२२ असार २०७७ सोमबार
अन्य

गुडमर्निङ मिछुर्लुङ !

तनहुँको मिछुर्लुङ गाउँ, सांस्कृतिक समूह,पाहुनालाई खाजा, अगेनामा रोटी, मकैको खोस्टाबाट बनेको चकटी। गाउँले घर र राष्ट्रगानका लेखक व्याकुल माइलालाई बिदाइ गर्दै आमा समूह। तस्बिरहरु : अमृत

पर्यटनबाट समृद्धिको भर्‍याङ चढ्न सकिने देखेर गाउँगाउँमा होमस्टेको लहर चलेको छ। हाम्रा सबै गाउँ सुन्दर छन्। आत्मीय पनि। यति हुँदाहुँदै पनि पर्यटनको मुलबाटोमा सबै चम्किन सकेका छैनन्। किन त ? पूर्वाधारको कमीले कति गाउँमा मनग्गे पर्यटक पुग्न सकेका छैनन्। अनि गाउँ र सहरलाई जोड्ने मार्केटिङको पुल नहुनु नै प्रमुख समस्या देखिएको छ।

यद्यपि केही गाउँ चम्केका छन् आफ्नै बलबुतामा। यसपालि पर्यटनको प्रचुर संभावना भएका दुईटा गाउँ घुम्ने साइत जुर्‍यो। तनहुँ जिल्लाका टुटेपानी र मिछुर्लुङ गाउँ। एक रात टुटेपानीमा बसेर माघ २१ गते अपरान्ह हामी मिछुर्लुङ पुग्यौं। तनहुँको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आएका हरिसिंह गुरुङको संयोजनमा राष्ट्रगानका लेखक व्याकुल माइला र मैले घुम्ने अवसर पायौं। दमौलीबाट मिछुर्लुङ यात्रामा हाम्रो अगुवाइ तिनै हरि दाइले गरे। साथमा थिए कान्तिपुर दैनिकका पत्रकार प्रताप रानामगर पनि। प्रतापको गाउँ रहेछ मिछुर्लुङ।

हामी पुगेकै दिन एउटा जम्बो टोली त्यहाँ पुगिसकेको थियो। तनहुँमा जन्मे÷हुर्केर बाहिरी जिल्लामा काम गर्दै आएका पर्यटनकर्मीहरूको संस्था ‘तनहुँ पर्यटन प्रवद्र्धन समाज’को टोली। त्यसको नेतृत्व गरेका थिए गुप्त भण्डारीले। गाउँको सांस्कृतिक समूहले स्वागत गरिरहँदा मलाई लाग्यो, यो टोलीका प्रत्यक सदस्यले हरेक वर्ष घुमन्तेहरुको एकएक समूह मात्रै गाउँमा पठाइदिए भने पनि मिछुर्लुङलाई ठूलो गुन लाग्ने छ। हामीलाई सरासर घरको आँगनमा लगियो। त्यहाँ लहरै बसाइयो। भित्र घरको मझेरीमा दिदीबहिनीहरू टपरीमा मकै, भटमास, गुन्द्रुक र तरुल राख्न थाले। बाहिर आँगनको जमघटमा ग्रामीण पर्यटन विकासको चर्चा चल्यो।

मध्यरातमा ब्यूँझिंदा पनि आँगनमा नाचगान चलिरहेकै थियो। गाउँलेहरू बिहानैदेखि व्यस्त हुनु पर्छ भन्ने हामी किन ख्याल गर्दैनौं ? राति १० बजेभित्रै नाचगान बन्द गरेमा सबैलाई सजिलो हुन्छ। हामी सबैले होमस्टेको मर्यादा राख्नै पर्छ।

