१६ चैत्र २०८० शुक्रबार
अन्य

दाँते ओखरजस्तै कविता

कवि गोविन्द नेपालका विचारमा कविता लेख्नु, पढ्नु, सुन्नु वा सुनाउनु मात्र होइन, कवितै बाँच्नु अझ महत्वपूर्ण कुरा हो। जिन्दगीसँगै बाँच्दा कविता बहुआयामिक हुन्छ, अनि कविताले जीवन भेटाउँछ। 
कवितालाई जीवनको चौथो आवश्यकताका रूपमा चित्रण गरेका छन् उनले। आहार, निद्रा, मैथुन अनि कविता। हालै उनले ‘तर्कको साम्राज्य’ कविता संग्रह लिएर नेपाली साहित्यमा दरो उपस्थिति जनाएका छन्। यसअघि उनका ‘ढुंगाको मन’‐गजल संग्रह,०५५) र अक्षर खेल्ने आँगन ‐कविता संग्रह, २०६३) छापिइसकेका छन्। 

संग्रहमा संग्रहित कवितामध्ये ‘बा एक विश्वविद्यालय’मा कविले बाको जीवन दर्शन नै इमान रहेको चित्रण गरेका छन्। इमान जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो भनेका छन्। सधैं आत्मविश्वासको साथ जीवनको पाठ्यक्रम घोक्दै जिउनुको परीक्षामा सधैं उत्कृष्ट अंक लिएर पास गरेको र कविले बाकै विश्वविद्यालयमा आदर्श जीवनको उच्च शिक्षा अध्ययन गरेको भन्दै बालाई आदर्श व्यक्तिका रूपमा उभ्याएका छन्। ‘फेसबुक फेभर’मा फेसबुक मोहप्रति व्यंग्य गरेका छन्।‘श्रीमती माइत गएपछि’ मा श्रीमती नभएको घरमा न उत्साह हुन्छ न उमंग। श्रीमतीबिनाको घर छाडेको घरजस्तै उराठलाग्दो हुने उनको निचोड छ ।

‘माया : पहिले र अहिले’ मा अहिलेको स्वार्थप्रेरित मायाको चित्रण छ। विकारग्रस्त सोच उत्खनन् गरिएको छ ‘किस्ने’मा। यसमा पहुँचवालाको जयगान र सामान्य मान्छेलाई अपमान गर्ने मान्छेका हेपाहा प्रवृत्ति देखाइएको छ। यसमा सबैको उत्तिकै महत्व हुन्छ भन्ने नबुझ्ने मान्छेको कमजोरी औंल्याइएको छ। ‘आलेखमा कवि पूर्णविराम’मा कविले पूर्णविरामलाई आदर्श गुरु मानेका छन्। हाडमासुको पहाड नै सबथोक होइन। कद सानो भए पनि व्यक्तित्व उच्च हुनुपर्छ भन्ने स्पष्ट पारेका छन् उनले। ‘कालोपनको विपक्षमा’ कवि दुभार्वनाविरुद्ध उभिएका छन्। 

‘इरेजर’मा जिन्दगीमा यो गर्छु, ऊ गर्छु भन्दाभन्दै आफैं सकिने यथार्थ छ। ‘कृपया आवेशमा नआउनु होला’ मा कवि आडम्बरी प्रंशसाको बर्खिलापमा छन्। ‘दृष्टिदोष’मा संसारलाई संकुचित आँखाले नहेर्न आग्रह गरेको छ। ‘भुइँमान्छे’ मा सामानताको आग्रह छ। ‘माया र व्यस्तता’मा आफूलाई भुलेर गरिने चोखो मायाको प्रसंग छ। ‘परदेशी खसम र सखीको सपना’मा साथमा खसम नहुँदाको पीडा प्रकट गरिएको छ। 

कवि गोविन्द नेपाल विश्वजनीन प्रेम र उज्यालोको पक्षमा छन्। कविता लेख्नेहरूको भीडमा उनले छुट्ट्रै पहिचान बनाएका छन्।


