९ असार २०७८ बुधबार
अन्य

सफल जीवनका चार अध्याय

एप्पल कम्पनी उत्कृष्ट ब्राण्ड मध्य एक हो। यसमा कुनै संदेह छैन। यस कम्पनीप्रति आकर्षित नहुने सायदै होलान्। विश्वभरका करोडौं उपभोक्ताहरुको लागि यस कम्पनीको हरेक उत्पादनहरू बहुप्रतिक्षित रहन्छन्। चाहे त्यो जति नै महङ्गो किन नहोस्। उनीहरु यस कम्पनीले दिने सेवा र सुविधा प्रति भावनात्मक रुपमा जोडिएका हुन्छन्। यतिमात्र होइन आफ्नो व्यक्तित्व सँग पनि जोडेर हेर्ने गर्छन्। विश्वमा प्रतिस्पर्धीका रुपमा अरु उत्कृष्ट कम्पनी नभएका होइनन्। यद्यपि अधिकांश उपभोक्ताहरु एप्पलप्रति नै निष्ठावान छन्। उनीहरुको पहिलो रोजाइमा यही कम्पनी पर्छ। आखिर किन? अनेकौँ कारणहरू मध्य एउटा प्रमुख कारण हो, प्रोडक्ट डिजाइन।

सन् १९९६ देखि एप्पल कम्पनीको प्रोडक्ट डिजाइनको नेतृत्व डिजाइनर जोनी आइभले गरेका थिए। आइम्याक, म्याकबुक, आइपड, आइफोन, आइप्याड, एप्पल वाच जस्ता सर्वोत्कृष्ट प्रोडक्टहरुको डिजाइनमा जोनीको महत्त्वपूर्ण भूमिका थियो। एप्पल कम्पनीको सफलताको श्रेय जोनीको प्रोडक्ट डिजाइन क्षमतालाई दिइन्छ। सन् २०१९, जुन महिना २७ तारिखका दिन यिनै व्यक्तिले एप्पल छाड्ने निर्णय गरे, जुन अविश्वसनीय र सनसनीपूर्ण थियो। एप्पलको चिफ डिजाइन अफिसर रहेका उनलाई नपुग्दो केही थिएन। नाम थियो, इज्जत थियो, पैसा पनि थियो। यति हुँदाहुँदै पनि उनले २७ वर्षपछि एप्पल छाडेर स्वतन्त्र डिजाइन कम्पनी ‘लभफ्रम’ स्थापना गर्ने निर्णय किन गरे? प्रतिष्ठित एवं सुरक्षित जागिर छाडेर अनिश्चित भविष्यको बाटो किन रोजे? यस निर्णयलाई कसरी बुझ्ने? यसको लागि उनले आफ्नो राजीनामा विषयमा दिएका केही आधिकारिक भनाइमार्फत् अथ्र्याउन सकिन्छ। उनले भनेका छन्, ‘हामीले एप्पल कम्पनीमा लगभग तीस वर्षसँगै बितायौं। अनगिन्ती प्रोजेक्टमा सहकार्य गर्यौँ। यस अवधिमा हामीले संस्थाको डिजाइन टिम, प्रक्रिया र संस्कार निर्माण गर्न जुन स्तरको मेहनत गर्यौँ त्यसको लागि निकै गौरवान्वित अनुभूत गरेको छु। अहिले यस समूह संस्थाको इतिहास भरिकै सशक्त, ऊर्जाशील र क्षमतावान् हुन पुगेको छ। मेरा सहयोगी साथीहरुको नेतृत्वमा यो टिम अगाडि बढ्ने कुरामा ढुक्क छु। मलाई विश्वास छ, एप्पलको डिजाइनर सहकर्मीहरुसँग निकट भविष्यमा काम गर्ने अवसर जुर्ने छ।’ त्यसैगरी उनले आफ्नो राजीनामाको उद्देश्य प्रष्ट पार्ने क्रममा भनेका छन्, ‘वास्तवमा भन्नुपर्दा एप्पल कम्पनीमा जुन प्रोजेक्टमा कयौँ वर्ष काम गरियो अब त्यसमा मैले फरक तरिकाले योगदान दिन चाहन्थेँ।’ यी भनाइहरूबाट विभिन्न निष्कर्ष निकाल्न सकिन्छ। एक, उनले एप्पल कम्पनीमा आबद्ध रहेर जति सफलता हासिल गर्न सक्थे सबै हासिल गरिसकेका थिए। उनी एप्पलको एक लाख बत्तिस हजार कर्मचारी मध्य एक न परे! उनको अनुपस्थितिमा पनि संस्था डिजाइन पाटोमा अग्रस्थानमा रहन सक्ने महसुस गरे। उनी अरु सहकर्मी साथीलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्थे। दुई, उनी स्वतन्त्रता चाहन्थे। २७ वर्ष त एउटै संस्थाको कर्मचारीको रुपमा काम गरेका थिए। उही प्राविधिक उत्पादनको डिजाइनमा काम गरेका थिए। सधैँ उही संस्था, उही सहकर्मी, उही प्रकृतिको कार्य। उनी यस परिस्थितिमा परिवर्तन ल्याउन चाहन्थे। टेक्नोलोजी कम्पनीभन्दा बाहिर पनि आफ्नो प्रभाव जमाउन चाहन्थे। आफ्नो छुट्टै योजनामा काम गर्न चाहन्थे। त्यसैले नयाँ डिजाइन कम्पनी दर्ता गरे। कर्मचारीमा सीमित हुनुपर्ने जीवनको अध्याय अन्त्य गरेर उद्यमशीलताको लागि नयाँ अध्याय सुरुवात गरे। अब उनी टेक्नोलोजी कम्पनीको उत्पादन मात्र डिजाइन गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। अब उनी जे चाहन्छन्, त्यही डिजाइन गर्न स्वतन्त्र छन्। उनको कामको दायरा झन् फराकिलो भएको छ। उनलाई जीवनको अध्याय परिवर्तन गर्न पनि लगभग तीन दशक लाग्यो। उनलाई यस नयाँ अध्यायमा सफलता मिल्ला कि असफलता? त्यसको लागि कुर्नुको विकल्प छैन। अहिलेको लागि जीवनको अध्याय फेर्ने अन्तर्राष्ट्रिय स्तरमा परिचित केही व्यक्तिको चर्चा गरौँ।

