१७ आश्विन २०७९ सोमबार
अन्य

माहुरीको मालश्री धुन

चाँदनीको रातमा भारीसँगै एक डेढ घन्टाको उकालो हिँडिएको त्यो समय जिन्दगीको स्वर्णीम समय थियो । धानको भारी होस् कि परालको भारी चौतारीमा अडेस लगाएर टाउको हल्लाउँदै पसिना पुछ्नुको आनन्द छुट्टै थियो । बाटाभरी चियाइरहन्थे लाखौ ताराहरू। टिल्पिलाइरहेका हुन्थे एदाकदा जुनकीरीहरू । नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्षामा सधैंभर दृष्टि बिछाइरहने बरपीपलका पातहरू । बिस्तारै छोएर जान्थ्यो सिरसिरे बतासले पनि। 

त्यो यही समय हो । यही मौसम हो गर्मी ओरालो लाग्दै गर्ने र बिस्तार बिस्तारै जाडो चलमलाउन थाल्ने । दसैंको सुरुवातको समय अर्थात दसैं आउन थालेको संकेत गरिरहेको समय ।  भावुक बनाउँछ अहिले पनि शारदीय आगमनले, सौन्दर्यले अनि विगतको सम्झनाले । आँखा रसाउँछन् मालश्री धुन सुन्दा । आँगनमा बज्ने दमाहा र सौनाइको धुनले पगाल्थ्यो होला मलाईझै अरुलाई पनि । निकै नै बलियो छाप छोडेर गए स्मृतिपटलमा विगतका दसैंहरूले । बा हुनुहुन्थ्यो र दसैको पनि महत्व थियो । ती दसैहरू पनि थिए । बा गए पछि बासँगै ओझेल परे घुर्की लाउँदै नयाँ सामानको माग गर्ने दिनहरू पनि । म बाह्र वर्षकै छँदा छाडेका हुन् बाले । त्यसपछिका दिनमा ओढीरहेँ भावुकताको पछ्यौरी । त्यति सानै उमेरमा कसरी त्यति भावुक बन्न पुगे अहिले सम्झिँदा अचम्म लाग्छ।

एकातिर भोक लाग्थ्यो आमाको ममताको अर्कोतिर नजर बिछ्याउन मन लाग्थ्यो बाका पैतालाले नाप्दै गरेका गोरेटातिर । बाको अस्कोटको खल्तिमा पुग्ने औंलाले पाएनन् धेरैदिन बाको हात समातेर आँगनमा मुस्कुराउन । आमाको पछ्यौरीको कुटुरो फुकाल्न आतुर हुने औंंला पनि त्यसपछि कहिल्यै बढेनन् पछ्यौरीको कुटुरो फुकाल्न । मात्र सोचिरहेँ आमाका आँसु पुछि दिन पाए हुन्थ्यो । तर सकिँन अहिलेसम्म आमाका आँसु पुछ्न ।

 
आमाको ममता एकातिर हुन्थ्याे बाको जिम्मेवारी र बासँग गरिने कुनै चिजको आश अर्कोतिर। एकातिर भोक लाग्थ्यो आमाको ममताको अर्कोतिर नजर बिछ्याउन मन लाग्थ्यो बाका पैतालाले नाप्दै गरेका गोरेटातिर । बाको अस्कोटको खल्तिमा पुग्ने औंलाले पाएनन् धेरैदिन बाको हात समातेर आँगनमा मुस्कुराउन । आमाको पछ्यौरीको कुटुरो फुकाल्न आतुर हुने औंंला पनि त्यसपछि कहिल्यै बढेनन् पछ्यौरीको कुटुरो फुकाल्न । मात्र सोचिरहँे आमाका आँसु पुछि दिन पाए हुन्थ्यो । तर सकिँन अहिलेसम्म आमाका आँसु पुछ्न । एक शरणार्थीकोझैं बिताइरहें जिन्दगीका पलहरू । हरेकपल्ट दसैमा जमरा लगाउँदा बस्नु पर्ने त्यही ठाउँ हुन्थ्यो जहाँनेर बाले प्राण त्याग गरेका थिए । त्यही ठाउँ थियो रातभर बाकै इच्छानुसार गीता पाठ गरिएको । त्यही घर हो त्यही अँगेनो हो । अरुबेला आउँदैनथ्यो त्यति सम्झना । कुन्नि किन हो बाले छोडेपछिका हरेक दसैमा टीका थाप्दा रसाइरहन्थे आँखा । फुटिरह्न्थ्यो भित्रैबाट भक्कानो तर देखाइनँ कसैलाई। च्यापिरहे भित्रभित्रै।

