तेह्र–चौध वर्षदेखि करिब बीस वर्षसम्मको उमेर किशोर अवस्था हो। यो जीवनको असाध्यै महत्त्वपूर्ण समय हो। यस अवस्थामा शारीरिक परिवर्तन र संवेगात्मक परिवर्तन तीव्ररूपमा भइरहेका हुन्छन्। बाल्यावस्थाबाट वयस्क अवस्थातिर प्रवेश गर्दै गरेका यस उमेरका किशोर–किशोरीहरू बाल्यावस्थाको व्यवहार छोड्न पनि नसक्ने र वयस्क अवस्थाको उत्तरदायित्व वहन गर्न पनि नसक्ने हुनाले एक किसिमको जटिल अवस्थाबाट गुज्रिरहेका हुन्छन्। हरेक कुरामा स्वतन्त्र हुन चाहने मानिसको स्वभावै हो, त्यसमा पनि किशोर अवस्थाका केटाकेटीहरू सामाजिक तथा पारिवारिक बन्धनबाट मुक्त भएर खुल्ला जीवनको अनुभव गर्न चाहिरहेका हुन्छन्। यता अभिभावकका अपेक्षा भने किशोर–किशोरीप्रति बढ्दै गएका हुन्छन्। आफ्ना छोराछोरी चाँडै परिपक्व होऊन् र प्रौढको जस्तो व्यवहार गरून् भन्ने अभिभावकको अपेक्षा हुन्छ भने छोराछोरीको रुचि उन्मुक्त जीवनको अनुभव गर्ने हुन्छ। यस्तो अवस्थामा उनीहरूसँग कसरी मधुर सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने बारेमा अभिभावकहरू जानकार हुनु आवश्यक हुन्छ।
आजको युगमा मात्र होइन हरेक युगमा पुरानो पुस्ताभन्दा नयाँ पुस्ता नयाँ सोच र परिवर्तनको चाहना लिएर आएको हुन्छ। पुरानो पुस्ताले देखेभोगेको भन्दा नयाँ पुस्ता हुर्किरहेको परिवेश फरक हुन्छ। आजको युग त झन् नितान्त फरक छ। पुरानो पुस्ताले देख्दै नदेखेको र कल्पनासम्म पनि नगरेको परिवेशमा आजको पुस्ता हुर्किरहेको छ। सूचना र सञ्चारका नयाँनयाँ उपकरणहरू नयाँ पुस्ताको पहुँचमा छन्। कोठाभित्रै बसेर संसारका कुनाकुनामा भएका गतिविधि नियाल्न सकिने भएको छ। यो परिवेशले गर्दा पुरानो पुस्ता र नयाँ पुस्ताका जीवनशैली एवं चिन्तनपद्धति धु्रवीकृत भएका छन्।
आज पनि पुरानो पुस्ताका अभिभावकहरू आपूm हुर्किएको पद्धति छोड्न चाहँदैनन्। आफूलाई बुवाआमाले कसरी हुर्काए त्यही कुरामा अडिग रहन्छन्। अहिलेको पुस्ताले त्यो भनाइ मान्दै मान्दैन। उनीहरू टेलिभिजन, मोबाइल, ल्यापटप, कम्प्युटर, इन्टरनेटजस्ता सूचना र सञ्चारका विद्युतीय उपकरण चलाउने गर्छन्। त्यसमा उनीहरूले दुनियाँ संसार देखिसकेका छन्। सूचना र सञ्चारका साधनबाट किशोरकिशोरीले राम्रा कुरा पनि सिक्ने गर्छन्, नराम्रा पनि सिक्ने गर्छन्। किशोर–किशोरीहरु द्रुत गतिमा अघि बढिरहेका छन्। सूचना–सञ्चारका साधनमा कम पहुँच भएका आमाबुवा भने कछुवाको गतिमा छन्। त्यसैले गर्दा वैचारिक तालमेल मिल्दैन अभिभावक र किशोर–किशोरीहरूबीच। त्यस्तो भएपछि छोराछोरीले आमाबुवालाई दोष दिन्छन्। बुवाआमाले हाम्रा कुरा सुन्दै सुन्दैनन्, खाली आफ्नै मात्र कुरा गर्छन् भन्छन् किशोर–किशोरीहरू। यता आमाबुवाले छोराछोरीलाई हामीले भनेको केही पनि मान्दैन, अर्ती उपदेश दिँदा रिसाउँछ, सकारात्मक नै छैन भनेर दोष दिन्छन्। आजको समाजमा यो एउटा ठूलो समस्या भएको छ।
