७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

दक्षिणाको पैसा सेयरमा

सरोज भट्टराई
डाइरेक्टर तथा प्रशिक्षक: सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिस प्रालि

कम्पनीलाई पुँजीको आवश्यकता परेपछि पुँजी संकलन गर्न सेयर निष्कासन गर्छन् । कम्पनीले सेयर सर्वसाधारणमा निष्कासन गर्छन् । कुनै पनि कम्पनीको सेयर किन्नु भनेको आफूले किनेको सेयरको सो कम्पनीको मालिक हुनु हो । जति सेयर खरिद गरेको छ, त्यति रकमको मालिक हुनु हो । कम्पनीले मुनाफा कमायो भने लगानीकर्ताले पनि कमाउँछ । आफूले लगानी गरेको कम्पनी घाटामा गयो भने लगानीकर्ता पनि घाटाको भागेदारी हुन्छ । दसैं तिहारमा दक्षिणास्वरुप जम्मा भएको सानो–सानो रकम जम्मा गरेर सेयरमा लगानी गर्न सकिन्छ। 

फस्ट ह्यान्ड मार्केट
प्राइमरी सेयर भनेको कुनै पनि कम्पनीले पहिलोपटक जारी गरेको धितोपत्र किनबेच हुने बजार हो, जसलाई फस्ट ह्यान्ड मार्केट पनि भनिन्छ । प्राइमरी सेयरमा लगानीकर्ताले कम्पनीबाट सिधै खरिद गर्ने मौका पाउँछन् । प्राइमरी सेयरमा मध्यस्थकर्ता हुँदैनन् । कम्पनीले सूचना जारी गर्छन् । निश्चित प्रक्रिया पूरा गरेपछि धितोपत्र बोर्डले स्वीकृति दिइसकेपछि सेयर जारी हुन्छ । कुनै पनि कम्पनीले आफूलाई आवश्यक पर्ने पुँजी संकलन गर्न पहिलोपटक सर्वसाधारणलाई बेच्ने सेयर प्राथमिक सेयर हो । यो नयाँ हो । प्राथमिक सेयरलाई प्राइमरी सेयर पनि भनिन्छ । इनिसियल पब्लिक अफरिङ (आइपिओ) पनि भनिन्छ । प्राथमिक बजारमा सेयर जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि सार्वजनिक कम्पनीले सेयर जारी गर्छन्। 

एक हजार दक्षिणा सेयरमा
सामान्यतः नेपालको प्राथमिक बजारको सेयरमा एक कित्ता सेयरको अंकित मूल्य एक सय रुपैयाँ हुन्छ । एक कित्ता सेयर खरिद गर्न एक सय रुपैयाँ लगानी गर्नुपर्छ । एक हजार लगानी गरेर दस कित्ता सेयर खरिद गर्न सकिन्छ । नेपालको प्राथमिक बजारमा न्यूनतम दस कित्ता सेयर खरिद गर्न पाइन्छ । कम्पनीको नियमअनुसार न्यूनतम कति र अधिकतम कति सेयर भर्न (खरिद गर्न) पाउने भन्ने सेयर जारी गर्दा उल्लेख गरेको हुन्छ । त्यसैले दसैं–तिहारमा कसैले एक हजार दक्षिणा पाएको छ भने त्यस्ता व्यक्तिले एक हजार लगानी गरेर प्राथमिक बजारको सेयरमा प्रवेश गर्न सकिन्छ । नयाँ लगानीकर्ता र थोरै पुँजी भएका व्यक्तिले प्राइमरी सेयरमा लगानी गर्दा जोखिम पनि कम हुन्छ । प्राइमरी सेयरमा लगानी गर्दा कम जोखिममा राम्रो मुनाफा कमाउन पनि सकिन्छ। 