बा बितेको दुई चार महिना भएको थियो । उतिखेर स्कुल जान ड्रेस लगाउनु पर्दैन थियो । जस्तो लगाउदा नि हुन्थ्यो । एक जोर लुगामा वर्ष बिताउने त्यो समय । दिदी र मेरो पाइन्ट फाटिसकेको थियो पछाडीपट्टी । दुबैलाई स्कुल जान निकै गाह्रो भएको थियो । आमाले यो कुरा दमाइ दाइलाई सुनाउनु भो । गोपाल दमाईले आफुसँग बचेका कपडाका टुक्रा खोजेर पाइन्ट सिलाइ दिए । ठूलो समस्याबाट मुक्ति पायौं दिदी भाइले । त्यो खुसी सम्भवतः जिन्दगीकै खुसी थियो मेरा लागि। 

एक जोर लुगामा वर्ष बिताउने त्यो समय । दिदी र मेरो पाइन्ट फाटिसकेको थियो पछाडीपट्टी । दुबैलाई स्कुल जान निकै गाह्रो भएको थियो । आमाले यो कुरा दमाइ दाइलाई सुनाउनु भो । गोपाल दमाईले आफुसँग बचेका कपडाका टुक्रा खोजेर पाइन्ट सिलाइ दिए । ठूलो समस्याबाट मुक्ति पायौं दिदी भाइले । त्यो खुसी सम्भवतः जिन्दगीकै खुसी थियो मेरा लागि । 


प्रायजसो भाद्रमा पर्ने गौरा पर्वमा सिलाइन्थ्यो नयाँ लुगा । दुइचार दिन गौरा पर्वमा लगाए पछि धोएर पट्याएर साचिन्थ्यो बाकसमा दसैका लागि भनेर । बा बितेको वर्षदिन पछि फेरि आउने भयो दसैं । ऋतु महिना दिन बार सबै देखा पर्छन् उसै गरी । तर ती दिन, त्यही वर्ष त कहाँ फिथ्र्यो र। अनि मलाई मन परेन भन्दैमा दसै पनि कहाँ रुक्थ्यो र।

सबैका नयाँ लुगा देखेर टुलपुलाउँछ होला भनेर ल्याइदिनु भो दाइले एक जोर ट्राउजर र सुरुवाल दोस्रो वर्षको दसैं आउनु अगावै। बाक्लो खालको सुन्तला कलरको साह्रै राम्रो थियो । आमाले निकै नै कर गर्नु भो मूल्य थाहा पाउन । निकै बेरसम्म त भन्नु भएको थिएन दाइले । किन चाहियो र भनेर टार्दै हुनुहुन्थ्यो । आमाले साह्रै कर गरेपछि भन्नु भो – तीन सय । मूल्य थाहा नपाउन्जेल साह्रै मन परेको थियो । जब मूल्य थाहा भयो मलाई मन पर्न छोड्यो। 

आमाले बारम्बार भनेको सम्झेँ – यति ठूलो परिवार समाल्नु छ एकलाइ तेरा दाइले । त्यो मुले कसरी गद्दे हो । महङ्ङो चिज चाइयो जनभनेइ हा चेला ? आमाको अनुहारमा हेरेर परेलीभित्रै आँसुका थोपा खेलाएर तुरुन्तै भनि पनि हालें – मलाई त मन परेइन । एकछिन पछि निधारमा गाँठा पार्दै भनेका थिए दाइले – जंङ्गी मुख्ख्याको पसलमा आफंै जाइबर ल्या जसो लाउन्या है । दोस्रो दिन बिहानै हानिएँ बानेडुग्रीसैन जंगबहादुर बलायर (जङ्गी मुखिया) को पसलमा । जहाँ उधारो चल्थ्यो । उनले बिश्वास गर्थे । दाइले लगेको कपडा फिर्ता गरेँ । ९० रुपैयाँको जीनको जस्तै देखिने हारा लेखिएको पाइन्ट लिएँ । सस्तो भएकै कारण त्यही छाने।

