८ वैशाख २०८१ शनिबार
अन्य

विवाह प्याकेज : कुरा छिनोफानोदेखि हनिमुनसम्म

गत वर्ष मंसिरको एक साँझ नेपाल पुलिस क्लब बेहुलीजस्तै सिँगारियो । स्वागतका लागि उभ्याइएको ‘स्वागत गेट’ उदाउँदै गरेको सूर्यको सुन्दरताभन्दा कम थिएन । 

खुला प्रांगणमा मण्डप तयार भयो । मण्डपमा सजाउन कुनै कुराको कमी हुन दिइनन् निता पौडेलले । लाइटलाई कलात्मक रूपमा खेलाइन् । वरिपरिको वातावरण यसरी भव्य भयो, कैयन् विवाहका मण्डप देखेका प्रहरीले पुलिस क्लबको यो सुन्दरता कहिले देखेका थिएनन् । 

‘म पूर्ण सन्तुष्ट भएको विवाह मण्डप थियो, त्यो,’ वेलकम इभेन्ट म्यानेजमेन्ट प्रबन्ध निर्देशक निता पौडेलले सुनाइन्, ‘अहिले बेहुला–बेहुलीको इच्छालाई बुझेर विवाहलाई कलामा बदल्नु पर्छ ।’

त्यो विवाह चर्चित लोक गायक तथा अमेरिकाका नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको छोरीको थियो । अमेरिकामा बस्दै आएकी उनकी छोरी (सदिक्षा महत) लाई विवाहको वातावरण कस्तो होला भनेर निकै चिन्ता थियो । अमेरिकाबाट उनका साथीहरु आउँदै थिए ।   

‘तिम्रो चाहनाअनुसार भव्य डेकोरेसन गरिदिन्छु,’ निताले बेहुलीलाई विश्वस्त पारिन्, ‘खुला ठाउँमा तिम्रो इज्जतिलो विवाह हुनेछ ।’ 

झन्डै एक दशक लामो विवाह व्यवस्थापनको अनुभव सँगालेकी निताले उनको विवाहको सम्पूर्ण तयारीको जिम्मा लिएकी थिइन् । उनले आफ्नो टिम परिचालन गरिन् । उनले पुलिस क्लबलाई यस्तो भव्य बनाइन् । ‘डिआइजी, एआइजी समेत आएर प्रशंसा गरे,’ निताले खुसी बाँडिन् ‘दुलहीलगायत सबै जना खुसी भए ।’ 

विवाह अब बाबु–आमा वा परिवारको चाहनामा मात्र सीमित रहेन । बेहुला–बेहुलीले आफ्नो योजना र चाहनाअनुसार विवाह योजना बुन्न थालेका छन् । तिनै जोडी र परिवारको इच्छा पूरा गर्न मुलुकमा कैयन् कम्पनीले विवाह प्याकेज उपलब्ध गराउन थालेका छन् । जहाँ विवाहको छिनोफानो गर्नेदेखि हनिमुनसम्मका प्याकेज उपलब्ध छन् । 

‘हामीसँग इङगेजमेन्टदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध छन्,’ निताले भनिन्, ‘उहाँहरुको चाहनाअनुसारको सेवा उपलब्ध गराउन सक्छौं ।’

छिमेकी देश भारतमा यस्तो प्याकेज पहिलेदेखि नै सुरु भए पनि नेपालमा भइसकेको थिएन । विवाहको व्यवस्थापन गर्ने वा क्याटरिङसम्म उपलब्ध गराउने कम्पनी धेरै थिए, पहिले । 

नेपालमा पनि यस्तो सेवा सुरु गर्न सकिन्छ कि भनेर आठ वर्षअघि निताले बजार अध्ययन गरिन् । बजारबाट सकारात्मक कुरा आयो, विवाहको ‘होल प्याकेज’ भएमा धेरै सजिलो हुन्छ । यस्तो अपेक्षा राख्ने धेरै भेटिए ।     

नेपालमा पनि ‘वेडिङ प्लानर’ भइदिए हुन्थ्यो भन्ने कुरा आयो । त्यही मागलाई पूरा गर्न आठ वर्षअघि वेलकम इभेन्ट म्यानेजमेन्टअन्तर्गत एक शाखाको रुपमा वेलकम वेडिङ भनेर स्थापना गरिन् उनले । जसले विवाहमा मात्र होइन, व्रतबन्ध, पूजा, सप्ताहलगायतको होल प्याकेज दिन्छ । 

