प्रकाशराज पाण्डे
आमादब्लम संसारको ‘ब्युटिफुल माउन्टेन’को नामले चिनिन्छ। तर, माउन्टेन जति ब्युटिफुल छ, आरोहणचाहिँ त्योभन्दा धेरै कठिन। जे कठिन भनिन्छ, त्यही काम गर्न मन लाग्छ मलाई। स्काउटिङ शिक्षामा भनिएको छ, ‘स्काउट बहादुरी र साहसी हुन्छ।’
१३ वर्षदेखि स्काउटमा लागिरहँदा आफुलाई ‘बहादुर’ र ‘साहसी’ प्रमाणित गर्न जहिल्यै तयारी भएँ। त्यही भएर सगरमाथाको चुचरो पुगेर झण्डा फहराउन पाएँ। हिमाल चढ्ने काम त नसा रहेछ। स्काउटमा रहँदा स्काउटका संस्थापक वेडेन पावलको नामबाट नामकरण गरिएको लाङटाङको ५८९० मिटर अग्लो पिकको आरोहण गरेँ। यसपछि नै हो सगरमाथा आरोहणको सपना देख्न थालेको।
सपना निदाएर होइन, निन्द्रा नलाग्नेगरी देख्नुपर्छ भन्ने सुनेको थिएँ। त्यसै गरेकाले होला, गत वसन्तकालीनमा सगरमाथाको चुचुरो पुग्न सफल भएँ। संसारको छानो मानिने सगरमाथा पुगेपछि त्यतिकै बस्न मन कहाँ मान्दो रहेछ र। अरु कुनै हिमाल जाउँझैं मनमा भइरह्यो।
ग्रिस्मकालीनमा आमडब्लम (६८१२ मिटर) हिमाल आरोहणको योजना बनाएँ। तर, आर्थिक स्रोत जुटाउन सजिलो थिएन। शुभचिन्तकले सगरमाथा आरोहणमै सहयोग गरिसकेका थिए। फेरि, तिनीहरूलाई नै थप सहयोग माग्ने आँट आएन। ऋण गरेर भए पनि आरोहण तयारी गरेँ।
क्याम्प १ बाट बाटो उकालो थियो, त्यति डर लागेन। त्यहाँबाट अगाडि बढ्दा ‘यलो टावर’ आयो। यहाँ पुग्दा एकपटक झस्किएँ। सगरमाथा चढ्दा सबैभन्दा गाह्रो हिलारी स्टेप सम्झिएँ। फर्कियौंझैं पनि लागेको थियो। फेरि, मैले स्काउटिङ शिक्षा नै सम्झिएँ, ‘स्काउट साहसी र बहादुर हुन्छ।’
फेरि, हिमाल चढ्नुको उद्देश्य पनि विश्वभरका स्काउटलाई सन्देश फैलाउनु थियो। त्यही सन्देशबाट पर्यटन वर्ष २०२० को प्रचारप्रसार गर्नु थियो। आमडब्लाम हिमाल चढ्ने पहिलो स्काउट पनि बन्दै थिए म। सोचेँ, ‘म फर्किनु भनेको विश्वकै स्काउटको साहस घट्नु हो।’
मेरो साथमा थिए गाइड गेसमान तामाङ। उनै गाइडले पनि हौसला थपे। सक्छौं, प्रकाश गोअहेड भन्दै हौसला दिए। हुन पनि हिमाल चढ्दा गाइडको ठूलो भूमिका हुन्छ। गाइडबिना त कसरी हिमाल चढ्न सकिएला र ? त्यसैले त अरुले हिमाललाई ‘भगवान’ मान्छन्, मचाहिँ गाइडलाई ‘भगवान’ मान्छु।
दोस्रो क्याम्पमा बास बस्यौं। ठाउँ साँघुरो थियो। दिसा–पिसाब गर्दा पनि डोरी छोड्न नहुने। डोरी छाडेर खसिए, सधैंलाई हिमालमा बास। त्यसैले त राति सुत्दा पनि शरीर डोरीमा अल्झायौं। आरोहणलाई सजिलो बनाउन डोरी राखिएको हुन्थ्यो। तर, कुन पुरानो र नयाँ डोरी भनेर चिन्न पनि सकस। पुरानो डोरी मक्किएको हुन्थ्यो, समाए चुडिने डर।
जसोतसो आमडब्लामको चुचुरो पुगियो। वरिपरि हिमालले घेरेको चुचुरो पुग्दा त क्या आनन्द आउने रहेछ। त्यही चुचुरोबाट सगरमाथा, चोयु, मकालुलगायत हिमाल पनि देखियो। मनै उत्साहले भरियो। स्वर्ग यही हो कि जस्तो, मन प्रफुल्लित भयो।
