१५ चैत्र २०८० बिहीबार
अन्य

सडक भत्केपछि ढाकर युग

उदयपुर– केही दिनअघिको अविरल वर्षाले जताततै पहिरो गएपछि उदयपुरको पहाडी भेगमा साता दिनयता अवरुद्ध यातायात सेवा कम्तीमा ३ महिनासम्म नचल्ने भएको छ। पहिरोले पुराना सडक र नयाँ ट्रयाक भत्काएपछि एउटा गाउँदेखि अर्को गाउँसम्म पुग्न नसक्ने स्थिति सिर्जना भएको छ भने कतै वल्लो घरदेखि पल्लो घरसम्म आउजाउ गर्ने गोरेटोसम्म बाँकी छैन।

भएका गोरेटा र घोडेटा बाटा सडक खन्दा मासिएका र सडक पनि पहिरोले भत्काएपछि अहिले गाउँ ‘न सडक न गोरेटो’ को अवस्थामा पुगेको छ। ‘गाउँमा सडक नहुँदासम्म गोरेटो र घोडेटोबाटै वल्लो गाउँदेखि पल्लो गाउँ र सदरमुकाम आउजाउ गर्ने गरिन्थ्यो’ लिमचुङबुङ–५ का वृद्ध कृष्णबहादुर बुढाथोकीले भने, ‘४/५ वर्षदेखि सडक खन्न थालेको गाउँमा अहिलेको वर्षाले जततततै पहिरो गएर न सडक रह्यो न गोरेटो नै!’

पुरानो बाटो, बाली उब्जिने जमिन र जंगल मासेर खनिएका सडक पहिरोले सबै धुजाधुजा बनाएपछि पैदल हिँड्ने बाटोको नामोनिशान नरहेको बुढाथोकीले बताए। अलिअलि सरकारी रकममा  धेरैजसो गाउँलेले श्रमदान गरेर गाउँगाउँमा सडक पु-याएको खुसीयाली अहिले सबै पीडामा परिणत हुन पुगेको वडा सदस्य तिलकबहादुर कार्कीले बताए। सदस्य कार्कीका अनुसार गत वर्ष र यसवर्षको बजेटले खनेको लिमचुङबुङ–५ को चनौटे–चौलाने–बुईखा–हिम्मा खण्डको २२ किलोमिटर सडक सबै पहिरोमा परिणत भएको छ।

बुइखादेखि टोड्के–जाँते–मीनासिका हुँदै गाउँपालिका केन्द्र बाराहा जाने सडक १ किलोमिटर दूरीमा १५ ठाउँसम्म भत्केर पैदल हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको छ। वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता भुपाल खड्काका अनुसार लिमचुङबुङका सडकहरू कुनै पनि हिँड्न हुने खालका बाँकी छैनन्। ५ वटै वडाका आन्तरिक र गाउँपालिका केन्द्र जोड्न खनिएका पुराना र नयाँ सडक सबै पहिरोमा परिणत भएका छन्। सदरमुकाम गाईघाट आउने बाराहा–माझखर्क–मुर्कुची खण्डको ६५ किलोमिटर दूरीमा दर्जनौं ठाउँ भत्केको छ। त्यस्तै बलम्ता–रसुवा–फोक्सिन्टार–रानीबास–साउने हुँदै गाईघाट आउने अर्को रुटको सडकमा पनि रसुवासम्म २० ठाउँभन्दा बढी भत्केर पहिरो बन्न पुगेको खड्काले बताए।

वर्षाअघिसम्म बोलेरो र मोटरसाइकलबाट आउजाउ गर्ने सडकहरू पहिरोमा परिणत भएपछि अब नयाँ गोरेटो खनेर हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ। गाउँपालिका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकाका सडकहरू सबै भत्केको र तत्काल मर्मत गर्नसक्ने स्थिति नभएकाले पैदल हिँड्नुको विकल्प नभएको बताए। उनका अनुसार सडक मर्मत गर्न जनशक्तिले सम्भव नभएको र स्काभेटर र डोजर लाने बाटो नभएकाले केही महिना सडक बन्ने सम्भावना छैन। ‘गाउँपालिकाका सबै सडकमा पहिरो नै पहिरो छ’ उनले भने ‘तत्काल मर्मत गरेर यातायत सुचारु गर्ने सम्भावना छैन, त्यसैले २÷३ महिना पैदलै हिँड्नुपर्ने बाध्यता छ।’