दोस्रो बजारमा दक्षिणा
प्राथमिक बजारमा जारी भैसकेको सेयरको पूर्ण किनबेच गरिने बजार दोस्रो बजार हो । दोस्रो बजारको सेयर लाइसेन्स प्राप्त धितोपत्र दलाल अर्थात् ब्रोकर कम्पनीको माध्यमबाट किन बेच हुन्छ । कम्पनीले  सेयर निष्कासन गरेर एकपल्ट बिक्री गरिसकेको सेयर ब्रोकरको माध्यमबाट खरिद–बिक्री गरिने सेयर दोस्रो बजारको सेयर हो । सेयरको दोस्रो बजारलाई सेकेण्डरी मार्केट पनि भनिन्छ । सेकेन्डरी मार्केटको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर कारोबार भएको हुन्छ । नेपालमा ५० वटा लाइसेन्स प्राप्त ब्रोकरले सेयरको कारोबार गरिरहेका छन् । ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट लाइसेन्स लिएको हुन्छ। 

दोस्रो बजारको सेयरमा लगानी गर्दा सेयरको प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ नहुन पनि सक्छ, सामान्यतया हुँदैन । त्यसैले एक कित्ता सेयरको मूल्य एक हजार पनि हुन सक्छ । सेयरको मूल्यमा भर पर्छ । केही रिक्स लिएर धेरै कमाउन खोज्ने वा केही बढी रकम भएका व्यक्तिले दोस्रो बजारमा लगानी गर्न पनि सकिन्छ। 

दसैं तिहारमा कतिपयको एक दुई हजारभन्दा बढी पनि रकम जम्मा हुन सक्छ । २०–५० हजार वा एक डेढ लाख पनि पैसा जम्मा हुन सक्छ । त्यस्ता धेरै पैसा जम्मा हुनेले लगानीलाई विविधीकरण गरेर प्राइमरी तथा सेकेण्डरी मार्केटमा पनि लगानी गर्न सकिन्छ । तर एउटै कम्पनीमा लगानी नगरेकै राम्रो । किनकि लगानी डुब्यो भने पनि दक्षिणाको पैसा एकै ठाउँमा डुब्छ । तर धेरै ठाउँमा लगानी गर्दा डुब्ने सम्भावना कम हुन्छ। 

दसैं तिहारमा प्राप्त दक्षिणा दोस्रो बजारमा लगानी गरेर पनि आयआर्जन गर्न सकिन्छ । दोस्रो बजारको सेयर खरिद गर्दा राम्रोसँग बुझेर मात्रै खरिद गर्नुपर्छ । जथाभावी लगानी गर्दा दक्षिणाबाट प्राप्त रकम डुब्न पनि सक्छ । त्यसैले राम्रा कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ । दक्षिणाबापत पाएको रकम सेयरमा लगानी गरेर भविष्यलाई उज्ज्वल बनाउनुका साथै बुढेसकालमा सेयरमा लगानी गरेको पैसाले बुढेसकालका लागि सुरक्षा गर्न सजिलो हुन्छ। 

वैशाख सेयरको आँप फुल्ने सिजन
वैशाखदेखि असोज महिनासम्मको सिजन सेयर बजारको सिजन हो । विगत १४÷१५ वर्षअगाडिको इतिहास हेर्दा वैशाखदेखि असोजसम्म सेयर कारोबारको प्रमुख सिजन हो । ढिलोमा वैशाख महिनामा सेयर बजारमा प्रवेश गरेर कात्तिक महिनाबाट बाहिर निस्कनुपर्छ भनिन्छ । पुस महिनासम्म पनि सेयरको सिजन मानिन्छ । सेयरबजार मापन गर्ने सूचक नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको पनि साउन–भदौमै देखिन्छ।

साउन–भदौमा सेयर उच्चतम बिन्दुमा पुगेको देखिन्छ । साउन–भदौमै सेयर अत्यधिक बढ्छ, त्यतिखेरै कारोबार धेरै हुन्छ ।  कम्पनीले प्रत्येक तीन महिनामा त्रैमासिक रिपोर्ट निकाल्छन्, जसलाई क्वाटरल्ली रिपोर्ट भनिन्छ । कम्पनीको प्रगति विवरण प्रकाशित हुन्छ । पहिलो क्वाटर रिपोर्ट कात्तिकमा प्रकाशित हुन्छ । दोस्रो माघमा, तेस्रो वैशाखमा प्रकाशित हुन्छ। 