यस्तै एक दशकअघि सुरु भएको यस्तै कम्पनी हो वेडिङ नेपाल । यसले पनि विवाहका लागि ‘पूर्ण प्याकेज’ उपलब्ध गराउँछन् । ‘विवाहका लागि कुरा छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज उपलब्ध गराउँछौं हामी,’ वेडिङ नेपालकी इभेन्ट म्यानेजर सोनिया श्रेष्ठले भनिन्, ‘विवाह व्यवस्थापनका लागि परिवार वा बेहुला–बेहुलीले कुनै पनि चिन्ता लिनु पर्दैन ।’

विवाह व्यवस्थापन एक तीव्र रुपमा बढ्दै गएको व्यवसायका रुपमा स्थापित हुँदैछ । पछिल्ला केही वर्षमा यस्ता वेडिङ प्लानरको संख्या एक दर्जनभन्दा माथि पुगिसकेको निता बताउँछिन् । जसमध्ये केहीले मात्र पूर्ण प्याकेज उपलब्ध गराउँछन् । केहीले डेकोरेसन मात्र गर्छन् भने केहीले फोटो भिडियोको काम गर्छन् । 

कतिले सबै संस्कृति र समुदायको विवाह गराउन सक्दैनन् । सबै समुदायको विवाह गराउने क्षमता पनि पूर्ण प्याकेज उपलब्ध गराउनेसँग हुनुपर्छ । जस्तो कि नेवार, बाहुन, क्षेत्री, राई, लिम्बु, शेर्पा, लामालगायतका सबै जातजातिको आफ्नैे संस्कृति छन् । ती संस्कृतिअनुसार सेवा उपलब्ध गराउने निताले बताइन् । 

विवाह, पूजालगायतका काम छिमेकी, आफन्तको सहयोगमा गर्ने चलनलाई विस्थापित गर्दै यो व्यवसाय अगाडि बढिरहेको छ । अहिले धेरै जना व्यस्त छन् । धेरै घरका छोराछोरी विदेश छन् । फुर्सद छैन । यसले गर्दा पनि यस्तो प्याकेजको माग बढ्दै गएको सोनियाको भनाइ छ । मान्छेका चाहना हरेक समयमा फेरिँदै गएका छन् । त्यसै अनुसारका प्याकेज पनि बजारमा तयार छन् । 

केही वर्ष अघिसम्म ‘वेडिङ प्लानर’ थिएन । आठ वर्षअघि निताले औपचारिक रुपमा दर्ता भएर ‘वेडिङ प्लानर’ सुरु गरेपछि अरु पनि दर्ता गरेर नै यो व्यवसाय सुरु गरेको अनुभव निताले सुनाइन् ।

आठ वर्षअघि मात्र पुग्ने हो भने पनि बेहुला–बेहुलीको अभिभावक आएर विवाहको व्यवस्थापनको कुरा गर्थे । परिवारले आफ्नो बजेटअनुसारको योजना बनाउँथे । परिवारको चाहनाअनुसार वेडिङ प्यानरले व्यवस्था मिलाउँथे । 

यही छोटो समयमा धेरै कुरामा परिवर्तन आइसकेको छ । अहिले कि त बेहुलबेहुलीले योजना बनाउँछन्, कि त यस्ता कम्पनीलाई सबै जिम्मा दिएर प्याकेज लिन्छन् । ट्रेड धेरै परिवर्तन भइसकेको निताले सुनाइन् । आजको दिनमा बेहुला–बेहुली नै आएर डिल गर्छन् । विवाह कस्तो गर्ने, कहाँ गर्ने, कस्तो डेकोरेसन गर्ने, कस्तो प्रविधि अपनाउने, हनिमुन प्याकेज कस्तो लिने आदि । 

आजभोलि सामाजिक सञ्जालले विवाहलाई प्रभाव पारेको छ । बाहिर कसरी विवाह भइरहेको छ त्यसैअनुसार विवाह गर्न खोज्छन् जोडी । त्यसै अनुसारको विवाह योजना बनाइदिन आग्रह गर्छन् बेहुला–बेहुली । विवाह मन्डपदेखि खानाको मेनु आइटमसम्म परिवर्तन भइसकेको छ ।

फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले विवाहलाई अझ ‘ग्लामर’ बनाएको अनुभव वेडिङ ड्रिम्सका संस्थापक अनुप घिमिरेसँग छ । भन्छन्, ‘फेसबुले फोटो र भिडियोलाई व्यापक बनाएको छ ।’ त्यसै अनुसारको फोटो खिच्न वा भिडियो बनाउन बेहुला–बेहुलीले आग्रह गर्छन् ।  

