वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो । महिनावारीका बेला भित्र दबिएको भाव बाहिर निस्कने भएकाले एकान्तमा बसेर आध्यात्मिक अभ्यास गर्न सके त्यस भावलाई जरैदेखि फाल्न सकिन्छ भन्ने सोच हुन्थ्यो ।
भित्र दबिएको भाव नकारात्मक पनि हुने भएकाले यस्तो भाव आउँदा उनीहरुले पकाएको खानेकुरा नखाँदा राम्रो मानिन्थ्यो । नकारात्मक ऊर्जा बलियो हुने हुनाले अन्य मानिसहरुको छेउमा बस्दा त्यो नकारात्मकता सर्न सक्छ भन्ने मानसिकताले काम गथ्र्यो ।
महिनावारीको बेला धेरैजसो महिलालाई कष्ट हुने कारणले सोबाट र घरमा बढी नै खटिनुपर्ने अवस्थाबाट केही दिन भए पनि आराम मिल्थ्यो । अर्को कुरा, त्यसबेला महिलाले भित्री वस्त्र लगाउने चलन थिएन । महिनावारीको समयमा जथाभावी फोहोर हुने सम्भावना हुन्थ्यो ।
यिनै विविध कारणले गर्दा महिलालाई एकान्तमा राख्ने चलन चलेको थियो । महिनाबारी भएका महिलालाई छुनेबित्तिकै पाप लाग्छ भन्ने हुँदैनथ्यो । बरm यस्तो बेलामा अटेरी गरेर काम गरिरहनुलाई चाहिँ पाप मानिन्थ्यो ।
कर्म आफैँमा पाप या धर्म हुँदैन, यदि पाप या धर्म हुन्छ भने मानसिकताका कारणले । जुन कुरा गर्नुहुँदैन भनिएको छ त्यो कुरा गर्दा आफूले गलत गरेको अनुभव हुन्छ । जस्तै – झूटो बोल्नु आफैँमा पाप नहुन सक्छ । तर सानैदेखि झूटो बोल्नु नराम्रो कुरा हो भनेर हामीलाई शिक्षा दिइएको हुन्छ । जब झूटो बोलिन्छ, त्योबेला त्यस झूटोले भन्दा पनि मानसिकताले गर्दा आत्मग्लानि हुन्छ ।
झूटो बोलेपछि प्रायः हरेकले सोच्ने गर्छन् – “ला ! मैले झूटो बोल्नुहुँदैनथ्यो तर बोलेँ ।”
यही ‘गर्नुहुँदैनथ्यो, तर गरेँ’ भन्ने मानसिकताबाट जुन दुःख उत्पन्न हुन्छ त्यही हो पाप । यो दुःख बढ्दै गयो भने अर्को जन्ममा पनि त्यसको फल भोग्नुपर्छ भन्ने शास्त्रहरुको मत छ । यही कुरा महिनावारीको कुरामा पनि लागू हुन्छ । ‘यस्तो गर्नुपथ्र्यो, गर्न सकिनँ, मैले गलत गरेँ’ भनेर सोच्नु पाप हो ।
हाम्रो हिन्दु शास्त्रहरु र परम्परा यति उदार छ, त्यस्तो भावलाई सान्त्वना दिने या हटाउने अवसर पनि दिन्छ । त्यही अवसर हो ऋषिपञ्चमी । अथवा भनौँ, प्रायश्चित गर्ने मौका दिन्छ ऋषिपञ्चमीले ।
हुन त यो दिन कन्याहरुले आफूले इच्छाएको वर प्राप्त होस् भनेर र विवाहिताहरुले आफ्नो पतिको हित होस् भन्ने उद्देश्यले पनि व्रत बसेर पूजाआजा गर्छन्, तर विशेष गरी महिनावारीका बेला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरिएका पापकर्महरु नष्ट गर्नका लागि यो पर्व महत्वपूर्ण मानिन्छ । यो पर्व किन पनि विशेष छ भने कुनै देवीदेवताको पूजा गरिँदैन यो दिन, बरm सप्तर्षिको पूजा गरिन्छ ।