डोनाल्ड ट्रम्पः राजनीतिमा प्रवेश गर्नु पहिले उनी एक सफल व्यवसायी र टेलिभिजन व्यक्तित्व थिए। उनले व्यवसायको अध्याय थाँति राखेर राजनैतिक अध्याय सुरुवात गरे। यसै क्रममा सन् २०१५ जुन महिना १६ तारिखका दिन ट्रम टावरमा अमेरिकी राष्ट्रपतिको लागि आफ्नो उम्मेदवारी सार्वजानिक गरे। सन् २०१६ को चुनावमा प्रतिस्पर्धी हिलारी क्लिन्टन र सबै आलोचकलाई आश्चर्यचकित पार्दै अमेरिकाको ४५ औँ राष्ट्रपतिको हैसियतमा निर्वाचित हुन सफल भए।

बिल गेट्सः सन् १९७५ देखि १९९९ को अन्तिमसम्म बिल गेट्सले माइक्रोसफ्ट कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको हैसियतमा नेतृत्व दिए। यो अवधि उनको व्यावसायिक अध्याय थियो। सन् २००० को जनवरी महिनामा प्रमुख कार्यकारी अधिकृत पद त्यागेर अध्यक्षमा सीमित भए। त्यही साल उनले श्रीमतीसँग मिलेर प्राइभेट परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन स्थापना गरे। व्यवसायसँगै परोपकारमा पनि गतिविधि बढाए। परोपकार उनको लागि नयाँ अध्याय थियो। सन् २००६ मा उनले माइक्रोसफ्ट कम्पनीमा पार्ट टाइम र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनमा फूल टाइम काम गर्ने निर्णय गरे। सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्ष पद त्यागेका उनी हाल परोपकारी कार्यमा बढी केन्द्रित छन्। र, व्यवसायमा जस्तै परोपकारका पनि उत्तिकै सफल भएका छन्।

ब्रायन एक्टनः सन् २००९ मा उनले यान कोउम सँग मिलेर ह्वाट्सएप स्थापना गरेका थिए। सन् २०१४ फेब्रुअरी महिनामा फेसबुकले १९ अर्ब डलर खर्चेर ह्वाट्सएप खरिद ग-यो। त्यस सम्झौतामा दुवै संस्थापकलाई सेयर पनि दिइएको थियो। ब्रायनको लागि फेसबुकमा काम गर्नु जीवनको नयाँ अध्याय थियो तर सफल भने हुन सकेनन्। सन् २०१७, सेप्टेम्बर महिनामा उनले ह्वाट्सएप छाडे। यसको मुल कारण थियो ह्वाट्सएप मनिटाइजेसन विषयमा फेसबुकसँग मतमतान्तर हुनु।

