१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

बिम्बका कुशल खेलाडी

विगत दुई दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय कवि हुन्, उमेश लुइँटेल। सुनसरीको प्रकाशपुरमा जन्मिएर विगत तीन दशकदेखि मोरङको झोराहाटमा स्थायी बसोबास गर्दै आएका लुइँटेल शिक्षण पेशामा आबद्ध छन्। मूल विधा कविता भए पनि यिनले मुक्तक सिर्जनामा पनि उत्तिकै कलम चलाएका छन्। यिनका फुटकर समीक्षात्मक टिप्पणी समेत प्रकाशित भएका छन्। यिनको ‘शीतको शिविरमा’ २०७२ मा प्रकाशित काव्यकृति हो। अहिले उनी अर्को काव्यकृति प्रकाशनको तयारीमा छन् ।

उमेश लुइँटेलका फूलजस्ता बिम्बका झटारो कसैका लागि काँडा बन्न सक्छ भने तिनै बिम्ब कसैका लागि सिमलका भुवाझैं नरम र प्रिय हुन सक्छन्। उनको यो सौन्दर्य साँच्चिकै राम्रो लाग्छ ।

कवितालाई अत्यन्त गम्भीर विषय ठान्ने लुइँटेल, कविता लेख्नुपूर्व अध्ययनलाई अपरिहार्य तत्व ठान्छन्। उनको प्रस्तुति र शिल्प बेग्लै देखिन्छ। उनका कविताका विषयवस्तु र भावको तालमेलसँगै कलाको प्रयोग सबल देखिन्छ। कडा बिम्बहरूको प्रयोगले उनका कवितालाई केही जटिलता जस्तो बनाए पनि आजको मान्छे र उसको चेतनालाई स्वतन्त्र रूपमा बोल्न दिनु उनको विशेषता हो। सायद, उनी कवितालाई सस्तो ठान्दैनन्। उनका हरेक कवितामा शब्द–शब्दको नापजोख गरिएको हुन्छ। ती कविता पढिरहँदा कहिलेकाहीँ उनका बिम्ब प्रतीकले दिमाग रन्थनिने गरे पनि तिनले मानव हृदयलाई तरंगित गराउँछन्। यसरी हेर्दा उनी बिम्बका खेलाडीझैं भान हुन्छ ।

शीतको छानुमुनि

बतासको सिरक ओढ्नेहरू

एकाबिहानै तन्द्रामा बेपरवाह तन्किरहन्छन् ।

(बिम्बहरू जागृत भएपछि)

 

थोरैमा धेरै भन्न खोज्नु उनको प्रमुख काव्यिक प्रवृत्ति हो। कविताले प्रत्यक्ष भन्नुभन्दा बिम्ब प्रतीकका सहाराले भनाउन खोज्दा कहीँकहीँ उनका कवितामा असहजता आए पनि विषयवस्तुसँगको निकटताले त्यसमा मजाले डुब्न सकिन्छ। उनी कवितामा खबरदारी गर्न पनि चुक्दैनन्। आफ्नो कलमलाई बलियो अस्त्रका  रूपमा प्रहार गर्दै कवितामा मानवीय कष्टलाई उजागर गर्न चाहन्छन्। उनले जिन्दगीका आरोह–अवरोहलाई नजिकबाट नियालेका छन् र हरेक समस्यालाई सहज रूपमा लिँदै कवितामार्फत् चुनौती दिन्छन् ।

 बादल आकाशमा तैरिएसरि

अहिले म भरियाको पीडामा तैरिरहेछु

उता तिमी उपेक्षाका तरबार चम्काउँदै

टुक्र्याइरहेछौ कलमलाई

त्यसैले होसियार मित्र !

अहिले मेरो कविताको नदीमा आगो बगिरहेछ

   – (नदीभित्र आगो )

कवितालाई निरन्तरको साधना मान्छन् उनी। उनले प्राकृतिक बिम्बहरूलाई समेत कवितामा प्रयोग गरेको पाइन्छ। जसलाई भावसँग मिलाउन सक्नु उनको खुबी हो। विविध बिम्बहरू टपक्क टिपेर कवितालाई चिटिक्क सिँगार्न सक्ने उनको सामथ्र्य सुन्दर लाग्छ। तिनको प्रयोग हाम्रै परिवेशसँग ढाल्न सक्नु ठूलो कुरा हो। आजको छटपटी र कारुणिक अवस्थालाई कविताको विषय बनाउनुले उनी समाजसँगै रहेको प्रष्टैसँग देख्न सकिन्छ ।

हुरी

मुटुको ऐनामा ताण्डव देखाउँछ

घुट्को घुट्को भय पिएर

आगो बिनै हृदयको रंगमञ्च जलिहरन्छ ।

                                                     –(आँधी र अन्यौल)

                            

