महेश खरेल
मेयर, पाँचखाल नगरपालिका
जनप्रतिनिधिको रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?
जिम्मेवारी बढेको र उत्साह थपिएको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्नुलाई मैले अवसरको रूपमा लिएको छु। जनताको सारथि बनेर उहाँहरूका समस्या हल गर्ने काम–कर्तव्य अघि सारिहरहेका छौं। केही काम भइसकेका छन्, केही काम हुँदै छन् र धेरै योजना बनाएका छौं। त्यसैले मैले यसलाई मैले एउटा अवसरको रूपमा लिएको छु। लामो समयदेखि समस्या भोग्दै आएका जनतालाई विकास निर्माण र उनीहरूका अन्य आवश्यकता परिपूर्ति गर्दै काम गरिरहेका छौं। जनताको समस्यालाई केन्द्रमा राखेका छौं। प्रशासनिक कार्यलाई व्यवस्थित र चुस्त पारेका छौं। सबैभन्दा पहिले कम्तिमा उहाँहरूमा आधारभूत आवश्यकता पूरा गरौं भन्ने सोचमा काम भइरहेको छ।
निर्वाचित भएयता जनताले महसुस गर्ने किसिमका के–के काम गर्नुभयो ?
पाँचखाल नगरपालिकाको मेयर भएयता धेरै काम भएका छन्। कतिपय प्रत्यक्ष देखिने किसिमका छन्। कतिपय योजना निर्माणका काम छन्। ती काम अहिले तत्काल नदेखिए पनि पाँच वर्षको अवधिमा जनताले महसुस गर्न पाउने छन्। पाँचखालमा खानेपानीको दीर्घकालीन समाधान खोजको छौं। सुनकोशीबाट पानी ल्याउने योजनालाई छिटो अघि बढाउन नगर विकास कोषसँग अनुरोध ग-यौं। पूर्वमन्त्री दीपक खड्कासँग पहल गरेर पाँचखालमा खानेपानीको योजना पार्न सफल भयौं। २ अर्ब २२ करोडको एडिभीको फन्डिङ ल्याउन सक्यौं। एक वर्षजति हामी धेरै मेहनेत गरेका छौं। यसबाहेक हिजो रोकिएका विभिन्न विकास निर्माणलाई सञ्चालन गरेका छौं।
म मेयर भइसकेपछि पाँचखालमा दुइटा रिङरोड बनाउने योजना बनाएँ। त्यसको डिपिआर तयार भइसकेको छ। काफ्लेफेदीबाट सडक ग्राभेलिङ भइरहेको छ। पाँचखाल नगरपालिकामा सुनकोशीबाहेक अरु खानेपानीका स्रोत बनाउने योजना पनि सुरु भइसकेको छ। नगरपालिकाभित्र १ सय ८ स्थानमा पोखरी बनाउँछौं। हिन्दू धर्मको मान्यताअनुसार ती पोखरी बनाउँछौं। कतिपय पोखरी बनिसकेका पनि छन्। अहिले पनि दुलालथोकमा १२ लाख पानी रिचार्ज हुने गरी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। झिंगु खोलामा ड्याम बाँध्ने र त्यहाँको पानीलाई कृषिमा कसरी सदुपयोग गर्ने भनेर डिपिआर तयार भएको छ। बाँकी रहेका बजेट बाँड्ने र ऐन बनाउनका काम पनि सकिएको छ। उद्योगको नीति पनि बनिसकेको छ। खानेपानी र कृषिलाई ध्यान दिएर काम भइरहेको छ।
पाँचखाल नगर, कृषि सहर भन्ने तपाईहरूको नारा नै छ, त्यहाँको कृषि प्रर्वद्धन र विकासको लागि नगरपालिकाले के–कस्तो योजना र बजेटको व्यवस्था गरेको छ ?
