४ वैशाख २०८१ मंगलबार
अन्य

मञ्जुश्रीका पाइला , जाऔं है जिरी

मञ्जुश्रीका पाइला  
चीनबाट महामञ्जुश्री आउँदा काठमाडौं तलाउ थियो। उनले खड्गले काटेर चोभारबाट पानी निकास गरिदिएपछि बस्ती बसेको कथा प्रचलित छ। मञ्जुश्री कुन बाटो भएर काठमाडौं प्रवेश गरे होलान् ? यो प्रश्नको जवाफ दोलखाका संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठसँग छ।

‘मञ्जुश्री दोलखा हुँदै काठमाडौं प्रवेश गरेका थिए’, उनी दाबी गर्छन्, ‘यसमा थप अध्ययन हुनु पर्छ भन्ने हाम्रो माग छ।’ उनले त्यसरी दाबी गर्नुमा एउटा आधार छ त्यो के भने प्राचीन नगरी दोलखा बजार माथि मञ्जुश्री मन्दिर छ। त्यहाँ मञ्जुश्रीका पादुका (पाइला) छन्। स्थानीयले यसलाई मण्डेश्वरी, चिलिञ्चो र सरस्वती डाँडा भन्दै आएका छन्।
लामो समयदेखि नेवारधाम प्रवद्र्धन अभियानमा जुटेका श्रेष्ठले काठमाडौं भन्दा पुरानो नेवार वस्ती दोलखा भएको तर्क गर्दै आएका छन्। उनकै प्रयासले यस विषयमा पुरातत्व विभाग अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय संस्कृतिकर्मी श्रेष्ठ रामायण सर्किटमा दोलखालाई जोड्ने अभियानमा जुटेका छन्। उहिल्यै राजा दशरथ दोलखा आएको कथा छ। त्यसैले जकपुरधाम हुँदै हस्तिनापुर जोड्ने रामायण सर्किटमा दोलखालाई पनि समाबेश गर्न उनी भारतीय विद्वानहरूसँग लबिङ गरिरहेका छन्।

जाऔं है जिरी
दोलखाको रमणीय उपत्यका जिरी। कुनैबेला सगरमाथा प्रवेशद्वारका रुपमा यसले ख्याती कमाएको थियो। पहिलोपटक सगरमाथा आरोहण गर्ने सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यतैबाट सगरमाथा ओहोर दोहोर गरेका थिए। त्यसपछि पनि आरोही र पदयात्रीहरूले जिरी मार्ग धेरै प्रयोग गरे।

पछिल्लो समय लुक्लामा विमानस्थल बनेपछि पदयात्री र पर्वतारोहीहरू उतैबाट सगरमाथा जान थाले। बिस्तारै सुनसान हुन थाल्यो जिरी बजार। जबकि जिरीको कान्ति उत्तिकै छ। बरु पछिल्लो समय मानवीय प्रयासमा केही पर्यटकीय आकर्षण थपिएका छन्। जिरेल समुदायको आदिम भूमि जिरी नगरपालिका क्षेत्रमा हरित उपत्यका, सिक्री गाउँ, यलुङ गाउँ, जिरेश्वर महादेव, बौद्ध गुम्बा, चैत्य, गाई फाराम, लौती झरना,

च्र्योदुङेश्वर, बुद्ध पार्क, हलेसी गुफा, चिया बगान, चिज कारखाना, हनुमन्ते डाँडा, हाटडाँडा लगायत हेर्ने धेरै चिज छन्। दुई रात बसेर जिरीमा घुमफिर गर्न सकिन्छ। केही वर्षदेखि जिरीको पर्यटन प्रवद्र्धनमा प्रगतिशील युवा शसक्तिकरण केन्द्र क्रियाशील छ। यसको नेतृत्व तन्नेरी लिलाराम खड्काले गरेका छन्। जिरीको पर्यटन प्रवद्र्धन गर्न उनको अगुवाइमा ‘जाऔं है जिरी’ अभियान सुरु हुँदैछ।

