२८ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

साहित्यमा यौनको स्वीकारोक्ति

‘... सीमामाथि बम खसाल

सीमाका मानिसहरूमाथि होइन,
बम
सीमाका रेखा र लट्ठामाथि खसाल...
... बमले त्यति खुशी दिन सक्नेछैन
बमले त्यस्ती पत्नी दिन सक्नेछैन,...
त्यस सौभाग्यवतीलाई नमार
त्यसको अभाव
तिम्रा सारा ज्ञानविज्ञानले पूरा गर्न सक्नेछैन...’
२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो। यो घटना÷प्रतिघटनामा के–कति मानवीय क्षति भयो, त्यसको यथार्थ विवरण स्पष्ट भएको छैन। वास्तवमा यो सिलसिला यी दुई देशको विभाजन भएदेखि नै चलिआएको हो।

त्यसो त, शक्तिशाली राष्ट्रहरू– खास गरेर अमेरिकाले आतंकवाद विरुद्धको नाममा कैयौँ स्वाधीन राष्ट्रहरूमाथि बमबारी गरिराखेको समाचार प्रायः पढि÷देखिराखिन्छ। विगतमा युरापियन राष्ट्रहरूसहित अमेरिकाले इराकमाथि वा अफगानिस्तानमाथि गरेको आक्रमण सम्झँदा वा अन्य राष्ट्रहरूमाथि गरिरहेको हवाई आक्रमण देख्दा एउटा प्रश्न उठिरहन्छ– के ती देशहरूमा अब जरैदेखि आतंक निर्मूल भयो त ? तर, जवाफमा भने ठीक उल्टो वास्तविकता देख्ने गरिएको छ।

एउटा खुसीको खबर–वासु शशीद्वारा लिखित ‘बाँसुरीमा नअटाएका धूनहरू’ त्रिभुवन विश्वविद्यालयले बीएडको पाठ्यक्रममा समावेश गरेको छ।

वासु शशी आफ्नो कवितामार्फत सचेतनाका स्वर उराल्छन्–
‘...संसारमा कुनै पनि मानिसको
सट्टा–भर्ना गर्न सकिँदैन,
संसारमा कुनै पनि मानिसको
अनस्तित्वता सुहाउन सक्दैन
संसारमा कुनै पनि मानिसको अस्तित्वजति
महान् र प्रिय अरू केही छैन...’

स्वभावतः वासु शशी मानवतावादी कवि थिए, उनले कवितामा जहिल्यै पनि मान्छेको अस्तित्वलाई महŒव दिए। मान्छेमाथि हुने जस्तोसुकै अमानवीय कार्यको विरुद्ध कलम चलाए। हुन पनि यो २१ औँ शताब्दीको विश्वमा पनि बम, गोला–बारुद रहिरहनु मानवीय सभ्यताको कलंक हो। साँच्चै भन्ने हो भने यस्ता विध्वंशकारी वस्तुको आविष्कार नै किन भयो संसारमा ? यो एउटा ज्वलन्त प्रश्न हो। वासु शशीले पनि, त्यसैले समाधान बताउने प्रयत्न गरेका छन्–
‘बम
बमहरूलाई खत्तम पार्न खसाल
मानिसलाई खत्तम पार्न होइन,
बम
मानिसका भय र कष्टहरूलाई
खत्तम पार्न खसाल
मानिसलाई खत्तम पार्न होइन...’
 

राष्ट्रवादी स्वर
मूलतः उनका कवितामा मनुष्यताका अलावा ‘देश’को विषय बढी मुखरित भएको पाइन्छ। जसअनुरूप त्यहाँ देशभक्ति र स्वाभिमान पाइनु स्वाभाविक छ।
स्मरणीय छ– वि.सं. ०४६ को जनआन्दोलनताका लेखक–समूहको नेतृत्व लिएर केवल कविता वाचन गर्ने–गराउने मात्रै होइन, उनी तत्कालीन शासन व्यवस्थाको विरुद्ध नारा लाउँदै हिँडे, विद्रोही भाषणहरूसमेत गर्दै हिँडे। यही क्रममा ‘देश अर्थात् देश खोई’ शीर्षकको कवितामार्पmत् उनले यसरी अभिव्यक्ति दिए–
‘...यो देशमा अहिले दुईवटा हिमालयहरू छन्,
एउटा हिउँको हिमालय
अर्को मानवीय दुःख दरिद्रताको हिमालय,
पहिलो हिमालय यो देशवासीहरूलाई
विधुवाको सेतो कपडा र
फुलेको कपालजस्तै लाग्छ
किनभने यिनीहरू अहिले भोका र नाङ्गा लाग्छन्...’