पाँचखालमा उत्पादन भएका तरकारी खानुहुन्न, बढी विषादी प्रयोग भएको छ भनेर भ्रम फैलाइएको थियो। यसलाई चिर्न हामीले सबैतिर गएर कृषि वस्तुहरू जाच्यौं। कृषि मन्त्रालयको टोली बोलाएर आलूसहित अन्य तरकारी जाँच्न पठायौं। १७ ठाउँको आलू जाँच्दा पाँचखालको आलू सबैभन्दा राम्रो भएको भेटियो। अहिले हामीले कृषकलाई अर्गानिक खेती गर्नको निम्ति हौस्याउने कार्यक्रम पनि ल्याएका छौं। किसानको सहजताको लागि सबैखाले सामाज जुटाउनेतिर पनि हाम्रो चासो छ। पाँचखाल नगर कृषि सहर भन्ने नारा हामी निर्वाचित हुनुपूर्व तय गरिएको हो।
अहिले हामीले यो नाारालाई सिरोधार्य गरेर काम अघि बढाइरहेका छौं। कृषि क्षेत्रलाई उकास्न हामीले धेरै योजना बनाएका छौं। ९ नम्बर वडाबाट कृषकलाई ट्याक्टर हस्तान्तरण गरेर यसको सुरुवात पपनि भएको छ। यो आर्थिक वर्षमा हामीले समूह गठन गर्दै यो कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं। यो भए पनि कृषकले धेरै राहत पाउनेछन्। यसबाहेक आइपिएम पाठशालालाई पनि अघि बढाएका छौं। आउँदो वर्षमा हामीले फलफूल र कृषिका बीउबिजन र बिरुवा हस्तान्तरण गर्छौं। यस क्षेत्रमा हरेक किसिमका कृषि उत्पादन हुने ठाउँ छ। त्यो भेग हेरिकन हामीले व्यावसायिक कृषि उत्पादनको काम थाल्छौं।
जनप्रतिनिधिले आफूलाई राजा ठानेका छन्। यति घमण्ड गर्दागर्दै दुई वर्ष सकिएको छ। अब पनि राजाकै स्वभाव देखाएर जनताको समस्यालाई बेवास्ता गर्ने हो भने पाँच वर्र्षपछि आफ्नो राजनीति सखाप हुनसक्छ। त्यसैले जनप्रतिनिधिमा सेवक हुँ भन्ने सोच र भावना हुन जरुरी छ।
पाँचखाललाई काठमाडौंको उपत्यकापछिको अर्को व्यवस्थित कृषियोग्य उपत्यका बनाउन सकिन्छ भन्ने जानकारले बताइरहेका छन्, पछिल्लो समय इँटाभट्टा सञ्चालन गर्न थालेपछि पाँचखालको प्रदूषित भएको छ, धुवाँधुलोले ढाकेको छ, यसको समाधान कहिले खोज्ने ?
यस विषयमा हामीले गम्भीर चासो दिएका छौं। अब यसै वर्षदेखि हामीले यो समस्या हल गर्न लागिपरेका छौं। यहाँ संक्रमणकालमा फाइदा उठाएर इँटाभट्टा सञ्चालन गरिएको रहेछ। हामी आउनुपूर्व नै यहाँ भट्टा चलिरहेका थिए। म आएपछि कुनै इँटाभट्टा सञ्चालनको स्वीकृति दिएको छैन र दिन्न पनि। आगामी वर्षदेखि इँटाभट्टा बन्द हुन्छन्। वातावरण मन्त्रालयमा गएर यहाँको समस्या राखिसकेका छौैं, पत्र बुझाईसकेका छौं। यससम्बन्धी ऐन पनि पास भएको छ। व्यवसायीले मापदण्डविपरीत यहाँ लामो समयदेखि भट्टा सञ्चालन गरिहेका थिए। अब यहाँका भट्टा व्यवस्थित हुन्छन्। मापदण्ड विपरीतका सबै भत्किन्छन्। नयाँ भट्टा खोल्न दिन्नौं।
सिंहदरबार गाउँ–गाउँमा पुग्यो, निम्छरो बर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको महसुस गर्न पाएनन् भन्ने टिप्पणी र गुनासो सुनिन्छ नि ?
सिंहदरबार गाउँ–गाउँमा गयो भनेर केन्द्रले भनेको छ । राजनीतिक पार्टीले भनेका छन्। संविधान अनुसार पनि त्यही हो। तर, विभिन्न ऐन ल्याएर स्थानीय तहका अधिकार संकुचित पारिएको छ। एउटा धुलिखेलमा भएको घरेलु उद्योगले आफ्नै नियममा काम गरेको छ। ऐन पनि बाँझ्ने किसिमका छन्। त्यसैले स्थानीय तहले स्वतन्त्र भएर काम गर्न पाएनन्। एउटा सरकार भनेपनि नियन्त्रण चाही केन्द्रले नै गरेको छ।
युवालक्षित र वृद्धवृद्धा लक्षित कार्यक्रम के–के छन् ?
