१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

निर्भिकताको संगम

प्रतिराेध कार्की

कविता साहित्य कम पढिने, धेरै सुनिने र लेखिने विधा हो। अरू विधाजस्तो सामान्य पाठकहरूले यसलाई बुझ्न कठिन भए पनि सृष्टिका सबैभन्दा सुन्दर रचनामध्ये एक हो भन्ने विषयमा सबै समालोचक तथा सर्जकहरूको एक मत छ।

कविता भावुक मनभित्रका कोमल भावना, अन्तःचेतनामा दबेर रहेका मूर्तिदेखि अमूर्त भावव्यञ्जनाको समुद्र मथेर नौनी निकालिने  एउटा पद्धति हो। कविले कविता संग्रहमा अनुभूतिको गहिराइबाट निसृत माथिका पंक्तिहरूले जीवनबोधको स्पष्ट परिभाषा व्यक्त गरेको प्रतीत हुन्छ।

स्रष्टा सिर्जनाको क्षेत्रमा कविता साहित्यभित्र  नारीलेखनका लागि कवि समालोचक डा. विन्दु शर्माका उपस्थिति शुभ संकेत हो। नेपाली साहित्यको मार्गमा पछिल्लो समयावधिमा नारी स्रष्टाको कलम निकै चलायमान छ। त्यसमा पनि कविता विधा उनीहरूको प्राथमिकताको क्षेत्र हो। अझ नेपाली साहित्यमा सबैभन्दा बढी लेखिएको क्षेत्र कविता नै हो। यसभित्र सबैभन्दा बढी उरालिएको स्वर नारी स्वतन्त्रता र लैंगिक विभेदको हो। विश्वको आधाभन्दा बढी जनसंख्या ओगट्ने नारीसाम्राज्यका लागि यो अधिकार पनि हो।

यसक्रममा साहित्यकार शर्माले सुन्दर रचनाहरूको संगह ‘ओक्कल दोक्कल पीपल पात’ कविता संग्रह बजारमा आएको छ। संग्रहभित्र समाजमा व्याप्त नारी शोषणको घतलाग्दो चित्रलाई कवितामा कैद गरिएको छ। कविता लेख्न सजिलो नभए पनि पहिलो प्रयासमै कवि शर्मा तिखाएका कविता संग्रहमा संग्रहित गरेकी छन्। कवितामा व्यक्त गरेका भावहरू निकै कठोर र निर्भिक रहेकाले सकारात्मक पक्षहरू उद्घाटित भएका छन्।
तिनीहरूले भिजाइदिएको
मेरो नाइलनको चिसो कच्छासँगै
टाङमुनिबाट स्वाट्ट थुती च्यातेर मिल्काइदिन्छु
मुखियाको सन्दुकका तमसुक जसरी
पत्रपत्र परेका मेरा लाजका चाङहरूलाई।
(गोधूलीमा मालती, पृ.१०३)

अहिलेको नेपाली साहित्यको मूल शक्ति पाठक हो। लेखकका परम्परागत विचारका द्वन्द्वलाई  विस्तारै टाढा राख्न थालेको अनुभूति गराउने एउटा कविता संग्रहको ‘ओक्कल दोक्कल पीपल पात’ चार भागमा विभाजन गरेर कविताको मर्मलाई बेग्ला बेग्लै रूपमा देखाइएको यो कविता संग्रहमा केही लामा र छोटा गरी २४ वटा कविता छन्।

नेपाली साहित्यमा कविता अमूक विषयमा मात्र लेखिनु पर्छ भन्ने मान्यतालाई तिलान्जली दिएर कविले कविताको विषय जे पनि हुन सक्छ त्यसलाई अभिव्यक्त गर्ने सीप र शैली फरक हो भन्ने तथ्य स्थापित गर्न खोजिएको छ। डा. शर्माका कविताहरू पढ्दा अग्रज कविहरूले छानेका विषयको पुनरावृत्ति नेपाली काव्यमा हुनै पर्छ भन्ने समय अब सकिँदै गएको हो भन्ने आभाष हुन्छ। कविले उदात्त र अनुदात्तको भेद, काव्यिक भाषा र हिजोकै काव्य मात्र नेपाली काव्य हो भन्ने धारणमाथि चुनौती थपिदिएकी छन्।

नेपाली कविता साहित्यको पछिल्लो अवस्था र नेपाली समाजमा व्याप्त असमानताप्रति लेखकीय चेतलाई हेर्दा कविता साहित्यको व्यापकता अझ बढेको छ।

त्यो टिलिक्क टल्कने पानसको उज्यालोमा पढेका तिम्रा दरसन्तानहरूले शक्तिको आडमा
भर्साइरहँदा भव्य महलमा राज्यको विधान
किन पोखिँदै छ वरिपरि
मेरो आँखालाई निस्तेज पारेर
फाल्सा परेको रगत जस्तै कालो अँध्यारो ?
(तिम्रो विरासतको अनुष्ठानमा, पृ.६४)

अन्त्यमा, डा. शर्माका कविताले प्राकृतिक सौन्दर्य, देशको सुन्दरता सृष्टिका संरचक, आञ्चलिकतालाई प्राथमिकता दिएका छन्। विविध संस्कृति, जाताति भेषभूषा, मानवीय संरचना कलाकारिता र कलाकौशलमार्फत् सबैको मानव हृदय तान्न सक्षम देखिन्छ, जसमा नारी विद्रोहको चेतना र समाजिक विसंगतिलाई कविताले प्रस्तुत गरेको छ।

प्रकाशित: १८ श्रावण २०७६ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App