६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

'क्रान्तिकारी नेपाली जनतालाई सलाम'

सुरेन्द्र पौडेल, काठमाडौं, असोज २ - 'म नेपाली बोल्न जान्दिनँ, तर बुझ्ने भएको छु,' शुक्रबार नेपाली कांग्रेसको १२ औं महाधिवेशन उद्घाटन समारोहमा भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय उपाध्यक्ष भरत कुसरिया बोल्दा खुलामञ्चमा उपस्थित हजारौंको भीड एकछिन मौन बन्यो।

'हामी (भारतीय र नेपाली जनता) कति नजिक रहेछौं, प्रचण्ड र माधवकुमारको पछाडि बसेको दुई मिनेटमा मैले धेरै नेपाली बुझेँ। दुई महिना बसेँ भने त पुरै नेपाली बुझ्छु होला,' कुसरियाले बोलिरहँदा भीडको मौनता तालीको गडगडाहटमा रूपान्तर भयो।

'नेपाल भौगोलिक रूपमा सानो देश हुनसक्छ,' उनी भन्दैथिए, 'नेपालको सगरमाथा विश्वमा सबैभन्दा उच्च छ, हामी चाहन्छौं एकदिन नेपाल नै विश्वको सबैभन्दा उच्च होस्।'

'असोज २० गते नेपालमा नयाँ सूर्योदय हुनेछ,' उनको अर्को कामना पनि थियो, 'नेपालमा रगत होइन, पानीको धारा बगून्।' नेपालमा छिटो नयाँ सरकार र संविधान बन्नुपर्छ - उनले देखेको विकसित नेपालको बाटो।

नेपाल र भारतमा भएका लोकतान्त्रिक आन्दोलनमा दुवै देशका नेताले एकअर्कालाई सघाएको सम्झना गरे भारतीय कंग्रेस आईका नेता षडानन्द सिंहले। उनले थपे, 'पटनामा बिपी कोइराला पथ छ। हामी यसमा गर्व गर्छौं।'

उद्घाटन समारोहमा बोल्ने सबै विदेशी नेताको चाहना एउटै थियो- नेपालमा शान्ति, संविधान, रोजगार, शिक्षा, स्वास्थ्य, अवास र विकासका चुनौती छन्, यी चुनौतीसँग जुध्न सबै दल मिल्नुपर्छ र सहमतिमा अगाडि बढ्नुपर्छ। 'आफूलाई मजबुत पार्ने जिम्मेवारी कांग्रेसलाई छ, जनताको सुखदुःखमा सम्मिलित भएर मजबुत हुनुपर्छ।'

नयाँ नेपालमा सबै (दलित, मधेसी, जनजाति, महिला) लाई स्थान मिल्छ भन्ने सुन्दा भारतीय समाजवादी नेता विजय प्रताप चकित भएका थिए रे। उनी सोच्थे- नेपाली नेताले भनेका मात्र होलान्। तर नेपाली नेताले मनमा जगाएको विश्वास तोडिने पो हो कि, अहिले उनलाई चिन्ता लाग्न थालेको छ।

'यही ठूलो उपलब्धि यति सजिलै प्राप्त भएको थिएन, यसलाई बुझौं,' प्रतापले समारोहमा नेपाली कांग्रेसलाई शुभकामना दिए, 'फेरि लोकतान्त्रिक समाजवाद देश बदल्ने माध्यम बनोस्।'

नेपालको लोकतन्त्रलाई शैशवकालको संज्ञा दिए भारतीय कम्युनिस्ट पार्टीका नेता गिरिश शर्माले। उनको बुझाइमा नेपालको लोकतन्त्र औंला समाएर हिँड्ने बच्चाको अवस्थामा छ। 'नेपाली कांग्रेसले अन्य दलसँग मिलेर देश पुनःनिर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ, अनिमात्र गरिब, कृषक जनतामा नयाँ जागरण आउनेछ,' शर्माको सुझाव छ।

नेपाली जनता महान र बहादुर छन् - भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता जोगेन्द्र शर्माको बुझाइ छ। लोकतन्त्र भनेको जनताले भोट दिएर सरकार चुन्नुमात्र होइन, विकास र समृद्धि पनि हो। इतिहास नेताले नभई जनताले बनाउने बताउँदै उनले थपे, 'नेपालमा राजतन्त्र हटाउने श्रेय जनतालाई जान्छ। नेपालमा जस्तो अभ्यास विश्वका अन्य देशमा भएको छैन। शान्ति स्थापना र नयाँ संविधान बनाउन पनि नेपाली जनता सफल हुन्छन्।'

शान्ति, विकास र नयाँ संविधान निर्माणमा कांग्रेसले महŒवपूर्ण भूमिका खेल्नुपर्ने तर्क नेपालका लागि चिनिया राजदूत क्यु ग्योहोङको थियो।

'नेपालीसामु अझै ठूलो चुनौती बाँकी छ। यी चुनौतीलाई समाधान गर्न कांग्रेसलगायत सबै दल मिलेर जानेछन्,' उद्घाटन समारोहमा नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएकोतर्फ इंगित गर्दै उनले भने, 'छिमेकी राष्ट्र भएकाले नेपालभित्र भएका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौं। तर नेपालका समस्या नेपाल आफैंले समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।'

नेपालमा भएका प्रमुख राजनीतिक 'मुभमेन्ट' मा नेपाली कांग्रेसले महŒवपूर्ण भूमिका निभाउँदै आएकाले वर्तमान राजनीतिक गतिरोध हटाउन पनि कांग्रेसले पुरानै भूमिका निर्वाह गर्नुपर्ने सुझाव श्रीलंकाका वातावरण मन्त्री अनुराग प्रियदर्शनाको थियो।

'नेपाली क्रान्तिकारी जनतालाई सलाम!' भारतीय समाजवादी नेता सुरेन्द्र मोहनले समारोहमा टक्र्याए। भारतीय स्वतन्त्रता आन्दोलनमा बिपी कोइरालाले खेलेको भूमिकाप्रति उनले आभार प्रकट गरे। दक्षिण एसियमा नेपालमा मात्र लोकतान्त्रिक समाजवादी आन्दोलन सफल भएको उनको भनाइ थियो। उनले नेपालको वर्तमान संकट मोचन गर्ने उपाय सुझाए, 'सबै दल एक भई प्रगतिशील सरकार बनाएर समस्या समाधान गर्नुपर्छ।'

प्रकाशित: २ आश्विन २०६७ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App