हिसाबले ऋषिमुनिलाई याद गरेर आध्यात्मिक प्रगति गर्ने दिन पनि हो यो । धेरैजनालाई थाहा नहुन सक्छ, सप्तर्षि को हुन् भनेर ।
आकाशमा सातवटा ताराहरुको मण्डल देखिन्छ । त्यस मण्डलमा भएका ताराहरुको नाम नै सात ऋषिहरुको नाममा राखिएको छ । वेदहरुमा तिनका बारेमा विस्तृत व्याख्या पाइन्छ । सात ऋषिहरु सधैँ एउटै हुँदैनन् । समयसमय फेरिइरहन्छन् । योभन्दा पहिला हिरण्यररोमा, वेदश्री, ऊध्र्वबाहु, वेदबाहु, सुबाहु र पर्जन्य नामका सप्तर्षि थिए भने अहिलेको समयमा वसिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज नाम गरेका सप्तर्षि छन् । यसपछिका सप्तर्षि को हुनेछन् भनेर पनि विष्णुपुराणमा उल्लेख छ । ती हुनेछन् – व्यास, दीप्तिमान, गालव, राम, कृप, अश्वत्थामा र ऋष्यश्रृङ्ग ।
वेदहरुको अध्ययनबाट सात ऋषिहरुको कुलको नामका बारेमा थाहा पाउन सकिन्छ । उनीहरुको नाम हो – वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, अत्रि, वामदेव र शौनक ।
पुराणहरुमा सप्तऋषिको नाममा भिन्नभिन्न नामावली मिल्छ । विष्णुपुराणअनुसार यस समयका सप्तऋषि यस प्रकार छन् – वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज ।
वैदिक नामावलीअनुसार सप्तर्षिको परिचय निम्नानुसार छ –
वशिष्ठ
वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् । उनी राजा दशरथका कुलगुरु थिए । दशरथका चारै छोरालाई उनैले शिक्षा दिएका थिए । वशिष्ठको सल्लाहअनुसार दशरथले आफ्ना चारै छोरालाई ऋषि विश्वामित्रको साथमा आश्रममा राक्षसहरुको वध गर्नका लागि पठाइदिएका थिए ।
एकपटक वशिष्ठ र विश्वामित्रको बीचमा पनि युद्ध भएको थियो, कामधेनु गाईका लागि । युद्ध वशिष्ठले जिते ।
उनलाई वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।
विश्वामित्र
विश्वामित्र हिन्दू धर्मका एक प्रसिद्ध ऋषि हुन् । उनी पहिला राजा थिए र कैयौँ वर्षसम्म सफलतापूर्वक राज्य गरेका थिए । क्षत्रीय कुलमा गाधिराजका छोराका रुपमा यिनको जन्म भएको थियो । लामो समयसम्म राज्य गरेपछि उनी पृथ्वी परिक्रमा गर्न भनी निस्केका थिए । आफ्नो पुरmषार्थ, लगन र तपको गरिमाका कारण उनी राजर्षि हुँदै ब्रह्मर्षि बने र देवता तथा ऋषिहरुका लागि पूजनीय बने । उनलाई सप्तर्षिको स्थान प्राप्त भयो ।
