उनको दैनिकी हेर्दा लाग्छ, उनी अरुकै निम्ति बाँचेका छन्। उनकै कारण कतिको ज्यान बचेको छ। मानिस मात्रै नभएर प्राणीले पनि बाच्न पाएका छन्। युवा उमेरमा अरुको घाउमा मलम लगाउने काममा रमाइरहन्छन्, समाजसेवी दुर्गानाथ दाहाल। सामाजिक कामलाई पेशाजस्तै ठानेर भूकम्पयता उनी अरुको सेवामा निरन्तर लागिरहेका छन्। यो अवधिमा उनले सडकपेटीका कैयौं रोगी अस्पतालसम्म पुर्याएर निको बनाएका छन्। हराएको सन्तान परिवारसम्म पुर्याएर खुसी फर्काइदिएका छन्।
मानसिक होस गुमाएका र अपांगलाई सहयोगी हात माग्दै उपचार गराएर पुर्नजन्म दिएका छन्। सडक, चउर र खाली ठाउँमा अलपत्र छाडेका पशु चौपायालाई पशुपति गौशाला र पशुपक्षी स्याहार केन्द्रसम्म पुर्याइदिएका छन्। चोटपटक लागेका चराचुरुङ्गी, कुकुर, गाई, गोरुलाई उपचार गराइदिएका छन्। बिहान घरबाट निस्कँदा सामान्य रोगको उपचारको लागि डाक्टरको राय सुझाव लिएर उनी झोलामा औषधि बोकेर बाहिर निस्कन्छन्। बाटोमा हिँड्दाहिँड्दै कोही बिरामी, चोटपटक लागेको जनावर र असहाय मानिस देखे उनी त्यहीँ औषधि लगाइदिन्छन्। आफन्तविहीन मानिस छन् भने तीनलाई पनि अस्पतालसम्म पनि पुर्याउने व्यवस्था पछि गर्छन्। वैशाखयता उनले ८० जनाभन्दा बढी बेसाहारा बिरामीलाई अस्पतालसम्म पुर्याएर निको बनाएका छन्। आफन्त र इष्टमित्र फेला परेकालाई घरसम्मै पुर्याइदिन्छन् भने पत्तो नलागेकालाई केही आश्रमसम्म लगेर सहज बास बस्न सक्ने व्यवस्था पनि गरिदिन्छन्।
व्यक्तिगत काम छोडेर उनी भूकम्पपछि सामाजिक कार्यमा होमिएका हुन्। काभ्रेको बनेपास्थित नाला घर भएका दुर्गानाथको बसाई काठमाडौंको बौद्धमा छ। उनी यतै बस्न थालेपछि सामाजिक कामका केन्द्रित भएका थिए। गाडिले हानेका पशुपन्छी, सडकमा कष्टकर जीवन गुजारिरहेका बुढाबुढी, भोकै हिँड्ने मनोरोगी, उपचार नपाएर सडकमा मागेर खाने व्यक्तिलाई उनले विभिन्न अस्पताल पुर्याएर उपचारको वातावरण मिलाइदिएका दाहाल अहिले पनि यो काममा उत्तिकै सक्रिय छन्। उनी भन्छन्, ‘मेरो सानो सहयोग र पहलले कसैको दुःखी जीवनले सुख पाउँछ भने किन नगर्ने, आफूले सकेसम्म सामाजिक क्षेत्रमा काम गर्ने रहर छ।’ कतिपयलाई उपचारपछि घर खोजीखोजी परिवार समक्ष पुर्याउने गरेका दाहालले परिवार र आफन्त नभेटिएकालाई आश्रममा लगेर राख्दिछन्।
उनी आफ्नो सामाजिक कामलाई पारदर्शी बनाउन सामाजिक सञ्जाल तथा मिडियामा पनि छाइरहन्छन्। उनका कतिपय सामाजिक काम भाइरल पनि भएका छन्। त्यसबाट पीडित र दुःखी व्यक्तिले सहयोग पाएका छन्। ‘सामाजिक काम मेरो रहर हो, दिनभरी अरुलाइै सेवा गर्न पाउँदा खुसी लाग्छ,’ उनले सुनाए, ‘यदी म रमाएको पेशाले अरुको जीवनमा खुसीयाली ल्याएको छ भने म किन पछि हट्ने ?’
सामाजिक क्षेत्रमा लाग्नुपूर्व उनी व्यापार गर्थे। चीन, थाइल्यान्ड, भारतलगायतबाट लुगा ल्याएर काठमाडौंमा बेच्थे। लामो समय कपडा व्यापार गर्ने दुर्गानाथले भूकम्पपछि आफ्नो पेशा बदले। उनले सिन्धुपाचोक, रसुवा, धादिङ, काभ्रे, नुवाकोटलगायतका जिल्ला पुगेर भूकम्पपीडितलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरे। त्योसँगै भूकम्पमा आफ्नो घरमा भाडामा बस्दै आएका ८ परिवारलाई एक महिनाको भाडा मिनाहा पनि गरिदिए। उनका काम धेरै छन्।
भूकम्पबाट भत्किएको रानीपोखरी पुनर्निर्माण गर्न नगरपालिकाले पानी फ्याँकेर माछालाई अलपत्र छाडेको थियो। ती माछालाई उनको अगुवाइमा कमलपोखरीमा लगेर छाडिएको थियो। उनले गरेको काम धेरै छन्।
राष्ट्रपति कार्यालयनजिकै गैरीधारामा आफ्नै बुवा आमाले बन्धक बनाएर राखेका दुई बालक (अनिल र शुनिल)को पनि उनले उद्धार गरेका थिए। वीर अस्पतालभित्र हातखुट्टा बाँधेर राखेका बेवारिसे बिरामीलाई बाहिर निकाल्ने काम पनि उनैले गरेका हुन्। त्यहाँबाट निकालेपछि नर्भिक अस्पतालमा लगेर निःशुल्क औषधि उपचारको व्यवस्था पनि उनैले मिलाएका थिए। उनको सामाजिक भावना र दुःखीहरुप्रति गरेको उदाहरणीय काम देखेर नर्भीक अस्पतालले बिरामीको उपचार निःशुल्क गरिदिएको थियो। उनकै पहलमा अहिले दुःखी असहाय र गरिबको निम्ति मानव सेवा आश्रम बनाउने कार्य पनि अघि बढेको छ। सामाजिक कामको सहजताको लागि उनले अहिले परोपकारी समाज नेपाल संस्था खोलिसकेका छन्।
प्रकाशित: १४ माघ २०७५ ०६:५९ सोमबार