म केहीबेर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापासँग गफिएँ। भिमाद नगरपालिका–५ मा पर्ने मिछुर्लुङ हिमाली सौन्दर्य, मगर संस्कृति र अर्गानिक परिकारका कारण चम्किँदै छ। गाउँमा ७२ घर छन्। ११ घर दलितका र  बाँकी चाहिँ मगरका। गाउँमा धान, मकै, कोदो, गहुँ, भट्मास, बोडी, मास, काउली, बन्दा, साग, मुला लगायत उत्पादन हुन्छ। त्यस्तै भैंसी, बाख्रा र कुखुरा पालन गरिन्छ।
देशका अन्य गाउँमा जस्तै यहाँ पनि युवाको खडेरी छ। पर्यटनको उज्यालोमा समृद्धिको सपना साँचेका छन् गाउँलेहरूले। अचेल गाउँका १४ घरमा होमस्टे सुविधा छ। एकै रात ३० जना बस्न सक्छन् त्यहाँ।  

राति आँगनमा नाचगान चल्दै थियो। व्याकुल दाइ र म बेलैमा सुत्यौं। मध्यरातमा व्यूँझदा पनि आँगनमा नाचगान चलिरहेकै थियो। गाउँलेहरू बिहानैदेखि व्यस्त हुनु पर्छ भन्ने हामी किन ख्याल गर्दैनौं ? राति १० बजेभित्रै सांस्कृतिक कार्यक्रम बन्द गरे सबैलाई सजिलो हुन्छ। हामी सबैले होमस्टेको मर्यादा राख्नै पर्छ। मदिरापान गरेर अबेरसम्म नाचगान गर्दा नाच्नेहरूलाई त मनोरञ्जन होला, गाउँलेलाई चाहिँ मर्का पर्छ। यसमा हामी घुमन्तेहरू सचेत हुनै पर्छ।  

बिहान कोदोको रोटी ब्रेकफास्ट खाँदै हामीले फेरि पर्यटनका कुरा गर्‍यौं। गाउँलेलाई पर्यटनमा लाग्न हाम्रै हरिसिं दाइले हौस्याएका रहेछन्। उनी संस्थापक अध्यक्ष भएको तनहुँ पर्यटन विकास समितिको सहयोगमा ०७१ भदौ १६ गतेदेखि होमस्टे गराउन थालिएको। होमस्टेमा ८ सय रुपैयाँको प्याकेजमा खाजा, डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ। हामी एक रात बस्ने गरी मिछुर्लुङ पुगेका थियौं। त्यसैले सबैतिर घुम्न भ्याएनौं। मिछुर्लुङलाई बुझ्न कम्तीमा दुई रात बस्ने गरी जानु पर्छ। गाउँमा बाजा ढुंगा पनि रहेछ। ढुंगे पहरोमा लौराले हिर्कायो भने बाजा बजाएको आवाज सुनिन्छ रे !  गाउँबाट आधा घन्टा हिँडे त्यो पहरोमा पुगिन्छ।

गाउँको अर्को आकर्षण आँटीढाप झरना हो। करिब ३५ मिटर लामो झरनामा क्यानोनिङ गराइन्छ। होमस्टे व्यवस्थापन समितिलाई दुई–चार दिन अगाडि नै खबर गरेर जाँदा क्यानोनिङ गर्न पाइन्छ। यसलाई व्यवसायिक रूपमा अघि बढाउन सके राम्रो हुन्छ।  अर्को अचम्मको कुरा छ–बाघ गुफा। जंगलमा रहेको गुफाको मुख साँघुरो छ भने भित्र फराकिलो। त्यसमा बाघ बस्ने गरेको कथा सुनाउँछन् बुढापाका। गाउँबाट आधा घन्टामा त्यहाँ पुगिन्छ। मौसम खुलेका दिन अन्नपूर्ण र माछापुच्छे« हिमालको काखमा थपक्क बसेझैं देखिन्छ मिछुर्लुङ। हामीले फोटोमा देख्यौं तर आँखा अगाडि त्यस्तो दृश्य देख्न पाएनौं किनकि बिहान आकाश धुम्मियो। हिमाल खुलेनन्।

