१८ असार २०७९ शनिबार
अन्य

धार्मिक पर्वको व्यावहारिक महत्त्व

नेपाल यस्तो देश हो, जहाँ विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बि मिलेर बसेका छन्। भौगोलिक रुपमा पनि विविधता छ। हरेक भौगोलिक क्षेत्रमा आ–आफ्नो किसिमका चाडपर्व, सामाजिक परम्परा तथा संस्कृति नेपालको विशिष्ठता हो। नेपालको पहिचान भनेकै बहु आयामिक ढंगबाट विभिन्न संस्कृति मानिनु हो।

धार्मिक, सांस्कृतिक, सामाजिकजस्ता अनेकताभित्र एकता छ, नेपालमा। सानो मुलुक भए पनि यहाँ विविधता छ। हामी नङ मासु जसरी मिलेर बसेका छौँ। नेपाल सानो बगैँचामा सयौँथरी रंगिबिरंगी फूल फुलेको गार्डेन जस्तै मुलुक हो। यहाँ सबै मिलेर बसेका छौँ। 

वर्षभरिमा विभिन्न चाडपर्व मनाइन्छ। नेपालमा चान्द्र पञ्चाङ्गअनुसार चाडपर्व मनाइन्छ। पूर्वीय दर्शनअनुसार चन्द्रको गतिको पञ्चाङ्गअनुसार चाडपर्वको निर्धारण गरिन्छ। जसलाई तिथि भनिन्छ। विशेषगरी पश्चिमाहरु सूर्यको गति हेरेर चाडपर्वको निर्धारण गर्छन्।

महिनामा दुईवटा तिथि पर्छन्। एउटा शुक्ल पक्ष र अर्को कृष्ण पक्ष। दुवै तिथि प्रतिपदाबाट सुरु भएर औँसी र पूर्णिमामा पुगेर अन्त्य हुन्छन्।

धार्मिक पर्वको व्यावहारिक महत्त्व छ। नेपालमा विभिन्न किसिमका चाडपर्व मानिन्छ। जसमध्ये वर्षे मौसममा मनाइने चाडपर्वका बारेमा कुरा गरौँ।

जेष्ठ शुक्ल षष्ठीमा सिठी पर्व मनाइन्छ। यो पर्व विशेषगरी नेवारी समुदायमा मनाइन्छ। यस समयमा समुदाय मिलेर टोल, इनारलगायत सरसफाइ गरिन्छ। मिठोमसिनो खानपान गरिन्छ।

हरिशयनी एकादशी
असार शुक्ल एकादशीमा हरिशयनी एकादशी  पर्छ। जसलाई हरिबोधनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीदेखि चतुर्मास सुरु हुन्छ। चतुर्मासको समय कात्तिक शुक्ल एकादशीसम्म चार महिना हुन्छ। सामान्यतः चतुर्मासको समयमा कुनै पनि किसिमका शुभ कार्य गरिँदैन। हरिशयनी भन्नाले भगवान् विष्णु सुुतेको अवस्था हो। भगवान् विष्णु सुतेको अवस्था भन्नुको अर्थ यो समय आरामको अवस्था हो।

चतुर्मासको समयमा वर्षाद् हुने, खोलानाला, भेल बाढी आउने भएकाले हिँडडुल गर्न पनि असहज हुने मौसम हो। त्यसैले यो मौसममा ऋषिमुनिहरु, साधु सन्त, महात्माले एक ठाउँबाट अर्को ठाउँमा सरी आरामसँगले पढ्ने, ध्यान गर्ने ज्ञान बढाउने समय हो।

यसै धार्मिक परम्परालाई आधार मान्दा व्यावहारिक रुपमा पनि वर्षादले अन्य शुभकार्य गर्न तथा हिँडडुल गर्न असहज हुने भएकाले यो समयमा सामान्यतः शुभकार्य गरिँदैन। यो मौसममा विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन। सात्विकता कम हुने र राजसी तथा तामसी भोजन बढ्ने भएकाले यस मौसममा अल्छी हुने, आलस्यता पनि पैदा हुन्छ।

