२१ जेष्ठ २०७७ बुधबार
अन्य

बालबालिकालाई संविधानमा अधिकार व्यवहारमा तनावै तनाव

विश्वव्यापी मान्यताअनुसार १८ वर्षभन्दा मुनिका केटाकेटीलाई बालबालिका मानिन्छ भने नेपालको सन्दर्भमा १६ वर्षभन्दा मुनिका व्यक्तिलार्ई बालबालिका मानिएको छ । बालबालिका नै देशका भावी नागरिक हुन् । उनीहरूको विकास जुन रूपमा हुन्छ त्यसै किसिमको नागरिक जनशक्ति देशले प्राप्त गर्दछ । त्यसैले बालबालिकाको सर्वाङ्गीण विकासका लागि देशहरूले आ–आफ्ना मापदण्ड तयार पारेका हुन्छन् ।

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३९ मा १० ओटा उपधारामा बालबालिकाका हकसम्बन्धी व्यवस्था गरेको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुन्छ । त्यस्तै कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थानमा र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइँदैन । प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुन्छ । संविधानविपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुन्छन् ।

संविधानमा व्यवस्था भए पनि व्यवहारमा भने यसको कार्यान्वयन फितलो देखिन्छ । परिवारको आर्थिक स्थिति, शिक्षा र चेतनाको विकासको कमी, सामाजिक मान्यता, संविधान र कानुनको कार्यान्वयनमा राज्यको तत्परताजस्ता कुराले बालबालिकाका अधिकार संरक्षण गर्ने कुरामा ठूलो भूमिका खेलेका हुन्छन् । संविधान प्रदत्त अधिकार सबै नागरिकले समान रूपमा पाउनुपर्ने हो तर लडेर अधिकार लिनुपर्ने हाम्रो जस्तो अवस्थामा अबोध बालबालिकाका लागि कसले बोलिदिने ? कसले लडिदिने ?

अधिकार संरक्षण वा हननको कुरा घर परिवारबाटै सुरु हुने हो । के कस्ता क्रियाकलापले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा भूमिका खेल्छन्, कसो गर्दा बच्चाको सर्वाङ्गीण विकास हुने हो वा कसो गर्दा बालविकासमा नकारात्मक असर पर्छ भन्ने जानकारी अभिभावकलाई नहुनु बालअधिकार संरक्षणको सबैभन्दा ठूलो चुनौती हो । हामीमध्ये धेरैलाई बालबालिकाको विकासमा सकारात्मक र नकारात्मक असर पार्ने क्रियाकलापका बारेमा थाहै छैन । अनि कसरी हुन्छ बालअधिकारको संरक्षण ?

बहुसंख्यक नेपालीहरूको आर्थिक अवस्था कमजोर किसिमको छ । दिनभरि बाबुआमा काममा नजाने हो भने घरमा साँझ बिहान छाक टर्दैन । उनीहरूका बालबालिकाले कसरी राम्रो स्याहार सुसार पाउने ? न्यून आम्दानी र महँगो बजार भाउले च्यापिएका परिवारमा बालबालिकालाई पोसिलो खानेकुरा जुटाउनु अर्को समस्या हो । यस्तो समस्या गाउँमा मात्र होइन सहरमा झन् डरलाग्दो रूपमा देखिन्छ । काममा जाने बालबालिकाले आफ्ना स–साना नानीबाबुहरू स्कुललाई जिम्मा लगाएर हिँड्छन् ।

आमाका काखमा बसेर दूध चुस्नुपर्ने बच्चाले दिनभरि स्कुलको कक्षा कोठामा कस्तो स्याहार सुसार र कस्तो पोषण पाउँछ होला ? शिक्षक शिक्षका र अपरिचित वा परिचित भए पनि अर्कै परिवारका साथीहरूसँग दिन बिताउनुपर्दा कति प्रसन्नताको महसुस गर्छ होला ? यसरी बाँधिएको बच्चाको मानसिक विकास कुन रूपमा हुन्छ होला ? संविधानको व्यवस्था र व्यावहारिक यथार्थबीचको अन्तर विचारणीय छ ।

स्वतन्त्र भएर खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार हो । यस मामलामा सबैभन्दा ठगिएका सहरका बालबालिका देखिन्छन् । हरेक बालबालिकाहरू स्वभावैले प्रकृतिको खुला वातावरणमा खेल्न पाउँदा रमाउँछन् तर सहरका केही औँलामा गन्न सकिने घरमा आफ्नो परिसरभित्र खेल्न मिल्ने ठाउँ होला नत्र अधिकांश घरमा खेल्ने ठाउँ छँदै छैन । केही पैसावालाहरूका लागि फुटसल र कहिलेकाहीँ घुम्नका लागि पार्क बनाइएका छन् तर तिनमा सबैको पहुँच छैन । सहरमा धेरै जस्तो परिवार त सीमित कोठा भाडामा लिएर बसेका हुन्छन् ।