हत्तपत्त कविता सुनाउन नचाहने र कवितालाई कविता भनिहाल्न नचाहने यिनको अन्तर्मुखी स्वभावप्रति म विज्ञ छु। उनी कवितालाई लामो समय लगाएर मात्र पूर्णता दिन्छन्। उनले विभिन्न पत्रपत्रिकामा कविता प्रकाशन गरिरहेका छन्। उनका कवितामा जीवनवादी र आशावादी स्वर प्रशस्तै भेटिन्छन्, जसले मानव मनमा आशाको सञ्चार गराउँछन्। केही अप्राप्तिको गुनासो र प्राप्तिको अटल आस्था बीचको द्वन्द्वमा उनका हरेक कविताले उज्यालो संसार देखाउँछन्। जहाँ आशा गरिएका धेरै कुरा भेट्न सकिन्छन् ।

यो चिसो परिवेशमा चिसै बगेर

काँपेर बाँच्ने पातमा अनुदित हुँदै

घामको आशामा तुसारो खपेर

जागा छु राताभर ।

                –(आशा)

वाणी प्रकाशन विराटनगरलाई आफ्नो प्रथम काव्यथलो मान्छन् उनी। उनले वाणी नवप्रतिभा पुरस्कार (२०६२) प्राप्त गरेका छन्। ‘गाउँमा कविता’ कार्यक्रमको सहसंयोजक रहेर काम गरिसकेका उनी पेशाले शिक्षक भएर पनि होला अबोध नानीहरूप्रति समर्पित भएर समेत कविता लेखेका छन्। मुलुकलाई प्रगतिको दिशातर्फ लान सक्ने भनेकै साना नानी हुन भन्ने उनको विश्वास छ। उनी  शिष्यहरूप्रति बढी आशावादी छन्।

जसले स्कुले झोला बोकेर हिँड्दा

भत्केको सडक उमंगित हुन्छ

खोक्रा पेटहरूमा जीवन भरिन्छ

मिचिएका सरहद तन्किन खोज्छन्

ढलेका घरहरुमा आशाका इँटा जोडिन थाल्छन् ।

                                –(उज्यालो खोज्नेहरू)

उनी स्वभावतः केही जटिलझैं लाग्छन्। न उनी अरूको अनावश्यक तनाव झेल्छन्, न त अरूलाई तनाव दिन चाहन्छन्। कतिपय आफूलाई चित्त नबुझेका कुरा आफूभित्रै पचाउँछन्। तर, कहिल्यै अभिव्यक्त गर्दैनन्। यद्यपि, उनको कवि हृदय एकदमै सरल छ। उनी आफ्ना वरिपरिका र आफूले भोगेका हरेक दृश्यलाई आनन्दका साथ सामना गर्नुपर्छ भन्छन्। यो नै उनको कविताको शक्ति हो।

कम्तीमा म मेरा बा र हजुरबाभन्दा अलग बनेर

धरमरिएको शरीरलाई बलशाली बनाउँदै

उमेरको बाँकी गोरेटोलाई हिम्मतका पाइतालाले कुल्चिएर

आफ्नै सहारामा निस्फिक्री रमाउन चाहन्छु ।

                                                                –(ऐना)

उनको काव्य लेखनमा देखिने सशक्त पक्ष भनेको उनको कोमलता र यथार्थवादी भाव हो। उनी सस्ता कुरा र पेचिला शब्द प्रयोग गर्न रुचाउँदैनन्। कवितामा शालीनताको खोजी उनको प्रमुख पक्ष हो। उनका फूलजस्ता बिम्बका झटारो कसैका लागि काँडा बन्न सक्छ भने तिनै बिम्ब कसैका लागि सिमलका भुवाझैं नरम र प्रिय हुन सक्छन्। उनको यो सौन्दर्य साँच्चिकै राम्रो लाग्छ ।

यद्यपि, कतै–कतै अमूर्त बिम्बको प्रयोगले उनी चुकेका देखिन्छन्। तर, पछिल्लो समय उनका परिस्कृत रचनाले आकर्षित तुल्याएको छ मलाई। उनले छोरीप्रति व्यक्त गरेका अबोध भावहरूले पटक–पटक मलाई हल्लाइरहन्छ। उनी भावुक स्वभावका भएकाले उनको आफ्नो प्रवृत्ति कवितामा समेत देखिन्छ ।

प्रिय छोरी

तिमी हुनु भनेकै जीवनको सम्पूर्णता हो रहेछ

जुन दिन तिमी आफ्ना गतिशील हिँडाइहरूले प्राप्तिको शिखर टेक्छ्यौ

बुझिदिनू

त्यसदिन म त्यहीँ मुस्कुराइरहेको हुनेछु

खुसीको उन्मादमा तिम्रै कविता लेखिरहेको हुनेछु ।

                                –(तिमी हुनुको अर्थ)

    दुई दशकदेखि कविता साधना गरिरहेका उनी हालसालै मकालु टेलिभिजनद्वारा आयोजित एकल कविता वाचनमा सहभागी भएका थिए। जहाँ उनले शक्तशाली कविता प्रस्तुत गरेर स्रोता तथा दर्शकहरुको मन जिते। उनको साधनाको उच्च कदर गर्दै उनलाई ‘नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार’ बाट सम्मनित गर्ने घोषणा भएको छ। उनको आगामी साहित्यिक यात्रा सुखद् बनोस्।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App