वैशाखमा आउने कम्पनीको विवरण हेरेर कम्पनीको नाफाघाटाको बारेमा अनुमान लगाउन सकिन्छ । वैशाखमा प्रकाशित हुने तेस्रो क्वाटरको प्रगति विवरण हेरेर आगामी वर्ष कम्पनीले कस्तो नाफा गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । कम्पनीको विवरण हेरेर वैशाखमा लगानीकर्ता प्रवेश गर्न सक्छन् । वैशाखसम्मको कम्पनीको वित्तीय विवरण हेरेर राम्रो विवरण भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्छ भने खराब विवरण भएका कम्पनीमा आकर्षण घट्छ । तेस्रो क्वाटर सेयरको सुरुवातको सिजन हो । तेस्रो क्वाटर अर्थात् वैशाख महिना आँप फुल्ने सिजन जस्तै हो । आँप फुल्दाखेरी कति फल्ला भनेर जसरी आँकलन गर्न सकिन्छ त्यसैगरी तेस्रो क्वाटर रिपोर्टले पनि भविष्यमा कम्पनीको बारेमा आँकलन गर्न सकिन्छ । वैशाखलाई सेयर बजारको आँप फुल्ने सिजन पनि भनिन्छ।  

त्यसैले पहिलो क्वाटर रिपोर्ट अर्थात् कात्तिक महिनामा कम्पनीको घाटा नाफाका बारेमा केही आँकलन गर्न सकिन्छ भने दोस्रो क्वाटरमा केही बढी आँकलन गर्न सकिन्छ । दोस्रोभन्दा तेस्रोमा अझ बढी आँकलन गर्न सकिन्छ भने चौथो क्वाटर रिपोर्टमा त प्रस्ट नै हुन्छ जुन श्रावणमा हुन्छ। 

कम्पनीले वैशाखमा त्रैमासिक रिपोर्ट प्रकाशित गर्छन् । वैशाखदेखि कात्तिकसम्मलाई सेयरको सिजन मानिनुको कारण देशको आर्थिक अवस्था बजेट लगायत पनि हो । सेयर बजारलाई सम्बोधन गर्ने किसिमको नीति तथा कार्यक्रम आयो भने सेयर बजारमा पनि ऊर्जा थपिन सक्छ । राष्ट्रबैंकले ल्याउने मौद्रिक नीतिले सेयर बजारमा प्रभाव पार्छ । सेयर बजारमा बैंकिङ क्षेत्रको धेरै प्रभाव भएकाले प्रभाव पर्छ। 

लगानीकर्ताको बाली भित्र्याउने सिजन
राम्रा कम्पनीमा लगानी गर्न सकिन्छ । खराब कम्पनीमा लगानी घटाउन सकिन्छ । साउनदेखि कम्पनीले गत वर्षको लाभांश घोषणा गर्छन् । वार्षिक साधारण सभा गर्छन् । वार्षिक साधारण सभा भनेको लगानी कर्ताका लागि मंसिर पनि भनिन्छ । यो वार्षिक साधारणसभाको सिजन लगानी कर्ताको बाली भिœयाउने सिजन हो । त्यसैले पनि साउन, भदौ र असोज महिनालाई सेयरको बढी मूल्य बढ्ने सिजनका रुपमा लिइन्छ र सेयरको विशेष सिजनका रुपमा पनि लिइन्छ। 

कम्पनीले वैशाखमा त्रैमासिक रिपोर्ट प्रकाशित गर्छन् । वैशाखदेखि कात्तिकसम्मलाई सेयरको सिजन भनिनुको कारण देशको आर्थिक अवस्था बजेटलगायत पनि हो । सेयर बजारलाई सम्बोधन गर्ने किसिमको नीति तथा कार्यक्रम आयो भने सेयर बजारमा पनि ऊर्जा थपिन सक्छ । राष्ट्रबैंकले ल्याउने मौद्रिक नीतिले सेयर बजारमा प्रभाव पार्छ । सेयर बजारमा बैंकिङ क्षेत्रको धेरै प्रभाव भएकाले प्रभाव पर्छ। 