मिछुर्लुङबाट सेरोफेरो घुम्न सकिन्छ। चार किमी दुरीको भिमाद बजार पुरानो व्यापारिक केन्द्र रहेछ। आज पनि तनहुँ, पाल्पा, स्याङ्जा र नवलपुृर जिल्लाका केही गाउँको किनमेल केन्द्र त्यहीँ हो। भिमादबाट करिब ४ किमी दुरीमा घुम्न लायक गुफा छ। तलैतला भएको गुफामा थरीथरीका देवदेवीका आकृति छन्। त्यसलाई सिद्ध गुफा इको पार्कका रुपमा विकास गरिँदैछ। सरकारले भर्खरै घोषणा गरेका एक सय नयाँ गन्तव्यमा यो पार्क पनि परेको छ।

केही वर्षपछि तनहुँ सदरमुकाम दमौलीबाट जलयात्रा गरेरै भिमादसम्म ओहोरदोहोर गर्न सकिनेछ। दमौलीमा तनहुँ हाइड्रोपावरको बाँध बाँधेपछि तालको प्रभाव क्षेत्र भिमादसम्म पुग्नेछ। पञ्चवर्षिय योजनासहित ४० मेगावाटको जलविद्युत योजनाको काम भैरहेको छ। होमस्टेलाई केन्द्र बनाएर प्रख्यात अजम्मरी माई र थानी माईको दर्शनमा निस्कन सकिन्छ। मिछुर्लुङबाट गाडीमा २५ मिनेट र पैदल डेढ घन्टामा थानीमाई पुगिन्छ भने एक घन्टा गाडी यात्रामा अजम्मरी माई पुगिने होमस्टेका अध्यक्ष बताउँछन्।  गाउँबाट ल्याउने कोसेलीमा सिजनल तरकारी (साग, काउली, बन्दा, आलु), फलफूल (नासपाती, सुन्तला)का साथै हस्तकलाका सामग्रीहरु खुर्पेटो, चकटी र फुर्लुङ (माछा राख्ने भाँडो) हुन्। आक्कलझुक्कल गाउँमा बुडुवा खोलाको माछा पनि पाइन्छ।   

फर्कने बेला आमा समूहले टीका लगाएर बिदाइ गर्‍यो। ‘फेरि हाम्रो गाउँ आउनु पर्छ है दाइ’, पत्रकार मित्र प्रतापले आत्मीयता दर्शाए। हुन त आफ्नो कुरा सबैलाई प्यारो लाग्छ। तन्नेरी प्रताप जन्मथलोलाई पर्यटनग्राम बनाउन बलबुताले भ्याएसम्म लागेका छन्। हामीलाई लाग्यो, उनी जस्ता युवाले अब पर्यटन विकासको नेतृत्व लिनु पर्छ। मिछुर्लुङको मार्केटिङ पुगेको छैन। तनहुँकै टुटेपानी, मिछुर्लुङ, छिम्केश्वरी, रामकोट र कोरिखा जस्ता सुन्दर गाउँहरुको बजारीकरण गर्न मुग्लिनदेखि नै ठाउँठाउँमा आकर्षक तस्बिर र सम्पर्क नंम्बर सहितका होर्डिङ बोर्ड मात्रै राख्न सके पनि ठूलै उपलब्धि हुनेछ। साथै युट्युब, फेसबुक पेज, वेवसाइट बनाएर आक्रामक प्रचारमा युवाहरू लाग्नु पर्छ।
हाम्रो ग्रामीण पर्यटनको अवस्था हेर्दा अधिकांश ग्राहक आन्तरिक पर्यटक नै हुन्।  मिछुर्लुङले पनि नेपालीलाई लोभ्याउन सक्छ। म पनि हिमाल खुलेका बेला फेरि एकपटक मिछुर्लुङ घुम्ने छु।  कसरी पुग्ने ः काठमाडौंबाट एकै दिनमा मिछुर्लुङ पुग्न सकिन्छ। काठमाडौं–दमौली १५० किमी। दमौली–खैरेनीटार २२ किमी। खैरेनीटार–भिमाद ८ किमी। भिमाद–मिछुर्लुङ ४ किमी। काठमाडौंबाट भिमाद हुँदै पाल्पासम्म बस चल्छन्। त्यस्तै दमौली र पोखराबाट पनि बस चल्छन्।

प्रकाशित: ४ फाल्गुन २०७५ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App