३० असार २०७७ मंगलबार
अन्य

बालबालिकाको रुचि र मनोविज्ञानको सम्मान

गीतकार भूपाल राईको ‘किताबको पाना हेर’ शीर्षक गीत कक्षा ४ को नेपाली पाठ्यक्रममा समावेश छ। उनले भनेका छन् कि किताबका पानाहरू ज्ञानका हिसाबले बच्चाहरूभन्दा पनि ठूला हुन्छन्। हामी आँैलाभन्दा साना कलमका टुप्पाले ज्ञानी कुरा लेख्छौं। वीरताका कुरा लेख्छौं। गौरवका गाना लेख्छौं भनेर राईले बालकहरूलाई देशसँग सकारात्मक रूपमा जोड्न यो गीत लेखेका हुन्।

संसारको सबभन्दा उच्च स्थान हिमाल जसको काखमा नेपाल छ। हामी जति बढ्छौं उति देशप्रतिको माया बढ्दै जान्छ भन्ने भाव उनको गीतमा छ। यहाँ जति जातजाति छन्, जति भाषाभाषी छन् ती सबै मिलेर देश बनाउनु पर्छ। एउटा मात्र भाषा र एउटै मात्र जातिले देश बन्दैन भन्ने गीतको सन्देश छ।  

जन्मथलो भोजपुरमा कक्षा – ८ पढ्दैताका उनी कविता लेख्न थालिसकेका थिए। मनका भावना पोख्ने क्रममा कवि बने उनी। चालीसको दशकदेखि भने गीत लेखनमा चम्किए। समाजमा आफूले भोगेका विभेदहरू चिर्न उनले कविता लेखेका थिए। ‘जसका लागि कविता लेखें, लक्षित वर्गसम्म मेरा कविता पुगेनन्’, उनी भन्छन्, ‘गीत सरल र संगीतबद्ध भएपछि त्यो धेरै मान्छेमा एकै पटक पुग्ने देखेर मैले गीत लेखनमा हात हालेको हुँ।’ नेपालमा विभिन्न खालका आदिवासी जनजाति छन् । एक सय पच्चीसभन्दा बढी जाति छन् । तेइसभन्दा बढी त भाषा छन् । यही विविधताभित्रको सौन्दर्यबोध हरेक बालबालिकाले गर्न सके भने मुलुक बन्छ ।

नेपालमा विभिन्न खालका आदिवासी जनजाति छन् । एक सय पच्चीसभन्दा बढी जाति छन् । तेइसभन्दा बढी त भाषा छन् । यही विविधताभित्रको सौन्दर्यबोध हरेक बालबालिकाले गर्न सके भने मुलुक बन्छ ।

उनी भोजपुरको वास्तिममा जन्मेका। उनको गाउँमा हाइस्कुल थिएन। त्यसैले गाउँबाट ८ घन्टा दुरीमा याकु भन्ने मावली गाउँमा बसेर पढ्न थाले उनी। त्यहीँको विश्वप्रेमी हाइस्कुलबाट ०३४ सालमा एसएलसी दिए। उनको विद्यालयमा खासै साहित्यिक कार्यक्रम हुँदैनथ्यो। कहिलेकाहीँ हुने भलिबल खेलमा उनी सहभागी हुन्थे।

उनले कक्षा ८ देखि १० सम्म पढ्दा साहित्यिक किताब पढ्ने मौका पाए। काठमाडौंमा ‘छहरा’ साप्ताहिकका सम्पादक रहेका उनका दाजु गोपाल छाङछाले गाउँ आउँदा साहित्यिक पुस्तक ल्याइदिएका थिए। ‘ती पुस्तक पढ्दा निकै विशाल संसार भेटाएँ जस्तो लाग्यो। मलाई त्यस पुस्तकले साहित्य लेखनमा प्रारम्भिक ज्ञान र ऊर्जा दियो’, उनले सुनाए, ‘एसएलसीमा पुगेपछि गद्य र पद्य संग्रह पढ्नु पथ्र्यो। ती रचनाले मलाई थप ऊर्जा दियो।’    

