१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘हरियाली मेटाएर सहरको विकास हुन्न’

शेखर सुवेदी, नायक

तपाईँको विचारमा सहर भनेको केहो ?
सहर भनेको मानिसहरूको बाक्लो उपस्थिति र हरेक खालका सेवा सुविधा भएको ठाउँ हो। सहरको जनसंख्या बढी हुन्छ। र, त्यहाँको सरकारले त्यही अनुसार तयारी गरेको हुन्छ। सहरको यातायात, शिक्षा, स्वास्थ्य, सडक सबै पक्ष व्यवस्थित र पारदर्शी हुनुपर्छ। 

घुमेकामध्ये मनपर्ने सहर ?
मेरो जन्मथलो काठमडौं हो, त्यसकारण पनि मलाई काठमाडौं नै राम्रो लाग्छ। यहाँ हरेकथोक पाइन्छ। सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ। उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृतिहरू छन्।

यहाँको अस्तव्यस्तता देख्दा दिक्क लाग्दैन ?
लागेर के गर्नु, यहाँ पाइने सेवाहरू अन्त पाइन्न। त्यसैले केही कुरा चित्त बुझाउनुपर्छ जस्तो लाग्छ। काठमाडौंमा ध्यान दिएर विकास निर्माण अघि बढाउने हो भने यो सहर विश्वमै सुन्दर बन्न सक्छ। तर, यहाँको सरकारले त्यसतर्फ चासो दिएन। सानातिना काम पनि सरकारले नगरेका कारण सहर यति धेरै बिग्रिएको छ भन्ने मानसिकता बसेको हो।

काठमाडौं बिग्रनुको कारण के होला ?
काठमाडौं बिग्रनुको कारण एउटा मात्रै छैन। यहाँका हरेक पक्षको गैर जिम्मेवारपनले सहर बिग्रिएको हो। मलाई काठमाडौं ठूल्ठूला काम रोकिए र वा नभएर बिग्रिएको हो जस्तो लाग्छ।

‘विदेशतिरका सहरको शैलीलाई हेर्दा त्यहाँ विकास छ। तर, प्रकृति दोहन गरिएको छैन। प्रकृति र मौलिकतालाई ध्यान राखेर सहर विकास गरिएको छ। हाम्रोमा सहर विकासको नाममा हरियाली मासिएको छ।’

उपत्यका बाहिर कुन–कुन सहर राम्रो लाग्छ ?
उपत्यका बाहिरका सहर काठमाडौंभन्दा केही सहज र व्यवस्थित छन्। पोखरा, धरानलगायत सहर मलाई राम्रो लाग्छ। पोखरा पनि व्यवस्थित सहर नै मानिन्छ। यहाँ जनसंख्या पनि ठिक्क छ। जनसंख्या र क्षेत्रफल मिलेकाले पोखरामा प्रदूषण कतै देखिन्न। तर, ध्यान नदिने हो भने पोखरा पनि बिग्रन समय लाग्दैन।

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले त्यति धेरै अरु देशका सहर घुमेको छैन। भारतका केही सहरहरू घुमेको छु। पुगेका सहर हरेक देशमा फरक–फरक विशेषता पनि भेटाएँ। विदेशतिरका सहरको शैलीलाई हेर्दा त्यहाँ विकास छ। तर, प्रकृति दोहन गरिएको छैन। प्रकृति र मौलिकतालाई ध्यानमा राखेर सहरको विकास गरिएको छ। हाम्रोमा सहरको विकासको नाममा हरियाली मासिएको छ। रुखहरू काटिएको छ।