‘रोइरहेकी तिमीलाई’मा मानवीय करुणा अभिव्यक्त भएको छ। ‘मानिस खोज्दै शहरको भीडमा’ कविले शहरीया यान्त्रिकता तथा हराउँदै गएको मानवीयपन उल्लेख छ। अर्थात् कविले मान्छेको आफूचिन्ते र छद्मभेषी प्रवृत्ति विश्लेषण गरेका छन्। यसममा गाउँमा पाइने आत्मीयता देखाइएको छ। ‘बाटोमा’ सुन्दरताको बयान छ। ‘क्यालेन्डरमा जीवनको पाना पल्टाउँदै’मा कविले १२ महिनाको विशेषता शब्द दृश्यमा चित्रण गरेका छन्। ‘संकट’मा बेमौसमी राग अलाप्नेप्रति व्यंग्य छ। ‘माकुरो सम्झेर’मा मान्छेलाई फसाउने प्रवृत्ति छ।

‘तिम्रो माया र बाडुली’ बाडुलीलाई हुलाकीमा आरोपित गरेर लेखिएको कवितामा  मायाको मीठो सम्झना देखाइएको छ। ‘तर्क’मा कुतर्कप्रतिको कटाक्ष छ। ‘आगो एक’मा नाशवान् चीज विनाश गर्दैमा वर्गीय विभेद नामेट गर्ने शक्ति भनेर यक्ष प्रश्न छ। ‘आगो दुई’ मा मान्छे आगोभन्दा शक्तिशाली हुन्छ भन्ने देखाइएको छ। ‘आगो तीन’मा इष्र्यालु प्रवृत्तिको चित्रण छ। ‘आगो चार’ मा दुखद् सम्झना आगोले जलाइदियो हुन्थ्यो भन्ने आशा छ। ‘आगो पाँच’मा मान्छेमा सहनशीलताको हद हुन्छ भन्ने चित्रण छ। ‘खोला र गीत’मा गीत रोएको आँसुले खोला बनेको कवि कल्पना छ। ‘आलश्यविरुद्ध’मा सक्रियताको पक्षपोषण गरिएको छ। 

‘शहर, साँल्दाइ र लोकल बस’मा चालक सहचालकको कष्टकर दिनचर्याको चित्रण छ। ‘सखी आउने दिन’मा घरमा सखी नहुँदाको नियास्रोपन देखाइएको छ। ‘तिम्रो माया लागेपछि’मा मायाको शक्ति प्रदर्शन छ। ‘प्रण’मा कवितामोह छ। ‘जिन्दगी रक्स’मा रोमान्सपूर्ण जिन्दगीको बखान छ। ‘उपनामको कथा’मा उपनाममोह छ। ‘कविता र उद्देश्य’ मा कविता आफैंमा उद्देश्य हो भनिएको छ। ‘शब्द चित्रमा एक सुर्तीसेवी’मा सुर्तीसेवीको जिन्दगी तस्बिर छ।

कवि गोविन्द विश्वजनीन प्रेम र उज्यालोको पक्षमा छन्। कविता लेख्नेहरूको भीडमा उनले छुट्ट्रै पहिचान बनाएका छन्। आफ्नो कविताको प्रतिद्वन्द्वी आफैं हो भन्छन् उनी र शब्द प्रयोगमा कहीँ चुकेका छैनन्। देखेको, भोगेको र सुनेको कुरालाई टपक्क टिपेर कविता बुन्ने अदभूत सीप छ उनमा।  
उनले शिष्ट शैलीको प्रयोग गरेका छन्। प्रस्तुतिमा सरलता र शैलीमा मिठासपनले उनका सबै कविता लोभलाग्दा बनेका छन्। उनका कविता दाँते ओखरजस्तै नरम छन्। आशय बुझ्न बौद्धिक कसरत गरिरहनु पर्दैन। ति अर्गानिक स्वादका छन्।

प्रकाशित: १९ माघ २०७५ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App