१५ चैत्र २०८० बिहीबार
अन्य

हेयर कलरको फेसन

ज्योति श्रेष्ठ
अचेल कपालमा थरिथरिका रंग लगाउने फेसन बनेको छ। कपालमा रातो, निलो, हरियो, पहेलोँ जस्ता रंग लगाउनेहरू पनि प्रशस्तै भेटिन्छन्। कपाल हाइलाइट गर्नु पनि फेसनको रूपमा विकास भइसकेको छ। यस्ता हाइलाइट र रंग विशेष गरेर टिनएजर्सले नै बढी प्रयोग गर्छन्। उनीहरू फेसनमा बढी रुचि राख्छन्। बजारमा देखिएका नयाँ खालका हेयर कलर लगाउने उनीहरूमा सोख हुन्छ। कसैले यसलाई फेसनको रूपमा लिइरहँदा कसैले बाध्यताले हेयर कलर गरिरहेका छन्। यो पनि फेस मेकअप, हेयर डिजाइन, ड्रेस अप फेसन अनुसार चेन्ज भइरहन्छन्।

बजारमा भित्रिएका नयाँ हेयर कलर  
विगतलाई हेर्दा अहिले हेयर कलरप्रति मानिसको सोचाइमा परिवर्तन भएको देखिन्छ। केही समयअघिसम्म हेयर कलर महिलाले नै बढि प्रयोग गर्थे। त्यसकारण पनि हेयर कलर भन्नेबित्तिकै महिला कल्पनामा आउँथे। त्यो बेला विशेष गरेर हर्बल मेहेन्दी मात्र प्रयोगमा आउँथ्यो। तर, अहिले हेयर कलर फेसन बनेको छ। युवायुवतीदेखि वृद्धवृद्धाको समेत यसमा आकर्षण बढेको छ। टिनएर्जसका लागि हेयर कलर गर्नु फेसन भएको छ भने कलाकारिता क्षेत्रमा कार्यरत चलचित्रकर्मी र नाट्यकर्मीलाई भने हेयर कलर गर्नु बाध्यता भएको छ। अचेल वृद्धवृद्धाहरूले पनि हेयर कलर गर्ने गर्छन्। उनीहरूले भने यसलाई फेसनको रूपमा लिएका छैनन्। फुलेको सेतो कपाललाई रंग्याउन विशेष गरेर उनीहरू हर्बल मेहेन्दी र कालो रंग मात्र लगाउने गर्छन्।

धेरै थरिका कलर प्रयोग गर्दा क्रस रियाक्सन हुन सक्छ। यसले कपलालाई सेन्सिटिभ बनाउँछ। र, एलर्जी, कपाल झर्ने, टाउको चिलाउने, सुनिने जस्ता समस्या देखिन सक्छ। आफ्नो कपाल सुहाउँदो एउटै ब्राण्ड र कम्पनीको मात्र हेयर कलर प्रयोग गर्नुपर्छ।

कपाल हरेर मानिसको उमेर निर्धारण गर्ने मानसिकता पहिलेदेखिकै हो। झट्ट हेर्दा कपाल फुलेको मान्छे देख्यौ भने पक्कै पनि एजेड हुनुपर्छ भन्ने गलत सोचाइ अझै पनि कायमै छ। कपाल फुल्नु कसैको वंशाणुगत समस्या हुन्छ भने कसैको शारिरिक समस्या। अरु विभिन्न कारणले पनि कपाल फुल्ने गर्छ। यो समस्या साना बालबालिकादेखि युवायुवतीमा पनि देखिन्छ। त्यसकारण पनि आफू सुन्दर र जवान देखिन कपलामा थरिथरिका रंग लगाउने गर्छन्। कपाल कलर गर्ने भन्दैमा बजारमा भित्रिएका सबै खाले हेयर कलर प्रयोग नहुने चिकित्सक डा. अनिल खास बताउँछन्। ‘हयेर कलर गर्नै हुन्न भन्ने होइन, तर प्रयोग गर्दा इन्सट्रक्सन भने फलो गर्नुपर्छ,’ उनले भने, ‘हेयर कलरलाई फेसनको रूपमा पनि लिइएको छ। बजारमा आएका धेरै थरिका कलर प्रयोग गर्दा क्रस रियाक्सन हुन सक्छ। यसले कपाललाई सेन्सिटिभ बनाउँछ। र, एलर्जी, कपाल झर्ने, टाउको चिलाउने, सुनिनेजस्ता समस्या देखिन्छ। आफ्नो कपाल सुहाउँदो एउटै ब्राण्ड र कम्पनीको मात्र हेयर कलर प्रयोग गर्नुपर्छ।’
अचेल हयेर कलर गर्नेभन्दा नगर्ने बजारमा कमै मात्रामा भेटिन्छन्। सबैले प्रयोग गर्ने कलर उस्तै भए पनि कलर प्रयोग गर्नुको उद्देश्य, तरिका र रुचिमा भने फरक पर्छ। ‘गोल्डेन, ब्राउन, कफी रेड, रोज रेड हेयर कलरका रंगका नाम हुन् भने न्यु लुक, कोयरयन, माइस्टाइल कलरका ब्राण्ड हुन्, अहिलेको चलनचल्तीमा बढी प्रयोग गरिने हेयर कलर, ब्युटिसियन अप्सरा खत्री बताउँछिन्। उनका अनुसार  टिनएजर्स र युवाको रोजाइमा यस्ता कलर पर्छन् भने वृद्धवृद्धाहरू ब्रगन्डी, हल्का रेड र ब्ल्याक कलर प्रयोग गर्छन्। अहिले एउटै कम्पनी र ब्राण्डका हेयर कलरमा पनि डुप्लिकेट प्रोडक्ट आउन थालेकाले प्रयोगकर्ताले कलर छनोट गर्दा विशेष ध्यान दिनुपर्ने खत्री सुझाउँछिन्। ‘कलर भनेको केमिकल हो, त्यसको ब्राण्ड र क्वालिटीलाई हेर्नुपर्छ,’ ६ वर्षदेखि सौन्दर्य क्षेत्रमा काम गरिरहेकी उनी भन्छिन्, ‘बरु पहिला नै राम्रो क्वालिटीका प्रोडक्ट आउँथे, अहिले खासै राम्रो क्वालिटीका आएका छैनन्। धेरे डुप्लिकेट सामान आउन थालेको छ।’

