अढाई दशकभन्दा बढी भइसकेको छ २८ वर्षीया सुलोचना भोयद्युले आमाको सहाराले आफ्नो जीवन यात्रा बढाएको। नर्सरीदेखि बिए दोस्रो वर्षसम्म आमाको हात समाउँदै घर र शिक्षालय जाने गरेकी उनले आइतबारदेखि जीवनमा पहिलो पटक ह्वील चियरमार्फत आफ्नो स्वतन्त्र यात्रा सुरु गरेकी छिन्।
‘ह्वील चियर भए पढाइ छुटदैनथ्यो’ शीर्षकको अघिल्लो साता नागरिकमा प्रकाशित उनी बारेको समाचार पढेपछि काठमाडौं क्षेत्रपाटीका समाजसेवी कृष्णगोपाल श्रेष्ठले आधुनिक विधुतीय ह्वील चियर उपलव्ध गराएसँगै सुलोचनाको नयाँ यात्रा सहज बनेको हो। ‘मलाई सुलोचनाको भन्दापनि उनको आमाले छोरीको लागि गरेको दुःखले मन छोयो,’ उनले भने, ‘यसले उनीसँगै उनको आमालाई पनि केही आराम मिल्ने विश्वास लिएको छु।’
भक्तपुर लिवालीकी मैया भोयद्युले शारीरिक रूपमा अशक्त छोरीलाई नर्सरीदेखि अहिले स्नातक तहसम्म डोरएरै शिक्षालय पुर्याउँदै आएकी छिन्। छोरी ह्वील चियरम चढेर घर अगाडीको बाटोमा ओहोरदोहोर गरेको दृश्यले मैयाँको आँखाबाट आँसु झरेको थियो। ‘म नहँुदा पनि अब उसको पढाइ रोकिने छैन,’ उनले भनिन्, ‘बल्ल उसले हिँडेजस्तो लागेको छ।’ छोरीको अनुहारमा पहिलो पटक यति धेरै खुसी देखेको उनले बताइन्।
‘जीवनले नयाँ गति पाएको महसुस भएको छ,’ विद्युतीय ह्वील चियर पाएपछि शारीरिक रूपमा अशक्त सुलोचनाले सुनाइन, ‘अब नयाँ बाटोबाट अगाडी बढ्नेछु।’
त्यसो त केही महिना अगाडी ‘नागरिक नेटवर्क’मा ‘छोरीको शिक्षाप्रति आमाको समर्पण’ शीर्षकको दृश्य समाचार पनि प्रकाशित भएको थियो। तर त्यसमा सुलोचनाले ह्वील चियरबारे माग गरेकी थिइनन्। ‘आमाले सकुन्जेल अरुलाई दुःख दिने चाहना थिएन,’ उनले भनिन्, ‘आमा बिरामी भएर पढाई छुट्न थालेपछि ह्वील चियर माग्न बाध्य भएको हँु।’ ह्वील चियरमा बसेर यात्रा गर्दै गरेकी उनले निकै रमाइलो लागेको सुनाइन्। ‘जीवनले नयाँ गति पाएको महसुस भएको छ,’ आफ्नो अस्पष्ट बोलीलाई साथीमार्फत लिपिबद्ध गर्दै उनले सुनाइन्, ‘अब नयाँ बाटोबाट अघि आपूmलाई अगाडी बढाउने छु।’
सुलोचनाले ह्वील चियरमार्फत आफ्नो यात्रा सुरु गरेको दृश्य छरछिमेकले पनि निकै चाख मानेर नियालेका थिए। सुलोचनाको पढाइप्रतिको लगाव र आमा मैयाँको छोरीप्रतिको समर्पणले धेरैको मन छोएको छ। ‘निरन्तर छोरीलाई डोर्याएर विद्यालय लैजाने–ल्याउने आमाको योगदान अतुलनीय छ,’ बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ भन्छन्, ‘सुलोचना र उनकी आमा मैयाँ सबैका लागि प्रेरणास्रोत हुन्।’ ह्वील चियरका कारण सुलोचना र उनकी आमा दुवैको लागि यात्रा सहज हुने उनले सुनाए।
सुलोचनाले बोलेको नयाँ मान्छेले राम्रोसँग नबुझे पनि उनका नजिकका साथीले भने प्रस्ट बुझ्ने गरेका छन्। हातखुट्टा नचल्ने सुलोचना राम्ररी बोल्न पनि सक्दिनन्। उनले पुस्तक पढ्ने र सुन्ने गर्छिन्। परीक्षामा उनले भनेको बुझ्नेलाई सहयोगीका रुपमा राखेर लेख्न लगाइन्छ। ‘सुलोचनामा सोच्ने क्षमता राम्रो रहेको छ,’ प्राचार्य धनकुमार थप्छन्, ‘त्यही भएर उनले ह्वील चियरको कार्य प्रणली पनि सजिलै बुझिन्।’ कामिरहेका सुलोचनाका औंलाले विद्युतीय ह्वील चियरका फङ्सनमा सजिलै पकड पाएको थियो।
ह्वील चियरमा यात्रा गरेपछि सुलोचनाले सवारी चालकसँग अपांगता भएका मानिसलाई बेवास्ता नगर्न आग्रह गरिन्। कहिलेकाहीँ सवारीमार्फत सहर जाने र घुम्ने इच्छा भएपछि सवारी चालकले आफ्नो अवस्था हेरेर नरोख्ने गरेको तीतो यथार्थ पोखिन्। ‘हाम्रो शरीर चल्दैन तर हामीलाई अगाडी बढ्न मन लाग्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा चालक तथा सहचालकले गरेको बेवास्ताले दुःखी बनाउँछ।’ सुलोचनाले पढेर भविष्यमा समाजसेवा गर्ने सोच राखेकी छिन्। धेरै मानिससँग भेट्ने उनको रहर छ। ‘मलाई विद्यालय मात्र हैन अन्य मन परेको ठाउँमा जान पनि यो साधनले सजिलो बनाउने छ,’ सुलोचनाले भनिन्, ‘म अब नजिक रहेका ठाउँमा आफैं घुम्न जानेछु।’
प्रकाशित: १४ माघ २०७५ ०६:५३ सोमबार