७ वैशाख २०८१ शुक्रबार
अन्य

जाडोका ‘बाक्ला कुर्ती’

भनिन्छ– फेसन गर्नेहरूलाई कुनै पनि मौसमले छेक्दैन। चिसो होस् या गर्मी मौसम आफूलाई फेसनेबल बनाउनेको जमात बढ्दो देखिन्छ। शिरदेखि पाउसम्म शरीरलाई न्यानो बनाउने खालका लुगा मात्र नभएर फेसनबेल र स्टाइलिस्ट लुगा खोज्न आउनेहरू धेरै रहेको व्यापारी बताउँछन्।

पारदर्शी र छोटा लुगा लगाउँदा मात्र फेसनेबल र स्टाइलिस्ट देखिन्छ भन्ने सोच गलत रहेको बताउँछिन्, मंगल बजारकी व्यापारी रितु मगर। उनी भन्छिन्, ‘फेसन गर्नेहरूलाई जाडो न गर्मी कुनै मौसमले फरक पार्दैन, आफूलाई कस्तो लुगा सुहाउँछ भन्ने ज्ञान भए, एभरग्रिन फेसनेबल बन्न सकिन्छ।’

फेसन भन्नु नै छोटो र पारदर्शी लुगा लगाउनु हो भन्ने सोच गलत रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘आम मानिसमा फेसनप्रतिको बुझाई नै निकै कम छ। धेरै जनाको सोच चिसो मौसममा फेसनेबल हुन सकिँदैन भन्ने छ, छोटा र पारदर्शी लुगा मात्र आरामदायी पहिरन हुन्छ भन्ने सोच बिल्कुलै गलत हो।’

दिन–प्रतिदिन चिसो बढ्दैछ जसले गर्दा शरिरमा लगाइने कपडा पनि थपिँदैछ।  काठमाडुको विभिन्न कपडा पसल, मल, सपिङ सेन्टरहरूमा थरीथरीका फेसनेबल न्याना उलनका लुगाहरूले भरिभराउ देख्न सकिन्छ। चिसोबाट शरीरलाई न्यानो बनाइराख्न उलनका लुगा किन्नेहरूको निकै भीड देख्न सकिन्छ। मंगल बजारस्थित उलनका न्याना कुर्ताहरू बेच्न व्यस्त थिइन्, सबिता कार्की। मौसम अनुसारको कपडा व्यापार गर्ने उनी दिनको २ बजेदेखि व्यापार गर्छिन्। कठ्याग्रिदो चिसो मौसममा बाक्ला न्याना उलनका लुगा कसलाई मन नपर्ला र ? फेसनको दुनियाँमा एक थरि छुट्टै जमात जसले उलनको न्यानो कुर्ता निकै रुचाएको छ। हरेक वर्षमा केही न केही नयाँ फेसनको ट्रेन्ड चलेको पाइन्छ। मौसम अनुसारका पहिरन अनी उमेर अनुसारको रोजाई।

चिसो मौसमलाई स्वागत गर्दै मन पर्ने फेसन बनेर आएको छ, बाक्ला उलनको कुर्ती। युवादेखि पाका उमेरसम्मका महिलाहरूको विशेष रोजाइमा पर्न सफल भएको व्यापारी रितु मगरले बताइन्। अचेल सहरिया महिलाहरू घरसँगै कार्यालयमा समेत काम गर्छन्। दैनिकरूपमा कार्यालय जाँदा चिसो मौसममा उलन कुर्ती निकै आरामदायी हुने उपभोक्ता बताउँछन्।

‘उलनको कुर्ती, उलनकै सुर्वाल र सलले कामकाजी महिलालाई आकर्षक मात्र देखाउँदैन, फेसनेबल पनि देखाउँछ,’ रितु मगरले भनिन्। थरिथरिका बुट्टा र डिजाइनले भरिएका उलनका कुर्तीलाई धेरै महिलाहरूले आरामदायी पहिरनको रूपमा प्रयोग गरेको उनी अनुभव सुनाउँछिन्।

फेसनको लागि हरपल तयार हुने माधवी, चिसो मौसमको प्रतीक्षा पूरा भएको बताउँछिन्। चिसो मौसममा उलनको कुर्ती लगाउने कुमारीपाटी बस्ने माधवी रेग्मी प्राइभेट कम्पनीमा कार्यरत छिन्। ‘मलाई फेसनसँगै आरामदायी पहिरनमा सजिन पर्ने हुन्छ, चिसोमा त न्यानो पनि चाहियो नि,’ उनले हाँस्दै भनिन्।

प्रायः बाक्लो उलन लेगिन्जसँग उलन कुर्ता लगाउने उनी उलन कुर्ती लगाउन मन पराउँछिन्। कालो, मरुन, ग्रे रंगको उलन कुर्तीहरू विशेष लगाउने उनी बताउँछिन्। ‘म विवाहित हुँ, हरेक ठाउँ अनुसारको लुगा लगाउन मन पराउँछु, अन्य समयमा भन्दा चिसो मौसममा ओभरकोटसँग उलन कुर्ता लगाउन मन पराउँछु,’ उनले भनिन्।

