११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

हीरालाल तण्डुकार वडाअध्यक्ष, कामनपा– ११

जनप्रतिनिधि भएको आएको दुई वर्ष बितिसक्यो? के–के काम गर्नुभयो?
जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष बितिसक्यो। निर्वाचित भएर आएसँगै जनताको मुख्य समस्या पहिचान ग-यौं। सोही अनुसार विकास निर्माण तीव्र गतिमा गरिरहेका छौं। अहिले पनि सडक कालोपत्रे, ढलान गर्ने, ब्लक ओछ्याउने लगायतका कामलाई दु्रत गतिमा अगाडि बढाएका छौं। अहिलेसम्म वडामा डेढ किलोमिटर सडकमा ब्लक ओछ्याएका छौं। करिव एक किलोमिटरभन्दा धेरै सडकमा सडक ढलान गरेका छौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय गरेर झण्डै दुई किलोमिटर सडक कालोपत्रे गरेका छौं। पछिल्लो समय खिचापोखरीदेखि सुन्धारासम्मको सडक कालोपत्रे ग¥यौं। अहिले भोटेबहालतर्फको सडक पनि धमाधम कालोपत्रे गर्ने काम सुरु भइसकेको छ। आगामी असार मसान्तभित्रै वडाका लगभग सबै सडक कालोपत्रे गर्ने योजनासाथ अगाडि बढेका छौं।

तपाईंको वडामा समयमै फोहोरमैला नउठ्दा टोलै दुर्गन्धित भइरहेको छ, त्यसमा चासो दिनुभएजस्तो देखिँदैन नि?
निजी क्षेत्रले अहिले फोहोरमैला उठाउने जिम्मेवारी पाएका छन्। उनीहरूले घरघरबाट फोहोरमैला ट्याक्टर र रिक्सामा उठाउने गर्छन्। घरघरबाट संकलन गरेको फोहोरमैला बाग्मती नदीको किनारामा छान्छन्, जसले गर्दा नदी किनारामा फोहोरमैलाको दुर्गन्ध बढेको स्थानीयबाट गुनासो आएको छ। महानगरपालिकाले फोहोरमैला छान्न ठाउँ उपलब्ध नगराउँदा समस्या भएको हो। त्यसको सावधानको लागि पहलकदमी गरिरहेको छु। अर्काेतर्फ फोहोरमैला उठाउने निजी संस्था र महानगरपालिकाबीच समन्वय नहुँदा बेलाबखत जटिलता आइरहेका छन्। हाम्रो वडा क्षेत्र टेकुमै ल्याएर फोहोर थुपारिन्छ। त्यसले बस्तीमा दुर्गन्ध फैलिरहेको छ। सबैले समन्वय गरेर समाधान गर्नुपर्ने देखिएको छ। व्यवस्थापन गर्नको लागि बाग्मती किनारामा राख्न दिएको छु।

ज्येष्ठ नागरिक मनोरञ्जन पार्क बनाउने योजना बनाउनुभएको थियो ? उक्त योजना कता पुग्यो?
ज्येष्ठ नागरिक मनोरञ्जन पार्क निर्माणको लागि दुई स्थानको पहिचान गरेका छौं । बिजुलीबजारस्थित वसन्तनगरमा ५ रोपनी क्षेत्रफलमा र त्रिपुरेश्वरस्थित कुमारीमार्गमा करिव दुई रोपनी क्षेत्रफल भएको जग्गामा पार्क निर्माण गर्ने योजना अघि सारेको छु। त्यसको लागि नापी कार्यालयबाट प्राविधिक बोलाएर नापजाँच कार्य सम्पन्न भइसकेको छ। वसन्तनगर र कुमारीमार्गमा ज्येष्ठ नागरिक पार्कको डिजाइन भइरहेको छ। उक्त योजना महानगरपालिकामा पेश गरिसकेका छौंं। सम्भवत् यसै आवमा बजेट विनियोजित गरेर निर्माण अघि बढाइनेछ। पार्कमा ज्येष्ठ नागरिकको लागि बस्नको लागि बगैँचा आराम गर्ने स्थान, एउटा भवनसमेत निर्माण गरिनेछ। जसमा ज्येष्ठ नागरिक भेला भएर आफ्ना अनुभव साटासाट गर्न पाउनेछन्।

तपाईंको वडामा जभाभावी रूपमा तार  छरिएका छन्, व्यवस्थित गर्न कस्तो योजना अघि सार्नुभएको छ?
केबल र इन्टरनेटका तारले सहरी सौन्दर्यमा नै कुुरूप बनाएको छ। जताततै तार झुण्डिएर सहरी क्षेत्र कुरूप मात्रै बनाएको छैन। जुनसुकै बेला आगजनी हुने जोखिमसमेत बढेको छ। केही समयअघि सूचना तथा प्रसारण विभागले तार व्यवस्थापनको लागि अगुवाई गरेको थियो । तर, बीचैमा छाडेको छ।

अहिले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तार व्यवस्थित गर्ने अभियान सञ्चालन गर्नुभएको छ। त्यसैले छिट्टै व्यवस्थित हुने आशा गरेका छौं।