सेयरको आँप पाक्ने सिजन
ढिलोमा वैशाखमा सेयर बजारमा प्रवेश गरेर असोजमा बेच्दा करिब ७५ प्रतिशत फाइदा हुन्छ । वैशाखदेखि कात्तिकसम्मको समयको अवधि सेयर बेच्ने सिजन हो । यो सिजनमा सेयर बेचेर फाइदा लिन सकिन्छ । साधारणसभा, रिपोर्टलगायतका कारणले यो सिजनमा सेयर बेचेर फाइदा लिन सकिन्छ । भदौ÷असोज सेयरबजारको आँप पाक्ने सिजन हो । यो सिजनमा सेयर बेचेर फाइदा कमाउन सकिन्छ । दसंैतिहार पछि सेयरको अफ सिजन सुरु हुन्छ। 

दसैंदेखि सेयर किन्ने सिजन
सेयरको भाउ बढेको बेलामा सेयर नकिन्दा राम्रो घटेकै सिजनमा किन्दा राम्रो हुन्छ । सेयरको अफ सिजनको रुपमा कात्तिकको अन्त्यदेखि चैतमहिनासम्मको अवधिलाई लिइन्छ । सेयर अफ सिजनमा किन्दा राम्रो हुन्छ । माघदेखि चैतसम्मलाई अफ सिजनका रुपमा लिइन्छ। 

वार्षिक साधारणसभा पनि पुससम्ममा भइसकेको हुन्छ । आएको नाफा राखेर लगानीकर्ताले सेयर बेच्ने जमर्को गर्छन् । त्यस्ता राम्रा कम्पनीका सेयर अफ सिजनमा किनेर सिजनमा बेच्दा फाइदा हुन्छ।

माघदेखि चैतसम्मको अवधि सेयरको सुसुप्त समय हो । सेयरको अफसिजन सुरु भएको समयमा दसैं तिहारको दान दक्षिणाबाट केही रकम पनि जम्मा हुने भएकाले दोस्रो बजारका सेयर पनि सस्तो मूल्यमा किन्न सकिन्छ भने प्राथमिक बजारको सेयर भने जहिले पनि किन्न सकिन्छ । त्यसैले दसैंपछिबाट सेयर किन्ने उपयुक्त सिजन सुरु हुन्छ।

दसैंको पैसा प्राथमिक सेयरमा
दसैं तिहारमा दान दक्षिणालगायतबाट थोरै थोरै पैसा जम्मा गरेको महिला तथा गृहिणीले प्राथमिक सेयरमा लगानी गर्नु नै राम्रो हुन्छ । किन भने एक हजारबाट प्राथमिक बजारमा प्रवेश गर्न सकिन्छ । जोखिम पनि कम हुन्छ । थोरै लगानी गरेर आम्दानी गर्न पनि सकिन्छ । अझ नयाँ लगानीकर्ता हो भने अनुभव पनि हुन्छ । नयाँ तथा सानो लगानीकर्ताले प्राथमिक सेयरमा लगानी गर्नु नै राम्रो हुन्छ । क्षमताअनुसार लगानी गर्नु राम्रो हुुन्छ। 

दसैं तिहारमा एक दुई हजारदेखि चार÷पाँच हजारसम्म पनि हुन सक्छ । त्यस्ता महिला तथा गृहिणीले पहिलो प्राथमिकतामा लगानी गरे जोखिम कम हुनुका साथै बजार पनि बुझिन्छ । दसैं तिहारमा जम्मा भएको रकम दोस्रो बजारमा पनि लगानी गर्न सकिन्छ । जुनसुकै समयमा जतिसुकै पैसा पनि लगानी गरिन्छ।

दक्षिणाको पैसाले लखपति
दसैं तिहारमा दस हजार रकम जम्मा भएको छ भने त्यस्ता व्यक्तिले सेयरमा कसरी र कहाँ लगानी गर्ने भन्ने द्विविधा पनि हुन सक्छ । तर दस हजार रकम भएकाले पनि २–३ वटा कम्पनीमा लगानी गर्न सकिन्छ । तर थोरै पुँजी हुनेले लगानीको प्राथमिकता प्राइमरी सेयरमै हुनु राम्रो हो । प्राइमरी सेयरमा एक हजार लगानी हुनेले पनि लगानी गर्न सकिन्छ । त्यसैले लगानीको पहिलो निशाना प्राथमिक बजार नै उचित हुन्छ । प्राइमरी बजारमा लगानी गरेको दक्षिणा खिएर जाने सम्भावना अत्यन्तै कम हुन्छ । भविष्यमा दक्षिणाको पैसाले लखपति हुन सकिन्छ। 

