१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

ग्रामीण पर्यटन : पोयट्री भिलेज ट्रेक

कविता गाउँ–सुन्दै मिठो लाग्छ। धेरै कवि जन्मिएकाले कविता गाउँ भनिएको होइन। एउटा कविले जुराइदिएको बिम्ब हो–कविता गाउँ। पोखरा पर्तिरको लुम्लेलाई ‘कविता गाउँ’ देखेका थिए गीतकार विनोद गौचनले। उनकै परिकल्पनामा सिंगो लुम्ले गाविसलाई १५ चैत ०६५ का दिन कविता गाउँ घोषणा गरिएको थियो।

सबैलाई थाहा छ–धेरै पानी पर्छ लुम्लेमा। लुम्लेलाई नेपालको चेरापुञ्जी पनि भनिन्छ। झमझम पानी पर्दा मनमा सुख–दुःखका भाव सल्बलाउन थाल्छन्। त्यसैले लुम्लेको वातावरणमा कला, साहित्य र संगीतका स्रष्टाको मन झन भरिलो बन्छ।

अरूण थापाले गाएको ‘जति माया लाए पनि, जति कसम खाए पनि’, कन्दरा व्याण्डका विवेक श्रेष्ठले गाएको ‘तगारोमा रूमाल राखि बाटो छेक्यौ तिम्ले’ र दिलु गुरूङले गाएको ‘कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गाह्रो भो’ जस्ता कालजयी गीतका लेखक हुन् विनोद। उनका दुइटा कविता कृति प्रकाशित छन्–ढुंगेसाँघुको मेलामा र पोखरामा फूल फूल्दैन।

गीतकार विनोद गौचनको परिकल्पनामा कास्कीको लुम्लेलाई ‘कविता गाउँ’ घोषणा गरिएको थियो। मौजुदा पर्यटनलाई कला, साहित्य र संगीतको स्वादले रिब्राण्डिङ गर्ने नौलो प्रयास थियो त्यो।  

बरोबर, धम्पुस, लुम्ले, काँढे, अष्ट्रेलियन क्याम्प, वीरेठाँटी, तानचोक, लान्द्रुक, भदौरेतिर हिँडिरहने ‘पदयात्री कवि’ विनोदले राम्रै उपमा दिएका हुन्–कविता गाउँ। मौजुदा पर्यटनलाई कला, साहित्य र संगीतको स्वादले रिब्राण्डिङ गर्ने नौलो प्रयास थियो त्यो।

अन्नपूर्ण पदमार्गमा पर्छ लुम्ले। पुनहिल, मर्दि हिमाल र अन्नपूर्ण आधारशिविर जाने पदयात्री लुम्ले क्षेत्रका गाउँ डुल्छन्। ति गाउँहरूमा गुरुङ, थकाली, बाहुन, क्षेत्री र विश्वकर्मा आदिको बसोबास छ। लुम्लेबाट हिमालको लामो लर्कन देखिन्छ। अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरीदेखि लमजुङ हिमालसम्मको लामो लर्कन। विशेषतः पोथाना, चन्द्रकोट, अष्ट्रेलियन क्याम्प र लान्द्रुकबाट हिमाली दृश्य देखिन्छ।

पर्यटनका पण्डितहरूले बुद्धि पुर्‍याएर नयाँ ढंगले ब्राण्डिङ गरेर मार्केटिङ गर्न सके लुम्लेले मात्र होइन, समग्र देशले थप फाइदा लिन सक्छ। ‘पोयट्री भिलेज’ आफैंमा राम्रो ब्राण्ड हो। हामी ‘पोयट्री भिलेज ट्रेक’मा संसारभरका पर्यटकलाई नयाँ स्वाद दिलाउन सक्छौं। नयाँ अनुभूति दिलाउन सक्छौं।

