मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।
छालाको समस्या
अघिल्लो वर्ष दराज, सन्दुकमा थन्क्याइएका बाक्ला खालका लुगाहरु (स्वीटर, ज्याकेट, उनी लुगाहरु) झिक्दै लगाउन थाल्छौं । यस क्रममा लुगा तथा कपडाको प्रकृतिअनुसार घाममा सुकाएर, राम्रो सँग धोएर, आइरन लगाएर, सफा गरेर लगाइएन भने छालाको एलर्जी हुन सक्छ । धेरै समयदेखिको कपास तथा कपडा प्रयोग गरी बनाइएका बाक्लो चोलो नयाँ नै बनाएको भए पनि एकपटक धोएर लगाउनुपर्दछ । यसो गरेको खण्डमा शरीरमा रातोपना सँगै डाबर उठ्ने एलर्जीको समस्या हुँदैन ।
यसैगरी जाडोयाममा ओठ मुख तथा हातगोडा एवं कुर्कुच्चा फुट्ने समस्या पनि बढ्ता देखिने गरेको छ । ओठ फुट्नुको अन्य लक्षण ओठ सुख्खा, रातो र सुन्निएको देखिनु हो । यसका साथै ओठको पातलो छालाको बाहिरी सतहसमेत निस्कन र स–साना चिरापन देखिन सक्छ । ओठ पहेँलो र फुस्रो समेत देखिन्छ । ओठ तथा शरीरका अन्य छाला फुट्नुको मुख्य कारण यसमा रहेको ओसिलोपनामा कमी आउनाले हो । मुख्यतः जाडो मौसमको बेला हावा सुख्खा हुने गरेकोले ओठको रसिलोपनामा धेरै कमी आउँछ ।
ओठलाई सदैव रसिलो राखि राख्न प्राकृतिक रुपमा यसको बाह्य सतहमा एउटा निकै पातलो तैलिय पत्रको व्यवस्था गरेको हुन्छ । यसले ओठको रसिलोपना कायम गर्छ । कतिपय ओठलाई अत्यधिक चुस्ने, टोक्ने बानी भएका महिलामा -यालमा रहेको विशेष इन्जाइमले ओठलाई इरिटेट (चिडचिडाहट) गर्दछ । र, झन् बढ्ता ओठ फुट्छ । यस्तो समस्या भएको बेला सुन्तला, कागतीको रसजस्ता अम्लिय पदार्थ प्रयोग गर्नुहुन्न किनकि यसले ओठमा थप समस्या निम्त्याउँछ ।
यो समस्याबाट बच्न मह, घ्यू र नरिवलको तेललाई ओठमा लगाउन सकिन्छ । पेट्रोलियम जेलयुक्त बाम, चिपिस्टिक वा लिपिस्टिक लगाउने गरेमा यो समस्याको अस्थायी निराकरण हुन्छ । यसले ओठको बाह्य झिल्लीलाई रसिलो बनाई राख्छ । ओठ फुट्ने समस्या भएकाले सूर्यको प्रकाशबाट पनि बच्नुपर्ने हुन्छ । तर जाडोयाममा घाम ताप्न मन पराउने हुनाले घाममा बस्दा लिप बाम, चिपिस्टिक वा सनस्क्रिन लगाउनुपर्दछ । यसका साथै ओठ टोक्ने, मुखबाट सास फेर्ने बानी हटाउनुपर्दछ । घरमा एअर कन्डिसन प्रयोग गर्ने गरेको छ भने हावालाई आद्र्रयुक्त (ह्युमिड) बनाई राख्नु पर्दछ । घर तथा अफिसमा ग्याँस वा मट्टितेलबाट चल्ने हिटरछेउ बसी काम गर्ने बानी छ भने पनि कोठाभरिको हावा शुष्क नहुने उपाय अपनाउनु पर्दछ । पानी पनि प्रशस्तै पिउनुपर्दछ ।
हात गोडा तथा कुर्कुच्चा फुट्ने समस्याबाट बच्न पट–पटक तातो चिसो पानी चलाइराख्नु हुँदैन । बाथरुम वा अन्यत्र हातखुट्टा धुनलाई तातोपानी वा चिसोपानी एकैथरि मात्र प्रयोग गर्नुपर्दछ । हातगोडा न्यानो पार्न पञ्जा मोजा लगाउनु पर्दछ । छालालाई शुष्क हुन नदिन तथा छालालाई ओसिलो बनाई राख्न भ्यासलिनको अधिक प्रयोग गर्नु पर्दछ । विशेषतः पानी चलाउनु अगाडि भ्यासलिन दल्नु राम्रो हुन्छ । हात फुट्ने समस्या भएकाले बाइकमा यात्रा गर्दा पञ्जा अनिवार्य रुपमा लगाउनु पर्दछ । कुर्कुच्चा फुट्ने समस्या भएको महिलाले राति मनतातो नुनपानीमा केहीबेर खुट्टा डुबाएपछि सुख्खा हुने गरी पुछेर भ्यासलिन, ग्लिसिरिन दल्नु पर्दछ ।
जनेन्द्रियमा समस्या
जाडो मौसममा बालबालिकालाई छालाको अलावा जनेन्द्रिय, श्वासप्रश्वासलगायतका स्वास्थ्य समस्याले सताउने गरेको छ ।