बालबालिकाको देउसी भैलोको पैसा सेयरमा
विद्यार्थी तथा बालबालिकाको पनि दसैं तिहारमा जम्मा भएको सानो सानो रकम सेयर बजारमा लगानी गर्न सक्छन् । दसैंमा टीका थापेर होस् या तिहारमा देउसी भैलो खेलेर नै किन नहोस् एक दुई हजार मात्रै जम्मा भए पनि अभिभावक संरक्षक भएर सेयरमा लगानी गर्न सकिन्छ । बालबालिका तथा विद्यार्थीले चाडपर्वमा जम्मा भएको सानोसानो रकम सेयरमा लगानी गर्ने हो भने भविष्यमा उच्च शिक्षाका साथै व्यापार व्यवसायमा पनि लगानी गरेर भविष्यलाई सुन्दर बनाउन सकिन्छ । बालबालिका तथा विद्यार्थीले पनि प्राथमिक सेयरलाई नै प्राथमिकता दिनु उचित हुन्छ। 

कमिसनले चल्छ कम्पनी
सेयर खरिदबिक्री गर्दा ब्रोकर कम्पनीले मध्यस्थताको भूमिका खेलेको हुन्छ । कारोबार रकमको आधारमा ब्रोकर कम्पनीले कमिसन लिन्छन् । कमिसनबाटै ब्रोकर कम्पनीले पनि कमाइ गर्छन् । धितोपत्र बोर्डले निर्धारण गरेबमोजिम ब्रोकर कम्पनीले कमिसन लिन्छन्। ५० हजारसम्मको कारोबार गर्दा ०.६ प्रतिशत कमिसन ब्रोकर कम्पनीले लिन्छन्।

५० हजारदेखि पाँच लाखसम्म ०.५५ प्रतिशत र एक करोडभन्दा माथिको खरिदबिक्री गर्दा ब्रोकर कम्पनीले ०.४० प्रतिशत कमिसन लिन्छन् । जति ठूलो रकमको कारोबार हुन्छ त्यति नै कमिसनको दर पनि घट्दै जान्छ । सेयर किन्ने र बेच्ने दुवैबाट ब्रोकर कम्पनीले सेवा दिएबापत शुल्क लिन्छन् । कारोबार गर्दा अन्य केही कमिसन पनि तिर्नुपर्छ । एउटै ब्रोकरबाट सेयरको किनबेच गर्नुपर्छ भन्ने छैन । जुन ब्रोकर कम्पनीबाट किनबेच गर्न सकिन्छ । किनबेच गर्ने फरक–फरक ब्रोकर पनि हुन सक्छन् । मानौँ ‘ए’ नाम ब्रोकर कम्पनीकोबाट बेचेको सेयर ‘डी’ ब्रोकरबाट किन्न पनि सकिन्छ।

हकप्रद सेयर घातक
कम्पनीले नाफाको रुपमा बाँड्ने सेयर बोनस सेयर हो । नाफाको रुपमा सेयर धनीलाई सेयर नै थप गरिनु बोनस सेयर हो । कम्पनीले निःशुल्करूपमा सेयर धनीलाई बोनस सेयर बाँड्छन् । सेयरधनीको सेयर संख्याको आधारमा बोनस सेयर बाँडिन्छ । कम्पनीलाई नाफा भयो भने सेयरधनीलाई पैसाको सट्टामा सेयर नै थपिदिनु बोनस सेयर हो ।  बोनस बाँड्नु भनेको कम्पनी नाफामा गएको संकेत हो। 

जोसँग कम्पनीको सेयर छ, उसैले भर्न पाउने गरी कम्पनीले जारी गरेको नयाँ सेयर हकप्रद सेयर हो । जोसँग कम्पनीको सेयर छ उसैले मात्रै हकप्रद सेयर भर्न पाउँछ । कम्पनीको सेयर नहुनेले सेयर भर्न पाउँदैन । प्रायः कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमै हकप्रद सेयर जारी गर्छन् । कम्पनीको पुँजी बढाउने माध्यम हो हकप्रद सेयर । कम्पनी नाफा वा घाटामा भए पनि पुँजी बढाउन हकप्रद सेयर जारी गर्छन् । हकप्रदमा लगानी थप गर्ने हो। 

