७ वैशाख २०७८ मंगलबार
अन्य

‘रक्सी छाडें, अब त आउँछ्यौ कि?’

उनलाई रक्सीको लत नलागेको भए सायद यतिबेला सायद काखमा सन्तान खेलाइरहेका हुन्थे वा काठमाडौंमा आफ्नै घर बनाएर श्रीमतीसँग रमाइरहेका हुन्थे।

तर, अवस्था ठ्याक्कै उल्टो छ । अहिले उनी श्रीमती बितेका क्षणको सम्झनामा कोठामा एक्लै छटपटाइरहेका छन् । भन्छन्, ‘जे ग-यो, रक्सीले ग-यो । रक्सीकै कारण यतिसम्म होला भन्ने सोचेकै थिइनँ।’

उनी अर्थात् ३४ वर्षीय वासु भट्टराई । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ मा रानीगंज घर भएका उनी अहिले काठमाडौंमा गाडी चलाउँछन्।

कुलत र कुसंगतमा फसेका मान्छेको चेत त्यतिबेला खुल्छ, जतिबेला जीवन बर्बाद भइसकेको हुन्छ । उनको पनि यस्तै नियति छ । रक्सीका कारण वैवाहिक जीवन बिग्रिए पनि जीवन ‘बर्बाद’ हुनबाट जोगिएको उनी बताउँछन्।
०००

तिहार आउनु केही दिनअघिको राति । उनी (बासु) र म काठमाडौंको दहचोक जाँदै थियौं– ट्याक्सीमा । उनी मलाई पु-याउन दहचोक जाँदै थिए । कलंकीको जाममा पुगेपछि गाडीको रेडियोमा शिव परियारको स्वरमा यो गीत बज्यो :

पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले
म छु भनी भरोसा दिलायो साथीले...
मलै ख्यालठट्टामा सोधें, ‘गुरुजी कतिको पिउनुहुन्छ त?’

उनले जवाफ दिए, ‘सर, म छँुदा पनि छुन्न ।’ तर, मैले अविश्वास प्रकट गरें, ‘होइन होला!’

उनले जवाफ दिए, ‘हो, एक वर्ष हुन लाग्यो, मैले रक्सी छाडेको । अब म जीवनमा यो चिजको नाम पनि लिन चाहन्नँ । यसमा मेरो जीवनको ठूलो कहानी लुकेको छ सर!’

त्यसपछि मसँग उनले आफ्नो जीवनको वृतान्त बताए । त्यसपछि थाहा भयो– अघिल्लो भेटमा उनले मसँग झुट बोलेका रहेछन् । त्यतिबेला उनले अविवाहित भएको बताएका थिए।
०००

उनको विवाह भइसकेको नौ वर्षअघि भएको रहेछ । तर, अहिले उनी ‘सिंगल’ छन्, अर्थात् श्रीमतीसँग बस्दैनन् । रक्सी पिउने बानीकै कारण श्रीमतीले दुई वर्षअघि उनीबाट छुट्टिएर बस्न थालेकी रहिछिन् । श्रीमतीले अदालतमा सम्बन्धविच्छेदको मुद्दै हालेकी छिन्।

अदालत गएर अंशवण्डाको कागजमा हस्ताक्षर गरिदिन मात्र बाँकी रहेको उनले बताए । ‘अंशवन्डाको कागजमा सहिछाप गरेपछि उनको र मेरो सम्बन्ध सधैंका लागि टुंगिन्छ,’ उनले दुःखी हुँदै भने, ‘कात्तिक १६ गते नै बाँडफाँड हुने कुरा थियो । तिहारले गर्दा अलि पछि सरेको हो । सायद अब छठलगत्तै हुन्छ होला!’

