९ कार्तिक २०७७ आइतबार
अन्य

किशोर किशोरीहरुमा आत्महत्याको समस्या

हाँस्ने खेल्ने उमेरका किशोरकिशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन् र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पार्छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । पहिले कमसेकम किशोरकिशोरीहरुमा यो समस्या देखिँदैन थियो केही फाट्टफुट्ट घटनाबाहेक त्यो पनि १६/१७ वर्ष को उमेरमा । १० वर्ष देखि १७ वर्ष उमेर समूहलाई किशोरावस्था मानिन्छ भने १८ वर्ष पुगेपछि युवावस्था ।

तनावयुक्त जीवन, पढाइमा अनावश्यक प्रेसर, सोसल मिडियाको प्रभाव र पश्चिमी देशको जीवनशैली अपनाउने होडबाजीले आत्महत्या गर्ने जोखिमलाई प्रभाव पारेको छ । बाबुआमा र छोराछोरीको बीच जेनरेसन ग्याब, छोराछोरीमा स्वतन्त्र र आफूले चाहेजस्तो जीवनशैली बिताउने इच्छा र बाबुआमामा भने छोराछोरीहरु पहिले आफ्नो पालामा जस्तै अनुशासित हुनुपर्छ भन्ने सोचाइ र व्यवहारले घरमै धेरै तनाव हुने गरेका छन् ।

विद्यालयमा कसले धेरै नम्बर ल्याउने भन्ने अर्को अनावश्यक तनाव त छँदै छ । केटाकेटी र किशोरकिशोरीहरु भित्र रहेको सृजनशीलतालाई कसरी अघि बढाउने, कसरी प्रोत्साहन गर्नेभन्दा पनि कसरी पढाएको विषय घोक्छन् र बुझे पनि, नबुझे पनि परीक्षामा ओकल्छन् अनि राम्रो नम्बर ल्याउँछन् भन्ने अस्वस्थकर प्रतिस्पर्धाले गर्दा शिक्षालाई रमाएर लिनेभन्दा बोझको रुपमा हेरिँदैछ ।

व्वाय फ्रेन्ड, गर्ल फ्रेन्ड, लभ, सोसल मिडियामा मेसेज, यु–ट्युवमा यौन जिज्ञासा मेटाउन हेरिने विभिन्न कुराले किशोरकिशोरीहरुको मनमा के कस्तो असर पारेको छ, अध्ययनको विषय हो । हुन त शरीरमा निस्कने विभिन्न हार्मोनहरुका कारण केटाकेटीबीच हुने शारीरिक आकर्षण, सामान्य हो, सकारात्मक नै हो र प्राकृतिक हो । तर आफूले भने जस्तो भएन, धोका भयो, पछुताउ भयो वा व्रेकअप भयो भने टेन्सन दिने र लामो समयसम्म मनोवैज्ञानिक असर पर्दो रहेछ । आजकल देखाइने टेलिसिरियल र फिल्ममा जस्तो फेसन गर्दा र रोमाञ्चक जीवन  बिताउँदा पनि तनाव भने छँदैछ ।

आत्महत्या हुने कारणहरुमा निदान नभएका र उपचार नपाएका मानसिक स्वास्थ्य समस्याहरु नै हुन् । तर हाम्रो समाजमा मानसिक स्वास्थ्यबारे कुरै गर्न नचाहने वा सुन्न नचाहने स्थिति रहेको छ । रोगको निदान र उपचारबारे त कुरै छाडौं । आजकल १५ वर्षदेखि २९ वर्ष सम्मका युवायुवतीमा मृत्युको पहिलो कारण सडक दुर्घटना, दोस्रो लडाइँ, कुटपिट र तेस्रो आत्महत्या मानिन्छ । आत्महत्याको कुरा गर्दा कसरी यसलाई रोक्न सकिन्छ वा घटाउन सकिन्छ भन्ने हो । निकै हदसम्म आत्महत्या रोक्न सकिन्छ । त्यसका लागि रोकथामको कार्य व्यक्ति, परिवार र समुदायबाट सुरु गर्नुपर्छ ।

व्यक्तिको कुरा गर्दा यदि कुनै किशोरकिशोरी वा युवायुवतीले आत्महत्याको प्रयास गरेका छन् भने, किन प्रयास भयो भनेर परिवारले विशेष ख्याल राख्ने र मनोविद् वा मनोचिकित्सकसँग जचाउनु पर्छ । तर अहिलेको समाजमा अरु कसैले थाहा नपाओस् भनेर घटना उल्टै लुकाइन्छ । याद गर्नुहोस पटक–पटक आत्महत्याको प्रयास गर्नेहरुले नै पछि गएर आत्महत्या गर्न सफल हुन्छन् । उनीहरु जे कारणले आत्महत्याको प्रयास गर्छन्, त्यो समाधान भएन भने पटक–पटक प्रयास गर्ने हो । आमाबाबुले घटनालाई लुकाउनुभन्दा, समस्या के हो बुझ्नका लागि तयार हुनु पर्‍यो र जँचाउनु प¥यो । समुदायले यस्ता घटनालाई हेर्ने इष्टिकोण बदल्नु पर्छ किनकि यस्ता घटना आफूलाई पर्दैन भन्ने छैन ।

