६ वैशाख २०८१ बिहीबार
अन्य

सखारै जब उनी उठ्दिनन् !

जुन बिहान
सखारै उनी उठ्दिनन्
घर कुम्भकर्ण निदाइरहन्छ !

उठेर झ्याल उघार्छु
तर, घरले आँखा उघार्दैन्
ढोका खोलेर कौसीमा उक्लन्छु
र, पनि घर हलचल गर्दैन
चकमन्नताको च्यादर ओढेर
बरु सपना सजाइरहन्छ शयनकक्ष
जुन बिहान सखारै उनी उठ्दिनन् !

चिर्बिराउँदै चारो टिप्न
फुर्फुराउँदैनन् चराहरू
कुनै साइत भरिँदैन पँधेरामा
छुइ भएझैँ गरी
अलक्कै बस्छ गग्रेटोमा गाग्रो 
अल्छी मानेर फुल्छ
आँगनको डिलमा खुर्सानी फूल !

बरण्डामा बराल्लिन आउँदैन
शीतल पवनको झोँका
बालापन नभोगी
हुर्कन्छ यौटा दिन !

ठुस्किन्छ पूजाकोठा
गुत्थिन्छ देउताको सम्झना
घण्टको रालोमा झुण्डेर अपहत्ते गर्छ
यौटा कर्णप्रिय गुञ्जनले
एकाबिहानै !

उनी त 
घरको पर्याय रहिछिन्
जुन बिहान
उनी सखारै उठ्दिनन्
सधैँ उनीसँगै उठेर फ-याकफुरुक गर्ने घर
अबेलासम्म सुतिरहन्छ !
 

प्रकाशित: २९ मंसिर २०७५ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App