चतुर्मासको मौसम प्रकृतिको संक्रमणकाल हो। यो समयमा कुनै शुभकार्य गर्नै नपाउने भन्ने छैन। यो परम्परा भएकाले यसलाई मान्दा व्यावहारिक रुपमा पनि उपयुक्त हुन्छ।

शिक्षक गुरु हैनन्    
आषाढ शुक्ल पूर्णिमामा गुरु पूर्णिमा मनाइन्छ। गुरु पूर्णिमामा आफूलाई ज्ञान दिने गुरुलाई सद्भाव प्रकट गरिन्छ। बिनागुरु ज्ञान तथा शिक्षा, सीप केही पनि प्राप्त हुँदैन। गुरुहरुले हामी सबैलाई अन्धकारबाट पार लगाउनु हुन्छ। यस पर्वमा आफूलाई ज्ञान दिने गुरुलाई श्रद्धा गरिन्छ। आषाढ शुक्ल पूर्णिमामै किन गुरु पूर्णिमा मनाइन्छ भन्ने ठोस आधार भने छैन। यद्यपि पात्रोअनुसार शुक्ल पूर्णिमाका दिन मनाउने नेपाली परम्परा भएकाले यही समयमा मनाउने चलन भएको हो। यस समयमा धार्मिक तथा सामाजिक कार्य चतुर्मासको कारण कम हुने भएकाले पनि यही समयमा गुरु पूर्णिमा मनाउन थालिएको हुन सक्छ।

शिक्षक र गुरुमा भने फरक छ। शिक्षकलाई नै गुरु हो भन्ने सम्झन्छौँ। गुरुले पैसा वा कुनै आर्थिक लाभ प्राप्तिका लागि ज्ञान बाँडेका हुँदैनन्। निःस्वार्थ रुपमा शिष्यलाई ज्ञान बाँड्छन्। गुरुले आफ्ना शिष्यलाई ज्ञान बाँडी  अज्ञानताको अन्धकारबाट मुक्ति दिलाउने लक्ष राखेका हुन्छन्। शिष्यप्रति गुरुको ठूलो उत्तरदायित्व हुन्छ भने गुरुप्रति अनन्तकालसम्म शिष्य पनि उत्तरदायी हुन्छन्। गुरुकुल पद्धतिमा त झन् ६/७ वर्षकै उमेरमा बालबालिकालाई अभिभावकले ज्ञानका लागि गुरुको जिम्मा लगाउँथे। २५ वर्षसम्म गुरुले त्यस्ता शिष्यलाई ज्ञान दिन्थे। त्यसैले गुरुप्रति शिष्य र शिष्यप्रति गुरुको घनिष्ठ आत्मियता हुन्थ्यो।

शिक्षक भने विद्यार्थीप्रति उत्तरदायी हुँदैनन्। सेवा गरेबापत आर्थिक लाभ लिन्छन्, त्यसपछि गुरुको कर्तव्य सकिन्छ। शिक्षक विद्यार्थीको सिंगो भविष्यप्रति उत्तरदायी हुँदैनन्। विद्यार्थीको पनि पढाउञ्जेल मात्रै हो, पढाइसकेपछि शिक्षकप्रति उत्तरदायित्व हुँदैन। आर्थिक लाभको उद्देश्यले ज्ञान बाँडिन्छ भने त्यो गुरुअन्तर्गत पर्दैन, शिक्षकअन्तर्गत पर्छ। अंग्रेजीमा त गुरु र शिक्षक दुवैलाई टिचर भनिन्छ।

नाग पञ्चमी
नाग पञ्चमी मनाउनुका विविध कारण छन्। श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ। नागलाई विभिन्न रुपबाट सम्झना गरिन्छ। एक त काठमाडौं उपत्यका पानीनै पानीले भरिएको थियो। पानीमा बस्ने भनेकै नाग हो। नाग बसेकै ठाउँमा मानिसको बसोबास रहेकाले नागले मानिसलाई केही नगरून भनेर नाग पञ्चमी मनाउन थालिएको पाइन्छ। नागलाई मानियो भने नागले मानिसलाई पनि रक्षा गर्छन् भन्ने विश्वासका कारण पनि नाग पञ्चमी मनाउने परम्पराको सुरुवात भएको मानिन्छ।

