१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विवाहमा सुन्दर देखिने तरिका

डा. जेबिना लामा

विवाहमा सुन्दर देखिने अधिकांशको इच्छा हुन्छ । सुन्दरताका लागि अनुहारमा चमक आउनु आवश्यक हुन्छ । विवाहमा सुन्दर अनुहारका साथै स्वस्थ छालाका लागि ध्यानदिनुपर्ने विषयमा छाला तथा कस्मेटिक विशेषज्ञ डा. जेबिना लामासँग उपेन्द्र खड्काले गरेको कुराकानी ।

अनुहारको छालामा समस्या छ भने के गर्ने ?

विवाहका लागि मानिसले अनुहार, लुगा, गरगहनालगायतमा ध्यान दिन्छन् । केही समय अघिसम्म अनुहार लगायतको छालाको सुन्दरताका लागि विशेषगरी महिला चिकित्सककहाँ पुग्ने गर्थे भने अहिले पुरुष पनि चिकित्सकहाँ पुग्ने गर्छन् । 

विवाहको तयारीमा जुटेका दुलाहा–दुलहीको अनुहार  लगायतको छालामा कुनै समस्या छ भने तुरुन्तै विशेषज्ञ चिकित्सककहाँ चेक जाँच गर्नुपर्छ । विवाह गर्ने दुलाहा–दुलहीले विवाह हुनुभन्दा ६ महिला अगाडि नै विशेष गरी अनुहारको छालाको हेरचाहमा ध्यान दिनुपर्छ । छालामा कुनै किसिमको रोग, खतजस्ता समस्या छन् भने ६ महिना अगाडि नै उपचार गर्न सकिन्छ । छालामा कुनै किसिमको समस्या छ भने विवाह हुने समयमा एक्कासि (छोटो समयमा) उपचार गर्न कठिन हुन्छ । अनुहारमा डण्डिफोर छ भने एक महिनामा निको पार्न कठिन हुन्छ । त्यसैले यसको समयमै उपचार गर्नुपर्छ । 

निद्राले पनि अनुहारको चमक हराउँछ ?

विवाहको तयारीमा जुटेका दुलाहा–दुलहीमा निद्रा नपुग्न सक्छ त्यसको असरले पनि अनुहारमा चमक हराउँछ । सामान्यतया छाला तथा शरीर स्वस्थ हुनका लागि कम्तीमा आठ घण्टा सुत्नु पर्छ । तनावको कारण कटिशोल हर्मन उत्पादन हुन्छ त्यसको प्रभावले अनुहारको छालामा असर गर्छ । निद्रा पुग्ने गरी सुत्यो भने कटिशोल हर्मन कम उत्पादन भई छालामा रिपियर आई अनुहारको छालामा चमक आउँछ । त्यसैले राम्रोसँग निद्रा पुग्ने गरी सुत्नुपर्छ । नियमित व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ । व्यायाम गरेर भद्दा तौल घटाउन पनि सकिन्छ । 

अनुहार सुुन्दर बनाउन कस्ता कस्मेटिक सामग्री प्रयोग गर्ने ? 

बजारमा आएका विभिन्न किसिमका नयाँ ब्युटि प्रोडक्ट चिकित्सकको सल्लाहविना प्रयोग गर्नु हुँदैन । विवाहको समयमा अनुहार सुन्दर बनाउने तथा अनुहारमा चमक ल्याउने नाममा घरेलु ब्यूटिसम्बन्धी उपचार नगर्ने । त्यस्ता उपचारको असरले अनुहारमा असर परेर कुरुप  हुने सम्भावना पनि हुन्छ । त्यसैले चिकित्सकको सल्लाहमा कस्मेटिक सामग्रीको प्रयोग गर्दा राम्रो हुन्छ  । 

कुन समयमा कपाल रंगाउने ?