त्यस्ता परिवारका बालबालिकाको खेल्ने ठाउँ कोठाभित्र मात्र हुन्छ । अव्यवस्थित सहरीकरणले गर्दा घरबाहिर खेल्ने ठाउँ छैन । घरका छतमा जाऊँ घरधनीको खप्की, कोठाभित्र खेल्दा कोठा फोहोर भयो भनेर बाबुआमाको खप्की, बाटामा गाडीको ओहोर दोहोर र धुवाँ धुलोले गर्दा खेल्न मिल्ने कुरै भएन । गाउँका बालबालिकाभन्दा सहरका बालबालिका खेलकुद र मनोरञ्जनका कुरामा ठगिएका देखिन्छन् । उनीहरूको खेल भने पनि मनोरञ्जन भने पनि टेलिभिजन, कम्प्युटर र मोबाइल मात्र भएका छन् । यस्तो अवस्थामा बालबालिकाले आफ्नो देशको प्रकृति र यहाँको संस्कृति कसरी बुझ्लान् ? कसरी उनीहरूको मानसिक विकास होला ?

नेपालको संविधानले हरेक बालबालिकालाई सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनेको छ । सर्वाङ्गीण व्यक्तित्व विकास भनेको शारीरिक, मानसिक र बौद्धिक विकास हुनुपर्ने हो । शारीरिक विकासका लागि पोसिलो खाना, मानसिक विकासका लागि स्वतन्त्र र प्रसन्नताको वातावरण र बौद्धिक विकासका लागि सहज ज्ञान अनिवार्य कुरा हुन् । सहज ज्ञानको मूल स्रोत प्रकृति हो । प्रकृतिबाट बालबालिकाहरू आफैं सहभागी भएर आफैंले देखेर, सुनेर, छोएर र गरेर ज्ञान आर्जन गर्दछन् । प्रकृतिको विनाश र अव्यवस्थित सहरीकरणले गर्दा अहिलेका बालबालिकाले त्यसरी ज्ञान आर्जन गर्ने मौका पाएकै छैनन् ।

कुनै पनि बालबालिकालाई कलकारखानामा, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गरिएको छ तर सबै ठाउँमा यो कुरा लागू भएको देखिँदैन । बालबालिकाहरू कतै घरायसी काममा, कतै मजदुरीका काममा र कतै कलकारखानाका काममा बिहानदेखि साँझसम्म खटिएका देखिन्छन् । सहरमा हामीले दिनदिनै देखेकै छौं, बसमा १०/१२ वर्षका बालकहरूलाई खलाँसी काममा लगाइएको हुन्छ । यो पनि त एउटा जोखिमपूर्ण काम हो नि ।

बालविवाह, यौनशोषण, गैरकानुनी ओसारपसार, अपहरण, हत्याजस्ता जघन्य अपराधको तथ्याङ्क हेर्दा धेरैजसो यस्ता घटना बालबालिकामाथि नै हुने गरेको पाइन्छ । प्रत्येक वर्ष यस्ता आपराधिक क्रियाकलाप बढ्दै जानु चिन्ताको विषय हो । कतै यस्ता अपराधमा संलग्न पीडक पत्ता लगाउनै नसक्नु, कतै मेलमिलापको बहानामा पीडकलाई उन्मुक्ति दिनु त कतै पीडकलाई संरक्षण गर्नुले बालबालिकाको सुरक्षित जीवन बाँच्न पाउने अधिकारसमेत कुण्ठित भएको छ ।

कतिपय सन्दर्भमा आजका बालबालिकाभन्दा अघिल्लो पुस्ताका बालबालिका सुखी थिए । उनीहरू हजुरबुबा, हजुरआमा, बुबाआमा, काकाकाकीसँगै घरमा बस्थे । परिवारमै एक हुल उमेर मिल्दा दाइभाइ दिदीबहिनी हुन्थे भने छिमेकमा पनि प्रशस्त साथीहरू हुन्थे । खेल्नका लागि ठाउँ जति पनि थियो । आफुभन्दा ठूलाबाट खेलौना बनाउन सिक्थे र आफैं बनाएर खेल्थे । खेल्दाखेल्दै उनीहरूमा सिर्जनशीलताको विकास भइसकेको हुन्थ्यो । घर परिवारबाटै ज्ञानगुन र व्यवहारका कुरा सिक्थे ।

कम्तीमा पनि दूध चुस्ने उमेरसम्म उनीहरूलाई पढाइको बोझ थिएन । ५/६ वर्षभन्दा माथि लागेपछि मात्र विद्यालयमा भर्ना गरिन्थ्यो । विद्यालय जान थालेपछि उनीहरूको पढाइ राम्रोसँग अगाडि बढ्थ्यो । उनीहरू खेलेर मात्र दिन बिताउनुपर्र्ने स्थिति थिएन । उनीहरूमा शिक्षकले पढाएको कुरा राम्रोसँग बुझ्न सक्ने र सम्झन सक्ने क्षमताको विकास भइसकेको हुन्थ्यो ।