सेयर कम्पनीलाई पुनः पुुँजीको आवश्यकता भयो भने बाँडिन्छ । पहिले गरेको लगानीले नपुगेपछि कम्पनीले पुनः हकप्रद सेयर जारी गर्छन् । हकप्रद सेयर जारी गरेर कम्पनीले थप पुँजी संकलन गर्छन् । एकपटक लगानी गरिसकेको कम्पनीमा लगानीकर्ताले कुनै पनि किसिमको लाभांश नपाइकन फेरि त्यही कम्पनीमा थप लगानी गर्नु जोखिम कार्य हो ।  कम्पनीले बोनसलगायतका कुनै नाफा बाँडेको छ भने त्यस्तो कम्पनीमा हकप्रद सेयरमा लगानी गर्दा पनि फाइदा हुन सक्छ । किनकि कम्पनीले थप लगानी गरेर बिजनेसलाई बढाउन सक्छ।

तर कुनै पनि किसिमको नाफा बाँड्दैन तर हकप्रद सेयर जारी गरेर पुँजी मात्रै संकलन गरिरहन्छ भने त्यस्तो कम्पनीको अवस्था राम्रो छैन भनेर आँकलन गर्न सकिन्छ । कि त थप पुँजी लगानी गरेर राम्रै योजना बनाएको हुनुपर्यो नत्र हकप्रद सेयर मात्रै बाँड्ने तर लगानीकर्तालाई कुनै पनि मुनाफा नबाँड्ने कम्पनीमा लगानी गर्नु जोखिम हुन्छ । त्यसैले हकप्रद सेयर मात्रै जारी गर्ने कम्पनीमा थप लगानी गर्दा सेयरधनीलाई जोखिम हुने भएकाले सावधानी अपनाउनु पर्छ । खराब कम्पनीले पनि हकप्रद सेयर जारी गर्न सक्ने भएकाले हकप्रद सेयरमा लगानी गर्नु घातक हुन्छ । पुँजी बढाउँदैमा नाफा हुँदैन। 

कसरी भर्ने सेयर
सुरुमा लगानी गर्न चाहनेले सर्वप्रथम बैंक एकाउन्ट खोल्नुपर्छ । धितोपत्र बोर्डबाट अनुमतिप्राप्त संस्थाबाट डिम्याट एकाउन्ट खोल्नु पर्छ । डिम्याट एकाउन्ट खोलिसकेपछि आफ्नो खाता जुन बैंकमा छ त्यहाँ गएर सेयर भर्न सकिन्छ । अनलाइनमार्फत पनि सेयर भर्न सकिने व्यवस्था सुरु भएको छ । प्राथमिक तथा दोस्रो बजारको सेयर खरिद–बिक्री गर्दा परामर्श लिएर गर्नु उचित हुन्छ। 

उज्ज्वल भविष्य
नेपालको सेयर मार्केट अझै केही समय उत्साहजनक हुने देखिँदैन । अझै केही समय घट्न सक्ने अनुमान छ । सिजनमा पनि बजार माथि जान नसकेकाले केही समय सेयर बजार उत्साहजनक नहोला भन्ने आँकलन गर्न सकिन्छ । अर्कोतर्फ सेयर बजारमा नयाँ प्रविधि भित्रिएकाले पनि बजार बढ्ने संकेत छ। 

बैंकको ब्याजदर बढ्दा सेयर मार्केट घट्छ  भने बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ । बैंकको ब्याजदर घट्ने आशा गर्न सकिन्छ । अहिले भने बैंकिङ ब्याजदर धेरै छ । तरलता सहजता भएर ब्याजदर सस्तो भयो भने सेयर बजारमा केही सकारात्मक प्रभाव पर्छ । स्थिर सरकार छ । सेयर बजार सकारात्मकतर्फ जाने संकेत छ । दीर्घकालीनरुपमा सेयर बजार घटिरहँदैन ।  त्यसैले पनि सेयरमा लगानी गर्नेले अतालिनु पर्दैन । सेयर बजारको भविष्य सुन्दर छ।

 (भट्टराईले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: २ कार्तिक २०७५ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App