नेपालमा नागलाई विशिष्ठ रुपले हेरिन्छ। काठमाडौंको पशुपति मन्दिरमा वासुकी नागलाई पशुपति क्षेत्रको संरक्षकका रुपमा पनि हेरिन्छ। आरधना गरिन्छ।

यतिमात्रै हैन नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले यस क्षेत्रमा कृषिका लागि पानीको विशेष आवश्यकता हुन्छ। नागको पूजा गर्नाने पानी पर्ने विश्वास गरिन्छ। त्यसैले नेपालमा नागप्रतिको भक्तिभाव स्वरुप नाग पञ्चमी मनाउने परम्परा सुरु भएको हो।

यस्तो अन्धविश्वासका रुपमा नागलाई पूजा गरेर पनि पानी पर्छ र ? भन्ने प्रश्न उठ्न सक्छ। नेपालको भौगोलिक अवस्थाका कारण वास्तुशास्त्रलाई आधार मान्दा पनि नागको पूजा तथा श्रद्धा गर्नाले पानी पर्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ। वास्तुशास्त्रीय भौगोलिक आधार यसको नागपूजाको एक आधार हो। नाग पूजा गर्नाले वास्तुमा समस्या आउँदैन भन्ने मान्यता छ। नाग पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने विश्वास पनि छ।

श्रावणमै नाग पूजा गर्नुको मुख्य कारण श्रावणमा धानलगायतका बालीनालीको खेतीको सिजन भएकाले यस समयमा पानीको आवश्यकता पर्ने भएकाले श्रावणमै नाग पूजा गर्ने परम्परा आएको हो। यो समयमा करिब धान गोड्ने समय सुरु हुन्छ। जुन समयमा पानीको आवश्यकता हुन्छ। पानी नपरे त धान लगायतको बाली बिग्रने जोखिम हुन्छ।

नाग पञ्चमीका दिन विभिन्न नागको पूजा गर्ने परम्परा छ। ढोकामा नागको फोटो टाँस्ने चलन छ।

आफ्नै आयु बढाउने तीज
तीज विशेषगरी हिन्दू धर्मावलम्बि नारीले मनाउने पर्व हो। कतिपय नेपाली महिलामा हामी त पश्चिमा महिलाको तुलनामा पछाडि पो छौँ कि भन्ने लाग्न सक्छ। तर हाम्रा परम्परा, धर्म संस्कृति, धार्मिक तथा सांस्कृतिक रुपमा महिलाले पाएको सम्मानलगायतको इतिहास हेर्दा पश्चिमा संस्कृतिका महिलाभन्दा नेपाली महिला धेरै अगाडि रहेको अवस्था छ। धार्मिक, सामाजिक र व्यावहारिक हिसाबले पनि नेपाली महिला अगाडि रहेको अवस्था छ।

यहाँ नेपाली महिलाका लागि तीज, ऋषि पञ्चमी जस्ता अलग्गै पर्व नै छन्। तीजमा महिलाहरु भेला भएर एक आपसमा रमाउने। भावना साटासाट गर्ने गर्छन्। महिलाले स्वतन्त्रपूर्वक राता कपडा पहिरिएर गरगहनाले सजिएर नाचगान गर्ने तथा पर्व मनाउने गर्छन्।

तीजको एक दिनअगाडि दर खानुपर्ने ठाउँमा एक महिना अगाडि नै दर खाने चलन आउनु भने तीजको विकृति मान्न सकिन्छ। तीज सात्विक भोजन गरिने पर्व हो। तीजमा राजसी तथा तामसी भोजन गर्नु गलत परिपाटी हो।

सही ज्ञानको अभावमा तीज औपचारिकतामा सीमित हुने अवस्था छ। तीजमा शिवको पूजाआजा गरिन्छ। पार्वतीले महादेव पति पाऊँ भनी व्रत बसेको धार्मिक विश्वास छ। त्यसैले विवाहिता महिलाले तीजको व्रत बस्नाले सुखद् दाम्पत्य जीवनको कामना गरिन्छ भने अविवाहिता युवतीले असल पति पाऊँ भनी व्रत बस्ने चलन छ।

