१६ चैत्र २०८० शुक्रबार
अन्य

देवकोटा र सिस्ने धाराको पानी

कृष्णप्रसाद बस्याल
हजाराैं विरामीलाई कालको मुखबाट फर्काएर
जीवनदान दिने हे देवकोटा तिमी !
डलरको आकर्षक सुविधा तिलाञ्जली दिएर
आफ्नै दाजुभाइलाई बचाउन
जीवन उत्सर्ग गर्ने हे देवकोटा तिमी !
हामीले त बल्ल चिन्यौ तिमीलाई
देशलाई अगाध माया गर्ने सपुत भनेर
स्वभिमानी विराट व्यक्तित्व र सत्पुरुष भनेर

तिम्रो मुटु गोरखाकै बोहरा गाउँसँग टाँसिएको रहेछ
नसानसामा त्यही सिस्ने धाराको अमृत बग्दो रहेछ
कस्तो विडम्बना आफ्नो जीवनकालमै
अञ्जुली भरी थापेर खाने इच्छा पनि पूर्ण हुन सकेन
पानी ल्याएर कसैले चम्चाले खुवाइदिनु प¥यो
नजिकै कलकल बग्ने नदीको पानीमा खुट्टा डुबाउने
सदिच्छा पनि पूर्ण हुन सकेन
कसैले भाँडोमा ल्याएर गोडा पखालिदिनुप-यो

जन्मघरको पिँढीमा क्षणभर भए पनि सुस्ताउँदा
केहीबेर तिम्रो आत्माले तृप्ति पायो होला
बाल्यकालदेखि खेलेको आँगनमा टेक्दा
स्नेह र ममताले पनि हृदय शान्त भयो होला

त्यो मनासलु हिमालबाट आउने चिसो वायृुले
पनि बाल्यकालका देवकोटालाई बिर्सेको छैन
लडीबुडी खेलेको पिँढी र आँगनले पनि
उसबेलाको देवकोटालाई बिर्सेको छैन

अझैं मेटिएका छैनन् तिम्रा पदचापरू
उसबेला डहर, गोरेटो र चौतारीमा टेकेका
बिलाएका छैनन् आलीकान्ला र गराका दृश्यहरू
उसबेला तिमीले आँखाको नानीभित्र कैद गरेका
कसरी बिर्सनु निश्छल बालसखासँग
काफल, चुत्रो र ऐँसेलु खाएका दिनहरू
अनि पृथ्वीनारायण शाहको दरबारलाई
एकीकरण र देशनिर्माणको प्रस्थानविन्दु मानेर
अँगुलीले सगर्व देखाउँदै हिँडेका क्षणहरू

तिम्रो अनुपस्थितिमा देखेर आज देश रुँदैछ
औषधि विज्ञानलाई चुनौती दिने कस्तो रोग लाग्यो भनेर
औषधि विज्ञानकाकर्मीहरूलाई सोध्न मन लागेको छ ––
मुटु, कलेजो र किड्नी फेरेर पनि जिजीविषाको
सम्मान गर्नेले देवकोटालाई किन बचाउन सकेनन् ?

राजा ययातिलाई आफ्नै छोराले जवानी पैँचो दिएझैं
सक्ने भए हामी कसैले पनि सम्पूर्ण जीवन दिएर
तिमीलाई सतायु बढी धर्तीमा राख्ने थियौँ
बदलामा हजारौँ हजार मानवजीवनलाई
यो धर्तीमा बचाएको देख्न पाउने थियौँ

तिम्रा हात र सीपबाट पुनर्जीवन पाएका
हजारौँ मुटुले अझै पनि भन्दैछन्
तिमी बाँच्नु पर्दथ्यो, सय वर्ष बढी बाँच्नु पर्दथ्यो
आज तिम्रो अनुस्थितिमा देश टुहुरो बनेको छ
नाथबिनाको अनाथ बनेको छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App