विशेष गरी दुलहीले कपालमा त्यत्तिकै ध्यान दिएका हुन्छन् । कपालमा रंग लगाउँदा विवाह हुनुभन्दा दुई महिनाअगाडि नै कपालमा रंग लगाएर परीक्षण गर्नु राम्रो हुन्छ । दुई महिना अगाडि नै कपालमा रंग लगाउँदा कुन रंगले कस्तो कपाल देखिन्छ भन्ने थाहा पाउन सकिन्छ । एकैचोटी विवाह हुने समयमा कपाल रंगाउँदा नराम्रो देखिएको खण्डमा तुरुन्त अर्को रंग गर्न असहज हुन सक्छ । त्यसैले कपालको रंगको परीक्षण गरिसकेपछि उपयुक्त हुने रंग विवाह हुनुभन्दा एक हप्ताअगाडि गर्नु उचित हुन्छ । 

कस्तो किसिमको प्रोटिनले के काम गर्छ ? 

कपाल, नङ र छाला चम्किलो राख्न बायोटिन नामक प्रोटिन पनि खान सकिन्छ । बदाम, केरालगायतमा बायोटिन प्रोटिन पाइन्छ । यस्तो प्रोटिनले कपाल झर्न कम गर्नुका साथै नङ बढाउन मद्दत गर्छ । बायोटिन प्रोटिनले लामो र चम्किलो कपाल बनाउन सहयोग गर्छ । 

दुलाहा–दुलहीले अनुहारमा चमक ल्याउन के गर्नुपर्छ ? 

विवाहको तयारी गरिरहेका दुलाहा–दुलहीले खाने कुरामा पनि ध्यान दिनु पर्छ । ओमेगा फ्याटि एसिड भएको खानेकुराको मात्रा बढाउँदा राम्रो । ओमेगा फ्याटी एसिड साल्मण्ड माछा, एबोकाडो, काजु, हाडे ओखरजस्ता खाद्यपदार्थमा पाइन्छ । यस्ता खानाले छाला चम्किलो बनाउँछ । छालामा चमक ल्याउँछ । अनुहारको छाला हेर्दा सुन्दर देखिन्छ । 

प्रशस्त मात्रामा फलफूल खानु पर्छ । ग्रिन टी पनि खाँदा राम्रो हुन्छ । ग्रिन टी मा एन्टी अक्सिडेन्ट हुन्छ । घाममा हिँड्दा निस्कने रेडिकललाई ग्रिन टीले सन्तुलित (ब्यालेन्स) राख्न मद्दत गर्छ र अनुहारमा चमक देखिन्छ । 

दुलाहा–दुलहीले भिटामिन ‘सी’ किन खाने ? 

भिटामिन ‘सी’ युक्त फलफूललगायतका खानेकुरा खानुपर्छ । कागती, सुन्तलालगायतमा भिटामिन ‘सी’ पाइन्छ । ताजा कागती स्वास्थ्यका लागि राम्रो हुन्छ । भिटामिन ‘सी’ ले छाला गोरो चम्किलो बनाउँछ । छालामा चमक ल्याउँछ । भिटामिन ‘सी’ विवाह हुनुभन्दा ६ महिना अघिबाट खाँदा राम्रो हुन्छ । भिटामिन ‘सी’ का लागि ट्याब्लेट खान पनि सकिन्छ । 

विवाहको तयारीमा जुटेका दुलाहा–दुलहीले के खान हुँदैन ?

विवाहको तयारीमा जुटेका दुलाहा–दुलहीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । चिनीको मात्रा कम  खाँदा राम्रो । रिफाइन गरेको सुगर (चिनी) नखाँदा राम्रो । चिनीले अनुहार लगायतको छालामा पिम्पल, रिंकल तथा चाउरीपना निकाल्छ । अनुहारको सुन्दरतामा असर गर्छ । त्यसैले चक्लेट, बिस्कुट, कुकिजलगायतका बेकरी आइटम (परिकार) सकभर नखाएकै राम्रो । 

अल्कोहल (रक्सी) नपिएकै राम्रो । रक्सी सेवनले शरीरमा पानीको मात्रा कम हुन्छ । शरीरमा पानीको मात्रा कम भएपछि छाला सुख्खा हुने तथा चाउरीपना देखिन्छ । रक्सी सेवनले अनुहारको चमकमा असर गर्छ । 

अनुहार सुन्दर बनाउन कस्तो उपचार गर्न सकिन्छ ? 