वृद्धवृद्धालाई सम्मान गर्ने, छाता लठ्ठी दिने, स्वास्थ्य जाँच गर्ने काम पनि भइरहेको छ। युवाका लागि ३ हजारलाई रोजगार दिँदैछौं। मेसिनरी, सेक्युरिटी, कृषि, ब्युटीपार्लर, रिर्सोट खोल्न सहयोग गर्ने र उद्यमशीलताका अन्य योजना पनि बनाएका छौं। रोजगारमा बाटाहरु खुलेपछि यस क्षेत्रका धेरै युवाले रोजगार पाउनेछन्। यहाँका धेरै योजना सम्पन्न भएपछि त्यसको प्रभाव देखिने छ। एग्रिकल्चर कलेज र कृषिको हब बनाउँदै अघि बढ्ने योजना नगरपालिकाले बनाएको छ।
नगरवासी कस्तो समस्या लिएर आउँछन् ?
त्यस्तो ठूलो समस्या बोकेर आउनुहुन्न। उहाँहरू सामान्य सडक, घरभित्रको झगडा, साँध सिमानाको समस्या, इँटाभट्टाको समस्या, खानेपानीको समस्यालगायत काम बोकेर आउनुहुन्छ। मैले उहाँहरूको समस्या हेरेर समाधान गरेको छु। यसरी काम गर्न पाउँदा खुसी पनि लागेको छ र जिम्मेवारी बोध पनि भइरहेको छ।
भनेपछि नगरवासी खुसी छन् ?
जनता खुसी छन्/छैनन् भन्ने उहाँहरूलाई नै सोध्दा थाहा हुन्छ। तर, जहाँसम्म हामीले गरेको कामप्रति उहाँहरू खुसी हुनुहुन्छ। हामीले आफूलाई दिएको अधिकारमा टेकेर काम गरेका छौं। नगरपालिकाको बजेट दुरुपयोग हुन दिएको छैन । अर्को कुरा, मैले सकेसम्म चुनावमा जसरी अहिले पनि टोलटोलमा पुगेर स्थानीयका समस्या सुन्ने गरेको छु। उहाँहरूका हरेक समस्यामा सारथि बनेको छु। उहाँहरूका समस्यामा केन्द्रित रहेर काम गर्दा खुसी लागिरहेको छ। अर्को कुरा, यसअघिको सरकारले धेरै काम नगरेका कारण जनप्रतिनिधिप्रति जनताको ठूूलो अपेक्षा थियो। दुई वर्ष हामीलाई अलमल भयो। अहिले अधिकार दिए पनि काम गर्न पाइरहेका छैनौं। हामीलाई पनि कानुनले फुकुवा गरेको छैन। यति हुँदाहुँदै पनि जनतालाई मर्का पर्ने काम गरेका छैनौं। अन्तछ जहाँतहीँ करको दर बढ्दा हामीले करको दर पनि बढाएका छैनौं। जनताका आवाजलाई सुनेका छौं।
आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ?
जनप्रतिनिधिले आफूलाई राजा ठानेका छन्। यति घमण्ड गर्दागर्दै दुई वर्ष सकिएको छ। अब पनि राजाकै स्वभाव देखाएर जनताको समस्यालाई बेवास्ता गर्ने हो भने पाँच वर्र्षपछि आफ्नो राजनीति सखाप हुन्छ भनेर सोचे हुन्छ। त्यसैले जनप्रतिनिधिमा सेवक हुँ भन्ने सोच र भावना हुन जरुरी छ। यो अवधिमा राम्ररी काम गर्ने हो भने नाम पनि रहन्छ र जनता पनि खुसी हुन्छन्। मैले यो अवधिमा चुनावमा उठाएका सबैजसो योजनामा केन्द्रित रहेर काम गर्छु।
तपाईको मेयरपछिको राजनीतिक सपना कहाँसम्मको हो ?
सपना देखेरै १४ वर्षपछि विदेशबाट नेपाल फर्केको हुँ। जनप्रतिनिधिको रुपमा चुनिएपछिको पाँच वर्षको तलब–भत्ता पनि सामाजिक काममा लगाउँदै छु। राजनीतिमा लागेर बजेटको दुरुपयोग र मोजमस्ती गरेर भुल्न चाहन्न। म जनताको सारथि हुँ। जति बाच्छु जनताको सेवामै बाच्छु। यसपछि म केन्द्रीय राजनीतिमा प्रवेश गर्ने सोच बनाएको छु। मेरो सोच पूरा गर्नको लागि जनताले साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु।
प्रस्तुतिः शिवहरि घिमिरे
प्रकाशित: ११ जेष्ठ २०७६ ०३:४१ शनिबार