एक वर्षअघि मात्र सडक सञ्जालमा जोडिएको लिमचुङबुङबाट गाईघाट आउन अढाई दिनको पैदल यात्रा गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए। ‘सडक नहुँदा १२÷१५ घण्टामा गाईघाट आइन्थ्यो’ दुई दिनअघि पैदल हिँडेर गाईघाट आएका अधिकृत राईले भने, ‘सडकमार्फत ४ घण्टामा पुगिन्थ्यो। अहिले सडक भत्केपछि छिटो हिँड्दा पनि अढाई दिन लाग्यो।’ उनका अनुसार सडक खनेपछि पुरानो गोरेटो बाटो मासिएका कारण डेढ दिन लाग्ने दूरी अढाई दिन लाग्न थालेको हो।
    गाउँमा सडक पुगेपछि चामल, नून, तेल, दाल, मसला र लत्ताकपडाजस्ता सबै उपभोग्य सामग्री ट्याक्टरमार्फत पुग्ने गरेको लिमचुङबुङमा सडक अवरुद्ध भएपछि सबैको अभाव हुन थालेको छ। वर्षाअघि बेच्न लगेका सबै सामग्री सकिँदै गएपछि अब खाद्यान्नको चर्को अभाव हुने गाउँका व्यापारीहरू बताउँछन्। स्थानीय व्यापारी प्रेमबहादुर राईले सडक अवरुद्ध भएपछि ट्याक्टर नचल्ने हुँदा पिठ्युँमा बोकेर सामग्री ल्याउनुपर्ने अवस्था आइपरेको बताए।
    ‘१०÷१५ वर्षअघिसम्म हामी बजारदेखि नून चामल ढाकरमा बोकेर ल्याउँथ्यौं’ उनले विगत सम्झे ‘अब फेरि पुरानै जुग आएजस्तो छ। ढाकर नबोकी केही सामान आउनेवाला छैन।’ सडक मर्मत गर्न पनि धेरै समय लाग्ने भएकाले केही महिना अब ढाकर बोक्नुको विकल्प नभएको उनले बताए। ‘ढाकरै बोकी टेकुवा टेकी टक्कै टक्कै टक्कै...’ जेबी टुहरेको गीत गुन्गुनाउँदै ठट्यौली शैलीमा राईले भने, ‘भाइ विकास खोज्दा विनास निम्तियो, गाडीमा हिँड्न सडक खन्दा भएको गोरेटो पनि मासियो। अब फेरि ढाकरकै जुग पो आयो है !’
    लिमचुङबुङसँगै जोडिएको ताप्ली गाउँपालिकाका ठानागाउँ, इनामे, ओख्ले, लेखगाउँ, रुपाटार ५ वटै वडाको हालत पनि उस्तै छ। त्यस्तै अर्को छिमेकी गाउँपालिका रौतामाईको माथिल्लो भेगका वडाहरू लाफागाउँ, नामेटार, भुट्टारमा पनि सडक भत्केर यातायात आउजाउ बन्द भएको छ। रौतामाईको तल्लो भेगको ५ नं. वडा आँपटारवासीलाई भने गाईघाट–साउने–रानीबास–फोक्सिन्टार सडक दुई दिनदेखि सुचारु भएकाले केही राहत मिलेको छ। उता अर्को पहाडी गाउँपालिका उदयपुरगढीका केही विकट वडाबाहेक अन्यमा निर्माणाधीन मदन भण्डारी लोकमार्गले छोएको हुनाले यातायात आउजाउ चलिरहेको छ।
........
उदयपुर लिमचुङबुङ–५ हिम्मामा खनिएको घुम्ती सडक। तस्बिर ः महेश्वर÷नागरिक

प्रकाशित: ९ श्रावण २०७६ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App