तीजलाई अहिलेको परिवेशमा मात्रै हेर्नु हुन्छ। अहिले झट्ट सुन्दा महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्नुपर्ने अनि पतिले भने श्रीमतीको नाममा व्रत बस्न नहुने भन्ने प्रश्न उठ्न सक्छ। तर नेपालको परम्परालाई पनि हेर्नुपर्छ।

अवस्था फरक थियो। नेपालमा कुनै समय सती प्रथाको चलन थियो। श्रीमान्को मृत्यु भए श्रीमती भर्खरकी युवति नै भए पनि सती गएर मृत्युवरण गर्नु पथ्र्यो। त्यसैले श्रीमान्को आयु लम्बियो भने त सती जानु पर्दैन भन्ने कामनाले पनि श्रीमतीले श्रीमान्का लागि व्रत बस्ने चलन थियो, अहिले श्रीमान्ले श्रीमतीका लागि व्रत बस्दा पनि केही बिग्रिँदैन। बस्न सकिन्छ। किनकि हामीले धेरै पक्षलाई केलाएर हेर्नुपर्छ। अघिल्लो वा पछिल्लो दिन टन्न खाएर व्रत बस्नु स्वास्थ्यका लागि बेफाइदा हुन सक्छ। त्यसैले स्वस्थ किसिमले व्रत बस्नुपर्छ।

यही समयमा तीज मनाउनुको कारण भने एक त चतुर्मासको समय पर्ने भएकाले अन्य धार्मिक कार्य गर्न नमिलेर हो भने अर्को यो समय खेतिपातीको काम सकिएर आनन्दले बस्ने समय भएकाले पनि यही समयमा तीज मनाउने परम्परा रहेको छ।

अहिले तीज नेपाली महिला स्वतन्त्रता तथा सशक्तीकरणको आवाज उठाउने पर्वका रुपमा पनि परिणत हुँदै गएको छ। तीज भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ।

गणेश चतुर्थी
पार्वती नुहाउन जाँदा पार्वतीको संरक्षण गर्ने कोही नभएपछि पार्वतीले आफ्नै शरीरको मयलबाट गणेशको उत्पत्ति गरेको धार्मिक विश्वास छ।

पार्वती नुहाउन जाने क्रममा उनको रक्षाका लागि बाहिर बसेका गणेशले शिवजीलाई नचिन्दा पार्वती भएको ठाउँमा जानबाट गणेशले शिवलाई गेटमै रोके। रोकेपछि शिवले गणेशको शिर त्रिशुलले क्षेदन गरिदिए। यसले पार्वती अत्यत्तै दुःखी भइन्। त्यसपछि शिवले विष्णुलाई पूर्वदिशामा पठाएर जुन जीवको शरीर भेटे पनि क्षेदन गरेर ल्याउनु भने। सुरुमा हात्ती भेटियो हात्तीको शिर क्षेदन गरेर ल्याएर गणेशको शरीरमा जोडिदिए। गणेश जीवन्त बने। यसले के देखिन्छ भने त्यो समयमा पनि आधुनिक चिकित्सा विज्ञानले सम्भव नभएको उपचार पद्धति त्यो समयमा सम्भव थियो भन्ने देखिन्छ। शिर जोडियो। यसै समयदेखि शिवले गणेशको पूजा गर्नुपर्छ भन्ने वरदान दिएर गणेशको पूजा गरिन्छ।