चिसो मौसममा प्रयोग गरिने न्याना लुगाहरू अचेल धेरैजसो भारत र चीनबाट आयात गरिने बताउँछिन्, न्युरोडस्थित ‘योर च्वाइस्’की सञ्चालिका निमा गुरुङ। । उलन कुर्तीसँगैसल र सुर्वाल (लेगिन्ज)को सेट मात्र नभएर कुर्ती मात्र लिनेहरूको संख्या पनि निकै रहेको उनले बताइन्। चाइनाको मार्केटले गर्दा उलनका बाक्ला कुर्तीहरू खासै महँगो नभएको उनी बताउँछन्।

अहिलेको बजार फेसनले ढाकिएको छ, हरेक चिजहरूमा स्टाइलिस्ट खोज्ने चलन निकै बढेको उनी अनुभव सुनाउँछिन्। उनी भन्छिन्, ‘ग्राहकहरूले विशेष सामानको डिजाइन र रङ धेरै ध्यान दिएको पाइन्छ। एकै किसिमका देखिने सामानहरू भएकाले ग्राहकलाई रोज्न र राम्रो समान चिन्नलाई अलिक समस्या आएको छ।’

हेर्दा उस्तै, दुरुस्तै देखिए पनि समानको क्वालिटी फरक हुने भएकाले ग्राहकले समान विचार गरेर लिनुपर्ने उनी सुझाउँछिन्। फेसनेबल बजारमा सामानहरूको कमी छैन, रोजाइ, गक्ष्य र डिजाइन अनुसार प्रशस्तै सामानहरू उपलब्ध छन्। आफूलाई मनपर्ने सामान छानेर किन्ने विकल्प पनि धेरै छन्, पहिलाको जस्तो बजारमा जे आयो त्यही लगाउनुपर्ने अवस्था नभएको गुरुङ बताउँछिन्।

‘जाडोको मौसममा धेरै व्यापार हुने भनेकौ न्याना, ताता कुर्ता र सुर्वाल हुन्,’ रामेश्वरी श्रेष्ठले भनिन्। उनी ६ वर्षदेखि मौसम अनुसारका पोशाकको व्यापार गर्दै आएकी छन्। यो सिजनमा उनले उलनको कुर्ती र बाक्ला सुर्वाल बेचिरहेकी छन्। उनी प्रायः सुन्धारा, न्युरोडको गेटसम्म व्यापार गर्न जाने बताउँछिन्। थरिथरिका रंग र बुट्टा भरिएका आकर्षक डिजाइनका कुर्ती र लेगिन्ज मिलाउँदै गरेकी उनी पोहोरको जस्तो व्यापार नभएको दुखेसो पोख्छिन्।

‘व्यापार राम्रो भयो भने जाडाका अरू सामानहरू, मफ्लर, बाक्ला मोजा, टोपी पनि राख्ने गर्छु, पैसाले नपुगे दुई आइटम बाक्ला कुर्ती र लेगिन्ज बेच्न राख्छु,’ उनले भनिन्। प्रत्येक वर्षमा लगाइने लुगाको फेसन फरक हुने उनी बताउँछिन्। यसपाली बाक्ला उलनका कुर्तीहरूकोे फेसन निकै चलेको उनले बताइन्।

‘अन्य रंगहरूमा भन्दा कालो, मरुन, कफी रंग निकै चलेको उनले बताइन्। जाडोको मौसममा चिसोबाट शरीरलाई जोगाइराख्न ऊलनबाट बनेका कुर्ती, लेगिन्ज, मजेत्रोको खोजीमा आउनेहरू धेरै हुने उनको भनाइ छ।

न्युरोडस्थित कुर्ती हेर्दै गरेकी अन्जना शर्माले मरुन रंगको बाक्लो कुर्ती रोजिन्। चिसोबाट आफूलाई बचाउन न्यानो उलनको कुर्ती किन्न लागेकी उनी ग्वाम्म न्यानो लुगा लगाउन मनपर्ने उनी बताउँछिन्। घाँटीसम्मको कलर भएको डिजाइनको कुर्ती किनेकी उनीले मरुन रंगमा सुहाउँदो लेगिन्ज खोज्नमा व्यस्त देखिन्थिन्।

‘मलाई चिसोमा निकै गाह्रो हुन्छ। हात र खुट्टा सुन्निने भएकाले विशेष ख्याल राख्नुपर्छ, त्यसैले त चिसोबाट बच्नलाई न्यानो कुर्ती रोजेकी छु,’ उनले भनिन्।  उनीको कुर्ती र लेगिन्जमा एउटा स्विटर लगाएर मजेत्रो ओडियो भने ज्यानलाई चिसो नलाग्ने उनको भनाइ छ।

बढ्दै गरेको चिसो मौससबाट बच्नका लागि मात्र नभएर सरल, सिम्पल, क्लासिक लुक्स् र स्टाइलका लागि समेत उलनको कुर्ती रोजाइमा परेको व्यापारी बताउँछन्। कुर्ती लगाउन असहज र नराम्रो देखिन्छ भन्ने मान्यतालाई गलत साबित गर्न सफल भएका छन्, नयाँ पुस्ताका युवतीहरूले।

मिलाएर, सुहाउँदो हिसाबले लगाउन जान्नु नै फेसनको नलेज हुनु हो भन्ने व्यापारी रितु गुरुङको भनाइ छ। शारीरिक बनोट अनुसार मिलाएर लगाउने ट्रेन्ड विस्तारै बढेको उनी अनुभव सुनाउँछिन्।

प्रकाशित: १७ मंसिर २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App