आजका केटाकेटी अत्याधुनिक छन्। उनीहरुलाई विभिन्न ब्रान्डका विद्युतीय उपकरण चाहिन्छ। काम चलाउ, जुन पायो त्यही भएर हुँदैन। सुविधायुक्त चाहिन्छ र उनीहरूको रोजाइकै ब्रान्डका चाहिन्छ। ब्रान्डेड जुता, ब्रान्डेड घडी, ब्रान्डेड कपडा चाहिन्छ। सबै चिज उनीहरुलाई ब्रान्डेड नै चाहिन्छ, फेसन अनुसारको चाहिन्छ र उनीहरुले भनेकै चाहिन्छ। कहिले १८ वर्षको हुन पाउँला र बाइक किनेर हुइँकाउँला भन्ने हुन्छ उनीहरुलाई। आफ्ना छोराछोरीको देखासिकी गर्ने बानीले हैरान छन् अभिभावकहरू।
आजका किशोर–किशोरी एकदमै आधुनिक छन्। राम्रोसँग पढोस्, ज्ञानी बनोस् त्यसपछि राम्रो जागिर पाओस् अनि हाम्रो कुरा पनि मानिदेओस् भन्ने अपेक्षा अभिभावकको हुन्छ भने केटाकेटी पढ्ने लेख्ने कुरालाई टाढै राखेर नयाँनयाँ अनुभव गर्न चाहन्छन्। रेस्टुरेन्टमा हुक्का तान्न उनीहरु नै पुगेका छन्, साथी भाइसँग घुम्न जानेमा पनि उनीहरु नै अगाडि हुन्छन्। ठाउँठाउँका क्लबहरुमा पनि उनीहरु नै पुगेका हुन्छन्। आफ्नो भविष्यका लागि मिहिनेत गरेर पढ्ने लेख्ने कुरामा भने सहरी क्षेत्रका अधिकांश किशोर–किशोरीहरू पछाडि छन्।
प्रायः किशोर–किशोरीहरु आमाबुवासँग टाढिन्छन्। उनीहरू आफ्नो मनमा लागेको कुरा बाबुआमासँग भन्न रुचाउँदैनन्। यसो हुनुको कारण के हो भने उनीहरूको कुरा आमाबुवालाई पच्दैन। आमाबुवा एकोहोरो हुन्छन्, घरका काममा व्यस्त भइरहेका हुन्छन्। छोराछोरीले केही भन्यो भने झर्कन थाल्छन्। बुवाआमा झर्कन थालेपछि आफ्ना समस्या बुवाआमासँग सेयर नगर्नु स्वाभाविकै हो। बरु यस्ता समस्या उनीहरूले आफ्ना दौँतरी साथीसँग सेयर गरिरहेका हुन्छन्। उनीहरूका कुरा पनि कस्ता भने कि केटाकेटीका मायाप्रीतिका कुरा, कि एनिमेसनका कुरा, कि विभिन्न फिलिमका कुरा, कि मोबाइल र कम्प्युटरका एप्सका कुरा, कि गीतसंगीत र खेलकुदका कुरा। यस्ता कुरामा अभिरुचिपूर्वक साथ दिने दौँतरी हुने भएकाले उनीहरूसँग नै यस्ता कुरा सेयर गर्ने गरेका हुन्।
किशोर–किशोरीहरू अभिभावकले आफ्ना कुराको बेवास्ता गर्छन् भन्ने ठान्छन् तर त्यसो होइन, बरु अभिभावकले उनीहरूका समस्या बुझ्न नसकेर हो। किशोर–किशोरीको उमेर भनेकै हर्मोन परिवर्तन हुने, शारीरिक बनोट परिवर्तन हुने बेला हो। अभिभावकले त्यतिखेर किशोर–किशोरीमा के समस्या हुन्छ भन्ने जान्दैनन्। उनीहरू एकोहोरो यसो गर्न हुन्न, उसो गर्न हुन्न, पढिरहनुपर्छ मात्र भनिरहन्छन्। किशोर अवस्थाका केटाकेटीहरूको स्वभाव