८ वैशाख २०८१ शनिबार
अन्य

छिम्केश्वरीकोे काखमा हिलेखर्क

गण्डकी प्रदेशबाट घुमफिरमा निस्कनेहरू आँबु खैरेनी हुँदै विभिन्न जिल्लामा पुग्छन्। तनहुँमा पृथ्वी राजमार्गको ७२ किलोमिटर दुरी यात्रा गर्नुपर्छ। यहाँ प्राकृतिक, ऐतिहासिक धार्मिक तथा आध्यात्मिक दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँ छन्। तर, राजमार्गमा हुइँकिनेहरूले छेउछाउका गन्तव्य बिर्सिएर पोखरा, मुस्ताङ, गोर्खालाई नै बढी ताकेका हुन्छन्।

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडा र काखैमा कुहिरोसँग मडारिने वस्ती हिलेखर्कमा पर्यटकका नजर परेका छैनन्। यसपालि असार तेस्रो साता छिम्केश्वरीसम्म पुग्ने अवसर मिल्यो।

किसानलाई रोपाईँको चटारो थियो। मलाई भने छिम्केश्वरी चुचुरोमा पुगेर गगन चुम्ने हतारो। छिम्केश्वरी अर्थात् तनहुँको अग्लो चचुरो। कक्षा चारमा पढ्ने बेला विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा धेरै सोधिने प्रश्न हुन्थ्यो, ‘तनहुँको सबैभन्दा अग्लो स्थान कुन हो ?’ जवाफ दिन्थें ‘छिम्केश्वरी।’ त्यतिबेला बाल मस्तिष्कले यस्तो सोचिन्थो कि ‘तनहुँकै अग्लो चुचुरोमा पुगियो भने त आकाशलाई पनि छुन सकिन्छ होला ! जिन्दगीका तेइसौँ वसन्तमा यात्रा गर्दा बल्ल जु¥यो छिम्केश्वरीबाट आकाश छुने अवसर।

दमौलीको गर्मी छल्न, छिम्केश्वरी दर्शन गर्न र हिलेखर्कको संस्कृतिमा रमाउन डुम्रेबाट उकालो लाग्ने कि !

पहाडकी रानी उपमाले चिनिएको बन्दीपुरबाट छिम्केश्वरी र हिलेखर्क दुरीका हिसाबले टाढा छैनन्। बन्दीपुरबाट नजिकको गन्तव्य पुग्न एक रात दुई दिनको भ्रमण प्याकेज बनायौँ भने पुगिन्छ छिम्केश्वरी। अनि बल्ल नियाल्न सकिन्छ दन्तेलहर फिँजाएर मुस्कुराउने हिमश्रृखंला, हरियाली सुन्दर पहाडका टाकुरा, गाउँबेसी, भञ्ज्याङ चौतारी र देउरालीलाई। शीतल हिलेखर्कमा गाउँलेले दिने न्यानो आत्मीयतालाई जिन्दगीभर सम्झिरहन्छौँँ।

यात्राको पहिलो दिन डुम्रेबाट बन्दीपुर घुम्दै हिलेखर्क पुग्न सकिन्छ। दोस्रो दिन हिलेखर्कबाट हिँडेर छिम्केश्वरी र बुढीदेवी माई दर्शन गरी लाब्दी हुदै आँबु खैरेनी बजार झर्न सकिन्छ।

हिलेखर्क गाउँ
तनहुँको आब ुखैरेनी गाउँपालिका–६ मा पर्छ हिलेखर्क (१,५००मिटर)। चारैतिर पहाडले घेरिएको गाउँ। हिलेखर्कमा ५६ घरधुरी। प्रायः सबै एकै स्वरुपका। ढुंगाले छाएका। केही घरमा आधुनिकताले प्रवेश गर्दै गरेको छरपस्ट देखिन्छ, भित्तामा पोतिएको सिमेन्ट र बालुवाको मिश्रणले। अनि धुरीमा रंगीन जस्ता पाता।

गाउँमा गुरुङ समुदायको बाहुल्य छ। केही घर दलितका छन्। अधिकांश घर बुढापाकाले धानेका छन्। ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ यो उक्ति गाउँमा मेल खान्छ। रोजगार खोज्दै विदेसिनु बाध्यता हो। यहाँ त छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने बाहनामा सुन्दर शान्त गाउँ छाडेर शहर झरेको समेत पाइयो।
पर्यटक पर्खिबसेको छ हिलेखर्क। ग्रामीण पर्यटनका माध्यमबाट गाउँको मुहार फेर्न उत्साहित छन् गाउँले। होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङ र सल्लाहकार चन्द्रप्रकाश गुरुङ गाउँलेलाई हौस्याइरहेका छन्। सांस्कृतिक एवंम् जैविक विविधताले पर्यटकीय हिल स्टेसनको परिचय बनाउँदै छ हिलेखर्क।