अरुको भन्दा फरक र नौलो होस् भन्ने चाहना बढ्दै गएको छ । जीवनभर यादगर होस् भन्ने चाहना बेहुला–बेहुलीको हुन्छ । जस्तो कि विवाहमा ‘केक कटिङ’ सुरु भइसक्यो । त्यसलाई पनि झकिझकाउ बनाउन चाहन्छन् नवजोडी । 

डिजाइनिङमा पनि त्यस्तै ‘कन्सियस’ हुन्छन् । अहिले जग्गे सजाउने भनेर मात्रै पुग्दैन् । उनीहरुको कन्सेप्ट, थिम, कलरलाई मिलाउन सक्नु पर्छ । ‘हामीलाई धेरै अध्ययन गर्नुपर्छ,’ निताले भनिन्, ‘यो एक सृजनात्मक बन्नु पर्ने चुनौती बढ्दै गएको छ ।’

बजेट अनुसारको योजना बनाउन सक्नु पर्छ प्याकेज उपलब्ध गराउनेले । कसैले दश लाखभित्र विवाह गर्ने योजना छ भने अनुसारको योजना बनाइदिन सक्नुपर्छ । कतिले दुई चार करोड पनि खर्च गर्छन् । त्यस अनुसार पनि प्याकेज उपलब्ध गराउन सक्नु पर्छ । विवाह मन्डपको डिजाइन कस्तो हुने, मेनु आइटममा पनि कस्तो हुने बजेट अनुसार योजना बनाउन सक्नु पर्छ । 

पूर्ण प्याकेजमा के–के हुन्छ ! 

विवाहका लागि पूर्ण प्याकेज उपलब्ध गराउनेहरुले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेज सुविधा उपलब्ध गराउँछन् । 

प्याकेजमा सपिङ, ठाउँ छनोटदेखि बजेटको योजनासम्मको काम गर्ने सोनियाले बताइन् । ब्याचलर पार्टीको पनि प्रबन्ध मिलाउने उनले बताइन् । 

विवाहका लागि पहिलो सुरुवात केटाकेटीमा इगेजमेन्ट वा विवाहको मिति छिनोफानो छ । कुरा छिनोफानोदेखि नै प्याकेज उपलब्ध भएको वेडिङ नेपालकी इभेन्ट म्यानेजर सोनिया श्रेष्ठको भनाइ छ । 

कुरा छिनोफानो गर्न एक राम्रो ठाउँ होस् भन्ने चाहना परिवारको हुन्छ । यस दिनमा कतिले बाहिर रोज्छन् भने कतिले आफ्नै घरमा । उनीहरुको चाहनाअनुसार सेवा उपलब्ध हुन्छ । घरमा छिनाफानो गर्नेलाई खाना सर्भ गर्ने, डेकोरेसन गर्ने सेवा उपलब्ध हुन्छ । विदेशमा बस्ने र नेपालमा विवाह गर्न आउनेहरुले यस्तो सेवा धेरै खोज्छन् । 

त्यसपछिको मुख्य काम भनेको इंगेजमेन्ट हो । यसका लागि ठाउँ छनोट र यसको सजावट महत्वपूर्ण पक्ष हो । बेहुला र बेहुली पट्टीको फरक–फरक प्याकेज उपलब्ध हुन्छ । दुलाहाबाट इंगेजमेन्टलाई जान र दुलहीबाट इंगेजमेन्टमा जान आवश्यक पर्ने सम्पूर्ण तयारी गरिदिने निताले बताइन् । दुलाहादेखि पाहुनालाई आवश्यकताअनुसार गाडी उपलब्ध हुन्छ । विवाह घर, होटल, पार्टीप्यालेस जुन ठाउँमा भए पनि आवश्यकताअनुसार सजाउन काम हुन्छ । खाना क्याटरिङ सबै हुन्छ । फोटो र भिडियो इंगेजमेन्टदेखि विवाहसम्पन्न नहुदासम्मको प्याकेज हुन्छ । 

स्वयम्बरको दिन पनि ट्रेहरु सजाउन, स्वयम्बरको निमन्त्रणा कार्ड पठाउन र आवश्यकताअनुसार सजावट पर्छ प्याकेजमा । स्वयम्बर कसैले विवाहको दिन गर्छन् भने कसै–कसैले  विवाहको अघिल्लो दिन पनि गर्ने चलन रहेको छ।

परिवारको चाहनाअनुसार बाजा उपलब्ध हुन्छ । ब्यान्ड बाजा, पन्चे बाजा, न्याउली बाजा लगायतका बाजा रोज्न सक्छन् उनीहरु । बाजामा पनि सदस्य आवश्यकताअनुसार थपघट हुन्छ । जस्तो कि ब्यान्ड बाजा बजाउने हो भने ९ जनादेखि १८ जनाको सदस्य हुन्छ । बजेटअनुसार सदस्य संख्या थपघट हुन्छ । बाजा एकदमै राम्रो बजाउने झयाइँझयाइँ चाहना राख्नेले १८ जनासम्म बाजा बजाउने माग गर्छन् । 