यस्तो हुन्छ, उनीहरुका कुरा पनि सुनिदिनुपर्छ, उनीहरुलाई साथीको व्यवहार गर्नुपर्छ भन्ने कुरा अभिभावकले बुझ्नु जरुरी हुन्छ। यो उमेरमा दबाएर राख्छु भन्दा झन् टाढिने गर्छन्। सानोमा दबाएर राखेका केटाकेटी त किशोर अवस्थामा पुगेपछि झनै बुवाआमाले भनेको मान्दै मान्दैनन्। उनीहरूका समस्यालाई दबाउन खोजियो भने उनीहरू झन् बढी दौँतरीको साथ खोज्न थाल्छन्। यसले गर्दा घरमा एकछिन पनि बस्न नसक्ने, धेरैजसो समय घर बाहिरै जाने हुन्छन्। त्यसैले उनीहरूलाई नजिक्याउनका लागि उनीहरुका कुरा सुन्नुपर्छ र उनीहरुसँग साथीसँगजस्तो व्यवहार गरेर खेल्नुपर्छ। उनीहरुका इच्छा आकांक्षा के छन् सबै बुझ्नुपर्छ। त्यसो गरियो भने बल्ल केटाकेटीले आफ्नो कुरा सुन्छन् र बुझ्छन्।
सानो उमेरमा बढी दबाएर यो होइन र त्यो होइन भन्ने बुवा–आमालाई त किशोर अवस्थामा पुगेका केटाकेटीले झन् केही कुरा पनि भन्दैनन्। उच्च शिक्षित परिवारमा समेत किशोर–किशोरीहरूलाई दबाउन खोज्ने प्रवृत्ति देखिन्छ। सानैदेखि हप्काउने, दबाबमा राख्ने, केटाकेटीका कुरा सुन्दै नसुन्ने गरियो भने उनीहरू मेरा बुवाआमाले मलाई बुझेकै छैनन् भन्ने अनुभव गर्छन्। कहिले काहिँ त यस्ता समस्याका किशोर–किशोरीहरू आवेशमा आएर आत्महत्या गर्न समेत तयार हुन्छन्। त्यसैले अभिभावकले केटाकेटीको मनोदशा बुझ्नुपर्छ। सबै बच्चा फरक–फरक व्यवहारका हुन्छन्। बुवाआमाले मेरो यो बच्चा अरूभन्दा फरक छ है भनेर सोच्नुपर्छ। त्यसअनुसार बुवाआमाले पढाइ–लेखाइ र उसको रुचिअनुसारका अरू कुरालाई सँगसँगै लिएर जान सक्नुपर्छ। आफ्ना छोराछोरीको फरक खालको बानी, व्यवहार बुझेर उसको मनस्थितिलाई स्वच्छ बनाउनतिर लाग्नुपर्छ। छोराछोरीलाई मैले धेरै ध्यान दिनुपर्छ भन्ने कुरा बुवा–आमा दुवैलाई लाग्नुपर्छ। बुवाभन्दा पनि आमा अझ आफ्ना छोराछोरीका लागि लाग्नुपर्छ किनभने केटाकेटीहरू बुबासँगभन्दा आमासँग अझ बढी खुल्न सक्छन्। साँच्चै भन्ने हो भने नपढेका बुवाआमाभन्दा पढेलेखेका बुवाआमा केटाकेटीका लागि जटिल हुन्छन् किनभने त्यस्ता अभिभावकले आफ्ना छोराछोरीबाट बढी अपेक्षा राखेका हुन्छन्। केटाकेटीलाई स्वस्थ तरिकाले उत्प्रेरणा दिँदै लैजान सक्नुपर्छ। यस मामलामा हाम्रा अभिभावकहरू कमजोर छन्।
पहिलेभन्दा अहिलेका किशोर–किशोरीलाई सही बाटामा लैजान गाह्रो छ। पहिलेको जमानामा बिग्रने बाटा कम थिए अहिले धेरै छन्। नयाँ पुस्ताका सबै बाटाहरु बन्द गराउनु पनि हुँदैन। स्वस्थ तरिकाले कसरी उत्प्रेरित गर्दै लैजान सकिन्छ त्यसतर्फ लाग्नुपर्छ। नकारात्मक कुरा बिस्तारै कम गराउँदै लैजान सकिन्छ। अहिलेका केटाकेटीले मोबाइल धेरै हेर्छन् भनिन्छ, उनीहरूको रुचिअनुसारका काम वा खेलमा लगाइदिने हो भने त मोबाइल हेर्दैनन् नि। अभिभावकले खाली पढ मात्र भन्ने तर उनीहरुलाई समाल्न नजान्ने भएर असमझदारी बढेको हो। उनीहरुसँग साथीको व्यवहार गर्न नजानेर, उनीहरुसँग वार्तालाप गर्न नजानेर यस्तो समस्या आएको हो।