घरको आर्थिक अवस्थाको बारेमा त्यतिखेरै गम्भिर भएर सोच्ने भैसकेको थिएँ । बरु पछिका दिनमा कहिल्यै सोचिनं। 
बाल्यकालका कतिपय दसैहरू अटाएनन् स्मृति पटलमा । तर केही यसरी चिप्केर बसेकी हरेक वर्षको सरद ऋतुको आगमनसँगै उब्जाइदिए तिनले छातीमा भक्कानो । बढाइरहे सम्झनाको जरो । अतित जति प्रिय कहाँ हुन्थ्यो र वर्तमान । अतितको सम्झना नगरिकन मान्दैन मन पनि । त्यो त्यही अतित हो जसले चाहिने भन्दा बढी संवेदनशील बनायो । कतै रुवायो, कतै बीचबाटोमा जङ्गलको रुखझैं चुपचाप अडिन सिकायो । सबैले सबै ठाउँमा मनाउँछन् चाडपर्व । तर फरक केवल तरिका न हो । त्यो माटो त्यो परिवेश अनि ती भाकाहरू स्मृतिपटलमा डेरा जमाइरहेकै छन् । उचित समय र मौसम अनुकुल मनोरञ्जन लिन चयन गरिए होलान सदियौ अघिदेखि हाम्रा चाडपर्वहरू । दसैं त अमेरिकामा बस्ने नेपालीले पनि मनाएकै छन् । तर यहाँको हावापानी यहाको आँगन पाइँदैन त्यहाँ। 

भारतका कयौं स्थानमा दरवानी गर्न गएकाहरू फर्किन्थे दसैंमा लुगाफाटो र केही पलपैसा बोकेर । काँधमा बोकेको टेपरेकर्डरमा घन्केका हुन्थे डेउडा गीतहरू । पानासोनीक ५४३ टेपरेकर्डर भएकाहरू त अहिलेका मर्सिटिज र पँजेरोका मालिक जस्तै ठानिन्थे गाउँघरमा उतिखेर । पारि डाँडामा लाहुरे हिँडिरहेको देख्दा नजरले भ्याएसम्म हेरिरहन्थे गाउँका महिला र केटाकटी । मैले आशीर्वाद पाउने हिसाबले कहिल्यै हेरिनँ दसैंलाई । त्यसरी आशीर्वाद लाग्ने भए त सबैजना सम्पन्न भैसक्थे अहिलेसम्म । पुगिसक्थ्यो सबैलाई सबैकुरा । सधैभर हेरिरहेँ एउटा मनोरञ्जन दिलाउने पर्वका रुपमा । सबैजनासँग भेटघाट हुने, रमाइलो गर्ने, नयाँ लुगा लगाउने र मीठो खाना खाने पर्वका रुपमा। 

आफुसँग अलिकति पैसा छँदा पनि अरुबेला पाइदैनथ्यो मासु खान । हरेक वर्ष दसैं नै कुर्नु पथ्र्यो पेटभरी मासु खानलाई । बा घरबाट १ घन्टा टाढाको देवीथानका पुजारी । अष्ठमीमा दर्जनौ बोका र राँगा काटिन्थे त्यहाँ । बोकालाई मन्दिरभित्र र राँगालाई मन्दिर बहिरै काट्ने गरिन्छ । राँगालाई मन्दिरभित्र लग्न गाह्रो हुने हँुदा चलाएको हुनु पर्छ बाहिरै बली हान्ने चलन । आफु साकाहारी भए पनि बाले ल्याइदिनु हुन्थ्यो थानमा चढाइएका बोकाका पाँच सात वटा टाउकाहरू । गाउँमा कसैको खसी बोका काटिंदा किनिन्थ्यो अरु दुई तीन किलो मासु पनि । पूजामा आएका टाउकाको मासु होस् वा आफैले मार हानेको बोकाको मासु होस् पकाइसकेपछि बाँड्नु पथ्र्यो गाउँमा । एक गिलास झोल र दुइ टुक्रा जति मासु त्यसरी बाँड्ने गरिन्थ्यो । त्यसै गरी गोरस नहुनेको घरमा एक गिलाश दही वा दूघ दिइन्थ्यो । चाडपर्वमा गोरस हुनेको भन्दा बढी दही दूध नहुनेको घरमा हुन्थ्यो। 