०३३ सालमा एसएलसी दिएको वर्ष दिनपछि उनी काठमाडौं आए। आमाबाबुलाई गाउँमै छाडेर आएका थिए उनी। काठमाडौंबाट ‘म सन्चै छु आमा’ भनेर लेखेको पत्र दुई महिनापछि गाउँमा पुग्थ्यो। ‘आमाले दुई महिनापछि चिठी खोल्दा म दुई महिनासम्म सन्चै हुन्थें’, सूचना प्रविधिको युगमा उनी पुराना दिन सम्झन्छन्, ‘त्यतिबेलाका मान्छेहरू अत्यन्तै सिजर्नशील हुन्थे। सूचना प्रवाह कम हुन्थ्यो र मान्छेले कल्पना गर्न सुरु गर्थे।’

सूचना प्रवाहको अभावमा मान्छेमा कल्पनाशीलता प्रचुर थियो। सिर्जना प्रचुर थियो। कल्पनाशीलता मर्दै गएकामा उनी चिन्तित छन्, ‘अहिलेका बच्चा कम सोच्छन्, कम कल्पना गर्छन् र कम सिर्जना गर्छन्।’ आजका बालबालिकाले कम्प्युटर र मोबाइल फोनमा भन्दा पुस्तक अध्ययनमा जोड दिनु पर्छ भन्ने उनलाई लाग्छ। ‘पुस्तकमा अक्षरहरू भेटिन्छ। अक्षर, शब्द र वाक्यहरूको गठन भेटिन्छ। पुस्तकहरूसित खेल्ने बानी भयो भने  बढी सिर्जनशील भइन्छ’, उनी भन्छन्, ‘त्यस्तै सांस्कृतिक कार्यक्रम मोबाइल फोनमा हेर्नुभन्दा कार्यक्रमस्थलमा पुग्दा धेरै ज्ञान बटुलिन्छ।’ हो, सूचना र प्रविधिले अहिलेका बच्चा सामाजिक अन्तरक्रियाबाट टाढिँदै गएका छन्। बच्चाहरू इन्टरनेट, कम्प्युटर र मोबाइलको कारणले असामाजिक बन्दै गएका छन्। बसमा सँगै हिँड्दा पनि सँगैका साथी कहिल्यै बोल्दैनन्। सबै आआफ्नै मोबाइलमा व्यस्त हुन्छन्। समाजसँग घुलमिल हुने, बाहिर निस्केर नजानेका कुरा ठूलाहरूलाई सोध्ने, सानाहरूसित खेल्ने र अन्तरक्रिया गर्ने गर्नुपर्छ।

भूपाल बालबालिकाका विषयमा लेख्नेहरूलाई देशको वस्तुस्थिति बुझेर लेख्न आग्रह गर्छन्। विद्यालयमा राजामहाराजा जस्ता ठूलाहरूको इतिहास पढाउनुको कुनै तुक छैन। इतिहास निर्माता त जनता हो। यहाँ बालकअनुकूलको इतिहास छैन। नेपालमा स्तुतिगान मात्रै छ। पूर्वमेचीदेखि पश्चिम महाकाली भन्यो, संसारको सर्वोच्च शिखर सगरमाथा भन्यो। बच्चाहरूलाई लालीगुराँसको गीत लेखिदियो, गाइदियो र गाउन लगायो। बच्चाहरूले त त्यही मात्रै घोक्छ। खास नेपालको चित्र के हो त ? नेपालमा विभिन्न खालका आदिवासी जनजाति छन्। एक सय पच्चीसभन्दा बढी जाति छन्। तेइसभन्दा बढी त भाषा छन्। यही विविधताभित्रको सौन्दर्यबोध हरेक बालबालिकाले गर्न सके भने मुलुक बन्छ। समाजबाट ज्ञान प्राप्त हुन्छ।