रामायणका पात्रहरु भगवान् राम र लक्ष्मणलाई धनुर्विद्या यिनैले सिकाएका थिए । एकपटक उनले ऋषि वशिष्ठसँगबाट कामधेनु गाई हडप्नका लागि युद्ध गरेका थिए, तर हारे । यस हारबाट प्रेरित भएर उनले घोर तपस्या गरे । उनको तपस्या मेनका अप्सराद्वारा भङ्ग भयो । विश्वामित्रले आफ्नो तपस्याको बलमा त्रिशङ्कुलाई सशरीर स्वर्ग पठाइदिएका थिए ।
विश्वामित्रका यस्ता कैयौं किस्सा छन् । भनिन्छ, विश्वामित्रले घोर तपस्या गरेर र इन्द्रबाट रुष्ट भई पृथ्वीमै एउटा अलग्गै स्वर्गलोक रचना गरिदिएका थिए ।
उनैले ऋचा बनाउने विद्या प्रदान गरेका थिए । गायत्री मन्त्रका रचनाकार पनि उनी नै हुन् ।
उनलाई कौशिक गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।
कण्व
ऋषि कण्व वैदिककालका विख्यात ऋषि थिए । उनकै आश्रममा हस्तिनापुरका राजा दुष्यन्तकी पत्नी शकुन्तला र उनका पुत्र भरतको पालनपोषण भएको थियो । कण्वले नै सबैभन्दा महत्वपूर्ण यज्ञ सोमयज्ञको व्यवस्थापन गरेका थिए ।
भारद्वाज
ऋषि भारद्वाज वृहस्पति र ममताको कोखबाट जन्मिएका थिए । वैदिक ऋषिहरुमा उनको उच्च स्थान छ । उनी श्रीरामभन्दा पहिल्यैदेखि थिए । उनी लामो समय बाँचे । राम वनबासको समयमा उनको आश्रममा गएका थिए । त्यो समय त्रेता र द्वापर कालको सन्धिकाल थियो ।
ऋषि भारद्वाजका पुत्रहरुमध्ये १० ऋषिहरु ऋग्वेदका मन्त्रदृष्टा थिए । उनकी पुत्री रात्रि रात्रिसूक्तको मन्त्रद्रष्टा थिइन् । ऋग्वेदको छैटौं मण्डलका द्रष्टा हुन् भारद्वाज । यस मण्डलमा उनका ७६५ मन्त्र छन् । अथर्ववेदमा पनि भारद्वाजका २३ वटा मन्त्र भेटिन्छन् । ‘भारद्वाज–स्मृति’ र ‘भारद्वाज–संहिता’ का रचनाकार पनि ऋषि भारद्वाज नै थिए । भारद्वाजले ‘यन्त्र–सर्वस्व’ नामक बृहत्् ग्रन्थ रचना गरेका थिए ।
अत्रि
ऋग्वेदको पञ्चम मण्डलका द्रष्टा महर्षि अत्रि ब्रह्माका छोरा, सोमका पिता र कर्दम प्रजापति तथा देवहूतिकी छोरी अनुसूयाका पति थिए ।
एकपटक अत्रि बाहिर गएका बेला त्रिदेव अनसूयाको घरमा ब्राह्मणको भेषमा भिक्षा माग्न थाले र अनुसूयासँग भने, ‘जब तिमीले सबैले वस्त्र खोल्नेछौ, बल्ल हामीले भिक्षा स्वीकार गर्नेछौँ ।’ तब अनुसूयाले आफ्नो सतित्वको बलमा तीनै देवलाई अबोध बालक बनाएर भिक्षा दिएकी थिइन् । उनले देवी सीतालाई पनि पतिव्रतको उपदेश दिएकी थिइन् ।
अत्रि ऋषिले कृषिको विकासमा धेरै योगदान दिएका थिए । सिन्धु पार गरेर उनी अहिलेको इरान गएका थिए । त्यहाँ उनले यज्ञको प्रचार गरे । उनकै कारण अग्निपूजकहरुको धर्म पारसी धर्मको सूत्रपात भयो । अत्रि ऋषिको आश्रम चित्रकूटमा थियो । भनिन्छ, अत्रि–दम्पतीको तपस्या र त्रिदेवहरुको प्रसन्नताको फलस्वरुप विष्णुको अंशबाट महायोगी दत्तात्रेय, ब्रह्माको अंशबाट चन्द्रमा तथा शङ्करको अंशबाट महामुनि दुर्वासा महर्षि अत्रि एवं देवी अनुसूयाको पुत्रको रुपमा जन्मे ।