डोनाल्ड ट्रम्प, बिल गेट्स र ब्रायन एक्टनजस्ता व्यक्तिहरुको प्रसङ्गबाट एउटै कुरा स्पष्ट हुन्छ, जीवनको नयाँ अध्यायमा संलग्न हुँदा सफल–असफल जे पनि हुन सकिन्छ। यही सिद्धान्त जोनी आइभमा पनि लागु हुन्छ। यो कुरा जोनीमा मात्र किन? जो कोही व्यक्तिमा पनि लागु हुन सक्छ। जीवनमा अनेकौँ अध्याय आउने जाने क्रम निरन्तर चलिरहन्छ। कहिले शिक्षाको त कहिले करिअर, कहिले सम्बन्धको त कहिले परिवार, कहिले व्यवसायको त कहिले परोपकार, कहिले स्वास्थ्यको त कहिले अध्यात्मको अध्याय सुरुवात गर्नुपर्ने हुन्छ। जीवनमा आइपर्ने हरेक अध्याय सफलतापूर्वक जीउन सक्नुपर्छ। यसको लागि हामीले जीवनलाई अध्यायको रुपमा हेरेको छौँ या छैनौँ? जीवनको प्रत्येक अध्यायमा चार चरणहरु हुन्छन् भन्ने बुझेका छौँ या छैनौँ भन्नेमा निर्भर रहन्छ। आइपेक कोचिङ प्रोग्रामअनुसार ती चार चरणहरु हुन्ः लिम्बो, सुरुवात, मध्य र समाप्ति। यी चार चरणहरुका बारेमा संक्षेपमा वर्णन गरौँ।

लिम्बो
जीवनको कुनै अध्याय अन्त्य भएपछि र नयाँ अध्याय सुरुवात हुनु अगाडिको चरणलाई लिम्बो भनिन्छ। यसको अर्थ हो, अनिश्चित स्थिति। यस चरणलाई कम ऊर्जा चरण पनि भनिन्छ। अघिल्लो अध्यायको समाप्तिबाट प्राप्त परिणामको प्रभाव यस चरणमा भोग्नुपर्ने हुन्छ। चाहे त्यो सकारात्मक होस् या नकारात्मक। यो चरणमा हुने व्यक्ति प्रायः पीडित मानसिकताबाट ग्रसित हुन्छ। उसले आफ्नो क्षमतामा विश्वास गर्दैन। एक्लोपन, अल्छिपन, तनाव र डर अनुभूत गर्छ। उनमा कार्य गर्ने कत्ति पनि ऊर्जा हुँदैन। अझ यसो भनौँ इच्छाशक्ति हुँदैन। जसकारण उनलाई कुनै पनि कुरामा सफलता मिलेको हुँदैन। साँचो भन्नुपर्दा उनमा कुनै उद्देश्य हुँदैन। भविष्यका बारेमा ऊ अनभिज्ञ नै रहन्छ। यस चरणमा रहनु निकै चुनौतीपूर्ण छ। त्यसकारण अधिकांश मानिस यस चरणबाट चाँडो भन्दा चाँडो मुक्त हुन चाहन्छ। यद्यपि त्यसको लागि पर्याप्त आन्तरिक कार्य भने गर्दैन। यस चरणको अन्तिमसम्म आइपुग्दा हर कोहीमा कयौँ दृष्टि विकास हुन्छ। विभिन्न अवसरको प्रष्ट चित्र उपलब्ध भए पनि अनिर्णित हुन्छ।
यो चरणबाट अर्को चरणमा प्रवेश गर्नको निम्ति निम्न कार्य गर्न सकिन्छ।

  •  सन्तुलित, तनाव मुक्त र नयाँ उद्देश्य प्राप्त हुनेमा निश्चिन्त रहने
  • त्यही गतिविधिमा संलग्न रहने जसबाट परम आनन्द मिल्छ
  • नयाँ क्षत्रमा काम गर्न तयार रहने जुन विगतमा वेवास्ता गरिएको थियो
  •  कुनै पनि प्रकारको लतमा नफस्ने, विकर्षणमा नपर्ने
  • आफ्नो मूल्य मान्यता पहिल्याउने र त्यही अनुसार लक्ष्य निर्धारण गर्ने
  •  एक्लो हुनुलाई सहजता साथ लिने, एकल यात्रा वा रिट्रिटमा सहभागी हुने
  •  जीवनको नयाँ अध्याय परिकल्पना गर्ने आदि।