अहिले उनी रक्सी पिउँदैनन् । तर, उनीसँग श्रीमतीसँगै छैनन् । अहिले श्रीमती उनको कुरा सुन्नै चाहँदिनन् । किनकि विगतमा उनले थुप्रै पटक रक्सी छाड्ने बताए पनि छाडेका थिएनन् । ‘त्यसैले प्लिज मैले रक्सी छाडें भन्ने कुरा पत्रिकामा छाप्दिनुस् न,’ उनले अनुरोध गरे, ‘अझै के बिग्रेको छ र ! जे बिग्रेको थियो त्यो सपारिसकेको छु, सात वर्षसँगै बिताएकाले पनि उनको मन कतै फर्की पो हाल्छ कि!’
०००

अघिल्लो दिनको सल्लाअनुसार शनिबारका दिन दिउँसो २ बजेतिर हामी रत्नपार्कको शंखधर उद्यानभित्र छि-यौं । उनले आफ्नो कथा–व्यथा यसरी सुनाएः

दुवैको जागिर थियो, काठमाडौंमा । आफू एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा इक्युपमेन्ट अपरेटर थिए भने श्रीमती कालिमाटीस्थित सफ्टवेयरसम्बन्धी एक कम्पनीमा जागिरे । अहिले पनि त्यही कार्यरत् छिन् । उनको आफ्नै ट्याक्सी पनि थियो । दिउँसो १२ बजेसम्म एयरपोर्टको ड्युटी सकेपछि बाँकी समय उनी ट्याक्सी चलाएर अतिरिक्त आम्दानी गर्थे।

तर उनको एउटै बानी नराम्रो थियो– साँझ परेपछि पिउनैपर्ने । कहिले साँझ पर्ला र, पिउँला भन्ने ध्याउन्न मात्र हुन्थ्यो । पछि गएर दिउँसै पनि पटकपटक पिउनुपर्ने भयो । फेरि उनकी श्रीमतीलाई पिएको पटक्कै मन नपर्ने । यसैमा ठाकठुक परिरहन्थ्यो । उसो त आफ्नो श्रीमान् जड्याँहा भएको कसकी श्रीमतीलाई पो मन पर्छ होला र ! यसैकारण विवाहका लागि केटी हेर्न जाँदैखेरि सोधिन्छ, ‘केटा जाँडरक्सी चुरोटबिँडी खान्छ कि खाँदैन?’

तपाईंले के भन्नुभएको थियो ? उनी हास्दै भन्छन्, ‘केटी हेर्न म गएको होइन, सबै कुरा काका–बाउले मिलाएका थिए । के भने थाहा भएन । कहिलेकाहीं मात्र थोरै खान्छ भने होलान् कि?’

काठमाडौं आएको एक–डेढ वर्षपछि रौतटहको चन्द्रनिगाहपुरस्थित चिडियादह निवासी नेपाल थरकी उनीसँग वासुले २०६५ सालमा विवाह गरेका थिए । एक गैरसरकारी संस्थामा काम गर्दै ब्याचलर(स्नातक) पढ्दै थिइन् उनी । तर, बिहेलगत्तै वासुले उनलाई पनि आफूसँगै काठमाडौं ल्याए।

जीवनमा पहिलोपटक रक्सी खाएको दिन
२०५८/५९ सालतिरको कुरा । कक्षा १२ को परीक्षा दिएर बसेका थिए उनी । दसैं नजिकिँदै थियो । देश–विदेशबाट साथीभाई धमाधम गाउँ आउन थाले । अनि उनीहरूमध्ये कतिपयले दसैंको रमाइलो भन्दै रक्सी–बियर पिउन थाले।

काठमाडौंबाट आएका काकाका छोराहरू आएर हामी पनि हल्का रमाइलो गरौं भन्न थाले । सायद नवमीको दिन थियो । साँझपख रक्सी चाख्न उनीसहित काकाबाउका छोरा चार/पाँच भाइ रानीगंज चोकमा भेला भए । र, ‘गिलमेरी’ किनेर नाक थुन्दै ठाडो घाँटी लाए।

‘खाएपछि झुम्म हुने, आनन्द आउने,’ रक्सी यात्राको सुरुवात सुनाउँदै उनले भने, ‘तर त्यो चिज खतरनाक हो, पछि गएर बानी लाग्छ र यहाँसम्म ल्याइपु-याउला भन्ने नै सोचिएन।’

सधैंका लागि रक्सी छाडेको दिन
सात वर्षदेखिको सम्बन्ध भंग गरेर श्रीमतीले छाडेको पीडाले उनी झन् बढी पिउने भए । ‘हुन त पिउनेलाई बाहना चाहिन्छ, अलिकता खुसी भयो, खुसीयाली मनाउन पियो । केही दुःख प-यो, पियो । ओ हो ! आज त जाडो भयो भन्यो, पियो । साह्रै जिउ दुख्यो भन्यो पियो,’ उनी आफै भन्छन्, ‘झन् श्रीमीतीले नै छाडेपछि त के चाहियो र!’