वेडिङ नेपालले आवश्यक परेमा बग्गीसमेत उपलब्ध गराउँछ । धेरै जोडीले आफ्नो विवाह अरुभन्दा फरक होस् भन्ने चाहन्छन् । जिन्दगीभर सम्झन लायक होस् भनेर नयाँ कुरा खोज्छन् । यही भएर कतिपयले बग्गीको प्रयोग गर्ने सोनियाले बताइन् ।  

गाडी सजाउने, घर सजाउने सबै काम हुन्छ । बेहुलातिरको दुलही नल्याउँदासम्मको र दुलहीतिर दुलाहा नआउँदासम्मको काम पनि प्याकेजमा पर्छ । विवाहको मण्डप सजाउने मुख्य कामलाई प्याकेजमा महŒवपूर्णका साथ राखिएको हुन्छ । अहिले डेकोरेसन अनिवार्य जस्तै छ । यसलाई कलाका रुपमासमेत हेर्छन् सम्बन्धित व्यवसायीहरु । 
रिसेप्सन पार्टी रमाइलो, यादगर र भव्य बनाउने चाहना राख्छन् नवविवाहिता जोडीहरु । त्यही चाहनाअनुसार रिसेप्सन पार्टीको बेलामा पनि घर, पार्टी प्यालेस वा होटलअनुसारको डेकोरेसन हुन्छ । पाहुनालाई रमाइलो हुने, खुसी पार्ने सजावट, मेन्युदेखि अनेक तरिका अपनाइन्छ । 

पछिल्लो समय लाइभ म्युजिक वा डिजेको चलन बढ्दो छ । यो सुविधालाई प्याकेजमा पनि उपलब्ध गराइन्छ । कसैले राम्रो गायक पनि खोज्छन् । नाम चलेका गायकगायिकालाई पनि हायर गर्ने चलन छ । धेरैले नाम चलेका म्युजिक ब्यान्डहरुलाई लाइभ म्युजिकका लागि अफर पनि गर्छन् । यसको व्यवस्थापना समेत प्याकेजमा राखिएको छ । 

हनिमुन प्याकेज

विवाह योजनाकारले पछिल्लोपटक आफ्नो मेनुमा थपको प्याकेज हनिमुन प्याकेज हो । हनिमुनलाई मात्र होइन, इंगेजमेन्ट र विवाहबीचको खाली समयमा समेत साइट सिन घुमाउने प्याकेजलाई पनि आफ्नो मेनुमा थपेका छन्, विवाहका परिकल्पनाकारहरुले । 

वेलकम वेडिङकी प्रबन्ध निर्देशक निताले हनिमुन प्याकेज उपलब्ध भएको बताउँछिन् । ‘हामीले धेरै जनालाई यो सेवा उपलब्ध गराइसकेका छौं,’ उनले भनिन्, ‘विदेशबाट आउनेहरुले यस्तो प्याकेज धेरै खोज्नु हुन्छ ।’

हनिमुन प्याकेजमा जोडीले रोजेको ठाउँमा कस्न होटल मिलाउने, यात्राका लागि गाडीदेखि हवाई सेवा उपलब्ध गराउने सेवा रहेको हुन्छ । इंंगेजमेन्ट वा स्वयम्बरपछि केही समय खाली रहेमा जोडीले चाहेमा साइट सिनको कार्यक्रम पनि मिलाइदिने उनले बताइन् । ‘उहाँहरुले चाहेमा गाइडहरु राखेर हाम्रो जिम्मामा त्यो सेवा पनि उपलब्ध हुन्छ,’ निताले भनिन् । 

जोडीको चाहनाअनुसार स्वदेशदेखि विदेशको हनिमुन प्याकेज उपलब्ध गराउने वेडिङ नेपालकी इभेन्ट म्यानेजर सोनियाले बताइन् । सम्पूर्ण विवाह प्याकेजमै हनिमुन प्याकेज पनि राखेको उनले बताइन् ।   

मेकअप र गरगहना

विवाहमा मेगअप महत्वपूर्ण पक्ष हो । यी प्याकेज उपलब्ध गराउनेहरुले ब्राइडल मेकअपलाई विशेष महŒव दिन्छन् । यसका लागि ‘मेकअप आर्टिष्ट’ उपलब्ध गराउने उनीहरु बताउँछन् । 