ऋषि अत्रिमाथि अश्विनीकुमारहरुको पनि कृपा थियो ।
वामदेव
वामदेवले सामगान अर्थात् सङ्गीत दिए । उनी ऋग्वेदको चतुर्थ मण्डलका सूत्रद्रष्टा, गौतम ऋषिका पुत्र तथा जन्मत्रयीका तऋभ्ववेत्ता मानिन्छन् ।
शौनक
शौनकले दस हजार विद्यार्थी भएको गुरुकुल चलाएर कुलपतिको विलक्षण सम्मान हासिल गरे । कुनै पनि ऋषिले यस्तो सम्मान पहिलोपटक हासिल गरेको थियो । उनी वैदिक आचार्य र ऋषि तथा शुनक ऋषिका छोरा थिए ।
यी सात ऋषहरुले यति धेरै कुरा दिए, मानिसहरुले उनीहरुलाई आकाशको तारामण्डलमा बसाएर अमरत्व प्रदान गरे । त्यसैले सप्तर्षि भन्नेबित्तिकै हाम्रो कल्पना आकाशमा भएको तारामण्डलमा गएर टिक्छ ।
ऋषिपञ्चमीको सुरुवात
सत्ययुगको कुरा हो । विदर्भ नामक नगरमा श्येनजित नामक राजाले राज्य गर्थे । उनी ऋषिहरुसमान थिए । उनको देशमा सुमित्र नामक एक कृषक थिए । सुमित्रकी पतिव्रता पत्नी थिइन्, जयश्री ।
वर्षा ऋतुको समय थियो । सुमित्रकी पत्नी खेतमा काम गरिरहेकी थिइन् । त्यही बेला उनी रजस्वला भइन् । रजस्वला भएको समयमा पनि उनले घरको काम गरिरहिन् । उनको शरीरबाट निस्केको नकारात्मक ऊर्जाका कारण अरुलाई पनि असर प¥यो । उनलाई थाहा थियो, रजस्वला भएका बखत् एकान्तमा बस्नुपर्छ भन्ने कुरा । तर उनले त्यो नियम मानिनन्, त्यस कारण उनलाई ग्लानि भने भइरह्यो ।
समय आएपछि दुवैजना मरे । अर्को जन्ममा जयश्री कुकुर बनिन् । सुमित्र गोरु बने । उनीहरु पशुयोनिमा जानुको कारण, थाहा पाइपाइ पनि रजस्वला नबार्नु थियो ।
अन्य कुनै गल्ती नभएका कारण उनीहरुलाई पूर्वजन्म याद रह्यो । उनीहरु आफ्नै छोरा सुचित्रको घरमा रहन थाले ।
सुचित्र पनि धर्मात्मा थिए । अतिथिहरुको सत्कार गर्न मन पराउँथे । एकदिन बुबाको श्राद्ध थियो । उनले ब्राह्मणहरुलाई आफ्नो घर बोलाएका थिए र उनीहरुका लागि भनेर खीरलगायत मीठामीठा भोजन बनाउन लगाएका थिए ।
सुचित्रकी पत्नी कुनै काम परेर खीर त्यत्तिकै छाडी भान्साबाट बाहिर निस्किन् । त्यहीबेला एउटा सर्पले खीरको भाँडामा विष वमन गरेको सुचित्रकी आमा कुकुरले देख्यो । त्यो भोजन खाँदा धेरैजना मर्ने देखेर उसले खीरको भाँडामा मुख हालिदियो । त्यहीबेला सुचित्रकी पत्नी चन्द्रावती त्यहाँ आइपुगिन् । कुकुरले भाँडामा जूठो हालेको देखेर उनले बलिरहेको दाउरा चुल्होबाट निकालेर झटारो हानिन् ।
कुकुर घाइते हुँदै दौड्न थाल्यो । त्यो दिन चन्द्रावतीले उसलाई खानसमेत दिइनन् । कुकुरले जूठो हालेको भाँडो सफा गरेर फेरि खानेकुरा बनाइन् र सबैलाई खुवाइन् ।
