१४ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘अब साङ्गीतिक पर्यटन’

रामप्रसाद कँडेल संस्थापक, नेपाली लोकबाजा संग्रहालय

हामी लोकबाजा संग्रहालय नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहन्छौं तर, त्यसका लागि सरकार तयार देखिएको छैन । 

नेपालमा सांगीतिक पर्यटनको संभावना के छ ?
नेपाल विश्व लोकसङ्गीतको जरा हो किनकि हामीसँग वैदिक, वोन, किरातकालदेखिका सङ्गीत छ । योगी नरहरिनाथ र पूर्णप्रकाश नेपाल ‘यात्री’का अनुसार हाम्रोमा लोकसङ्गीतको अजस्र परम्परा छ । हाम्रो सङ्गीत मौलिक रूपमै जीवित छ । साङ्गीतिक अतिक्रमण हुन पाएको छैन । त्यसैले हाम्रो सङ्गीत शुद्ध मानिन्छ । नेपालमा गीत, बाजा र नाचको विविधता छ । सङ्गीत  अन्वेषक र अवलोकनकर्ताका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ हो । हामीले राम्रो प्रचार गर्न सक्यौं भने लो सङ्गीत अध्ययन र अवलोकन गर्न पर्यटक आउनेछन् ।

लोकसङ्गीतलाई कसरी पर्यटकीय प्रोडक्ट बनाउन सकिन्छ ?   
लोकसङ्गीतले तनावबाट मुक्ति दिलाउँछ । त्यसैले पहिला हामीसँग भएका सङ्गीत विविधताको अभिलेखीकरण हुनु प¥यो । त्यो पनि श्रव्य दृश्यमा हुनु प¥यो । अर्को कुरा, नेपालको सङ्गीत इतिहास लेखिनु प¥यो । कुन गाउँ, कुन सहर र कुन जातिको साङ्गीतिक विशेषता के हुन पहिल्याउनु प¥यो । लोकसङ्गीतको जानकारी तयार पार्नु प¥यो । बल्ल पर्यटकीय मेनु तयार हुन्छ । यो कामको अगुवाइ सरकारले गर्नु पर्छ । त्यतिमात्र होइन, विदेशमा कुन ठाउँमा कुन संगीत प्रवद्र्धन गर्न सकिन्छ भनेर पनि अध्ययन गरिनु पर्छ ।

नेपाली सङ्गीतको अध्ययन गर्न कस्ता खाले पर्यटक आउने गरेका छन् ?
सीमित सूचनाका भरमा औंलामा गन्न सकिने मात्र विज्ञहरू नेपालमा आएका छन् । सन् १९३१ र १९५५ मा डच संगीतकार अर्नाल्ड ए. बाक, सन् १९६० को दशकमा अमेरिकाबाट टेरेन्स बेक, सन् १९६६ मा फ्रान्सका मिरेएल हेल्फर आएका थिए ।

त्यस्तै असीको दशकमा बेलायतका क्यारोल टिङ्गी, फिनल्याण्डका पिर्को मोसाइला, स्वीट्जरल्याण्डका क्लाउडियो पेरुकिनी (झिल्के दाइ) र जापानका प्रोफेसर फुजी आएका थिए । उनीहरूले गरेका अनुसन्धानको हामीले प्रचार गर्न सकेनौं । सन् १९९५ मा नेपाली लोकबाजा संग्रहालय स्थापना भएपछि भने हामीले उनीहरूका ‘रिसर्च पेपर’ र श्रव्यदृश्य सामाग्री ल्याउन सुरु गरेका छौं । हामीले सबैभन्दा पहिला संसारका विश्व विद्यालयका अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्नु पर्छ । सङ्गीत सुन्न र बुझ्न आउनेहरू गुणस्तरीय पर्यटक हुन्छन् । उनीहरू म्युजिकल हिलिङ गराउन चाहन्छन् । ठूलो धनराशि खर्च गरेर आउँछन् ।