अहिले समयले कोल्टो फेरेको छ । परिवार विघटित भएर छिन्नभिन्न भएको छ । पहिलेको जस्तो संयुक्त परिवार अहिले औँलामा गन्न सकिने मात्र भएको छ । थोरै सन्तान जन्माउने हुनाले परिवारमा बच्चाहरूको संख्या पनि कम हुने भइहाल्यो । कसैका बाबु घरमा छैनन् कसैका आमा । कसैका त बाबुआमा नै कामका सिलसिलामा बाहिरिएका हुन्छन् । हजुरबा, हजुरआमा, काका काकीबाट जुन माया ममता र संरक्षण पाइन्थ्यो त्यो एकादेशको कथा जस्तो भइसकेको छ ।

घरमा उत्पादन भएका पोसिला खाद्यवस्तु छैनन्, अस्वस्थकर र अझ विषादीयुक्त आयातीत खाद्यवस्तु उनीहरूका सामु छन् । बहुसंख्यक नेपालीहरू सहरमुखी भएका छन्, त्यसले गर्दा न पारिवारिक माया ममता छ न स्वतन्त्र भएर खेल्न पाउने प्रशस्त ठाउँ छ । यस अर्थमा आजका नानीबाबुहरू बच्चैदेखि बोझिलो जिन्दगी बिताउन बाध्य छन् ।

हिजोआजका बालबालिकालाई नेपालको शिक्षाव्यवस्थाले बन्दी बनाइएको छ । उनीहरूलाई २/३ वर्षको उमेरदेखि नै स्कुल भर्ना गरिन्छ । बिहान निद्रा पुग्न नपाउँदै उठेर उनीहरू स्कुल जाने तयारी गर्नुपर्छ । गृहकार्य गरेको छ कि छैन ? कुन–कुन विषयको के कति गृहकार्य छ ? आजको रुटिन के हो ? कुनकुन विषय पढाइ हुने हो ? किताब र कापी कता कता छन् ? आज कस्तो पोसाक लगाउने हो ? कुन जुत्ता लगाउने ? यी सबै कुरा तयार गरेर खाना खाइवरी ७/८ बजे स्कुल जानका लागि तयार भइसक्नुपर्छ ।

कलिलो उमेर र कलिलो मस्तिष्कका बालबालिकालाई यति धेरै दबाब पर्दा उनीहरूको व्यक्तित्व विकास होला कि विनाश ? त्यसैले त ‘कलिला नानीहरूलाई शिक्षा दिनु भनेको उनीहरूको मस्तिष्कमा धारिलो हतियार प्रहार गर्नुजस्तै हो’ भन्छन् आचार्य टिएन पथिक ।

भन्न त हरेक विद्यालयले साना नानीहरूलाई पढाउने भन्दा खेलाउने क्रियाकलाप धेरै हुन्छ बच्चालाई गाह्रो हुँदैन भनी अभिभावकलाई फकाइरहेका हुन्छन् । तर बालसुलभ क्रियाकलाप गरेर बिताउनुपर्ने दिनमा दिनहुँ उही कक्षाकोठा, उनै सीमित भौतिक वस्तु र अपरिचित शिक्षक शिक्षिकाबाट निर्देशित दिनचर्या बिताउनुपर्ने अवस्थाले बालबालिकालाई रमाइलो भन्दा तनाव नै बढी हुन्छ ।

बाबुआमासँग लडिबुडी खेल्दै रमाउने उमेरका ती लालाबालालाई एकातिर नयाँ मानिसको व्यवहारले डर लागिरहेको हुन्छ भने अर्कातिर उनीहरूले सिकाएजस्तो गरिएन भने के–के गर्लान् भन्ने त्रास मन मस्तिष्कमा बसिरहेको हुन्छ ।

आधुनिकता र देखासिकीका कारण सबैका बाबुआमालाई सुखी जिन्दगी बिताउन मन लागिरहेको हुन्छ, बाबुआमाले सुखी जिन्दगी बिताउने बन्दा छोराछोरीले दुःख पाइरहेका छन् । बालबालिकालाई तनावमुक्त वातावरणमा हुर्किने मौका दिनु सबैको दायित्व हो । बालअधिकारको संरक्षणका लागि राज्यले कानुन पनि बनाएको छ र यसमा देशभरि निकै काम पनि भएका छन्, तर बालबालिकाका दुःख भने जहाँका त्यहीँ छन् ।

परिवारभित्रै बालअधिकार र सुखमय बालजीवनका बारेमा चिन्तन भएन भने अरू प्रयास व्यर्थ हुन्छन् । आधुनिकता, सहरीकरण, प्रदूषण, यान्त्रिक किसिमको शैक्षिक विकासको चौतर्फी चेपुवामा परेका हाम्रा बालबालिकाको बाल्यकाल कसरी सुखद र सार्थक बनाउने भन्ने कुराको चिन्तन गर्नुपर्ने दायित्व हामी अभिभावकमाथि नै छ ।

प्रकाशित: १३ भाद्र २०७६ १३:१६ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App