राति भोकले व्याकुल भएर कुकुर आफ्नो पूर्वपति गोरुको नजिकै गएर सबै घटना सुनायो ।
कुकुरको कुरा सुनेर गोरुले भन्यो, “तिम्रो पापकै कारण मैले पनि यस योनिमा आउनुपर्यो । दिनभर भारी बोक्दाबोक्दा म सधैँ थाक्छु । आज पनि दिनभर जोतेका कारण मलाई निकै गाह्रो भइरहेको छ । मेरो छोराले मलाई पनि आज भोजन दिएन र पिट्यो पनि । मेरै लागि उसले श्राद्ध गरिरहेको छ, तर मलाई नै यति हेला पनि गरिरहेको छ ।”
संयोगले आफ्ना आमाबुबाको कुरा सुचित्रले सुनिरहेका थिए । आफ्ना बुबाआमा कुकुर र गोरु भएको थाहा पाएर उनले तुरुन्तै भोजन तयार गरेर खुवाए । त्यसपछि वनमा गएर ऋषिहरुसँग आफ्ना आमाबुबा कुन कर्मका कारण नीच योनिमा पुगे र यसबाट कसरी छुट्कारा मिल्छ भनेर सोधे । सर्वतमा नाम गरेका ती ऋषिले ऋषिपञ्चमीको व्रत धारण गर्न र त्यसको फल आफ्ना आमा–बुबालाई दिन सल्लाह दिए ।
ऋषिको सल्लाहअनुसार सुचित्रले आफ्नी पत्नीसहित विधिपूर्वक पूजा गरे । त्यसको पुण्यका कारण उनका आमा–बुबा पशुयोनिबाट मुक्त भए ।
अर्को एउटा कथाअनुसार राजा सिताश्व धर्मको अर्थ जान्ने इच्छाले ब्रह्माकहाँ पुगे र सोधे, ‘मलाई त्यो श्रेष्ठ व्रत बनाउनुहोस्, जसका कारण प्राणी आफ्ना सबै पापबाट मुक्त हुन्छ ।’
ब्रह्माले उनलाई ऋषि पञ्चमीका बारेमा बताए । यो व्रत विधिपूर्वक गर्दा सबै पापबाट छुट्कारा पाउने सल्लाह दिए ।
अझै अर्को एउटा कथाअनुसार
विदर्भ नामक देशका उत्तङ्क नाम गरेको एक सदाचारी ब्राह्मण बस्थे । उनकी पत्नी सुशीला र उनीबाट एक पुत्र र एक पुत्री जन्मिए । विवाह योग्य उमेर भएपछि उत्तङ्कले आफ्नी पुत्रीको बिहे गरिदिए । बिहे गरेको केही समयमै उनकी छोरी विधवा भइन् । आफ्नी छोरीलाई लिएर उत्तङ्क र सुशीला गङ्गातटमा कुटी बनाएर बस्न थाले ।
एकदिन सुतेका बेला उत्तङ्ककी छोरीको शरीरबाट कीराहरु निस्कन थाले । उनले आफ्नी आमासँग यो कुरा बताइन् । सुशीलाले आफ्ना पतिसँग छोरीको यस्तो अवस्था हुनुको कारण सोधिन् ।
उत्तङ्कले समाधिद्वारा कारण पत्ता लगाए । जसअनुसार उनकी छोरी पूर्वजन्ममा पनि ब्राह्मणी कन्या थिइन् । महिनाबारी भएका बेला उनले नियम तोडेकी थिइन् । यस जन्ममा पनि उनले आफ्नो पाप हटाउनका लागि ऋषिपञ्चमी पूजा गरिनन् । त्यसैको फलस्वरुप शरीरमा कीरा प¥यो ।
बुबाका कुरा सुनेर उनकी छोरीले विधिपूर्वक ऋषिपञ्चमीको व्रत र पूजा गरिन् । फलस्वरुप उनी दुःखबाट मुक्त भइन् र अर्को जन्ममा उनी सौभाग्यशाली भएर जन्मिन् ।
प्रकाशित: १८ भाद्र २०७६ ०६:३२ बुधबार