जनै पूर्णिमा
श्रावण पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ। विशेषगरी तागाधारी (जनै लगाउने) मा जनै पूर्णिमाको महत्त्व छ। श्रावण महिना ऋषिलाई सम्झने महिना हो। हामी सबैको गोत्र ऋषिबाट आएका कारण ऋषिको सम्झनास्वप जनै लगाइन्छ। ऋषिको सन्तति भएकाले ऋषिलाई सम्झने पर्वका रुपमा लिइन्छ। जनै भनेको सेतो धागो मात्रै हैन। जनैमा मन्त्र पनि गरिएको हुन्छ। भगवानमा अर्पण गरेर पवित्र जनै लगाइन्छ। यस्तो जनै लगाएपछि व्यक्तिमा शक्ति आउँछ। जनै लगाउँदा आत्मभाव र श्रद्धा भाव जाग्छ। जनै लगाउँदा सामाजिक अनुशासन पनि  कायम हुन्छ। जनै सामाजिक बन्धन पनि हो। जनै लगाउने व्यक्तिले जहाँ पायो त्यहीँ, जे पायो त्यहीँ कुनै कार्य गर्नु हुन्न भन्ने पनि भाव पैदा हुन्छ। व्यावहारिक रुपमा पनि जनैले व्यक्तिलाई स्वनियम तथा अनुशासन कायम गर्छ।

वन जंगलमा जाँदा कुनै सर्पले टोक्दा टोकेको ठाउँमा टोकाइको विष शरीरमा नसरोस् भनेर पनि जनैले बाँध्न सकिन्छ। यसरी आपतकालीन अवस्थामा पनि जनै लगाउने परम्परा उपयुक्त हो।

जनै पूर्णिमामा क्वाँटी खानाले शारीरिक मजबुती हुन्छ। यसले प्राकृतिक रुपमा पोषण तत्त्व प्राप्त हुन्छ। काठमाडौं उपत्यकामा भ्यागुतालाई क्वाँटी खान दिइन्छ। जहाँ पानी हुन्छ, त्यहाँ भ्यागुतो हुन्छ। भ्यागुताको पूजा गर्नाले जल प्राप्त हुन्छ भन्ने विश्वासका साथ भ्यागुताको पूजा गरिन्छ।

रक्षा गर्ने बन्धन
रक्षा बन्धन श्रावण शुक्ल पूर्णमाको दिनै मनाइन्छ। जनै पूर्णिमाकै समयमा रक्षा बन्धन बाँधिन्छ । रक्षा बन्धन भनेको रक्षा गर्ने डोरो अर्थात् बन्धन हो यो डोरो ब्राह्मणबाट धारण गरिन्छ। डोेरोले व्यक्तिलाई रोग व्याधिबाट मुक्ति पाउन सहयोग गर्ने विश्वास छ। यसले आत्मबल दिन्छ। दिदी बैनीले दाजु भाइलाई राखि बान्दिने चलन पनि नेपालमा विकसित हुँदै गएको छ। यो चलन पनि राम्रै हो।

कृष्ण जन्माष्टमी
कृष्ण अष्टमी भाद्र कृष्ण अष्टमीमा पर्छ। कृष्णलाई श्रीमद् भागवतका अनुसार जगत गुरु मानिन्छ। त्यसैले कृष्णको जन्मोत्सवको अवसरमा कृष्ण अष्टमी मनाइन्छ। यस दिन कृष्णका नाममा भजन कीर्तन तथा नाचगान गरिन्छ।

कृष्ण भगवानको अवतार हुन्। भागवतका अनुसार मनुष्य जगतमा कृष्णले ज्ञानको सागर बाँड्नु भएको छ। त्यसैले कृष्णको सम्झना गरिन्छ। कृष्णले लोकको कल्याणका लागि लडेको मानिन्छ। नकारात्मक पक्षलाई छोडेर सकारात्मक सोचको विकास गरेको अवसरमा कृष्णलाई सम्झिन्छ।

श्रावण पूर्णिमामा गोसाइँ कुण्ड मेला लाग्छ। यसमा पनि धार्मिक तथा सामाजिक महत्त्व छ। यो साधना गर्ने मेला हो।

सोह्र श्राद्धमा मृतक पितृको सम्मान सद्भाव गरिन्छ। नागदेखि लिएर सबै प्राणी तथा देवीदेवताको पूजा तथा सम्मान गर्ने नेपालको परम्परा सुन्दर छ।
(डा. टण्डनले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: १३ असार २०७६ १७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App