सुरुवात चरणः

यस चरणलाई उच्च ऊर्जा चरण पनि भनिन्छ। यस चरणमा नयाँ दिशा मिलेको आभास हुन्छ। यस चरणमा रहने व्यक्ति दूरदर्शी हुन्छ। उसले जीवनमा के गर्न चाहेको हो त्यसमा स्पष्ट रहन्छ। भविष्यको बारेमा आशावादी रहेको हुन्छ। उनमा जुनून हुन्छ। केही गर्ने योजना हुन्छ। नयाँ क्षेत्रमा समय र ऊर्जा लगानी गर्न प्रतिबद्ध पनि हुन्छ। प्रायः व्यक्ति यस चरणमा अत्यधिक काम गर्छ। अतिरिक्त समय काम गर्नु परे पनि कुनै आपत्ति जनाउँदैन। यस चरणमा तालिम, कार्य र नेटवर्किङ गर्नुपर्ने हुन्छ। व्यवहारिक हुनुपर्छ। कतिपय अवस्थामा केही समस्याहरु उत्पन्न हुन सक्छन्। जस्तो असफलताको डर, असुरक्षित, अनिश्चित अनुभूत हुन सक्छ। सहजै हार मान्ने सम्भावना पनि रहन्छ।
यो चरणमा उत्पन्न हुन सक्ने जटिलताहरू समाधान गर्दै अर्को चरणमा फड्को मार्न निम्न कार्य गर्न सकिन्छ।

  •  तालिममा केन्द्रित रहने, गति निर्माण गर्ने
  •  स्थिर उद्देश्य राख्ने, आशावादी रहने
  • हार नमान्ने, पुरानै दिनमा नफर्किने
  •  अपेक्षित अवरोधको लागि तयार रहेने
  • सिक्न इच्छुक र गम्भीर विध्यार्थी रहने
  • उच्चस्तरीय स्रोत व्यक्ति, गुरु पत्ता लगाउने अनि उनीहरुको अनुकरण गर्ने आदि।

मध्य चरणः
यो चरणमा गति निर्माण भइसकेको हुन्छ। अपेक्षित समय भन्दा अगावै सफलता प्राप्त हुन थाल्छ। यतिमात्र होइन अविश्वसनीय परिणाम पनि प्राप्त हुन्छ। यस चरणमा रहने व्यक्ति जीवनको चरम स्तरमा हुन्छ। त्यसैले गर्दा उसको महŒव बढी हुन्छ। सबैले उसँग सहकार्य गर्न चाहन्छन्। यस चरणमा केही समस्याहरु पनि उत्पन्न सक्छन्। जस्तै यस चरणमा रहने व्यक्तिले सधैँ अनुकूल अवस्था रहेने भ्रम पालेको हुन्छ। ती व्यक्ति काममा मात्र व्यस्त हुन्छ। उनलाई आत्मनिरीक्षण गर्ने फुर्सद नै हुँदैन। अहंकारीसमेत हुन्छ।
यस चरणबाट अर्को चरण प्रवेश गर्न निम्न कार्य गर्न सकिन्छ।

  • सफलताको उत्सव मनाउने
  • चरम स्तर क्षणिक हुनेमा शङ्का नगर्ने
  •  जुन काम प्रत्युत्पादक छ त्यही कामलाई निरन्तरता दिने, स्वास्थ्यमा हानी पुग्ने गरी अत्यधिक काम नगर्ने
  • सुरुवात गरेको कामलाई पूर्णता दिने, महारत हासिल गर्ने
  • एकैपटक धेरै सिर्जना गर्नतिर नलाग्ने
  • भौतिक सुख र सुविधाप्रति आशक्ति नराख्ने
  • ठूलठूला अवरोधसँग जुध्न तयार रहने