त्यस्तै अर्को पक्ष हो विद्यालय, कलेजमा पढ्ने विद्यार्थीलाई मनोसामाजिक समस्याहरु पर्दा विद्यालयकजेलमै काउन्सिलरको व्यवस्था गर्न सकिन्छ ।  सरकारी विद्यालयकै शिक्षकलाई काउन्सिलरको तालिम दिन सकिन्छ भने निजी विद्यालय कलेजमा काउन्सिलर साइकोलोजिस्ट राख्न सकिन्छ ।

विद्यालय, कलेजमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाएर विद्यार्थीलाई के कस्ता स्वास्थ्य समस्या छन् पहिचान गरी यी रोगहरु किन हुन्छन् र कसरी सहायता लिने वा व्यवस्थापन गर्ने भन्ने सिकाउन सकिन्छ । विद्यालयका शिक्षकलाई पनि मानसिक स्वास्थ्यबारे जानकारी हुनु आवश्यक छ । अहिलेका युवायुवतीलाई इन्टरनेटको अत्यधिक प्रयोग, निद्राको कमी, लागूपदार्थ वा मद्यपानको समस्याबारे जानकारी दिनुपर्छ ।

मानव जीवन अमूल्य छ र जिउने कला जान्यो भने अति सुन्दर छ । किशोर वा किशोरीले आत्महत्या गर्दा उनको जीवन त समाप्त भयो त्यसको असर उनको परिवारमा, साथीभाइमा र समाजमा ज्यादै नराम्रो पर्दछ । भावनात्मक पीडा शरीरमा चोटपटक लागेर दुख्ने पिडाभन्दा अधिक हुन्छ र लामो समय सम्म रहि रहन्छ । यस्तो पीडाले भित्रभित्रै मन जलिरहेको हुन्छ र उकुस मुकुस भइ रहन्छ । यस्तो पीडा आफ्नो परिवार, साथी, मनोविद् वा मनोचिकित्सकसँग व्यक्त गर्दा हलुका हुन सक्थ्यो, तर आफ्ना गोप्य कुराहरु बताउन धेरै मानिस चाहँदैनन् । सायद आत्महत्या ज्यादै व्यक्तिगत र गोप्य समस्या हो, चाहे रोग लोगर नै बाच्ने इच्छा मरेको किन नहोस् ।

आत्महत्या व्यक्तिका सबै समस्याको प्राकृतिक समाधान हो जस्तो त्यस्ता व्यक्तिलाई लाग्न सक्छ तर त्यसबेला समाधानका अरु वाटा र जिउने तरिका देखिरहेका हुदैनन् वा भनौं त्यसरी बाच्ने आधार र मनोबल गिरेको हुन्छ । आत्महत्या रोकथामको प्रयास गर्दा पीडितको समस्या ध्यान दिएर सुन्ने र बुझ्ने, समाधानका तरिकाहरु देखाउने र छलफल गर्ने साथै मनोबल बढाउने प्रयासहरु नै हुन् ।

मनोविद् वा मनोचिकित्सकहरुले आत्महत्या गर्ने कठोर निर्णय गरेका व्यक्तिलाई हेर्दा सर्वप्रथम त उनीहरुको विश्वास जित्न सक्नु नै हो । आत्महत्या गर्न सक्ने वा हुन सक्ने खतरा कति हदसम्म छ भन्ने अनुमान लगाउने उपायहरुमा पहिलो (रिस्क फ्याक्टर्स) लेखा जोखा राम्रोसँग गर्ने हो भने दोस्रो अन्तज्र्ञान (इन्टियुसन) हो ।

आत्महत्याको प्रयास गरिसकेका वा आत्महत्या गर्ने निर्णय लिएका व्यक्तिले आफ्ना पीडा भावनाहरु राम्रोसँग मनोविद् वा मनोचिकित्सकसँग पोख्न सके भने रोकथामका तरिका अपनाउन र उपचार गर्न सजिलो हुन्छ र आत्महत्या रोक्न सकिन्छ, तर आफ्ना भावना खुलेर बताउन नै चाहेनन् भने अनुमानको भरमा निर्णयहरु लिन कठिन हुन्छ ।

