमानस्थल बन्यो तब जिरी सुनसान बन्न थाल्यो ।

जिरीको पर्यटन विकासमा ‘प्रगतिशील युवा सशक्तीकरण केन्द्र’ सक्रिय छ । यसका अध्यक्ष लीलाराम खड्का जिरीलाई ‘हनिमुन सिटी’का रुपमा ब्राण्डिङ गर्दै छन् । जिरीमा विशेषतः आन्तरिक पर्यटन बढाउन उनी ०७६ भदौदेखि ‘जाऔं है जिरी’ अभियान चलाउँदै छन् । अभियान वर्ष दिनसम्म चल्नेछ ।     
केन्द्रले जिरीको पर्यटकीय नक्सा, पोष्टर, क्यालेन्डरलगायतका सामग्री उत्पादन गरेको छ । उसले वर्षेनी काठमाडौंका ‘ट्राभल राइटर’लाई घुमाएर जिरीको प्रचार गर्दै आएको छ । विगतमा उसले जिरीमा साइक्लिङ पर्यटनको सम्भावनासमेत अध्ययन गरेको थियो ।

हाटडाँडाबाट हनुमन्ते, ठूलो नागी, च्योर्दाेङ भएर यलुङ हुँदै जिरी बजारसम्म पदयात्रा गर्न ‘जिरी चिज सर्किट’ पनि एक्सप्लोर गरेको थियो । ‘जाऔं है जिरी’ अभियानका लागि केन्द्रले पर्यटकीय बुकलेट प्रकाशन गरेको छ । पोष्टर पनि बनाउँदै छ । साथै जिरी पुग्ने सडकमा होर्डिङ बोर्ड राख्ने तयारी गरिरहेको छ ।  

जिरीमा पर्यटकीय सुविधाका दर्जनभन्दा बढी होटल तथा लज छन् । राम्रा होटल थपिँदैछन् । जिरीको छ्याङ, तोङ्बा, र सुकुटी प्रख्यात छ । ‘होटल गाबिला’मा जिरेल परिकार पाइन्छ । उसले अर्डरबमोजिम आलुको रोटी, मोरे, फाल, रिल्दोक, सिल्मा, जरिंगो, ऐरे, फुलौरा, पोल्देक, पुवालगायत परिकार खुवाउँछ । केशर जिरेलले ०५४ सालदेखि होटल गाविला चलाउँदै आएका छन् ।

जिरीमा परिवार वा साथीसंगीसँग यात्रा गर्न सकिन्छ । कम्तीमा दुई रात त्यहाँ बस्ने गरी यात्रा योजना बनाउनु पर्छ । त्यहाँबाट फर्कदा मिठो अनुभूति र सुन्दर तस्बिर/भिडियो मात्र होइन, चौंरीको दूधबाट बनेको चिज, छुर्पी, डल्ले खुर्सानी, गेडागुडी, काष्ठकला र हस्तकलाका सामग्री पनि ल्याउन पाइन्छ ।  
कसरी पुग्ने : काठमाडौं–लामोसाँघु–जिरी १ सय ८८ किमि । लामोसाँघु–चरिकोट खण्डमा सडक विस्तार भैरहेको छ । त्यसैले काठमाडौं–खुर्कोट–मन्थली–जिरी १३ किमि, जिपमा ८ घण्टा । काठमाडौंको कोटेश्वरबाट जिप र पुरानो बसपार्कबाट बस तथा माइक्रोबस छुट्छन् ।

जाऔं है जिरी
लीलाराम खड्का।
पर्यटन अभियन्ता
हिजो ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा चर्चित थियो जिरी । अचेल अधिकांश पर्यटक लुक्ला हुँदै सगरमाथा जान्छन् । त्यसैले जिरीमा विदेशी पर्यटक कम आउँछन् । बेला–बेलामा आन्तरिक पर्यटक आइरहन्छन् । जिरीलाई पर्यटकीय नगरीका रुपमा विकास गर्न हामी ‘जाऔं है जिरी’ अभियान सुरु गर्दैछौं । भदौदेखि वर्ष दिनसम्म अभियान चलाउने छौं । काठमाडौंबाट अभियान शुभारम्भ हुनेछ ।

लगत्तै जिरीमा स्थानीय पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गर्नेछौं । वर्ष दिनमा हामी व्यवसायीलाई तालिम, होम स्टेको सम्भावना अध्ययन र शुभारम्भ, झरनामा क्यानोनिङको अध्ययन, जिरी काव्य–यात्रा, पत्रकारहरूको भ्रमण, पत्रकार र अग्रजहरूको सम्मानलगायत कार्यक्रम गर्नेछौं ।

साथै काठमाडौंका विद्यार्थीलाई प्याकेजमा भ्रमण गर्न प्रोत्साहित गर्नेछौं । जिरी नगरपालिका, पर्यटन बोर्ड, जिरीका व्यवसायीलगायत सरोकारवालासँग मिलेर अभियान चलाउँदै छौँ । यसले जिरीको मात्र होइन, समग्र दोलखाकै पर्यटनलाई राहत पुग्नेछ ।  
 

प्रकाशित: २३ भाद्र २०७६ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App