६ महिनाअघि नै क्षण सम्झिएँ, सगरमाथा पुग्दाको। सगरमाथा पुग्दा लागेको थियो, ‘मान्छे त्यसबेला खुसी हुँदो रहेछ, जतिबेला यहाँभन्दा माथि जाने ठाउँ छैन भनेर थाहा हुन्छ। तर, त्यो खुसी यतिकै कहाँ मिल्दो रहेछ र। महिनौं दुःख सहेर त्यो खुसी पाउँदाको क्षण भने केहीसँग तुलना गर्नै नसकिने।’ त्यो क्षण थियो– जेठ २ गतेको। जब आमडब्लामको शिखरमा पुगेँ कात्तिक २२ गते। अनि लाग्यो, ‘सगरमाथा मात्रै होइन, प्रत्येक हिमालका चुचुरामा एउटा स्वर्ग भेटिने रहेछ।’
यसरी स्वर्ग भेटाउन भने मलाई स्काउटले प्रेरणा दियो। विद्यालय पढ्दैदेखि स्काउटमा थिएँ। स्काउट ‘बहादुर’ र ‘साहसी’ हुन्छ भनेर पढियो। जब त्यही स्काउटका संस्थापक लर्ड बेडेन पावलको नामबाट हिमालको नामकरण गरियो सन् २००६ मा। त्यहीबेला सोचेको थिएँ, ‘अब यो हिमाल चढेर स्काउटको ‘बहादुरी’ देखाउँछु।’ रसुवामा रहेको पिक चढेर फर्कदा तीन दुर्घटनामा परेर बाँचेँ। खरपसमा पर्दा होस् वा चिप्लिँदा, मलाई गाइडले जोगाए। गाइड र मेरो टाउकोबाट ढुंगा जाँदा समेत बाँचियो। त्यसपछि लाग्यो, ‘दिन नआएसम्म मान्छे मर्दैन।’
मेरो दिमागमा बिस्तारै सगरमाथा मात्रै सलबलाउन थाल्यो। मैले सगरमाथा चढ्ने आत्मविश्वास बढाए। म सगरमाथामा गएर केही फरक गर्न चाहान्थेँ। एउटा स्काउट भएर मात्रै होइन, नयाँ अभियान लिएर सगरमाथा चुम्न। नेपाल स्काउट र विश्व स्काउटसँगै चार सहिदलाई सगरमाथा चुचुरोमा पुर्याउने सोचेँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे जो नेपालको पहिलो स्काउट हुन्। डाइनमिक स्काउट क्रियुले उपलब्ध गराएको स्काउट युनिफर्म सहितको तस्बिर लिएर चुचुरो चुम्न गएँ।
चढ्दै गर्दा क्याम्प १ मा हिमपहिरो आयो। हिमपहिरोले मलाई मिच्दैथियो। धन्न गाइड मिङ्मादोर्जे शेर्पाले बचाएँ। हिमालमा यस्ता झण्डै मरियो भन्ने घटना भइरहँदा रहेछन्। तर, हिमाल चढ्दा मर्नेबारे खासै चासो नहुने रहेछ। शिखरको यादले मात्रै सम्झाइरहने रहेछ। अहिले पनि म शिखरको यादसँग हराउँछु। राष्ट्रकवि घिमिरेको तस्बिर होस् वा चार सहिदको तस्बिर हातले समाएर संसारको छानोमा उभिँदा संसार जितेझैं भयो।
यसरी जिताउनेमा थिए, गाइड छिरिङ भोटे लामा। जसलाई त मेरो ‘जीवनदाता’ मान्दा फरक पर्दैैन। गाइड छिरिङले त्यो प्रयास नगरेको भए नत्र म हिमालमै सधैंको लागि रहन सक्थेँ। सगरमाथाको चुचुरो चुम्न पनि सक्दैनथेँ। हिमाल चढ्नुअघि कस्तो होला संसारको छानो भन्ने जिज्ञासा लाग्थ्यो। के देखिन्छ होला भनेर खुल्दुली चल्थ्यो। अब थाहा भयो, संसारको छानोबाट मौसम सफा भएको बेला चाँदीको फूल जस्ता हिमाल देखिन्छन्। जहाँको आनन्दको अन्यन्त्र पाइँदैन। यो आनन्दबाट टाढा रहन कहाँ सकिने रहेछ र।
एकपछि अर्को आनन्द लिन मन लाग्ने। यसैको लागि त अब सात महादेशका सात अग्ला हिमाल चढ्ने अभियानमा होमिएको छु। विश्व स्काउटको प्रतिनिधि गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने भन्ने अभियान बोकेर सन् २०१९ देखि यो अभियानमा होमिनेछु।
(नागरिककर्मी खिलक बुढाथोकीसँगको कुराकानीमा आधारित)
प्रकाशित: १४ पुस २०७५ ०३:०८ शनिबार