पछिल्लोपटक चलेको अर्को चलन भनेकोे मेहन्दी संगीत पनि हो । बेहुलीको घरमा पनि मेहन्दी र संगीत गर्ने चलन आइसकेको छ । मेहन्दी थिमअनुसारको सजावट गर्ने, थिम अनुसारको कार्यक्रम प्याकेजमा उपलब्ध हुने निताले बताइन् । साँझ परेपछि संगीत सुरु हुन्छ । मेहन्दीको गीत लगाएर मेहन्दी संगीत गरिन्छ । भारतीय संस्कृतिअनुसार मन पराउने बेहुलाका घर पनि मेहन्दी संगीत गर्ने गरिन्छ । मेहन्दी संगीत इंगेजमेन्टपछि र स्वयम्वरभन्दा अघिको दिनमा हुन्छ । 

गहना, उपहार र दाइजोको विषयमा प्याकेजभन्दा पनि आफ्नै घरबाट व्यवस्था गर्न रुचाउँछन् विवाह गर्ने परिवार । गरगहनाको विषयमा विवाह गर्ने परिवार आफैंले गर्न खोज्ने भएकाले प्याकेजमा धेरै नआउने सेवाकर्ताहरुको भनाइ छ । कतिपय अवस्थामा गरगहनाका लागि परामर्श गर्ने, उपयुक्त पलस, ठाउँको खोजि गरिदिने काम भइरहेको उनीहरु बताउँछन् । 

कतिपय जोडीले भने आफूलाई सक्कली गहना नचाहिने भएकाले नक्कली गहना खोजिदिन आग्रह गरेको निताले बताइन् । धेरे जसो विदेशबाट आएका जोडी जसलाई गहना चाहिँदैन तर विवाहमा देखाउनका लगि भए पनि नक्कली गहना खोज्ने गरेका छन् । उनीहरुका लागि नक्कली गहना र ड्रेस पनि उपलब्ध गराउने सेवा पनि रहेको छ । 

पूर्ण प्याकेजमा खर्च कति ! 

विवाह सानो होस् या ठूलो, आफैँ व्यवस्थापन गरेको होस् या इभेन्ट योजनाकारले खर्चको महत्वपूर्ण पक्ष हो । विवाहको खर्च कसैलाई बाध्यता भएर गर्नुपरेको छ भने कसैलाई रहर पनि छ । धेरै विवाहको व्यवस्थापन गरिसकेको भन्छन् पछिल्लो समय आम्दानी हुनेहरुले खर्चभन्दा पनि कसरी राम्रो गर्ने भन्नेतर्फ ध्यान दिन्छन् । यही कारणले पनि यस्ता प्याकेज बिक्न थालेका छन् । 

विवाह र प्याकेज उपलब्ध गराउने विषयमा खर्च यति नै हुन्छ भनेर भन्न नसकिने उनीहरुको भनाइ छ । विवाह गर्नेको चाहना, उनीहरुको आवश्यकताअनुसार खर्च हुने निता बताउँछिन् । 

‘परिवारको बजेटअनुसार प्याकेज उपलब्ध हुने भएकाले यति नै खर्च लाग्छ भनेर भन्न सकिँदैन,’ उनले भनिन्, ‘कुनै विवाह १० लाखमा पनि सम्पन्न हुन्छन् भने कतिले १० करोड पनि खर्च गर्छन् ।’ विवाह गर्नेको खर्चअनुसार प्याकेजलाई मिलाउने र त्यसै अनुसारको सेवा र सुविधा उपलब्ध गराउने उनले बताइन् ।

सोनिया पनि यही कुरामा सहमत छिन् । खर्च ग्राहकको चाहनाअनुसार तलमाथि हुने र प्याकेज पनि त्यसैअनुसार मिलाउने उनले बताइन् । ‘सामान्यतया ठिक्क खालको विवाहका लागि लुगा, गहना, उपहारबाहेक १० देखि १५ लाख खर्च गर्छन्,’ सोनियाले भनिन्, ‘यो मेनुमा निर्धारण गर्ने विषय पनि हो ।’  

भेन्युसहित क्याटरिङ, डेकोरेसन, भेन्डरलगायतका पक्ष खर्चसँग जोडिएका हुन्छन् । प्याकेज उपलब्ध गराउनेले लिने भनेको यी सबै पक्षले लिने शुल्कको केही प्रतिशत वा विवाहको किसिमअनुसार शुल्क निर्धारण गरिने उनीहरुको भनाइ छ । 