अष्ठमीकै दिन घरभन्दा केही तल रहेको भैरबको मन्दिरमा पुजाआजा गरिन्थ्यो । जहाँ  एक माना घ्यूमा एक परिवारका दुइटा चामलका मोटा रोटी पाक्थे । रोटी पकाउने पुजा गर्ने देखि देउता काँप्नेसम्म नाथहरूकै परिवारका हुन्थे । दुइटै रोटीको नाभीको भाग र एउटा रोटीको आधी भाँचेर भैरवलाई चढाइन्थ्यो । बलि दिइएका बोका पोलपाल गरेर केही मासु पनि चढाइन्थ्यो । देउता पुजिसकेपछि थानमा चढाइएका रोटी र मासुका टुक्रा भैरबको प्रसादका रुपमा त्यहाँ उपस्थित सबैलाई बाडिन्थ्यो । सुन्छु धामी बिते पछि नयाँ धामी बन्न सकेको छैन रे । भैरव नपुजिएको पनि नौ दस वर्ष भैसक्यो रे । गाउँका सबैजसा तराइ झरिसके। 

दसैमा केरा पकाउने भन्थे । आँगनको छेउतिर केरा पकाउने खाल्डो बनाइएको थियो । जहाँ मुनि र माथि पराल र बीचमा केरा राखिन्थ्यो । खाडलभित्र धुवा छिर्ने हेतुले हुक्काको झैं सानो प्वाल बनाइएको हुन्थ्यो खाडल मुन्तिर । त्यही प्वालको छेउछाउमा धानको भुस्सा जलाइन्थ्यो । यसरी रातभर दिनभर भुस्सा जलाएपछि पाकिसक्थ्यो तीन चार दिनमा केरा । त्यतिखेर थिएन अहिलेको जस्तो औषधी राखेर पकाउने चलन । बुवाले केरा र नासपातिका बोट प्रसस्त मात्रामा रोप्नु भएको थियो । साउनमा नासपाती र दसैको बेला केरा बेच्न पुग्थेँ घरभन्दा केही परको ससानो बजारमा । एक रुपैयाँको दुई कोसा केरा बेच्दा पनि दुई तीन सय हुन्थ्यो । जुन रकम इमान्दारीपूर्वक आमाको हातमा सुम्पिन्थे। 

आश्विनको दोस्रो सातातिर फुलिसकेका हुन्थे च्यूरी । ठुल्ठूला च्यूरीका रुखमा सुनिन्थ्यो माहुरीको भुन्भुनाहट । लाग्थ्यो कतै यी माहुरी पनि मालश्री धुन त सुनाउन खोजिरहेका छैनन् । कम्मरमा एक दुइ लिटरको डिब्बा बाँधेर चढिन्थ्यो च्यूरीको रुखमा । पातमा च्यूरीको मह झार्दै डिब्बामा खन्याइन्थ्यो । जुन मह सेल, निसोसे जस्ता चामलका परिकार पकाउदा मिसाइन्थ्यो । दसैको भोलिपल्ट बानेडुग्राको गाउँमा जात्रा मनाउँथे । पैतली मिलाउँदै डेउडा गीत खेल्दा गरिएका सवाल जवाफको रौनक छुट्टै हुन्थ्यो । पूर्णभावमा रमाउन मिल्ने खालका थिए ती दिनहरू । सांस्कृतिक समन्वयले ऊर्जा थपिरहेकै हुन्छ हाम्रो जीवनमा । 

आज एकान्तमा सम्झिन्छु मनमनै– जिन्दगी उतै छाडेर आएँ जहाँ केरा, नासपाती बेचेर बेलुन किनेको थिएँ अनि पूरै आकाश ओढेर डेउडा खेलेको थिएँ। 

प्रकाशित: २७ आश्विन २०७५ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App