एउटा कविले आफूलाई लागेको कुरा भनिदियो। गाउँलेले साथ दिए। बाँकी काम गर्ने दायित्व त स्थानीय निकाय, सरकार, पर्यटन बोर्ड लगायतको हो। अब अलिकति दुखद कुरा–ती लोकप्रिय कवि विनोदले यो धर्ती छाडेको २० पुसमा पाँच वर्ष पुग्यो। कविता गाउँ घोषणा भएको तिथिलाई समातेर लुम्लेबासीहरू चैत १५ गते बार्षिकोत्सव मनाउँछन्। पुस २० मा गौचन परिवार र शुभेच्छुकले कहिले पोखरामा र कहिले लुम्लेमा कार्यक्रम गर्छन्। उनलाई सम्झन्छन्। कविता गाउँको विकासमा गौचनले देखेका सपना अधुरा छन्, पुरा गर्ने दायित्व हामी सबैको हो।   

स्थानीय गाउँपालिकाले कविता गाउँका परिकल्पनाकार गौचनको प्रतिमा बनाउनु पर्छ। त्यसका लागि उसले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको विनोदका दाजू विश्वमोहन गौचन बताउँछन्। लुम्ले क्षेत्रमा गौचन सहित कला, साहित्य र संगीतका मुर्धन्य स्रष्टाहरूका सालिक राखेर ‘स्ट्याचु पार्क’ बनाउन सके त्यो ठूलो पर्यटकीय आकर्षण केन्द्र बन्न सक्छ।

कविता गाउँ घोषणा पछि गाउँलेमा सांस्कृतिक जागरण बढेको छ। त्यस क्षेत्रलाई ‘पोयट्री भिलेज ट्रेक’का रूपमा ब्राण्डिङ गरेर प्रचार गर्न सके नेपाली पर्यटनले फाइदा लिन सक्छ। लुम्ले क्षेत्रमा होटल तथा रेष्टुँरा छन्। विनोद दाइ भन्थे, ‘होटलका कोठामा नेपालीपन झल्काउने राष्ट्रिय झण्डा, सारंगी, ठेकी, खुर्पेटो आदि सामग्री सजाउनु पर्छ। नेपाली र अंग्रेजी भाषामा राष्ट्रिय गानकासाथ चर्चित कविता तथा चित्र राख्नु पर्छ।’

पदयात्री थरिथरिका हुन्छन्। ‘हामी कविता गाउँमा आइपुग्यौं भन्ने थाहा पाउँदा उनीहरु खुशी बन्छन्’, दाई सुनाउँथे, ‘उनीहरुलाई भजन, रत्यौली, वालन, घाटुजस्ता नाच देखाएर आम्दानी गर्न सकिन्छ।’ पोखरा बसाइमा विनोद दाईसँग हामी केही युवाले पदयात्रा गर्ने मौका पाएका थियौं। अक्सर हाम्रो टोलीमा मित्रहरू केशवशरण लामिछाने, रूपनारायण ढकाल र दाजू प्रकट पगेनी ‘शिव’हरू हुन्थे। विनोद दाई हामीलाई पदयात्रा गर्न प्रेरित गरिरहन्थे।  कविता गाउँ घोषणा भएको एक दशक पुरा हुँदैछ यसपाला। त्यसैले आउँदो चैतमा मुलुकभित्रका केही स्थापित कवि/लेखकसँगै ‘पोयट्री भिलेज ट्रेक’मा पदयात्रा गर्ने छौं हामी। यात्राभर विनोद दाईका सम्झना बोकेर।  

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि बसमा। पोखरा–लुम्ले ३० किमि। पदयात्रा गर्दा पोखरा–बाग्लुङ राजमार्गको काँडेसम्म बसमा। त्यहाँबाट उकालो चढे डेढ घन्टामा पोथाना। काँडे नजिकै लुम्ले कृषि केन्द्र र लुम्ले गाउँ छ। लुम्ले घुम्तिबाट आधा घन्टा हिँडाइमा चन्द्रकोट। त्यस्तै अर्को बाटो पोखराबाट धम्पुससम्म जिपमा। त्यहाँबाट दुई घन्टा पदयात्रामा पोथाना। पोथानाबाट टोल्का हुँदै लान्द्रुक वा तानचोक भएर लुम्ले गाउँ।

प्रकाशित: २१ पुस २०७५ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App