सिन्धुपाल्चोक, किउल–६ की कुमारी लामा(२८) ले सात वर्षकी हुँदा आँखाको ज्योति गुमाइन्। आँखा देख्न छाडेपछि उनको परिवारले झारफुक र धामी खोज्न थाल्यो। धामीकहाँ धाउँदा धाउँदै आँखाको ज्योति गुम्यो। अन्धविश्वास तथा हेलचेक्य्राइँले आँखाको ज्योति गुमाएको उनी बताउँछिन्।
‘म ७ वर्षकी हुँदा बायाँ आँखामा ‘आनो’ आएको थियो। बुबाले फुटपाथमा पाइने मलम किनेर लगाइदिनुभयो। आँखामा समस्या बढ्दै गएपछि आमाबुबाले मलाई मन्दिर लैजान थालेका थिए,’ उनले सुनाइन्।
आँखा देख्न छाडेको एक वर्षपछि अहिले उनी देख्न सक्ने भएकी छन्। प्रत्यारोपणपछि सजिलै हिँड्डुल गर्न सक्ने उनी निकै उत्साही छिन्। उनी अहिले एक्टिभ कलेज बसुन्धराबाट समाजशास्त्रमा एमए गर्दै छिन्।
अन्धविश्वास तथा लापर्बाहीको कारणले दृष्टिविहीन भई दुःख पाइरहेकाहरूको उद्घार कार्यमा खट्ने उनको भनाइ छ। ‘अन्धविश्वास तथा लापर्बाहीको कारण म जस्तै दुःख पाउने दुनियाँमा कति होलान् ? उनीहरूको सेवा गरेर पुण्य कमाउने लक्ष्य छ,’ उनले भनिन्, ‘आँखा प्रत्यारोपण गरेपछि दृष्टिविहीनहरू संघर्ष गर्दै आफ्नै ख¬ट्टामा उभिन सक्छ।’
चिकित्सकको सुझावमा मात्र औषधिको प्रयोग गर्ने सके तथा हेलचेक्याइँ नगरे आँखाको नानीलाई जोगाउन सकिने चिकित्सकहरूको सुझाव छ। नेपाल आँखा बैंक, तिलगंगा आँखा प्रतिष्ठानका आँखा झिक्ने शाखाका प्रमुख एजन राजभण्डारीले हेलचेक्य्राइँले आँखाको नानी बिग्रिने गरेको बताए।
कतिपयले आँखामा मनपरी औषधी हाल्ने गरेको र यसले आँखामा समस्या हुने गरेको उनी बताउँछन्। आँखामा समस्या देखिए उपचार गर्न जानुपर्ने उनको सुझाव छ।
तिलगंगा आँखा अस्पतालका नानी विशेषज्ञ डा. रचना सिंह पनि आँखाको उपचारमा खेलाँची गर्न नहुने बताउँछिन्।
उनका अनुसार गर्भवति महिलाको खानपान नमिले पनि नवजात शिशुको आँखाको नानीमा समस्या आउन सक्छ। ‘त्यसैले गर्भवती महिलाले सन्तुलित भोजन र स्वास्थ्यमा ख्याल गर्नुपर्छ,’ उनले भनिन्। जन्मजात दृष्टिविहीन भएकाको आँखाको उपचार सहज नभएको उनको भनाइ छ।
आँखा दान गर्ने बढे
नेपाल आँखा बैंक, तिलगंगा आँखा अस्पतालका प्रबन्धकका शंखनारायण त्वाय्नाले अन्य अंगभन्दा आँखा दान धेरै सफल भएको बताए। उनका अनुसार नेपालमा ७० हजार भन्दा बढीले आँखा दान गरेका छन्। ‘नानीमा रक्तसंचार नहुने भएकाले जसलाई पनि दिन मिल्छ,’ उनी भन्छन्, ‘त्यसकारण आँखाका नानी दान गर्नेहरू धेरै छन्।’
प्रकाशित: २८ मंसिर २०७५ ०३:२५ शुक्रबार