अहिले सात–आठ कक्षामा पढ्ने विद्यार्थी दुई चारवटा वाक्य लेख्न सक्दैनन्। पढाइको स्तर यति खस्केको छ, तनावपूर्ण र भयावह स्थिति आएको छ अभिभावकका लागि अहिले। अहिले केटाकेटी हुर्काउन साहै्र गाह्रो छ। अहिलेका किशोर–किशोरीका बुवाआमा धरै दुखी छन्।
सानैदेखि केटाकेटीको मनमा लागेको कुरा बुझ्नुपर्छ र उनीहरुलाई साथीको व्यवहार गर्नुपर्छ। म तिम्रो साथी हुँ तिम्रो मनमा लागेका सबै कुरा मलाई भन त्यसको सदुपयोग गर्छु भन्न सक्नुपर्छ। केटाकेटीले आमा, आज म साथीहरुसँग घुम्न जान्छु भन्छ तर आमाले तँलाई यति पैसा खर्च गरेर पढाएको फेरि घुम्न जान्छु भन्छस् भनेर हप्काउने हो भने उसले फेरिदेखि मनका कुरा कहिल्यै भन्दैन, भनियो भने अभिभावकले तिललाई पहाड बनाउँछन् भन्ने सोच्छ, भन्दै भन्दैन। केटाकेटी बिग्रनुको एउटा कारण यो पनि हो।
दोस्रो कुरा केटाकेटीले कुराको सुरुवात गर्नासाथ अभिभावक उफ्रिनुहुन्छ। त्यो आक्रामकताले बच्चा डराउँछ। साँचो कुरा अभिभावकले नजानेकै हो। उनीहरूका कामप्रति शंका गर्नुहुन्छ। गर्छ यसले ! भनेर उपेक्षा गर्नुहुन्छ। नचाहिँदो चियोचर्चो गर्नुहुन्छ। उनीहरुलाई सामान्य तरिकाले भन्नुप¥यो, गाली गर्ने, हप्काउने गर्नु भएन।
किशोर–किशोरीले भोलिको परिणाम के आउँछ भनेर सोच्दैनन्, आजको इच्छामा मात्र जोड दिन्छन्। यो उमेर नै यस्तो हो। यसबेला उनीहरुको बुद्धिले जे देख्यो त्यही गरिहाल्ने हुन्छन्। उनीहरूले गल्ती गरेका भए गल्ती महसुस गर्ने समय दिनुपर्छ। आफ्ना छोराछोरीले गल्ती गर्छन् भने उनीहरूको गल्ती लुकाउने गर्नु बाबुआमाको गल्ती हो। यसरी गल्ती लुकाउँदै गइयो भने फेरि पनि गल्ती गरिरहन्छ। केही गल्ती ग¥यो भने उसलाई पुलिसकहाँ लगेर यसले गल्ती ग¥यो कानुनअनुसार सजाय देऊ भन्न सक्नुपर्छ। ठक्ठर खान दिनुपर्छ र सिक्छन्। त्यसो भयो भने बिस्तारै बिस्तारै उनीहरूमा परिवर्तन आउँछ। केटाकेटीहरू पनि गलत बाटोमा जाँदैनन्।
किशोर अवस्थाका केटाकेटीले बाबुआमाका निम्तिभन्दा पनि साथीका निम्ति ज्यान दिन तयार हुन्छन्। उनीहरूका लागि साथीहरू नै सर्वेसर्वा हुन्छन्। यो उमेरका केटाकेटीलाई बुवाआमाले मार्गदर्शकको भूमिका निभाउनुपर्छ। आमाबुवा मार्गदर्शक हुन्, उनीहरूले आफ्ना छोराछोरीका समस्या बुझेर सही सल्लाह दिँदै मार्गदर्शन गर्नुपर्छ।
प्रा.डा. गंगा पाठकसँगको संवादमा आधारित
प्रकाशित: १२ असार २०७६ ११:०२ बिहीबार