तपाइँहरूले बर्सेनि अन्तराष्ट्रिय लोकसङ्गीत  चलचित्र महोत्सव गर्दै आउनु भएको छ । महोत्सव कसरी सुरु गरिएको थियो ?
नेपालमा विदेशी लोकसङ्गीत  र संस्कृतिकर्मीलाई आर्कषित गर्ने कुनै फोरम थिएन । त्यसैले हाम्रो संग्रहालयले सन् २०११ देखि नोभेम्बर अन्तिम हप्तामा महोत्सव गर्दै आएको छ । महोत्सवकै अवसरमा लोकसङ्गीत संगोष्ठि आयोजना गरिन्छ । यसमा विशेषज्ञहरूसँग अन्तरक्रिया गरिन्छ । महोत्सवकै कारण हाम्रो १३० देशमा सम्पर्क स्थापित भएको छ । ती देशका फिल्म हामी यहाँ प्रदर्शन गरेका छौं । हाम्रो संग्रहालयमा देश÷विदेशका लोकसंगीतका फिल्मको ठूलो संग्रह भएको छ ।

म्युजिक टुरिजमका लागि जनशक्ति व्यवस्थापन कसरी गर्न सकिन्छ ?
हामीकहाँ गाउँगाउँमा परम्परागत रूपमा सङ्गीत सिक्ने र सिकाउने गुरुकुलीय परम्परा छ । हामीसँग गुरु पनि छन्, शिष्य पनि छन् । ती नयाँ पुस्ताका शिष्यहरूलाई प्रशिक्षण दिएर पर्यटकको गाइड बनाउन सकिन्छ । साथै विद्यालयका शिक्षकहरूलाई पनि प्रयोग गर्न सकिन्छ । र, भएका टे«किङ गाइडहरूलाई पनि थप तालिम दिएर जनशक्ति तयार पार्न सकिन्छ । स्थानीय कलाकारसँग समन्वय गरेर सांगीतिक रुट तयार गर्नु पर्छ ।

मौजुदा पर्यटनलाई परिमार्जन गरेर गाउँगाउँमा पर्यटक लक्षित लाइभ कन्सर्ट गर्न सकिन्छ ?
सकिन्छ, विदेशी लाइभ म्युजिक मन पराउँछन् । कतिपय विदेशी सङ्गीत सिक्न चाहन्छन् । त्यसका लागि स्कुल चलाउन सकिन्छ । निश्चित गाउँमा निश्चित बाजा, नाच वा गीतलाई प्राथमिकता दिएर प्रवद्र्धन गर्नु पर्छ । यसबाट जातीय संगीतको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । यसबाट गाउँमा सोझै पैसा पुग्छ । लोकसंगीतलाई पर्यटनसँग जोड्न सके नयाँ पुस्तामा पनि मौलिक संस्कृतिप्रति गर्व हुन्छ भने पुरानो पुस्तामा आत्मसन्तुष्टि मिल्छ । गाउँगाउँमा पर्यटन भएपछि बैदेशिक रोजगारीमा जानेक्रम कम हुँदै जान्छ ।

अन्त्यमा लोकबाजा संग्रहालयको खबर सुनाउनुस् न ?
गुठी संस्थानसँगको मिलेमतोमा काठमाडौं विश्वविद्यालयले सङ्गीत विद्यालय बनाउन  हामी बसेको ठाउँ (त्रिपुरेश्वरस्थित महादेव बहाल)लाई हडप्न खोज्दै छ । संग्रहालय बचाउन हामी अदालतमा जान बाध्य भयौं । यस्तो अवस्थामा हामीले २४ वर्षदेखि संग्रह गरेको हजारौं बाजा, श्रव्यदृश्य सामाग्रीहरू र पुस्तक जोगाउन समस्या परेको छ । हामी संग्रहालय नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहन्छौं तर, त्यसका लागि सरकार तयार देखिएको छैन ।  

प्रकाशित: १४ भाद्र २०७६ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App