१० वैशाख २०८१ सोमबार
अन्य

जानु छ- दसैंमा गाउँ

कति कुट्नु दुःखका गिटी
कति पल्टाउनु सन्त्रासका पाना
दुःख पनि उतै मिठो
सुख पनि उतै मिठो
चोखो मन उतै छोडेर आएको थिएँ

सपनामा भर्खरै
पारिजात सेतै फुलेको देखें
हँसना र केवरा मुस्कुराएको भेटें
बिउँझदा
दसैं आएजस्तो लाग्यो

दसैंको आगमनले यतिखेर
त्यसै–त्यसै मुस्कुराएको होला गाउँ
पोटाउँदै होलान् खेतमा धानका बाला
लम्किंदै होलान् बारीमा सर्पजस्तै बोडीका लहरा
हलक्कै बढेका होलान्
सयपत्रीका बोटहरू आँगनका डिलमा

यो शरद्मा
बादलको पर्दा उघारेर चाँदीझैं
कति बिधि मुस्कुराएको हिमाल!

कति रहस्यमयी!आकाशको नीलो समुद्र
कति सुन्दर!
रातो माटो र कमेरोले सजिएको गाउँ
कति मनोहर!
साप्सुको कञ्चन प्रवाह
सुनिरहुँ लाग्छ
चिउरा कुट्दा ढिक्कीको आदिम सङ्गीत
हेरिरहुँ लाग्छ
टहटह जूनले नुहाएका स्निग्ध डाँडाहरू
सुम्सुम्याइरहुँ लाग्छ
कपासझैं सेतै फुुलेका मुलायम रातहरू

साँच्ची!
कहाँ पुगे होला ऊ बेलाका दौंतरी
कस्ता भए होला धारा पँधेरा
भत्किए कि ठडिएकै छन् ठाँटी/चौतारी
फुल्दै छ कि सुकिसक्यो जाइको बोट
पहिरोले बगायो कि त्यहीं छ त्यो चप्लेटी ढुङ्गा

सम्झन्छु ती दिन
बारीका डिलमा चङ्गा उडाएको
च्यानडाँडामा रोटेपिङ खेलेको
सिमलबोटे चौरमा लिङ्गे पिङ मच्चाएको

बर्सेनी कति घटिसके होला
रातो टीका निधारमा पु-याउने वृद्ध हातहरू
सुनेको छु
सिरानघरे बा परारै खसे अरे
कल्ले गाउला अब मालश्रीको गीत
खसिन् अरे सुबिदार्नी आमोइ पनि
कल्ले भन्छ अब सुरिलो भाकामा–आइन्द्रो नसुते

झलझली सम्झन्छु उतै
यो बेला आमा
नौरथामा जमरा राख्न
लिप्तै छिन् होला भँडारकोठा
बा केरा पकाउन
काट्तै छन् होला घरमाथिको असुरो
र दुबै जना घरिघरि छत्रे हात लगाएर
हेर्दैै छन् होला पारि कुइभीरतिर हामी आउने बाटो

हो, अब जानु छ गाउँ
र सुन्नु छ देवीघरमा चण्डीका लयबद्ध मन्त्रहरू
थाप्नु छ आशीर्वाद मान्यजनबाट
सजाउनु छ आफ्नै निधार
रातो टीका र पहेंलो जमराले
र गर्नु छ सबै-सबैप्रति मङ्गल कामना

प्रकाशित: २७ आश्विन २०७५ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App