श्रीमतीले सम्बन्धविच्छेद दिएकै पीरले उनले एयरपोर्टमा १० वर्षदेखि खाइरहेको जागिर पनि छाडिसकेका थिए भने आफ्नो ट्याक्सीसमेत बेचिसकेका थिए।

२०७४ माघ । सर्लाहीको रानीगंजस्थित आफ्नो घरमै थिए उनी । चौबिसै घण्टा रक्सीकै नशामा हुन्थे । घरपरिवारले पनि हार खाएर उनलाई भन्न छाडिसकेका थिए । उनको पारा देखेर छरछिमेक, साथीभाइ सबैले घृणाको नजरले हेर्न थालिसकेका थिए । मनमा त उनलाई लागिरहेको थियो– रक्सीकै कारण यो सब भइरहेको छु, यसबाट मैले जसरी पनि मुक्त हुनैपर्छ । ‘तर के गर्नु, मनले त भन्छ नि,’ उनले भने, ‘तर ज्यानले मागिहाल्छ।’

तैपनि उनी रक्सी छाड्ने अनेक उपायको खोजीमा थिए । यसै क्रममा उनको हातमा एउटा यस्तो पत्रिका प-यो– जहाँ रक्सीको कुलतकै कारण श्रीमती÷छोराछोरी सबैले छाडेर कन्तविजोग भएको कसैको कथा रहेछ । त्यो कुन पत्रिका थियो त्योचाहिँ याद छैन उनलाई । त्यो कथाको पात्र उनलाई आफैजस्तो लाग्न थाल्यो । अनि त्यही बेला सम्झे– गाउँकै एक व्यक्ति, जो दुई/दुई ठाउँमा जागिर खान्थे । कति सुखी र सम्पन्न थिए । तर उनको पिउने बानीकै कारण श्रीमती अर्कैसँग हिँडिन् भने दुईटै जागिर पनि खुस्किए । ठण्डाराम भए । अहिले ती व्यक्ति पशुपतिमा मागेर बस्छन्।

गाउँकै अर्का दाइलाई पनि सम्झे– जो एक दिनमै ४० बोतलसम्म रक्सी पिउँथे । यही कारण श्रीमतीसँग दैनिक झगडा हुन्थ्यो । अन्ततः उनकै कारण श्रीमतीले झुण्डेर आत्महत्या गरिन् । त्यसपछि मात्र ती दाइले रक्सी छाडे । र, अहिले अर्काे बिहे गरेर घरजम बसाएका छन्।

यसरी उनको मनमा एकपछि अर्काे भयावह दृश्यहरू नाच्न थाले र सोचे– यदि मैले पनि रक्सी छाडिनँ भने मेरो हालत पनि योभन्दा कम हुँदैन । त्यसपछि मनमनै अठोट गरे– अब म रक्सी खान्नँ, खान्नँ, खान्नँ । रक्सी छाडेपछि १०/१५ दिन त उनलाई निद्रा लागेन, छटपटी भयो । तैपनि उनले आफ्नो संकल्पलाई डगमगाउन दिएनन् । ‘मान्छेले भित्री मनदेखि चाह्यो भने छाड्नै नसकिने नै चैं होइन रहेछ,’ वासु भन्छन्, ‘केही दिन अवश्य गाह्रो होला तर सकिन्छ, त्यसको उदाहरण म आफैं हुँ।’
०००

बिहे गरेको सात÷आठ महिनादेखि नै उनकी श्रीमतीले असन्तुष्टि जनाउन थालेकी थिइन् उनले पिउने गरेकामा । जतिबेला चाहेका भए उनी रक्सी छाड्न सक्ने स्थितिमै थिए । ‘तर जतिबेला छाड्न सक्थें, त्यतिबेला छाड्न चाहिनँ । जतिबेला छाड्न चाहन्थें त्यतिबेला छाड्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ,’ भन्छन्, ‘मान्छेले गर्ने गल्ती यही हो।’