जस्तो कि निताको कम्पनीले क्याटरिङ, डेकोरेसन, भेन्डर लगायतका पक्ष जम्मा शुल्क जति निस्किन्छ त्यसबाट १५ प्रतिशत आफूले राख्ने उनी बताउँछिन् । यसरी गर्दा जति ठूलो बजेटको विवाह भयो त्यत्ति नै आफूलाई फाइदा हुने उनको भनाइ छ । उनको अनुभवमा सामान्य गरगहना, लुगा, उपहारबाहेक ३० देखि ५० लाखसम्म खर्च गर्छन् यसरी प्याकेज लिएर विवाह गर्नेले ।    

चुनौतीहरु 

विवाह सम्पन्न गरिदिने जिम्मा लिएपछि सम्बन्धित पक्षलाई खुसी पार्न सक्नु सेवा प्रदायीको चुनौतीका रुपमा रहन्छ । बेहुला–बेहुली वा परिवारको चाहनाअनुसार गरिदिन सक्नुपर्छ । 

कहिलेकाहीँ अनपेक्षित समस्या आइपर्ने उनीहरुको अनुभव छ । एक विवाह सम्पन्न गर्नु भनेको धेरै पक्षसँग जोडिएको हुन्छ । जस्तो कि डेकोरेसन, मेकअप आर्टिष्ट, भेन्डरहरु, क्याटरिङ, गाडी, बाजा, म्युजिक सिस्टम, लाइट व्यवस्थापन लगायतका पक्ष जोडिएको हुन्छ । प्याकेज उपलब्ध गराउनेहरुले यी सबैसँग सहकार्य गरेर काम गर्नुपर्छ । यदी यी कुनै पनि एक पक्षमा समस्या आएमा विवाहलाई नै असर गर्छ । 

‘ती सबैको समायोजना गर्न सक्नु पर्छ,’ निताले भनिन्, ‘कहिलेकाहीँ क्याटरिङले नुन बढी गरिदिँदा समेत समस्या उत्पन्न हुन्छ ।’ 

एक पटक उनले अनपेक्षित अपजोस भोग्नु परेको अनुभव पनि सुनाइन् । राजेन्द्रबहादुर सिंहको छोरी (हिमानीको मामाको छोरी) को विवाह व्यवस्थापन गर्ने जिम्मा निताले नै लिएकी थिइन् । विवाह गर्ने परिवारकै घर महाराजगञ्जमा विवाहको सबै काम सम्पन्न भयो । रिसेप्सन पार्टीसमेत त्यहीँ सम्पन्न भयो । 

निताको तर्फबाट सबै कुरा राम्रो भयो । उनको सेवालाई परिवार, पाहुनाले धेरै प्रशंसा गरे । राम्रो व्यवस्थापन गरिदिएकोमा बधाई दिँदै परिवारले उनलाई बिदाइ गरे । 

तर, भोलिपल्ट फोन आयो । निता कर्मचारीले गाली खानु प-योे । कुरा के रहेछ भनेर बुझ्दा घरको ढल जाम भएको रहेछ । ‘कहिलेकाहीँ आफूले नसोचेको कुरामा पनि गाली खानुपर्छ,’ निता भन्छिन्, ‘९९ प्रतिशत काम राम्रो हँुदा एक सानो कुराले सबै बिगार्छ ।’ 

कतिपय ठाउँमा गाडी जाम भएर दुलाहा जान ढिला हुँदा पनि समस्या हुन्छ । आफ्नो अधिनभन्दा बाहिरको विषयमा पनि इभेन्ट व्यवस्थापनले गाली खानुपर्ने अनुभव उनीसँग छ ।  

फोेटो–भिडियोलाई ड्रोनको माग बढेको छ
अनुप घिमिरे, संस्थापक, वेडिङ ड्रिम्स नेपाल 

कात्तिकको दोस्रो हप्ता वेडिङ ड्रिम्सको कार्यालयमा पुग्दा रिसेप्सन डेक्समा फोनको घण्टी बज्यो । ‘विवाहको तयारी कस्तो भइरहेको छ ?,’ उताबाट सोधखोज भयो, ‘हामीलाई ड्रोन चाहिएको छ ।’ 

‘ड्रोन पनि हामीले उपलब्ध गराउँछौं,’ कार्यालयका एक स्टाफले फोनमा कुरा गर्दै आफ्ना सेवाका बारेमा बताइन् । पछिल्ला दिनमा विवाहमा फोटो र भिडियो खिच्न यसरी ड्रोन प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । 

अब विवाहमा फोटो भिडियो मात्र भनेर नहुने भयो । यसमा नयाँ शैली, कला र प्रविधि जोडिन थालेका छन् । विवाहमा फोटोग्राफी र भिडियोका लागि ड्रोनको माग बढ्दै गएको अनुप बताउँछन् ।