पहिलाको तुलनामा धेरै फेरबदल भएको देखिन्छ। पहिले बजारमा जे भेटिन्छ त्यहीँ प्रयोग गर्नेहरू पनि अहिले कलरको गुणस्तर र स्वस्थ्यवद्र्धकमा विशेष ध्यान दिने गर्छन्। कुन ब्राण्डको प्रयोग गर्ने र कसरी प्रयोग भन्ने कुरालाई पनि प्राथमिकतामा राखिन्छ।

कलाकारिता क्षेत्रमा संलग्न कलाकर्मीले हेयर कलर बढी नै प्रयोग गर्नुपर्ने हुन्छ। ट्रेन्ड र सिन अनुसार उनीहरूलाई हेयर कलर प्रयोग गराइन्छ। विशेष गरेर मुख्य भूमिकामा अभिनय गर्नेहरूले हेयर कलर बढी प्रयोग गर्छन्। कलाकारहरू अहिलेसम्म त्यति ठूलो समस्या नदेखिएको बताउँछन्। ‘सिनमा म्याक्सिमम हेयर कलर प्रयोग गरिन्छ। तर, अहिले आफूलाई कुनै समस्या देखिएको छैन,’ कलाकार ऋचा शर्मा भन्छिन्, ‘जति हेयर कलर लगाउँछु, त्योभन्दा बढी कपालको ट्रिटमेन्ट गर्छु। आफूले राम्रोसँग केयर ग¥यो भने त कुनै समस्या नै देखिँदैन।’ चलचित्रकर्मीको तुलनामा नाट्यकर्मीले हेयर कलर अलि कम नै प्रयोग गर्नुपर्ने हुन्छ। ‘जसले प्रयोग गरे पनि हेयर कलर प्रयोग गर्दा धेरै–थोरै समस्या त हुन्छ नै,’ नाट्यकर्मी पुष्प अवस्थी सुनाउँछिन्, ‘नाटकको क्षेत्रमा त्यस्तो समस्या खासै देखिएको छैन। तर, कसैलाई भने कपालमा कलर सुट नगर्दा केहीलाई कपाल फुल्ने, झर्ने समस्या देखिएको छ।’ चलचित्रकर्मीलाईभन्दा नाट्यकर्मीलाई कम कलर प्रयोग गराइन्छ।

नाट्यकर्मीहरूले विशेष गरेर हेयर कलरमा ह्वाइटनर प्रयोग गर्ने गरेको मेकअप आर्टिस्ट रूपा मानन्धरले बताइन्। उनका अनुसार कथाले मागे अनुसार मेकअप र गेटअप गराउनुपर्छ। यस विषयमा कलाकार आफैले ध्यान दिनुपर्ने हुन्छ। आफ्नो स्वास्थ्यको हेरचाहको लागि टाइम सेड्युल मिलाएजस्तै हेयर मेकअप र कलर गरेपछि पनि हेयर ट्रिटमेन्टको लागि टाइम सेड्युल मिलाउनुपर्छ।

प्रकाशित: २१ असार २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App