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
चाहने र काम गर्ने हो भने हाम्रा सहर संसारमै उत्कृष्ट बन्न सक्छन्। त्यसको लागि सबै तदारुकताका साथ लाग्नुपर्छ। सरकारमा बस्नेले आँट गर्नुपर्छ। पारदर्शी भएर काम गर्नुपर्छ। सदन र सडकलाई व्यवस्थित पार्नुपर्छ। हरेक पक्षमा काम गर्ने कर्मचारी जिम्मेवार हुनुपर्छ। अनिमात्रै सहर बन्न सक्छ भन्ने लाग्छ। बनाउने हो भने हाम्रो देशका सहर विश्वमै नमुना बन्न सक्छन्। त्यसको लागि सरकार र आम नागरिक सहरको विकासमा हातेमालो गरेर अघि बढ्न जरुरी छ।

सहरको विकासको लागि सरकारले कसरी काम गर्नुपर्ला ?
विकास निर्माणका कामलाई तीव्रता दिने, सहरका सम्भावना खोज्ने, सहरी वातावरण सफा राख्ने जस्ता उपाय अपनाउनुपर्छ। यसबाहेक कानुनी व्यवस्थालाई परिपालना गर्ने, विकास निर्माणका काममा भागबण्डा नलगाउने, अग्ला र अव्यवस्थित भवन निर्माण रोक्ने र सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम जस्ता पक्षलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर अलि व्यवस्थित हुन सक्ला।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम सदावहार छ। ऐतिहासिक मठमन्दिर, दरबार, मौलिक पहिचान बोकेका अमृत सम्पदा लगायत पक्षले पनि उपत्यका राम्रो लाग्छ। यहाँका राम्रा पक्षहरू विश्वका अरु सहरहरूमा विरलै मात्र पाइन्छन्।

मन नपर्ने पक्ष ?
यहाँका मन नपर्ने पक्षहरू धेरै छन्। एक हिसाबले भन्नुपर्दा काठमाडौं समस्यै–समस्याको सहर बनेको छ। यहाँ जता गए पनि समस्या मात्रै देखिन्छ। प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म बसेको सहर सुविधायुक्त होस्, विकासमा काममा कसैले अवरोध नगरोस्। हरेक मिलेर अघि बढेको देख्न पाइयोस्। सहरवासीमा एकताको भावना होस्। सहरमा सबैखाले सुविधा लिन झन्झट नपरोस्। हरियाली देख्न पाइयोस्। कहिलेकाहीँ आफन्तसँग भेटिएर भलाकुसारी गर्ने पार्कहरू हौंन। यति भयो भने सहर राम्रो हुनेछ। सबैले मनपराउने छन्।

हाम्रा सहरको विकास कसरी होला ?
यसको मुख्य जिम्मेवार निकाय भनेको सरकार नै हो। सरकारले हरेक विकासका काममा होसियारी अपनाएर अघि बढ्नुपर्छ। नागरिकले सास्ती पाएको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। मेरो विचारमा जबसम्म सहरमा बस्नेहरू सचेत हुँदैनन्, सहरलाई माया गर्दैनन् तबसम्म सहरको विकास हुन्न। बरु अहिलेजस्तै फोहर र अस्तव्यस्त भइरहन्छ। सहरको विकासका लागि सरकारी निकाय पनि बलियो हुनुपर्छ। जनतालाई सहर सफा राख्न निर्देशन दिनुपर्छ।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
सहरमा हरेक प्रकारका मानिसहरू बस्छन्। त्यो हिसाबमा सहरमा विविधता छ। तर, सहरवासी सहरको बारेमा सोच्न भ्याउँदैनौं। सबैलाई आफ्नै रडाको मात्रै छ। म बसेको ठाउँलाई एकदिन समय दिएर सफा गर्छु भन्ने भावना सहरवासीमा छैन।

उपत्यका नजिकै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
ककनी, धुलिखेल, नगरकोटलगायत ठाउँतिर जान्छौं।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो ?
त्यस्तो ठाउँ छैन।

सहरको मनपर्ने खानेकुरा के हो ?
यहाँको सबैखाले खानेकुरा मिठो लाग्छ।

                                               प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १३ पुस २०७५ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App