समाप्तिः
जीवनको हरेक अध्याय एक दिन अन्त्य हुन्छ नै। अध्यायको समाप्ति स्वीकार्न सजिलो हुँदैन। नयाँ अध्यायको खोजी गर्नुपर्ने हुन्छ। प्रायः व्यक्ति आफ्नो जीवनको अध्याय अन्त्य गर्न र नयाँ सुरुवात गर्न चाहँदैन। नयाँ अध्याय सुरुवात गर्नु किन आवश्यक छ? यसलाई यसरी बुझ्ने कोसिस गरौँ। यदि कोही व्यक्तिले एउटै काम दुईतीन दशक गरेको छ भने उसमा उत्साह घट्दै जान्छ। पहिले गरेको काम अर्थहीन लाग्न थाल्छ। ऊ खुसी हुन सक्दैन। सिर्जनशीलता मर्दै जान्छ। उसमा एक खालको खालीपन पैदा हुन्छ। यसर्थ उसलाई केही नयाँ काम गरौँ भन्ने चाहना हुन्छ। अर्थात् नयाँ अध्यायको सुरुवात। यद्यपि उसमा अनिश्चितता छाउँछ। पुनः पीडित मानसिकताको विकास हुन्छ।
नयाँ अध्यायको लिम्बो चरणमा प्रवेश गर्न निम्न कार्य गर्न सकिन्छ।

  •  हरेक कुराको अन्त्य हुनेमा विश्वास राख्ने
  •  विगतमा नभुल्ने
  • उपलब्धि मूल्यांकन गर्ने
  •  केही समय विश्राम लिने
  • नयाँ अध्यायको खोजी गर्नै, त्यसको लागि उत्साहित रहने
  • कुनै पनि योजना नहुनुलाई स्वभाविक ठान्ने
  • कम कार्य, परिणाम र पैसाको अपेक्षा राख्ने
  •  नयाँ अवसरहरू अध्ययन गर्ने

केही महत्त्वपूर्ण मार्गनिर्देशनः
जीवन विभिन्न अध्यायको संग्रह हो। हरेक अध्यायमा चार चरणहरु पार गर्नुपर्ने हुन्छ। प्रत्येक चरणलाई आत्मसात गर्नोस्। एक चरणबाट अर्को चरणमा जान हतार गर्नु वा प्रतिरोध गर्नु जीवन जीउने उचित रणनीति होइन। त्यसले निम्त्याउने भनेको दुर्घटना नै हो।

जीवनमा आवश्यकता अनुसार पुरानो अध्याय बन्द गर्ने हिम्मत गर्नोस्। बाँचुञ्जेल एउटै अध्यायमा रहेर खुसी हुन सकिँदैन। नयाँ अध्याय सुरुवात गर्न ढिलासुस्ती नगर्नोस्। जीवनमा चाहेको अध्यायमा संलग्न हुन सकिन्छ। त्यो नयाँ व्यवसाय निर्माणको अध्याय हुन सक्छ। नयाँ करिअर, लाइफस्टाइल वा सम्बन्ध निर्माणको अध्याय पनि हुन सक्छ। प्रत्येक अध्यायको लिम्बो र समाप्ति चरण बारेमा स्पष्ट रहनुहोस्।

जीवनमा उपलब्धि मात्र प्राप्त हुन्छ भन्ने सोच राख्नु अज्ञानता हो। अनेकौँ उतारचढाव आउँछन्। निष्क्रिय हुँदा पनि आन्तरिक विकास हुन्छ भन्ने मान्यता राख्नोस्। एउटा उदाहरण लिउँ, चाइनिज बाँस। यो बाँस जमिनमा रोपेको पाँचदेखि दश वर्षसम्म पनि टुसा पलाउँदैन। जतिसुकै पानी हाले पनि, गोडमेल गरे पनि त्यसले कुनै उचाइ लिँदैन। बाँसले रुट सिस्टम विकास गर्न त्यति समय लगानी गर्छ।

जब पाँचदेखि दश वर्ष पार गर्छ, प्रत्येक दुई दिनको अन्तरालमा बाँसको उचाइ एक फिटको दरले बढ्छ। त्यसैले निष्क्रिय चरणमा पनि आत्मविश्वासी हुनुहोस्। तपाईंको बाहिरी सफलता नदेखिए पनि आन्तरिक विकास भइरहेको हुन्छ। धैर्य गर्नोस्।

अन्त्यमा, तपाईं जीवनको कुन अध्यायमा हुनुहुन्छ? र, त्यस अध्यायको कुन चरणमा? लिम्बो कि सुरुवात? मध्य कि समाप्ति? त्यस विषयमा जानकार हुनुहोस्। तपाईंलाई आफ्नो जीवनको अध्याय र त्यसको चरणबारे बेखबर हुने छूट छैन। जीवन पुनर्लेखन गर्न सकिँदैन तर पुनर्विचार गरेर नयाँ अध्याय सुरुवात गर्न भने सकिन्छ। तपाईंको विचार के छ?

प्रकाशित: ७ श्रावण २०७६ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App