‘फोटो खिच्नु भनेको आइटी र फोटोग्राफीको संयुक्त कला हो,’ अनुप भन्छन्, ‘नयाँ–नयाँ प्रविधि थपिँदै गएका छन् । माग पनि त्यसैअनुसार बढेको छ ।’ 

फोटोग्राफी र भिडियो विवाहको सबैभन्दा महŒवपूर्ण पक्ष भएको उनी बताउँछन् । त्यसैले त विवाह गर्ने परिवार र नयाँ जोडीले यसलाई विशेष ध्यान दिन्छन् । पहिले फोटो खिच्ने चलन त थियो तर अहिले धेरै एड्भान्स भएको छ । यो सृजनशील कलात्मक हुनुपर्छ । लाइटिङ, ब्यागग्राउन्ड कस्तो हुने, सिलिङ कस्तो राख्ने, सट कस्तो र कसरी लिने फोटोग्राफरले मात्र होइन विवाह गर्ने समेत सचेत हुन थालेका छन् । 

विवाह पहिले फोटो सुट गर्ने, विवाहपछि फोटो सुटको समेत चलन आइसकेको छ । सामाजिक सञ्जाल जस्तो कि फेसबुकले गर्दा फोटोग्राफीलाई अझ धेरै फराकिलो बनाएको उनको अनुभव छ । कतिपय विदेशबाट आउँछन् । त्यहाँ देखेको जस्तै यहाँ पनि गर्न खोज्छन् ।

तीन चार वर्षअघि सम्म पनि यस्तो व्यापकता थिएन् । ‘आज यो पेशामा सन्तुष्ट छु । गर्व गर्न सक्ने खालको भएको छ पेशा,’ अनुपले भने । 

यही लगनशीलता र सृजनाकै कारण धैरेले विश्वास गर्न थालेका छन् । अनुपकै टिमले राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विवाहमा पनि फोटो र भिडियो खिचेको अवसर पाएको बताए । उनले यसलाई आफूप्रति बढेको विश्वासको रुपमा लिएका छन् ।  

ग्राहकको चाहनालाई बुझेर काम गर्न सक्नुपर्छ । कुनै परिवारले बेहुला–बेहुली र परिवारलाई फोकस गरेर फोटो र भिडियो लिन चाहन्छन् । कतिले सबै पाहुला फोकस गर्न चाहन्छन् । यो सबै बुझेर मात्र फोटोग्राफरले काम गर्नुपर्छ । 
३० वर्षभन्दा मुनिका युवाले यो व्यवसाय सुरु गरेको ४ वर्ष भयो । वेडिङ ड्रिम्सले विवाहको सबै व्यवस्था मिलाइने भए पनि फोटो र भिडियो प्रमुख पेशा बनाएका छन् । अनुपले यसलाई एक स्टार्ट अप भन्न रुचाउँछन् । ‘नेपालमा पनि केही गरौँ र यहाँ सिस्टमलाई पनि बदल्न सकिन्छ भनेर लागेका छौँ,’ अनुप भन्छन्, ‘मागअनुसार हामीले कला पस्कने हो । यसैमा रमाएका छन् उनीहरु । पछिल्लो समय इज्जत, पैसा र प्यासन भएको पेशाका रुपमा यसलाई उनले लिएका छन्। 

गन्यमान्यको विवाह गर्ने अवसर मिलेको छ
निता पौडेल, प्रबन्ध निर्देशक, वेलकम वेडिङ  

काठमाडौं न्युरोडमा जन्मिएकी निताले आठ वर्षको यो व्यवसायमा कैयन् विवाह गरिदिएकी छन् । साधारण परिवारदेखि गन्यमान्य व्यक्तित्वसम्मलाई उनले यो सेवा प्रदान गरेकी छन् । 

घरबाट उनलाई राम्रो सहयोग मिलेको छ । काम गर्ने क्रममा कहिले बिहान ५ बजे नै हिँड्नु पर्छ भने कहिले कहिले राति १२–१ बजेसम्म काममै खट्नुपर्छ । श्रीमान् निर्मलराज पौडेलको राम्रो सहयोगको कारण यो व्यवसायमा नेतृत्व लिइरहेको उनी बताउँछिन् । 

चर्चित लोक गायक तथा अमेरिकाका नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको छोरीको सबैले प्रशंसा गर्ने विवाह गरिदिएकी नितालाई अन्य केही विवाहहरु छन् जसमा उनी सन्तुष्ट बनेकी छन् । 