तपाईको वडामा ट्राफिक बत्ती र ट्राफिक जामको पनि समस्या उस्तै देखिन्छ, कहिले यो समस्या समाधान गर्नुहुन्छ?
मेरो वडा काठमाडौंको मुटुमा अवस्थित छ। जहाँ सिंहदरबार, माइतीघर,  थापाथली, सुन्धरा, त्रिपुरेश्वर लगायतका स्थान पर्छन्। तर, दुर्भाग्य मेरै वडामा ट्राफिक लाइट बिग्रिएर कामै नलाग्ने अवस्थामा गुज्रिएका छन्। पछिल्लो समय सडक विभागले सिंहदरबार र थापाथली चोकमा ट्राफिक लाइट मर्मतसम्भार गरिरहेको छ। अन्य स्थानमा पनि मर्मतसम्भार गरेर तुरुन्तै सञ्चालन गर्नुपर्ने बेला भइसक्यो। ट्राफिक बत्ती मर्मतसम्भार गर्ने प्राविधिकको अभावमा मर्मत गर्न सकेका छैनौं। अर्काेतर्फ सवारीसाधनको चाप अत्यधिक मात्रामा बढेको छ। तर, हामीसँग ओभरहेड तथा फ्लाइओभर ब्रिज अहिलेसम्म निर्माण गर्न सकेका छैनौं। जसको कारणले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। थापाथली, त्रिपुरेश्वर, माइतीघर लगायतका स्थानमा फ्लाइओभर निर्माण नगरेसम्म ट्राफिक जाम घट्ने देखिन्न। त्यसैले महानगरपालिका र संघीय सरकारको समन्वयमा निर्माण गर्नुपर्ने देखिन्छ।

त्रिपुरेश्वर चोकमा सडकमै ढल बग्न थालेको र पर्खाल भत्कन लागेको वर्षांै भइसक्यो, कहिलेसम्म समाधान गर्नुहुन्छ?
वडा कार्यालयले फुटेको ढल र पर्खाल मर्मतसम्भारका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी तथा ढल निकास विभागलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि ख्याल गरेका छैनन्। अब केही समय मर्मतसम्भार गर्नेको लागि समय दिन्छु। त्यो अवधिमा पनि ढल मर्मतसम्भार नगरेको खण्डमा डोजर लगाएर केयुकेएल जाने बाटो नै बन्द गराइदिनेछौं। अब अन्तिम पटक उनीहरूलाई गुहार्छाै। त्यसो गर्दा पनि नभए महानगरकै ढल विकास महाशाखाका कर्मचारी लगेर मर्मतसम्भार गर्नेछु। केयुकेएलको पर्खाल जीर्ण छ। त्यसले दुर्घटना निम्त्याउने जोखिम बढिरहेको छ। वडा कार्यालयले केही दिनभित्रै केयुकेएललाई पत्र पठाएर ढल र पर्खालको उचित व्यवस्थापनका लागि निर्देशन दिनेछ।

बाग्मती, विष्णुमती नदी किनारमा अतिक्रमण भइरहेको छ, रोक्नुहुन्न?
सुकुमबासी समस्या मेरो वडाको मात्रै नभएर राष्ट्रिय समस्याकै रूपमा देखा परेको छ। सुकुमबासीले अधिकांश खोलाका किनारा कब्जा गरेर बसेका छन्। वडाले चाहेर मात्रै सुकुमबासीलाई हटाउन सकिने अवस्था छैन। त्यसैले संघीय सरकारले नै आवश्यक कदम चालेर सुकुमबासी समस्या सल्टाउनुपर्ने देखिन्छ। सरकारले पनि सुकुमबासी समस्या हल गर्नेतर्फ केन्द्रित भएको छैन। मेरो वडामा चार सयभन्दा धेरै सुकुमबासी घर÷टहरा निर्माण गरेर बसिरहेका छन्। मेरो वडामा परोपकार प्रसूति अस्पतालको पछाडि, वंशीघाटमा कब्जा गरेर सुकुमबासी बसोबास गर्दै आइरहेका छन्। सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ, वडाले मात्रै समाधान गर्न सक्दैन। त्यसको व्यवस्थापनमा केन्द्रीय सरकारले नेतृत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ। वडास्तरबाट हुने सहयोग र समन्वय गर्न हामी तयार छौँ।

नगरपरिषद्बाट कस्ता योजना अघि बढाउनुभएको छ?
नगरपरिषद्बाट वडाका लागि गत आवमा दुई करोड २५ लाख रूपैयाँ विनियोजन भएको छ। गत वर्ष वडामा पर्याप्त इन्जिनियर नहुँदा करिव ९७ लाख रूपैयाँ खर्च गर्न नसकेर फिर्ता भयो। चालू आवमा करिव तीन करोड रूपैयाँ बजेट बिनियोजन गरेका छौं। जसबाट करिव ३० वटा योजना अघि सारेका छौं। अहिले धमाधम विकास निर्माणका काम अघि बढेका छन्। आगामी आवको लागि करिव ९ करोड रूपैयाँको बजेट महानगरपालिकामा पेश गरेका छौं।

कस्तो वडा बनाउने सपना छ?
वडालाई सफा र हराभरा बनाउने मेरो पहिलो लक्ष्य हो। त्यसका लागि फोहोरमैला व्यवस्थापन र नदीनालाको किनारमा हरियाली बनाइरहेका छौं। मेरो वडामा विकासका पूर्वाधार लगभग तयार भइसके। त्यसैले आगामी आर्थिक वर्षदेखि वडालाई व्यवस्थित र सुन्दर बनाउनेतर्फ केन्द्रित हुनेछौं।

प्रस्तुतिः हिमाल लम्साल

प्रकाशित: ६ जेष्ठ २०७६ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App