साहित्यमा यौन
वासु शशीका साहित्यमा देखापर्ने अर्को विशेष पक्ष हो– यौन। उनी यौनलाई मान्छेको आवश्यकीय विषय मान्थे। खास गरेर साहित्यमा यौनको स्वीकारोक्तिलाई उनको लेखनले मुक्त तवरले स्वीकार ग¥यो। उनी खुलेरै भन्थे– सम्भवतः जीवनमा यौनजस्तो कार्यान्वयनका निमित्त नग्नता र निकटता तथा गोपनीयता र तत्परता आवश्यक हुने अन्य कुनै विषय छैन...। यौनको व्यवहारमा मानिसजत्तिकै सतर्क र संदिग्ध साधारणतया अरू विषयको हुँदैन। आकर्षित र उन्मुख पनि मानिस यौनको व्यवहारमा जत्तिको अरूमा हुँदैन...।’
यही क्रममा, मूलभूत रूपमा यौनविषयक केन्द्रित ‘सञ्चय’, ‘यौवन’, ‘परिवार’ नामक यौन–डाइजेस्टहरूको सम्पादनसमेत गरेका थिए उनले। यो अलग कुरो हो कि तत्कालीन समयमा सर्वाधिक लोकप्रियता कमाएको ‘सञ्चय’ले पछि स्थायित्व लिन सकेन।

दार्शनिक पक्ष
सुरुवाती लेखनदेखि नै विशेषतः दार्शनिक–पक्षप्रति आकर्षित थियो वासु शशीको कलम। विशेषतः संवाद–शैलीमार्पmत् नाटकका पात्रहरूका बोलीबाट उनी जीवन–दर्शनलाई उजागर गर्न रुचाउँथे। उनीद्वारा ‘उपहार’, बुद्ध’लगायतका केही नाटक दार्शनिक दृष्टिकोणबाट लेखिएका छन्। एउटा कवितामा उनका शब्द यसरी प्रस्फुटित भएका छन्–
‘पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ।
यताउती घुम्तीहरूमा
आकलझुकल कहिलेकाहीँ
पुगेजस्तो पनि लाग्छ।
तर पुग्ने रहर तीव्र छ
त्यसैले त्यस्तो हुन्छ,
पुग्छु भनेर गएको ठाउँ त
पाइलैपिच्छे पर सर्छ...।’

बहुआयमिक व्यक्तित्व
कुनै एउटा–दुईटा विधामा मात्रै सीमित भएर रहेनन् उनी। कविता उनको मूल विधा भए पनि त्यसका साथसाथै गीत–लेखनमा समेत उनी सिद्धहस्त थिए। उनका गीतहरूको सँगालो ‘तिम्रा सपनाहरू’ (सिडी) समेत निकालिएको छ।
पछिल्लो चरणमा गएर उनले स्क्रिप्ट राइटिङ पनि गरे। तथ्यांकअनुसार एक दर्जन टेलिफिल्मलगायत चलचित्र– ‘माया’ तथा ‘लोभी पापी’ पनि निर्माण भएका छन्। त्यसो त, वि.सं. २०१६ सालमै कवितासंग्रह ‘मेरी उषा’बाट नै उनको पुस्तक–प्रकाशनको सिलसिला प्रारम्भ भइसकेको थियो।
एउटा गर्वको कुरो, दुई दर्जन हाराहारीका पुस्तक–लेखक शशीद्वारा लिखित ‘बाँसुरीमा नअटाएका धूनहरू’ त्रिभुवन विश्वविद्यालयले बीएडको पाठ्यक्रममा समावेश गरेको छ।
०००
५६ वर्षको जीवन बाँचेका वासु शशी आजसम्म जीवित रहेका भए अहिले ८२ वर्षका हुन्थे। विसं २०९३ चैतमा जन्मेर २०४९ सालमा मृत्युवरण गर्दा पनि संयोगले चैत महिनै परेको थियो। श्रद्धाञ्जलिस्वरूप अन्तमा, यत्ति लेख्न चाहन्छु–
...भरमार रक्सी पिएर ढुनमुनिँदै
तिमी भन्थ्यौ–
जिन्दगी बल्ल सोचेजस्तो भो,
तर तिमी नै त हौ
रक्सी पिउनुअघि सधैँ–सधैँ आफू
आफ्नै जिन्दगीसँग हारिरहेका कुरा गथ्र्यौ...।
फकाएर÷फुल्याएर मनलाई
जिन्दगीमाथि
विजेता बन्न कसले सकेको छ र वासुदाइ ?
स्वयम्मा जिन्दगी पराजय हो एउटा,
रक्सी पिएरै
अथवा नपिएरै पिएको बहानामा
हामी जतिसुकै झुक्याऊँ÷छक्याऊँ आपूmलाई
वासुदाइ !
बाँचुञ्जेल मात्रै हो मान्छे बाँच्ने
मान्छेका लागि
केवल ‘मृत्यु’ नै होइन र अन्तिम सत्य ?

प्रकाशित: ९ चैत्र २०७५ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App