गाउँका होमस्टेमा असली स्वाद पाइन्छ। हिलेखर्क सामुदायिक होमस्टेको भान्छामा स्थानीय उत्पादन पाक्छ। कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, मकै, गुन्द्रुकको अचार, निगुरो, फर्सीको मुन्टाको तरकारी, लोकल कुखराको मासु, लोकल मदिराको स्वाद मिठो हुन्छ। स्वादमा मात्र कहाँ हो र ? यहाँ त संस्कार संस्कृतिमा पनि मौलिकता पाइन्छ। कौरा र चुट्कामा कम्मर मर्काउँदै पर्यटकलाई नचाउँछन् गुरुङसेनीहरू।

होमस्टेको अर्को विशेषता खरले छाएका परम्परागत शैलीका घुमाउने घर। गाउँमा सय वर्ष पुराना दुइटा घुमाउने घर छन्। होमस्टेले पर्यटनको ढोका खोलेको भए पनि राम्रो प्रचार भैसकेको छैन। बेलाबखत पुग्ने पर्यटकलाई प्राकृतिक सुन्दरताले स्वागत गर्छ। कला, संस्कृति र परम्पराले पनि स्वागत गर्न पछाडि पर्दैनन् हिलेखर्कवासी।
शहरमा हप्हपाउँदो गर्मी हुँदा यहाँ सुसेली हाल्दै बहेली खेल्ने चिसो हावाको झोक्काले मुटुमै स्पर्श गर्छ। गर्मी छल्न मात्रै नभएर शहरको प्रदुषणबाट मुक्त हुन पनि छिम्केश्वरी उपयोगी छ। गाउँमा स्कुल, स्वास्थ्यचौकी नजिक नै छ। मोटरबाटो पुगको छ। जिप चढेर बन्दीपुर, आँबु खैरेनी आउजाउ गर्नलाई टाढा छैन्। तर सञ्चार सुविधाले वञ्चित छन्। मोबाइल फोनको टावर खोज्दै हिँड्नु पर्छ। बन्दीपुरबाट चार घन्टा पैदल यात्रा र एक घन्टा जिप यात्रामा हिलेखर्क पुगिन्छ।

छिम्केश्वरी
छिम्केश्वरी तनहुँकै अग्लो चुचुरो। धार्मिक तथा सांस्कृतिक पदयात्राका लागि परिचित डाँडो। महाभारतका पहाडमध्ये एक छिम्केश्वरी(२,१३४ मिटर) बाट धौलागिरिदेखि लाङटाङसम्मको हिमश्रृंखला, सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ। हिमाल, पहाड र तराईको सुन्दरतालाई छिम्केश्वरीको चुचुरोमा बसेर दाँज्न सकिन्छ।  
डाँडामा छिम्केश्वरीमाई र बुढीदेवी माईका मन्दिर छन्। पुरानो ढुंगाले छाएर बनाइएको  छिम्केश्वरी मन्दिर भत्काएर पुर्ननिर्माण गरिँदै छ। देवीका सात बहिनीमध्ये जेठी बुढीदेवी र माइली छिम्केश्वरी हुन्। साहिँली गोरखाकालिका, काइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्णा र कान्छी अकलामाई छिम्केश्वरीबाटै नियाल्न सकिन्छ। छिम्केश्वरीमाई दर्शनले मनोकांक्षा  पूरा हुन्छ।

कसरी पुग्ने ः पृथ्वी राजमार्गको आँबु खैरेनी र डुम्रेबाट छिम्केश्वरी पुग्न सकिन्छ। दुइटा रुट भए पनि डुम्रेबाट बन्दीपुर हुँदै हिलेखर्क होमस्टेमा बास बसेर छिम्केश्वरी पुग्ने उत्तम रुट हुन्छ। हिलेखर्कबाट तीन घन्टा हिँडे छिम्केश्वरी पुगिन्छ। आँबु खैरेनीबाट लाब्दी हुँदै छिम्केश्वरी ६ घन्टाको पैदल यात्रामा पुगिन्छ। एक घन्टाको जिप यात्रापछि लाब्दीबाट दुई घन्टा उकालो चढे छिम्केश्वरी पुगिन्छ।  

प्रकाशित: ४ श्रावण २०७६ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App