‘हामीले प्रचारात्मक अभियान सुरु गर्न लागेका हौं’, खड्का भन्छन्, ‘जिरी नगरपालिका, पर्यटन बोर्ड लगायतसँग सहकार्य गरेर जिरीलाई चम्काउँछौं।’ उनको संस्थाले जिरीको प्रचारात्मक सामाग्रीहरू बुकलेट, पोष्टर, पर्चा, भिडियो लगायत समाग्री निर्माण गरिरहेको छ। अभियानको शुभारम्भ काठमाडौंमा हुनेछ। वर्ष दिनसम्म चल्ने अभियानमा जिरीमा अन्तरक्रिया, पर्यटन व्यवसायीलाई तालिम, होमस्टे शुभारम्भ, झरनाहरूमा क्यानोनिङको संभावनाको अध्ययन, पत्रकारहरूको भ्रमण, जिरी काव्य यात्रा, पत्रकारहरूलाई पुरस्कार, अग्रजहरूको सम्मान लगायत कार्यक्रम सञ्चालन गरिने खड्काले बताए।   

लुम्बिनी होटल संघ
सिद्धार्थ गौतमको जन्मथलो लुम्बिनी। प्रदेश नं ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाइरहेको छ। लुम्बिनीमा स्वदेशी र विदेशी गरि बर्सेनी लाखौं पर्यटक भ्रमण गर्छन्। लुम्बिनी विकास कोषका अनुसार गत आर्थिक वर्षमा लुम्बिनीमा १६ लाख पर्यटक घुमेका थिए। त्यसमा साढे १३ लाख आन्तरिक पर्यटक थिए भने बाँकी विदेशी। 

सामायन्तः विदेशी पर्यटक एक रात लुम्बिनीमा विताउँछन्। धेरैजसो नेपाली केही घन्टा घुमेर फर्कन्छन्। जबकी लुम्बिनी क्षेत्रमा दुई रात बसेर घुमफिर गर्ने पर्याप्त ठाउँ छन्। पर्यटकको बसाई अबधि बढाउन लुम्बिनी होटल संघ, नेपाल क्रियाशील छ। गएको वैशाखमा संघ गठन गरिएको थियो। त्यस अघि स्थानीय व्यवसायी सिद्धार्थ होटल संघमा आबद्ध थिए। 

मिथुनमान श्रेष्ठको अध्यक्षतामा नव गठित संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द ज्ञवाली, उपाध्यक्षमा शेखर कार्की, महासचिवमा लिलामणि शर्मा, कोषाध्यक्षमा भुपेन्द्र गुरुङ, सचिवमा पुरुषोत्तम अर्याल र सदस्यहरूमा घनश्याम गुप्ता, पुष्कर न्यौपाने, कृष्णप्रसाद न्यौपाने, धि®ज गुप्ता, पिन्टु बानियाँ, कि®ण कँडेल, कि®ण चन्द पौडेल छन् । त्यसैगरि सल्लाहकारहरूमा हेम विष्ट, कृष्ण गुरुङ, मनोज पौडेल ® बसन्त बिडा®ी छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७४ होटल छन्। ६४ वटा होटल सञ्चालनमा छन् भने बाँकी निर्माणाधिन अबस्थामा छन्। संघका महासचिव शर्माका अनुसार लुम्बिनीमा एकै रात तीन हजार पर्यटक बास बस्न सक्छन्। होटलमा ९ सय ५० रुपैयाँदेखि ७५ सय सम्मका कोठा पाइन्छ। ‘हामी लुम्बिनी सांस्कृतिक नगरपालिकासँग सहकार्य गरेर पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम सञ्चालन गर्दै छौं’, शर्मा भन्छन्, ‘बुद्धकालीन संस्कृति प्रवद्र्धन गर्नुका साथै तराईका गाउँको घुमफिर र लोकल खाना प्रवद्र्धनमा जोड दिन्छौं।’

प्रकाशित: १८ श्रावण २०७६ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App