जाडो मौसममा शारीरिक सरसफाइमा कमी भयो भने यौनाङ्ग वरिपरि चिलाउने समस्याको अलावा अन्य विभिन्न समस्या देखिन सक्छ । यौनाङ्ग वरिपरि ट्राइकोमोनास तथा क्यान्डिडा लगायतका संक्रमण, छालाको समस्या, यौनाङ्ग वरिपरि भागको संक्रमण तथा सुजन, फङ्गसन, भाइरस, जुम्रा तथा चुर्नाको कारण, भिरिङ्गी, एलर्जीका कारण यौनाङ्ग वरिपरि चिलाउने हुन सक्छ ।
पोसिलो खानेकुरा खाने, खुकुलो खालको कटनबाट बनाइएको भित्री कपडा मात्र लगाउने, आवश्यकताअनुसार एन्टीबायोटिक खाने वा स्टेरोइडयुक्त मलम लगाउने वा चिलाउन कम हुने एवं हल्का निद्रा लाग्ने औषधि केही दिनलाई चाहिन सक्छ । सबैभन्दा महत्वपूर्ण कार्य चाहिँ नियमित तवरले यौनाङ्गको उचित सरसफाइ नै हो ।
श्वासप्रश्वासको समस्या
जाडोयाममा चिसोपना, शुष्कता एवं आगो, अन्य धुँवाको कारणले श्वासप्रश्वासको समस्या (जीर्ण प्रकारको) तथा रुघाखोकीको समस्या बढ्न सक्छ । श्वास प्रश्वाससम्बन्धी समस्याअन्तर्गत दम, ब्रोङ्काइटिस र निमोनिया पर्दछन् । विशेषतः जाडोयाममा श्वासप्रश्वासका समस्याका कारण अस्पताल ल्याइ पु-याउने बालबालिकाहरुको संख्या निकै हुन्छ । अन्य देशहरुको दाँजोमा नेपालमा धूमपान गर्नेको संख्या अधिक छ । त्यसैले पनि बालबालिका आपैंmले धूमपान नगरे पनि आफ्ना अभिभावकले सेवन गरेको धूमपानको अप्रत्यक्ष असर बालबालिकालाई पर्न सक्छ । श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदूषण, रासायनिक पदार्थ मिसिएको धुवाँले पनि श्वासप्रश्वास रोग गराउन सक्छ ।
चिसोपनाले हुने एलर्जी, न्यानो पार्नका लागि आगो ताप्ने क्रममा आउने धुँवाले श्वासप्रश्वाससम्बन्धी समस्यालाई बल्झाउन सक्छ । नेपालको शहरी क्षेत्र बाहेक अन्य ठाउँमा (विशेष गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा) खाना पकाउन तथा कोठा न्यानो बनाउन परम्परागत रुपमा दाउरा नै बाल्ने चलन अभैm छ । त्यसैले पनि नेपालमा सानै उमेरमै सीओपीडी (जीर्ण प्रकारको श्वासनली साँगुरिने रोग) को समस्या हुने बालबालिकाको संख्या निकै धेरै छ । त्यसैले बेलैमा यस्ता हानिकारक तत्वहरुबाट टाढा रहन एवं चिकित्सकको सल्लाहबमोजिम श्वासनली फुक्ने तथा एन्टीबायोटिक औषधि चाहिन सक्छ ।
पोल्ने समस्या
हिटर वा अगेनोमा आगो ताप्ने कार्यमा बालबालिकाको ख्याल गर्नु पर्दछ । न्यानोपनाका लागि हटवाटर ब्याग प्रयोग गर्ने गरेको छ भने निकै सजगता अपनाउनु पर्दछ । बिजुली हिटरको प्रयोगमा सतर्कता अपनाएन भने ठूलो विपत्ति निम्तिन सक्छ । काम सकेपछि सबैजसो विद्युतीय सामानको स्वीच राम्ररी बन्द गर्न आवश्यक हुन्छ । विगत केही वर्षदेखि मनतातो पानीले नुहाउन गिजरको प्रयोगले दुर्घटनाका खबर आइराखेका छन् । विशेषगरी बालबालिकाहरु नुहाउन लाग्दा हावा राम्ररी चलखेल हुन्छ, हँुदैन ख्याल गर्नुपर्दछ । यसकारण अभिभावकहरुले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।
अन्य समस्या
जाडो महिनामा शारीरिक तापका लागि बढ्ता शक्ति चाहिन्छ । त्यसैले कार्बोहाइड्रेट तथा चिल्लो पदार्थयुक्त खानाहरु आफ्नो शारीरिक अवस्थाअनुसार खानु श्रेयस्कर हुन्छ । जाडोको मौसम बिहा तथा भोजभतेरको समय पनि भएकोले बालबालिकाले चिल्लो, मसलायुक्त खाना खाएको खण्डमा अपच, ग्यास्ट्राइटिस तथा पखाला हुन सक्छ । त्यसैले कम चिल्लो तथा कम पिरोयुक्त खाना खानु राम्रो हुन्छ ।
प्रकाशित: २ माघ २०७५ ०७:३१ बुधबार