३ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

कल्पनामा उनिएको ‘कम्प’

सरल र परिष्कृत शैलीमा सलल बग्ने भाषामा शारदा शर्माले लेखेको उनको दोस्रो र पछिल्लो उपन्यास हो, ‘कम्प’ । शीर्षकले जनाएजस्तै उपन्यास भूकम्प गएको र त्यसको प्रभावका बारेमा छ, त्यही महाभूकम्प जुन २०७२ वैशाखमा नेपालमा गएको थियो र करिब १० हजार मानिस कालकलवित भएका थिए । यो सतहभित्र शर्माले कल्पनाको कल्पनातीत उडान भर्दै नेपाली समाजमा घटेका समसामयिक घटनाहरूलाई उपन्यासमा समेटेकी छन् र भूकम्पमा परी ज्यान गुमाएका मानिस मृत्युपश्चात् कहाँ पुग्छन् वा पु¥याइन्छन् भन्ने स्वैर कल्पना पनि पस्केकी छन् । खासगरी व्यक्ति विशेषको मृत्यु भइसकेपछि घरघरमा वाचन गरिने गरुड पुराण संहिताको प्रेतकल्प खण्डलाई उनले स्वैरकाल्पनिक पुनव्र्याख्या गरेकी छन् । प्रेत योनीमा पात्रहरूले गरेको यात्रा उदेकलाग्दो गरी डरलाग्दो छ । तर, वर्णन रमाइलो लाग्छ । स्वयम् शर्माका शब्दमा, ‘केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले यो कृति बनेको छ । हामी बाँचेकै समय खण्डमा अनेक कारणले चर्चामा रहेका प्रवृत्तिहरू पनि यसमा छन् । कतिपय यथार्थ पात्र पनि छन् । उपन्यासमा पात्र, समय र स्थान पृथ्वी लोकदेखि लोकान्तरसम्म र सपनादेखि विपनासम्म फैलिएका छन्।

उपन्यासकी केन्द्रीय पात्र अर्थात मूल नायिका चित्रांगदा हुन् । उपन्यासको सुरुवात् उनकी ठूली फुपू हेरातता (हीरालक्ष्मीको शयनकक्ष, जहाँ चित्रांगदाकी छोरी निरञ्जना पनि सुतिरहेकी हुन्छे)बाट हुन्छ र उपन्यासको अन्त्य पनि अन्तिम तथा ३६२ औं पृष्ठमा ‘स्वप्नभंग’ उपशीर्षकसँगै सोही कक्षको प्रसंगमा समाप्त हुन्छ।

मूलतः उपन्यास मूलनायिका चित्रांगदा कपालीकै सेरोफेरोमा घुमेको छ । उनी २०७२ को पहिलो भूकम्पमा बाँचेकी हुन्छिन् । तर, दोस्रो भूकम्पमा भने पुरिएर मरेकी हुन्छिन् । ब्युटीपार्लरमा मेकअप गराइरहेको बेला उनी भूकम्पको ग्रास बनेकी हुन्छिन् । त्यसपछि, प्रेतात्मा नबन्दै र प्रेतात्मा बनिसकेपछि उनले आफ्नो बालापन, विवाह, लिभिङ टुगेदर, प्रेमीको फोटोग्राफर बहिनीको बलात्कार र आत्महत्या, स्वामी परिमलसँगको आश्रम र सहबास लामो संवादपछि पराजित परिमलको पलायन आदि तमाम प्रसंगहरू सम्झेकी हुन्छिन्।

अनि यमलोकतिरको उनको यात्रा सुरु हुन्छ, प्रेतात्माको रूपमा । क्रुर यमदूतहरूले उनलाई कठिन बाटो हुँदै लैजान्छन् । याम्यपुर, सौरीपुर, चित्रनगर, वैतरणी नदी, दुःखद्पुर, शीतपुर ठाउँहरू हुँदै अन्त्यमा उनी धर्मराज अर्थात् यमराजको दरबार धर्मपुर पु-याइन्छन्, जहाँ उनको अन्तिम न्यायिक सुनुवाई हुन्छ । धर्मपुरका न्यायाधीश, प्रधानन्यायाधीश सबैजना भूकम्पमा परी मरेका घुस्याहा, भ्रष्टाचारी, बद्नाम व्यक्तिहरू नै हुन्छन् । उनीहरूले चित्रांगदालाई सधैंका लागि वैतरणी नदीमा डुब्नुपर्ने फैसला सुनाउँछन्।

चित्रांगदाले फैसला सुनेपछि आगोजस्तो अनुहार पारेर आफूलाई त्यो फैसला स्वीकार नभएको जिकिर गर्दै भन्छे– न्यायका आधार मानिएका कतिपय संहिताहरू पूरै असान्दर्भिक छन्, अहिलेको कालबेलामा । तिनले नारीको मर्यादामाथि आघात पु-याउँछन् । यमपुरीले शास्त्र प्रभाव मान्ने गरुड महासंहिता आफै घोर पितृसत्तापक्षीय र पुरातन छ । एक्काइसौं शताब्दीका मान्यता त्यसले बोक्नै सक्तैन । नारी र शुद्रप्रति त यो हदैसम्म आग्रही छ।