केएमसीको प्रिन्सिपल डा. चन्दा कार्कीका दुई छोरीको विवाह उनले व्यवस्थापन गरिदिइन् । कार्कीकै घरमा सम्पन्न भएको विवाह राम्रो र सुन्दर भएकाले निताले वाह वाह पाइन् । उनी पनि निकै सन्तुष्ट भइन् ती विवाहबाट । 

त्यस्तै, व्यवसायी दीपक मल्होत्राको परिवारमा त उनले धेरै इभेन्ट व्यवस्थापन गरिसकेकी छन् । उनका छोरी र छोराको विवाह उनले नै गरिदिइन् । दीपकका छोरा डिकेसको छोरीको भात खुवाइसमेत गरेकी निताको सेवालाई मल्होत्रा परिवारले निकै मन पराएको उनी बताउँछिन् । 

डिकेशको विवाहको कार्यक्रम १० दिन चलेको थियो । त्यो सबै व्यवस्थापन उनले नै गरेकी थिइन् । विवाहमा घरको कार्यक्रम ७ दिनसम्म चलेको थियो । त्यसपछि ३ दिन हायातमा भएको पार्टीको व्यवस्थापन जिम्मा पनि उनलाई नै थियो । 

हायातमा ३ दिन पार्टी हुँदा पहिलो दिन घर परिवार, नातेदार थिए । अर्को दिन छरछिमेक, साथीभाइ र व्यवसायीलाई पार्टी थियो भनेर तेस्रो दिन राजनीतिक र अन्य संघंसस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । ‘३ दिनमा फरक–फरक डेकोरेसन भेन्युलाई सजाएका थियौं,’ निताले भनिन्, ‘उहाँहरु पनि एक दमै खुसी हुनुभयो । हामीले पनि यस्तो गर्न सक्यौं भन्ने गर्व महसुस भएको थियो ।’ 

‘डेष्टिनेसन वेडिङ’को चलन आएको छ
सोनिया श्रेष्ठ, इभेन्ट म्यानेजर, वेडिङ नेपाल 

वेडिङ नेपालले यो सेवा सुरु गरेको झन्डै एक दशक भइसक्यो । यसबीचमा विवाह गर्ने चलनमा धेरै परिवर्तन आइसकेको छ । पहिला मान्छेहरुमा समय थियो । विवाहको सम्पूर्ण तयारी आफैं पनि गर्न सक्थे ।

अहिले मान्छेको व्यस्तता बढेको छ । इच्छा, चाहना परिवर्तन भएका छन् । परम्परालाई नौलो किसिमले प्रस्तुत गर्न चाहन्छन् । आम्दानीका स्रोतहरु बढेका छन् । पढ्न वा वैदेशिक रोजगारीमा जाने परम्पराले विवाहको प्याकेजको माग अझ बढेको सोनियाको अनुभव छ । उनीहरु एकपटक गर्ने विवाहमा धेरै तनाब लिन चाहन्नन् । तनाव नहोस् तर विवाह भव्य होस् भन्ने चाहना उनीहरुमा छ । 

विदेशबाट नेपालमा आउनेले नेपालमा वेडिङ प्लानिङ कम्पनी छन् अचम्म मान्ने उनी बताउँछिन् । कतिपयले विवाह सकेर यता पार्टी दिन आउँदा नेपालमा पनि यस्तो सेवा भएको भए यतै विवाह गर्ने थिए भनेर सुनाउँछन् ।  

यो व्यवसाय छिटोछिटो विकास भएको छ । धेरैको आकर्षण यसमा छ । प्रतिस्पर्धी बढेको छ । यस्ता कम्पनीहरु बढ्दै गएका छन् । एक दुई वर्षको तुलनामा अहिले माग धेरै फरक छ । दुई वर्ष पहिलासम्म डेकोरेसन मात्र खोज्थे भने अहिले ‘डेष्टिनेसन वेडिङ’को ट्रेड आएको सोनियाले बताइन् । घरभन्दा पर, भीडभाड नभएको शान्त राम्रो दृश्य भएको प्राकृतिक ठाउँ विवाह गर्न खोज्छन् जोडीहरु । 

जस्तो कि लेक साइड, रिभर साइड, ओपन गार्डेन, हिल साइडमा विवाह गर्ने ठाउँ रोज्न थालेका छन् । काठमाडौं नजिकैको गोकर्ण रिसोर्ट जोडीको रोजाइमा पर्ने एक उदाहरण भएको सोनियाले बताइन् । 

काठमाडौं बाहिर पनि यो सेवा विस्तार गर्दैछन् उनी । हेटौंडामा मंसिरदेखि सुरु हुँदैछ भने सकेसम्म धेरै ठाउँमा पुग्ने उनको लक्ष्य छ ।

प्रकाशित: २७ मंसिर २०७५ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App