२९ असार २०७७ सोमबार
अन्य

रमलाको गुडिया

लक्ष्मी उप्रेती
रमला छ वर्षकी भइन्। उनलाई गुडियासँग खेल्न मनपर्छ। उनले अनेका खालका गुडियाहरू उपहार पाएकी छिन्। यस वर्षको जन्मदिनमा पनि उनले थुप्रै गुडियाहरू उपहार पाइन्। बुबाले पनि उनीभन्दा ठूलो गुडिया ल्याइदिनु भयो। उनी ठूलो गुडिया पाएपछि मक्ख परिन्।

एक कक्षामा पढ्ने रमला ज्ञानी छिन्। पढ्ने होमवर्क गुडियासँग खेल्दै भए पनि याद गर्छिन्। लेख्ने होमवर्क गर्न भने अल्छी गर्छिन्। स्कुलमा पनि लेख्नु पर्दा उनलाई गाह्रो हुन्छ। साथीहरूले लेखिसक्दा उनले कहिले सक्दिनन्। गुरुले लेख्न निकै कोसिस गराउनु हुन्छ। घरमा लेख्ने अभ्यास नभएकी रमला छिटो लेख्नै सक्दिन्न। उनी सधैं साथीहरूभन्दा ढिलो हुन्छिन्। उनकोे नराम्रो बानी भनेको यही हो। यसबाहेक अरू सबै उनका बानी राम्रा छन्।      

एक दिन गुरुले स्कुलमा आमालाई बोलाउनु भयो र भन्नुभयो ‘रमला पढेका कुरा राम्ररी याद गर्छिन्। होमवर्क पनि पढ्न दिएको सुनाउँछिन्। लेख्ने होमवर्कचाहिँ कहिले पूरा गरेर ल्याउँदिनन्। स्कुलमा पनि लेख्न मन गर्दिनन्। घरमा यिनलाई फकाएर लेख्ने बानी लगाउनु होला।’

गुरुको कुरा सुनेर आमालाई चिन्ता लाग्यो। छोरीको लेख्ने बानी कसरी गराउने भनेर सोचिन्। उनले छोरीको पढाइमा निकै ध्यान दिन थालिन्। स्कुलबाट आएपछि किताबकापी हेर्न थालिन्। नभन्दै गुरुले भने जस्तो लेख्ने होमवर्क त कुनै पूरा गरेकी छैन। किताबका पाठ जे सोधे पनि उनलाई आउँथ्यो। उनको लेखाइ देखेर आमा छक्क पर्नुभयो। उनलाई रिसरिस पनि उठ्यो। गाली गरेर बालकको बानी सुिधँ्रदैन भन्ने उनलाई लाग्यो। अनि फकाएर लेखाउन कोसिस गराइन्। गुडियासँग गुनगुन पढ्ने रमलालाई लेख्न मनै लागेन।

स्कुल विदाको दिन थियो। रमलाको पढ्नेसँगै लेख्ने होमवर्क पनि थिए। उनले पढ्ने होमवर्क याद गर्दै थिइन्। त्यसबेला ‘छोरी अब पढ्ने मात्र होइन, एकछिन लेख्ने होमवर्क पनि गर न।’ आमाले भन्नुभयो।
       ‘म त अहिले पढ्छु र पछि मात्रै लेख्छु।’ रमलाले कुरा टार्न खोजिन्।
‘पछि पढ्नु नि छोरी। पहिले लेख्छिन् मेरी ज्ञानी छोरीले’ आमाले फकाइन्।
       ‘नाइँनाइँ, म लेख्दिनँ।  मलाई लेख्न मन लाग्दैन।’रमलाले जिद्धी गरिन्।
       ‘तिमीलाई लेख्नचाहिँ किन मन लागेन भन त ?’ आमाले कुरा जान्न फकाउँदै सोध्नुभयो।
       ‘पढ्दा मेरो गुडियाले सुन्छ। लेख्दा त सुन्दैन नि।’ बालसुुलभ मनका कुरा रमलाले भनिन्।
       ‘हेर, तिमीले लेखिनौ भने तिम्रा सबै गुडिया लाने रे।’ छोरीलाई डर देखाइन्।
      ‘कसले लान्छ मेरो गुडिया ? बाबा आएपछि भन्दिन्छु।’ बुबाको आड लिदैँ रमलाले आमाको कुरालाई मतलब राखिनन्।
‘तिमीले लेखिनौ भने एउटी बुढीले लान्छु भनेकी छे। लेख्ने होमवर्क ग¥यौ भने सबै जनाले बुढीलाई भगाउँछौं।’ आमाले गुडिया अघि सरेर रमलालाई लेखाउन खोज्नुभयो।
       रमलाले आमाको कुरा पत्याइनन्। अनि आमालाई नटेरी गुडिया लिएर ओछयानमा चढिन्। पढेर कण्ठ भएको पाठ गुडियालाई सुनाउन थालिन्। आमा दिक्क भएर ‘अब म त बु ढीलाई बोलाइदिन्छु’ भन्दै बाहिर निस्कनु भयो।
      रमला पढिरहेकी थिइन्। साँच्चिकै एउटी डरलाग्दी बुढी रमलाको छेउमा आई। अनि ‘ ए केटी, यो गुडिया म लैजान्छु। ’ गुडिया समाउन खोजी।

‘नाइँ, मेरो गुडिया दिन्न।’ गुडिया आफूसँग टाँसिन रमलाले।
      ‘ए नदिने रे। ल म त लान्छुलान्छु बुझिस्।’ रमलाको हातमा भएको गुडिया बुढीले च्याप्प समाई।

‘ऐया मलाई दुख्यो। मलाई बचाऊ’ भनेर गुडिया रोयो। गुडियासँग रमला पनि रोइन्।  त्यसबेला रमलाले छातीमा टाँसेको गुडिया बुढीले फुत्त खोसेर भागी।
       रमलाले ‘मेरो गुडिया’ भनेर चिच्याइन्। छेउमा ढल्किरहेकी आमाले सपनामा चिच्याएर उठेकी छोरीलाई पुलुक्क हेरिन्।
      त्यसबेला आफ्नै हातमा गुडिया देखेर रमला रुन छाडेर हाँसिन्। अनि उठेर गुडिया सुमसुम्याउँदै ‘अबदेखि म पढ्ने मात्र होइन, लेख्ने होमवर्क पनि गर्छु मामु। गुडिया लाने बुढीलाई आउन नदिनुस् है’ भनेर लेख्न ठिक परिन्।  त्यसपछि रमिला लेख्न पनि मन गर्छिन। उनको पढाइ झन् राम्रो भएको छ। उनको बानी सुध्रिएकोमा सबै खुसी भएका छन्।

 

प्रकाशित: २८ असार २०७६ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App