चित्रांगदाले यस्तै अनेक तार्किक कुराहरू गरिरहँदा अचानक धर्मसंसदमा भूकम्प आउँछ, कोलाहल मच्चिन्छ, सभामा भागदौड मच्चिन्छ । युद्धभूमि जस्तो सभाभवनमा एक्कासी चरम क्रोधित मुद्रामा धर्मराजाले चिच्याएर भन्छन्, ‘पर्ख चित्रांगदा ! देवी ! तिम्रो मुद्दामा अनिवार्य पुनर्दृष्टि हुनेछ । यमलोकको समस्त धर्मव्यवस्थाको पुनरावलोकन गरिनेछ, पर्ख।’

चित्रांगदाको प्रेतकल्प यात्रा सुरु भएदेखि धर्मपुर नपुग्दा उनी अनेक पात्रहरूको सम्पर्कमा आउँछिन् । पात्रहरू कति धेरै छन् भने नाम पढ्दापढ्दा आजित भइसकिन्छ । केही खास पात्र बासुदेव, कृपासुर, धुमकेतु आदि भलै उनलाई सहयोग गर्ने, स्नेह गर्ने किसिमका पनि छन्।

उपन्यास मूलतः नारीप्रधान हो । नारीलाई बढी तार्किक, युक्तिसंगत र बुद्धिमान देखाइएको छ, यद्यपि उनीहरू पितृसत्तात्मक परम्पराको सिकार पनि बनेका छन् । चित्रांगदाका अतिरिक्त नेपालकै भूकम्पमा परी मरेकी भारतीय विदुषी डा. कामिनी मेनन अर्की उल्लेखनीय पात्र हुन्।

दरबारकी दासी तर महाराजकी प्रिय अंकशायिनी पात्र पन्नारानीको मुखबाट एक ठाउँ (पृष्ठ २७३) मा उपन्यासकार भन्छिन्– विवाहबाहिर नारी पुरुषले एक अर्कामा आकर्षण अनुभव गर्नु र त्यसबाट आनन्दित हुनु न असामान्य हो, न अस्वाभाविक । विवाहभित्र शरीरजस्तै गरी पत्नीको वा पतिको मनलाई पनि आफनो हकदाबीमा सीमित गर्न त कहाँ मिल्छ र ? कसैको पनि वशमा कहाँ हुन्छ र अर्काको मन ? ...जब मान्छे छिप्पिँदै जान्छ, तब मात्र उसले के थाहा पाउँछ भने कसैप्रति पैदा हुने यस्तो उग्र विव्हलता समयक्रममा आफै शान्त हुन्छ र पुनः अर्का पात्रमा त्यो आरोपित हुँदै जान्छ । त्यो पात्र जति बढी सानिध्यमा आउँछ, विव्हलता उति कम र स्वतः समाप्त हुँदै जान्छ (पृष्ठ २७४)।

इमान्दार यमदूतहरूको भयानक गुनासो उपन्यासमा पढ्न पाइन्छ, जतिखेर उनीहरू भन्छन्– हाम्रा अधिकांश दूतहरू भने बडो खराब छन् । यात्रुका निम्ति खर्च गर्न दिइएको मुद्रा पनि आफै खान्छन् । पृथ्वीलोकका मान्छेले तिनलाई बिगारे । मरेको घुस्याहा कर्मचारी, भ्रष्ट व्यापारी, बिचौलिया र वकिलहरूलाई ल्याउँदा–लैजाँदा तिनैसँग साँठगाँठ गरेर कमिसन पो उठाउँछन् । नेपाल देशमा आएको भुइँचालोपछि यमलोकको थिति नै ध्वस्त भइसक्यो ।
अर्थात् मानिस मरेर गए पनि उसको चरित्र र स्वभाव कालान्तरसम्म पनि परिवर्तन नहुने रहेछ भन्ने तथ्य उपन्यासकारले देखाउन खोजेकी छन्।

गरुड महासंहिताको प्रेतकल्प खण्ड ‘यमलोकका बानियाहरूले पृथ्वीलोकका पण्डित पुरोहितसँग मिलेर बनाएको र मान्छेलाई त्रसित बनाएर लुटेर खाने कहानी भन्दै धर्मको त्रास देखाएर ठग्नु सबैभन्दा डरलाग्दो कुरा भएको’ उनले बताएकी छन्।

आखिर उपन्यास हो । लामो छ । यसलाई पढ्न धैर्य चाहिन्छ । तर, पढ्न थालेपछि भाषाको मिठास र सुललितताले गर्दा आफनै किसिमको मिठास पाठकले अनुभूत गर्छ । टिप्पणीकर्ताले ठीक भनेका छन्– उपन्यासका पात्र, समय, स्थान र घटनाक्रमले एक अर्कालाई अनायास अतिक्रमण गर्दै यस्तो संसारको सृष्टि गर्छन्, जो हाम्रा निम्ति परिचित हुँदाहुँदै पनि नितान्त नयाँ छ । यथार्थ, कल्पना र अनुभूतिबीचको भेद र अभेद, अन्तद्र्वन्द्व र तादात्म्य उपन्यासमा एकसाथ प्रवाहित छ।

अन्त्यमा, प्रकाशक सांग्रिला बुक्सलाई सुझाव पनि छ । त्यो के हो भने अक्षर अलि पाठकमैत्री छैनन् । उपन्यासका अक्षर (फन्ट) आकारमा विचार पु-याउँदा बेस हुने देखिन्छ।

प्रकाशित: १ मंसिर २०७५ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App