आत्महत्या गर्ने सोच बारम्बार आउन लागे किशोर वा किशोरीले मर्ने चाहना सिधै वा घुमाउरो किसिमले व्यक्त गर्छन् । आमाबाबुले वा साथीहरुले यो कुरालाई गम्भीरताका साथ लिनुपर्छ र के कस्तो सहयोग गर्ने भन्ने सोच्नुपर्छ । लगातारको मानसिक तनाव छ वा डिप्रेसन नै भएको छ भन्ने ‘जीवन अर्थ हीन छ, भावनात्मक पीडा सही नसक्नु छ, मनमा कहिल्यै न पुरिने चोट लागेको छ, अरुका लागि बोझ भएर किन बाच्नु’ जस्ता भावना आउन थाल्छन् । मन शान्त गराउन गाँजा, निद्रा लाग्ने चक्की, वियर, वाइन वा रक्सी र लागूऔषध खाने व्यक्तिको सम्पर्कमा आएमा त्यसतर्फ आकर्षित हुन्छन् ।

मन अशान्त भएपछि कता जाऊँ, के गरुँ भन्ने छटपटी लाग्छ, निद्रा लाग्दैन र आफ्नो पढाइको वास्ता हुँदैन । पीडितको मनमा किन पढ्ने, केका लागि पढ्ने जस्ता प्रश्न उठ्छन् । आफ्नो स्वास्थ्यको ख्याल हँुदैन र अरुको वास्ता लाग्न छाड्छ । कहिले रिस उठ्ने, सामान फाल्ने र आक्रामक शैली देखाउने हुन्छन् भने कहिले कसैसँग बोल्न मन नलाग्ने गरी निराश हुन्छन् ।

यस्ता लक्षण देखेपछि आमाबाबुले किन यस्तो व्यवहारमा परिवर्तन भएको छ, पढाइ बिग्रँदै छ भनेर खोजी गर्नुपर्छ । विद्यालयका शिक्षकहरुले पनि पहिले राम्रो बोली, व्यवहार र पढाइ गर्ने विद्यार्थी किन फरक देखिन्छ भनेर ख्याल राख्ने र विद्यालयमा काउन्सिलर छन् भने काउन्सिलिङका लागि पठाउनु पर्छ । काउन्सिलिङ साइकोलोजिस्टको रायअनुसार अगाडि बढनु उपयुक्त हुन्छ ।

बाबुआमाले आफ्नो छोरा वा छोरीको पढाइ किन बिग्रँदै छ भनेर विद्यालयका शिक्षकसँग बुझ्ने, आफ्नै छोरा छोरीसँग कुरा गर्ने, त्यसका लागि समय दिने, छोराछोरीका साथीसँग के कस्ता कुरा हुन्छन् बुझ्ने गर्नुपर्छ । उनीहरुले सोसल मिडिया जस्तै फेसबुक आदिमा के कस्तो पोस्ट गरेका छन् हेर्दा पनि केही कुराहरु थाहा पाउन सकिन्छ । आत्महत्या गर्न प्रयोग गरिने डोरी, हतियार वा विषादी घरमा छन् भने लुकाएर राख्नु पर्छ । उपचारका लागि क्लिनिकल साइकोलोजिस्टलाई देखाउने काउन्सेलिङ सेसनपछि औषधि खानुपर्छ वा पर्दैन वहाहरुले निश्चित गर्न सक्नु हुन्छ ।

घरको वातावरणमा परिवर्तन, मानसिक तनाव दिने खालका समस्याको व्यवस्थापन, मनोसामाजिक सहयोग र चिन्तारोग वा डिप्रेसन भए उपचार गर्नुपर्छ । आत्महत्याको प्रयास गरेका वा विषादी खाएको कारण अस्पतालमा उपचार गराउनु परेको भए पनि फेरि आत्महत्या गर्ने सम्भावना भएकोले काउन्सेलिङ तथा समस्याको समाधान गर्ने प्रयास जरुरी छ ।

विषादीको कुरा गर्दा नेपालमा तरकारी, फलफूल र अन्य खेतीमा प्रयोग गरिने विषादी, बजारमा सजिलै किन्न पाइने र घरमा प्रयोग भै बाँकी रहेको वा प्रयोग नै नभएको विषादी खाएर आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गरेर अस्पताल आउनेको संख्या निकै छ । त्यस्तै उपचार गर्न किनेको औषधि एकै चोटी धेरै खाएर आत्महत्या गर्ने वा प्रयास गर्ने पनि छन् । यस्ता विषादीको प्रयोग बन्द गर्नाले स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने धेरैलाई थाहा छ । बन्द गर्न सकिन्न भने घरमा साँचेर नराख्न त गर्न सकिन्छ ।

त्यस्तै औषधिहरु पनि अड्कलेर बिरामीलाई दिने हो भने केही हदसम्म आत्महत्या प्रयास गर्ने र आत्महत्या गर्ने संख्या घटाउन सकिन्छ । साथै विषादी जहाँ तहीँ बेच्न नपाइने किन्न खोज्ने ग्राहकलाई किन ? के का लागि ? भनेर प्रश्न गर्ने, र किशोरकिशोरीहरुले किन्न खोज्दा नदिने गर्‍यो भने पनि यस्ता घटनामा कमी आउन सक्छ ।
    

प्रकाशित: १९ भाद्र २०७६ १७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App