एकपटक राति उनी रक्सी पिउँदापिउँदै रेस्टुरेन्टमै ढलेपछि श्रीमती गएर उद्धार गरेकी छन् । अनि अत्यधिक रक्सी पिएकै कारण बेहोश भएर शौचालयमै ढलेका उनलाई हत्तार–हत्तार उठाएर ओम अस्पताल पु-याएकी छन् । श्रीमान्को कुलत छुटाउन सक्छु कि भनेर उनले के मात्र गरिनन् । धामीझाँक्रीकहाँ लगिनन् कि डाक्टरकोमा पु-याइनन् कि ! रक्सी छाड्नुभएन भने म नै तपाईंलाई छाड्दिन्छु भनेर पटकपटक चेतावनी दिइनन् कि ! यति मात्र हैन, अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिसकेर पनि उनी झन्डै ६ महिना सँगै बसिन् । सुध्री पो हाल्छन् कि भनेर।
०००

२०७३ असारको एक दिन रक्सीकै निहँुमा श्रीमती र ससुरालीसँग पनि ठूलो झगडा परेपछि उनी जानकारी नदिई हेटौंडा हिँडे । तीन दिनपछि काठमाडौं फर्केका उनी सीधै कालिमाटी पुगे श्रीमती भेट्न । अफिसबाट बाहिर निस्केर श्रीमतीले रुँदै भनिन्, ‘अब म नसक्ने भएँ । तपाईंलाई खोज्न पनि छाडिसकें । मैले त बुवाआमाको सल्लाहमा अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिसकें । के गर्नु ? तपाईलाई मैले भनेकै हुँ– कि जाँड छाड्नुस् कि मलाई ? तपाईं जाँड छाड्न नसक्ने ! वकिलले अब सँगै नबस्नु भनेको छ । म त भरे कोठामा आउँछु कि आउँदिनँ । जानुस् तपाईं।’

उनी छांगाबाट खसेझैं भए । भननन्न रिंगटा लागेजस्तो भयो । श्रीमतीले अगाडि भन्दै गइन्, ‘मसँग बस्दा त तपाईंको ताल यस्तो छ, झन् मैले छोडेपछि हजुरको हालत के होला ? तपाईं त बाटैमा ढल्नुहुन्छ, गाडीले किच्ला, मान्छेले मार्ला!’

आफूप्रति श्रीमतीको यस्तो माया देखेर उनी स्तब्ध भए । आफैलाई धिक्कारे । उनी सुनाउँछन्, ‘तर के गर्नु ? वास्तवमा म रक्सी पनि छाड्न नसक्ने, उनलाई पनि छाडन् नसक्ने अवस्थामा थिएँ ।’ उनी भावुक हुँदै अगाडि भन्छन्, ‘श्रीमतीले बोलेका ती शब्द म जीवनभर भुल्न सक्दिनँ।’

यसपछि पनि उनकी श्रीमती उनीसँगै बस्न आइन् कपनस्थित कोठामा । नजिकै कपनमै रहेको माइतीको कोठामा गइनन् । यसपछि उनले दुई/चार दिन नसुतेर भए पनि रक्सी खाएनन् । तर फेरि खान थाले लुकीलुकी।
०००

२०७३ सालकै दसैं । यदि रक्सी खाएमा, लगाउन ठीक्क पारेको टीका पनि छाडेर हिँड्छु भन्ने सर्त राखेर उनकी श्रीमती दसैं मनाउन उनीसँगै घर (सर्लाही) आउन राजी भइन् । दुई दिनसम्म त ट्वाइलेटमा लुकीलुकी थाहा नपाउने गरी थोरै–थोरै घुट्क्याउन सफल भए । तर तेस्रो दिन पिउँदापिउँदै ढले । यो देखेपछि उनकी श्रीमती सासू–ससुरासँग अब म तपाईंहरूको बुहारी बनेर फर्किन सक्दिनँ भन्दै रुँदै–रुँदै एक्लै फर्किइन काठमाडौं।