हरेक बालबालिकालाई प्रतिभा तिखार्ने अवसर दिनु पर्छ। मान्छेलाई कहीँ न कहीँ वातावरण मिलाइदिने व्यक्तिको खाँचो हुन्छ। उनी यहाँसम्म आइपुग्नुमा आफ्नो दाजुलाई श्रेय दिन्छन्। उनका दाजु नाटक लेखेर गाउँमा प्रदर्शन गरेर कुलो खन्थे। बाटो खन्थे। दाजुबाट प्रभावित बने उनी। दाजुकै कारण काठमाडौं आए उनी। संघर्ष गरे र स्थापित पनि भए। काठमाडौं आएपछि उनकै दाजुको पत्रिका छहरामा ‘आमाको सम्झनामा’ भन्ने उनको कविता छापियो। उनको व्यक्तित्व बनाउन जगको काम दाजुले गरिदिए।

समयसँगै उनी गीतकारका रूपमा स्थापित भए। थुप्रै सम्मान र पुरस्कार पाएका छन्। उनका धेरै गीत रेडियोमा बज्छन्। उनले विसं ०४५ सालमा विहे गरे। जीवन धान्न विभिन्न संघसंस्थामा काम गरे। अचेल भक्तपुरको पुरानो ठिमीमा बस्छन्। गीत लेखन यात्रा जारी छ। बच्चाका लागि लेख्न बाल मनोविज्ञान बुझ्नु पर्छ। उनले केही बालकविता लेखेका छन्। तर धेरैजसो लेखन अन्याय, अत्याचार,उत्पीडन र विभेदविरुद्ध हुन्छ। देशका लागि खट्ने आन्दोलनसित जोडिएको एउटा कवि भनेरै उनको परिचय बनेको छ।

हाम्रो शिक्षा नीति अवैज्ञानिक भएका कारण मुलुक बन्न सकेन। शिक्षामा अरबौं रुपैयाँ खर्च छ। तर, देशलाई चाहिने जनशक्ति उत्पादन हुँदैन। एसइई गर्नेबित्तिकै कसरी विदेश जाने भन्ने चिन्ता गर्छ विद्यार्थी। ऊ भोलि स्वदेश फर्केर आयो भने पनि विदेशको पढाइको यहाँ के काम ? देशले खोजेको जस्ता विद्यार्थी उत्पादन हुनु पर्छ। जस्तो कृषि उत्पादनलाई व्यापक बढाउनु प¥यो भनिन्छ तर कृषकै जन्माइँदैन। यो देशमा आधुनिक कृषक जन्माइएको छैन। ‘अब त हाम्रो बालबालिकाहरूलाई कसरी उत्पादन गर्ने, हाम्रो देशको हावापानी के हो ? यसको माटो के हो ? कस्तो माटोमा मार्सी धान उत्पादन गर्ने जस्ता कुराहरू सोच्नु पर्छ। वैज्ञानिक पद्धतिअनुसार ‘क्याडर’हरू उत्पादन गर्नुपर्छ’, उनी सुझाउँछन्, ‘देशका नेताहरूले कुरा बुझेकै छैन। उनीहरू भोट माग्ने ठग मात्रै हुन्।’

काठमाडौं खाल्डोमा बसेको बर्सौं भैसक्यो। उनी बाल्यकाल बिताएका ठाउँहरू सम्झिरहन्छन्। स्कुले जीवनमा हरेक शनिबार उनी मावली गाउँका केउरनी खोला र हङरायो खोलामा पौडी खेल्न जान्थे। अचेल पनि गाउँ जाँदा माछा मार्न खोलामा झर्छन्। नमारे पनि खोलामा झर्नुको एउटा बहाना हुन्छ। केउरेनी खोलाको तिलहरी दह र हङरायो खोलाको साप्ताङ दह सम्झिरहन्छन् उनी। जुन दहले उनलाई पौडी खेल्न सिकाए।