विवाहको तयारीका लागि जुटेका दुलाहा–दुलहीको अनुहार चम्किलो र सुन्दर तथा मुलायम बनाउनका लागि विभिन्न किसिमका उपचार गर्न सकिन्छ । बोटक्स ट्रिटमेन्ट गरेर छालाको चाउरीपना हटाउन सकिन्छ । बोटक्स ट्रिटमेन्टले  अनुहारको छाला तन्काएर अनुहारलाई चम्किलो तथा सुन्दर देखाउन सकिन्छ । कतिपयलाई भने अनुहारको सेप नमिलेका कारणले पनि तनाव उत्पन्न हुन्छ । ट्रिटमेन्ट गरेर अनुहारको सेप मिलाउन पनि सकिन्छ । अनुहारको सेप मिलाएर दुलाहा–दुलहीको अनुहार आकर्षक बनाउन सकिन्छ । अनुहारको सेप मिलाउने काम भने विवाह हुनुभन्दा तीन महिनाअगाडि नै गर्नु उचित हुन्छ । 

अनुहारमा चमक ल्याउनका लागि डाइमण्ड टिप फेसियल गरिन्छ । डाइमण्ड टिप फेसियल महिनामा एक पटक ६ महिनासम्म गरिन्छ । छालामा चमक नभएको अवस्थामा डाइमण्ड टिप गरिन्छ । 

दुलाहा, दुलहीको छालाको जाँच गरेपछि कस्तो किसिमको क्रिम, फेसवास, सनब्लक प्रयोग गर्ने भन्ने सल्लाह दिइन्छ । ओठ, कपाल रंगाउने रंग, कपालको हेरचाहको बारेमा परामर्श दिइन्छ । त्यसैले विवाहका लागि तयारी गरिरहेका दुलाहा–दुलहीले छाला रोग विशेषज्ञसँग परामर्श लिँदा राम्रो हुन्छ । 

विवाह गर्ने दुलाहा–दुलहीले दाँतको चिकित्सकसँग दाँतको परीक्षण गर्ने चलन पनि आएको छ । दाँतको परीक्षण गरी दाँत सफा गर्न सकिन्छ । साथै दाँतमा भएको समस्या पनि समाधान गर्न सकिन्छ । 

दुलाहा–दुलहीले थप के–के कुरामा ध्यान दिनुपर्छ ?

घरेलु किसिमका कस्मेटिक सामग्री प्रयोग नगर्दा नै राम्रो । तातो पानीले ननुहाउँदा राम्रो । तातो पानीले नुहाउँदा छाला सुख्खा हुन्छ । सुख्खा भएको छाला पुनः सामान्य अवस्थामा आउन समय लाग्छ । नुहाएको तीन मिनेटमा शरीरमा मोश्चराइजर लगाउने । चिसो पानीले नुहाउने गर्नुपर्छ । 

एक हप्ताअगाडि हाइब्रेपिङ फेसियल गर्दा राम्रो । शरीरमा भएको अनावश्यक कपाल पनि एक हप्ताअगाडि हटाउँदा उचित हुन्छ । थ्रेडिङ पनि एक हप्ता अगाडि गर्दा राम्रो । नङ सफा गर्ने र नङ पोलिस गर्नुलाई मेनिकेयर र पेडिकेयर भनिन्छ ।  सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्श तथा सल्लाहमा अनुहारलगायतको उपचार गर्नुपर्छ । बजारमा पाइने औषधोचार तथा कस्मेटिकका सामान प्रयोग गर्दा अनुहारमा असर गर्न पनि सक्छ । त्यसैले विवाहका लागि तयारीमा जुटेका दुलाहा–दुलहीले विवाहमा आफ्नो सौन्दर्यता प्रस्तुत गर्नका लागि विशेष किसिमले ध्यान दिनुपर्छ । 

प्रकाशित: २८ मंसिर २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App