त्यसको चार/पाँच दिनपछि उनी काठमाडौं आए । श्रीमतीलाई आफ्नै कोठामा पाए । यति बेलासम्म वास्तवमा वासुलाई श्रीमतीले सम्बन्धविच्छेदको मुद्दै हालिन् होली भन्ने खासै विश्वास लागिरहेको थिएन । यसैकारण पनि उनी रक्सी छाड्ने कुरामा हेलचक्र्याइँ गरिरहेका थिए।

दसैं सकिएको र तिहार आउन बाँकी रहेको बीचको समय । एक जना मान्छे उनको अफिस (त्रिभुवन विमानस्थल) मै आए र कागजपत्र निकालेर सहिछाप गर्न भने । उनी दोस्रोपटक छांगाबाट खसे । किनकि त्यो कागज सम्बन्धविच्छेदको पत्र थियो । अब चैं मलाई पक्का भयो कि उनलाई श्रीमतीले पक्का छाड्दैछिन् । ‘अब मैले केका लागि काम गर्ने, केका लागि जागिर खाने भन्ने विरक्त लागेर आयो,’ उनी त्यो क्षण सम्झँदै भन्छन्, ‘त्यसको दुई/चार दिनपछि नै मैले जागिरबाट राजीनामा दिएँ र लगत्तैजसो ट्याक्सी पनि बेचें।’

‘सात वर्षसम्म दुःख दिएँ अब सुख दिन चाहन्छु’
अहिले उनकी श्रीमती बुवाआमासँग कपनमै बस्छिन् । उनी चाहिँ भक्तपुरको गठ्ठाघर बस्छन् । २०७३ माघदेखि आफूहरू अलग भएको वासु बताउँछन् । ‘बीचमा एक÷दुई पटक फोन गरेको थिएँ,’ उनले दुःखी हुँदै सुनाए, ‘तर उनले अब हामीबीच कुनै सम्बन्ध छैन किन फोन गरको भनेर फोन काटिदिएपछि फोन गर्न पनि छाडें।’

खुसीको कुरा भनौं या दुःखको कुरा । सात वर्षसम्म उनीहरूको एउटा पनि सन्तान भएन । किन त ? ‘बिहे गरेको तीन÷चार वर्ष त पहिले भविष्य बनाउँ अनि मात्र छोराछोरी जन्माउँ भनेर आफैले रोक्यौं,’ उनले सुनाए, ‘त्यसपछि चैं मेरो चालढाल देखेर पनि होला, उनले सन्तान जन्माउन हतार गरिनन्।’

२०४१ सालका वासुलाई अर्की वधु (केटी) नपाउने होइन । उनी नआए अर्काे विवाह गर्ने पक्षमा पनि छन् उनी । तर सात वर्षसम्म श्रीमतीले आफूप्रति जुन स्याहार–सुसार, माया–ममता र समर्पण देखाइन् त्यो उनी कहिल्यै भुल्न सक्दैनन् । ‘अर्काे कुरा, सात वर्षसम्म मैले उनलाई जाँड खाएर जुन दुःख र पीडा दिएँ,’ उनी भन्छन्, ‘अब सुख दिन चाहन्छु।’

उनलाई अर्काे पनि चिन्ता छ । उनी (श्रीमती) पक्कै जीवनभर एक्लै बस्न सक्दिनन् । अर्काे कोही न कोहीसँग विवाह गर्नुपर्ला ! ‘त्यो पुरुष पनि मजस्तै जड्याँहा हुन सक्छ, त्यसो नभए पनि उनलाई पहिले बिहे भइसकेको भनेर दोस्रो दर्जाको ठानेर हेला गर्न सक्छ,’ भट्टराई भन्छन्, ‘त्यो कुरा ममा पनि लागू हुन सक्छ, त्यो भन्दा त बरू पुरानै सम्बन्ध कायम गर्नु हामी दुवैका लागि हितकर छ ।’ उनलााई श्रीमतीसँग पुनः जीवन बिताउने अझै आश छ । त्यसैले उनले श्रीमतीलाई अनुरोध गरे, ‘साँच्चै मैले सधैंका लागि रक्सी छाडें, अब त आउँछ्यौ कि?’

प्रकाशित: १ मंसिर २०७५ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?