गर्मी मौसमका शनिबार ती दह सम्झिने गर्छन् भूपाल। काठमाडौं आएपछि उनले त्यति पौडी खेलेनन्। गाउँमा जस्तो काठमाडौंको ‘स्विमिङ पुल’मा प्रकृतिसित अन्तरक्रिया गर्न पाइँदैन। पौडी खेल्नु भनेको प्रकृतिसित सम्वाद गर्नु हो भन्छन् भूपाल। त्यसरी प्रकृतिसित सम्वाद गर्दैगर्दै हुर्किएका मान्छे हुन् उनी।

हरेक अभिभावकलाई आफ्ना सन्तानले नाम र दाम कमाऊन् भन्ने चाहना हुन्छ। त्यसैले बालबालिकालाई एकोहोरो पढ्पढ् भन्ने अभिभावक पनि छन्। हामीले त्यस्तो गर्नु हुँदैन। ज्ञानका स्रोत भनेका किताब मात्र होइन, बच्चाको ज्ञानको स्रोत घरबाहिर गल्लीमा पनि हुन्छ, घरभन्दा बाहिर चउरमा पनि हुन्छ र घरभन्दा बाहिर सडकका मान्छेहरूसित पनि हुन्छ। त्यहाँ खेलेर उसले सिक्छ।

बच्चाहरूलाई देशअनुसारको ज्ञान दिनु पर्छ। देशलाई चिन्ने नागरिक बनाउनु पर्छ। कसरी दश कक्षा पढाउने  र अस्टे«लिया – अमेरिका पठाउने भन्ने सोच छ अनि हामीले त्यस्ता नागरिकबाट के आशा गर्ने ? बच्चाहरूलाई यहाँको माटो चिनाउनु पर्छ। यहाँको हावापानी चिनाउनु पर्छ र यहाँका जातजाति चिनाउनु पर्छ। जाति भनेको मान्छे हो।

‘यहाँका बच्चाहरूले  वल्लो घरदेखि पल्लो घरको मान्छे चिनका हुँदैनन्। पल्लो घरमा अर्कै जाति हुन्छन्, उनीहरू अर्कै आस्था, समुदाय र संस्कृतिबाट आएका हुन्छन्। त्यो संस्कृतिसित अट्याच गराउनुस्’, अभिभावकहरूसँग उनको आग्रह छ, ‘अहिले बच्चाहरूले नेपालको समाजै चिनेकै छैनन्। कम्तीमा हरेक बच्चाहरूले समाज चिनोस् भनेर पाठयक्रम लेखिनु पर्छ।’ बालबच्चाले अर्कै खोज गरेको हुन्छ। उनीहरूको अर्कै रुचि हुन्छ तर अभिभावकले जबर्जस्ती आफ्नै कुरा लादिदिन्छन्। त्यसैले हामीले बच्चाहरूको रुचि र मनोविज्ञान बुझेर पाइला चाल्नु पर्नेमा भूपाल राई जोड दिन्छन्।

भूपालका कृतिहरू
भूपाल राईका कृतिहरूमा सुम्निमाको तस्बिर (कविता संग्रह,२०५३), दाजै ! कविता गाउँमै छ (कविता संग्रह,२०५७), पैलो हरफ शिरबन्दी (गीत संग्रह,२०५९), किराती सौन्दर्यशास्त्रको अवधारणा (सामुहिक लेखन,२०६७), सीमान्त सौन्दर्य (कविता संग्रह,२०६७) र भूमिगत प्रश्नहरू (लेखहरूको संग्रह, २०६९) प्रकाशित छन्। उनका अडियो क्यासेटहरूमा बिम्ब (संकलित आधुनिक गीतहरू), मारुनै (लोक–आधुनिक गीतहरू), नौलखा (सांस्कृतिक गीतहरू) र मट्टीको कसम (सांस्कृतिक गीतहरू) हुन्।

प्रकाशित: २८ असार २०७६ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App